देउवाको पुनः परीक्षा
अन्तर्राष्ट्रिय दबदबा र नेपालका कम्युनिस्टमा फाटो हुँदासमेत पुनर्निर्माण नगरे कांग्रेसको विरासत सायदै बाँकी रहला।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा अध्यक्षमा दोस्रोपटक निर्वाचित भए। यसपटक नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि राम्रै अभ्यास गर्ने भनेर छलफल भएका समेत देखिन्थे तर परिणामले त्यो देखाएन। अन्य दलहरूमा भन्दा हरेक पदमा निकै धेरै आकांक्षी देखिएकाले उनको सबल आन्तरिक लोकतन्त्रबीच फरक हिसाबको राजनीतिक अभ्यास देखिने सम्भावना पनि थियो। यद्यपि सबै खालका सम्भावना र संशय चिर्दै उनले पुनः दोस्रो पटक सभापतिमा रहस्यमय बाजी मारेका छन्।
संशयका दृश्यहरू
कांग्रेस नेपालमा दलीय परम्पराको सबैभन्दा प्राचीन पार्टी र वर्तमान राजनीतिक समीकरणमा समेत सत्ता गठबन्धनको नेतृत्व गरेको दल हो। तसर्थ उक्त दलको महाधिवेशनलाई सबैले प्राथमिकतासाथ लिनु सायदै नाजायज होइन। महाधिवेशनको महासंग्राममा देखिएका केही परिघटनाले भने धेरैलाई अस्वाभाविक आश्चर्यमा समेत पार्यो। जसरी पनि देउवालाई नेतृत्वबाट विस्थापित गर्ने नारा लगाएकाहरू देउवासामु अनन्तः आशक्ति साथ रहस्मय हिसाबले नतमस्तक देखिए। महाधिवेशनमा युवाहरूको राम्रै उपस्थिति थियो।
नेपालका एक मात्र खर्बपतिसमेत पिछडिएको वर्गबाट केन्द्रीय सदस्यमा चुनाव लड्दै थिए। यदि खर्बपति त बल्लबल्ल पिछडिएको वर्गमा पर्छ भने अन्य नेता र यो पार्टी कति सम्पन्न रहेछ भन्ने पनि प्रश्न उब्जन सक्छ। अपेक्षा गरिएका थुप्रै नेता नेतृत्वको लडाइँमा सरिक भएनन्। ५० भोटसमेत प्राप्त नगर्नेहरू चुनावको मैदानमा देखिए। देउवाइतर भनिएकाहरू नै शक्ति समीकरणकलाई देउवामुखी र मैत्री बनाउने भूमिकामा कुटिल ठहरिए। नेतृत्वमा लडाइँ गर्र्ने कांगे्रसजनलाई आआफ्नै दाउपेच अनि स्वार्थको चिन्ता अवश्य थियो। यद्यपि कांगे्रस नेतृत्वको विषयमाथि उसका नितान्त शुभेच्छुक, आम मतदाता, सहृदयी आलोचक अनि समर्थन वा आलोचनासमेत नगर्ने आम नागरिकलाई पनि खास महत्त्व थियो। यसपछि कांग्रेस विख्यात विशेषतासहित पुनर्निर्माण वा सहर्ष विघटन हुनुपर्ने मोडमा आउनेछ। तसर्थ देउवाका लागि यो समय चुनौती र मौका दुवै सघन भएको एक अन्तिम अवसर हो।
आधुनिक कालखण्डमा दलहरूलाई राजनीतिको चालक मानिन्छ। चालक सही भए यात्रु र सवारी दुवै सुरक्षित गन्तव्यमा पुग्ने सम्भावना अधिक रहन्छ। अन्यथा बीचैमा दुर्घटना निश्चित छ।
अन्तिम अवसर
