युवा पुस्ताका महामन्त्रीद्वयको काँधमा कांग्रेस, कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने वाचा

युवा पुस्ताका महामन्त्रीद्वयको काँधमा कांग्रेस, कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने वाचा

काठमाडौं: नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसंगत ढंगले सुदृढ बनाएर लैजाने बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताए।

'महाधिवेशनमा मलाई महामन्त्री पदको जिम्मेवारी दिलाउने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु। यो विश्वास र जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नेछु,' उनले भने। परिवर्तनका सम्वाहक युवाको भरोसाको पार्टी बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उनले महामन्त्रीमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिलाई एक दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन नदिने विश्वास दिलाए।

उनले आफूसँग निर्वाचित भएका पदाधिकारीसँग मिलेर पार्टी सभापतिलाई काम गर्न तागत पुर्‍याउने र पार्टीलाई व्यवस्थित बनाउने उल्लेख गरे। मत धेरै पाउनु भनेको विश्वास पनि धेरै पाउनु हो भन्दै उनले परिपक्व ढंगबाट जिम्मेवारी निर्वाह गर्ने बताए। नवनिर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तनको यात्रामा दुई युवालाई महामन्त्रीमा विजयी गराई रूपान्तरणको आकांक्षालाई महाधिवेशनको मतले प्रकट गरेको बताए। 

देशले दुई युवा महामन्त्रीले हल बाँधिएर काम गरुन् भन्ने अपेक्षा गरेकाले आफू सोहीअनुसार अगाडि बढ्ने उद्घोष गर्दै उनले निर्वाचनको प्रतिस्पर्धा सकिएकाले अब काममा प्रतिस्पर्धा गरेर देखाउने बताए।
निर्वाचनबाट निश्चित व्यक्तिको विजयभन्दा पनि बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उनले उल्लेख गरे। आफूलाई फरकफरक समूहबाट पनि आएका मतको कदर गर्ने विश्वास दिलाउँदै महामन्त्री शर्माले रूपान्तरित कांग्रेस बनाई आगामी निर्वाचनमा विजयी गराउने लक्ष्यका साथ अगाडि बढ्ने धारणा व्यक्त गरे।

महाधिवेशनअन्तर्गत दुई महामन्त्री पदका लागि भएको मतदानको आज सम्पन्न मतगणनामा महामन्त्री पदमा थापा र शर्मा विजयी भएका हुन्। थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत ल्याए। त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार डा प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदानमा चार हजार ६८२ मत खसेकामा सबैभन्दा बढी मत थापाले ल्याएको हो भने शर्माले दोस्रो बढी मत प्राप्त गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.