पाँचवटा सामान्य मध्यान्तरबाहेक लगभग कांग्रेसको नेतृत्व विगत ७५ मध्ये ५० वर्ष बढी कोइराला परिवारमा थियो। पछिल्लो पटक पनि २० वर्षपछि पहिलो पटक नेतृत्व कोइराला परिवारभन्दा बाहिर आएको हो। देउवालाई पार्टीको आन्तरिक राजनीतिमा १३ वर्षपछि पहिलो सफलता मिलेको थियो। यसै वर्ष राजनीतिले उनलाई दुईवटा अनौठा संयोगहरू निर्माण गरिदिएको छ। अप्रत्याशित हिसाबले सरकारको नेतृत्व गर्ने र कोइराला परिवार बाहिरबाट पनि सभापतिमा दोहोरिएर काम गर्ने। उनले मत माग्दा नै अन्तिम एक पटक भनेका कारणले पार्टीको विरासत विनिर्माण गर्ने चुनौती आएको छ।
नेपाली कांगे्रसले पटकपटक सत्ता सञ्चालनको जिम्मेवारी पायोे, राजनीतिको अधिक भाग्यमानी शक्ति उही हो। केही सामान्य बहिर्गमनबाहेक बहुदलीय व्यवस्थाको पुनस्र्थापनादेखि उसले नै निरन्तर देशको सत्ता अनि शासनको बागडोर सम्हाल्यो। दुर्भाग्य, यही अवधिमा देशको अधोगति अधिक र निरन्तर असमानान्तर भए। विश्वका अन्य कतिपय देशहरूले आर्थिक, सामाजिक, सांस्कृतिक विकासका नयाँ तथा आश्चर्यजनक आयामहरू निर्माण गरे। छिमेकी भारत र चीन उदीयमान अर्थतन्त्र तथा सामरिक शक्तिका अगुवा भए। थाइल्यान्ड, भियतनाम, ताइवान, मलेसियाजस्ता छिमेकीले गरेको आर्थिक प्रगतिलाई ‘टाइगर इकोनोमी’को संज्ञा दिन थालियो।
विगत २५ वर्षमा थाइल्यान्डसँग नेपालको मुद्रा विनिमय दर लगभग २० गुनाले कमजोर भइसकेको छ। करिब ५० वर्ष पहिले नेपालभन्दा कमजोर अर्थतन्त्र भएको दक्षिण कोरिया आज ५० हजार अमेरिकी डलरकै हाराहारी प्रतिव्यक्ति आय हुने देशमा गनिन्छ। स्थापनाको ४० वर्षको हाराहारीमा सिंगापुरमा ८२ हजार डलरको प्रतिव्यक्ति आय छ। हामी सन् २०२२ सँगै अल्पविकसित देशको स्तरबाट माथि जाने अथवा हजार डलरको आयस्तर कायम गराउने प्रयासमा छौं। उक्त देशहरूले प्रगतिको रफ्तार लिएको लगभग पछिल्लो २५ वर्षको समय हामी भने बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, कुशासन, बेथितिहरूको सघन पर्यायवाची बन्दै गयौं।
देशको निर्माण तथा सशक्तीकरणमा नागरिकदेखि नेतृत्वसम्म सबैको समानुपातिक योगदान हुन्छ। गैरराजनीतिक अनि तटस्थ रूपमा रहनुपर्ने राज्यका सार्वजनिक निकायहरूको समेत भूमिका हुन्छ। तर पनि यी सबैको अगुवा भनेको चाहिँ सरकार नै हो। त्यो सरकार निर्माण र नेतृत्व गर्ने सबैभन्दा धेरै र लामो समय अवसर प्राप्त गरेकाले देश बिग्रिनुमा धेरै जिम्मेवारी पनि स्वतः कांगे्रसले नै बोक्नुपर्छ। अनवरत रूपमा प्राप्त मौकाबीच देश एवं नागरिक अपेक्षाअनुसार काम गर्न नसक्नुमा आफ्नो असफलता प्रतिबिम्बित भएको मनन् गर्नुपर्छ। देशको र जनताको स्तर नसुध्रनुमा कांग्रेसको नीति कहाँ चुक्यो, देउवाले अब खोज्नुपर्छ।
२०१५ सालको चुनावमा दुईतिहाइ बहुमत अनि बहुदलीय व्यवस्थाको समयमा दुई पटकसम्म स्पष्ट बहुमत प्राप्त कांग्रेस आज बहुमतबिनाको एक कमजोर अनि लज्जास्पद हार बेहोरेको दलमा सीमित हँुदैछ। तुलनात्मक रूपमा खस्कँदो छ, देउवाकै नेतृत्वमा यस्तो भयो। यद्यपि नेतृत्व राम्रो, नैतिक अनि नागरिक केन्द्रित भए दलमाथिको नागरिक श्रद्घा भने पुनर्जागरण हुन्छ। नरेन्द्र मोदीको कारण भारतमा भारतीय जनता पार्टीले पाएको मत, टोनी ब्लेयरको व्यक्तित्वका कारण बेलायतमा लेवर पार्टीले पाएको समर्थन यसका ज्वलन्त उदाहरण हुन्। यस्तै, रुजभेल्टको आर्थिक तथा सामाजिक परिवर्तनको सोचका कारण अमेरिकामा डेमोक्र्याटले पाएको उचाइ, इमरान खानको पार्टीमाथि पाकिस्तानी नागरिक अनि सुकीको दलमाथि म्यानमारका नागरिकको अपार समर्थन यसका ज्वलन्त उदाहरण हुन्।
तर प्रगति चाहनेले पछि होइन, अगाडितिर हेर्नुपर्छ। अहिलेसम्म आफू सक्षम भएर नभै, अरूको आन्तरिक कलह धेरै भएर कांग्रेसले मौका पाएको हो। एउटै सिद्घान्त तथा नेता मान्ने कम्युनिस्टहरू देश एवं नागरिक श्रीवृद्धिको मिसनमा कम र फुट अनि विभाजनको फेसनमा बढी लालायित हुँदा कांग्रेसले आफूलाई अरूभन्दा सबल देखाउन मौका पाएको हो। अहिले विश्व राजनीतिको प्रवाह पनि साम्यवादी र कम्युनिस्टभन्दा पँुजीवादी शक्तिमाथि बढी ढल्केको छ। सन् १९७० तिरको दशकमा ४० हाराहारीको देशमा विद्यमान कम्युनिज्म आज पाँच राष्ट्रमा खुम्चियो। वुद्घिजीवी र लेखकहरूको समूहसमेत कम्युनिज्मको सिद्घान्त र दलहरूप्रति गहन कटाक्षसाथ उष्ण उछितो काढ्छन्।
जर्ज ओरेलको ‘एनिमल फार्म’ नामक कृतिलाई कम्युनिज्म माथिको सभ्य र भव्य कटाक्ष मानिन्छ। वर्तमान अमेरिकन राजनीतिमा रिपब्लिकनलाई गाली गर्न जियोफ्री क्यावासर्भिसको ‘रुल एन्ड रुइन’, माइक लोफग्रिनको ‘पार्टी इज ओभर’देखि क्रिसमुनिको ‘द रिपब्लिकन ब्रेन’जस्ता पुस्तकको बिगबिगीले संसारभर कब्जा जमाएको छ। ती सबै पूर्वाग्रही बहसको उद्देश्य अमेरिकालगायत संसारबाट कम्युनिस्ट भावना र सिद्घान्तमा आधारित शक्तिलाई क्षय गर्दै पुँजीवादी शक्तिको वकालत गर्नेहरूको संरक्षण गर्नु हो। यस आधारमा, कांग्रेसलाई देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय माहोल पनि आफ्नो पक्षमा छ।
यस्तो अन्तर्राष्ट्रिय दबदबा र नेपालका कम्युनिस्टहरूको फाटो हँुदासमेत आफूलाई पुनर्निर्माण गर्ने सामथ्र्य नराखे अब कांग्रेसको विरासत सायदै बाँकी रहला। पुरानोको विघटनसँगै नयाँ निर्माणको अर्थ लगाउन मिल्नेगरी फ्रान्सेली चिन्तक ज्याक्विस डेरिडाले ‘डिकन्सट्रक्सन’ भन्ने शब्द प्रयोगमा ल्याए। यसको नेपाली अनुवाद विनिर्माणको यथार्थसँग मिल्ने अवसरको संघारमा कांग्रेस उभिएको छ। तसर्थ, देउवाको नेतृत्व नयाँ नीति र प्रायोगिक कार्यक्रम लिएर आउनुपर्छ। पाँच वर्षपछि अर्को महाधिवेशन गर्ने मात्र हिसाबको नभई देशको रूपान्तरणका लागि ठोस कदम लिँदै पहिले आफू रूपान्तरित हुने साहस देखाउनुपर्छ।
आधुनिक कालखण्डमा दलहरूलाई राजनीतिको चालक मानिन्छ। चालक सही भए यात्रु र सवारी दुवै सुरक्षित गन्तव्यमा पुग्ने सम्भावना अधिक रहन्छ। अन्यथा बीचैमा दुर्घटना निश्चित छ। एउटा सवारी दुर्घटना भए सवार रहेका यात्रुको ज्यान त जोखिममा हुने नै भयो। अन्य सवारी तथा यात्रुमा पनि क्षति अनि आवागमनसमेत बन्द हुने गर्छ। यदि कांग्रेस राम्रो भए, अरू दल पनि सुध्रन बाध्य हुनेछन्, कांग्रेस अरूका लागि उदाहरण हुनुपर्छ। नागरिकका समग्र जीवनस्तर अभिवृद्घिका लागि आधुनिक र वैज्ञानिक अवधारणा ल्याउन सक्नुपर्छ, जनतालाई उसमाथि आस जगाउन सक्नुपर्छ। ठूलो भन्ने पार्टीको कदम पनि ठूलै हुनुपर्छ। केही मुठ्ठीभरहरूले हाम्रो कांग्रेस भन्ने नभई आम नागरिकले राम्रो कांग्रेस भन्ने बन्नुपर्छ। देशको विकासका लागि नयाँ नीति निर्माण, वैदेशिक सम्बन्धको पुनव्र्याख्या अनि देशका जल्दाबल्दा समस्याको उपचार गर्ने सवालमा गहन कार्र्यनीति ल्याउनुपर्छ। सफल राष्ट्रनिर्माणको अभियानमा नेतृत्वदायी र कुशल भूमिका निर्वाह गर्ने तत्पतरता देखाउनुपर्छ।
कांग्रेसले लोकतन्त्रको आन्दोलनको अगुवाइ गरे पनि आफैं अहिलेसम्म लोकतान्त्रिक हुन सकेको छैन। नागरिकलाई होइन, आफैंभित्र एकअर्र्कामा तथा सहकर्मी दलहरूमा विश्वासको वातावरण बनाउन सकेको छैन। राजतन्त्रको उन्मूलनमा महत्त्वपूर्ण भूमिका खेले पनि पार्टीभित्रै वंशप्रथाको पद्घति निर्मूल भएको छैन। यसर्थ देउवाले कांगे्रसलाई विशाल व्यवस्थापन गर्नुपर्ने गहन आवश्यकता छ।
राजनीतिको कालखण्डमा कहिलेकाहीँ दलहरू खराब अनि नेतृत्व नालायक पनि हुन सक्छ। तर देशको विकास र समृद्घिमा दलीय व्यवस्था अनि राजनीतिक नेतृत्वको अगुवाइको विकल्प खोज्न सकिँदैन र मिल्दैन। खराब दलको सट्टा राम्रा दल र खराब नेताको सट्टा राम्रा नेताको विकास नै एउटै मात्र विकल्प हो।
तसर्थ नागरिकको आशा पनि यही हो कि कांग्रेस पुरानो दल भएका कारण देउवाले नेपालको दलीय राजनीतिक परम्परामा परिपक्व परिवर्तन र नजिर स्थापित गरुन्। जनताका लागि राजनीति गर्ने मान्यता तथा व्यवहार निर्माण गर्न ठूलै अनि आम अन्यलाई अनुकरणीय हुने भूमिका प्रदर्शन गर्न सकुन्। सबल देश निर्माणमा कांग्रेसको नवीन सोच र परिवर्तनकामी कदम नै देउवाको दाऊ बनोस्। उनले लगभग समाप्त हुन लागेको कांग्रेसको विरासतको विनिर्माण गरुन्। उनका लागि यो अन्तिम पुनःपरीक्षा हो, विरासत विनिर्माण गर्न नसके पार्टी विघटन गरे पनि हुन्छ, देउवाले आँटुन्।