अभिभावकलाई लाचार बनाउने सन्तान
किड्नी फेल भएकी आमालाई एक छोराले वर्षौँसम्म डायलासिस गराए। मैतीदेवी काठमाडौं घर भएका उनले उपचार मात्र गरेनन्, खर्च पनि निकै गरे। आमालाई बचाउन उनले कुनै कमी गरेनन्। डाक्टरले अब दुःख नर्गनुस् भन्दा पनि उनले भने, ‘आमाको सास रहुुन्जेल प्रयास गर्छुु।’ आमाको सेवा गर्नसमेत उनले कुुनै कन्जुुस्याइँ गरेनन्। केही समयअघि उनकी आमाको निधन भयो। बाँचुञ्जेल सक्दो सेवा गरे र छोरो हुुनुको कर्तव्य पूरा गरे। निधनपछि पनि उनले सकेको सबै काम गरे।
‘आमा बिछ्यौनामा भइरहे कति राम्रो हुन्थ्यो। ‘आमा !’ त भन्न पाइरहन्थें। अब त त्यो पनि रहेन। आमा फोटोमा सीमित हुनुभयो’, उनी आमालाई यसरी सम्झन्छन्। यस्तो सन्तान सबैको भागमा कहाँ पाइँदो रहेछ र ? अहिले त यस्ता गुनिलाभन्दा पनि नुनिला सन्तान बढी हुन थालेका छन्। बैंकमा अधिकृत पदमा कार्यरत एक महिला जसले पैसाकै लागि आमालाई नै बदनाम गराइन्। समाजको बीचमा ल्याएर उभ्याइन् र आमालाई शिर ठाडो हुन नसक्ने गरी लाचार बनाइन्। आजभोलि यस्ता समस्या धैरैका घरमा छन्। कति सार्वजनिक हुन्छन्, कति हुँदैनन्। धेरै घटना घरभित्रै गुपचुप पारिन्छ।
आज कतिपय सन्तान गुनिला होइन, नुनिला बन्दैछन्। शिक्षितकै घरमा पारिवारिक विकृति हुन थालेपछि अरूसँग के अपेक्षा राख्ने ?
पछिल्ला वर्ष अभिभावकलाई लाचार बनाउने सन्तान धैरै छन्। कतिपयका घरमा आमाबुवाप्रति गरिने व्यवहार निरीह पारका हुन्छन् त कतिपयका पशुझैं लाग्छन्। यस्तैमा एउटा उदाहरणीय पात्र बने, एक डाक्टर पनि। उनी सामाजिक सञ्जालमा निकै भाइरल भए। उनले जन्म र कर्म दिने आमाबुवालाई सडकमा बास बस्न बाध्य बनाए। भोको त राखे नै पिट्नसम्म सके। दयनीय अवस्था बनाए। अरूको ज्यान बचाउने डाक्टरले आमाबुवाको ज्यान लिने हर्कत गर्न खोजे। सबै सम्पत्ति आफ्नो नाममा गरे। त्यसपछि सडकको बास गराइदिए। सीमा नाघेपछि सन्तानकै विरुद्ध आलोचना गर्दै आमाबुवाले सडकबाटै न्याय मागे।
सन्तान थरीथरीका हुन्छन्, जुन स्वाभाविक पनि हो। तर पछिल्ला वर्ष छोराछोरीले नै आमाबुवालाई ‘अति’ गर्न थालेका छन्। हिजोको दिनमा छाँतीमा टाँसेर राखेका सन्तानले सडकमै पुर्याउँलान् भनेर कुन आमाबुवाले अनुमान गरेका हुन्छन् ? अनुहार चाउरी परुञ्जेलसम्म ‘सन्तान’ ‘मेरो सन्तान’ भनिरहे। जब सन्तानले आफ्नो कमाइले पाल्ने दिन आए तब अनेक आरोप र लाञ्छना लगाएर घरबाटै निकाल्नेसम्मका हर्कत गर्न थाले। पाल्नु वा उपचार गर्नुपर्ने बेलामा सन्तानबाट यस्तो हविगत भोग्नु पर्ला भन्ने कुन आमाबुवालाई होला ? समाजमा उदाहरणीय बन्नुपर्ने डाक्टर र अधिकृत तहका व्यक्तित्वका यस्ता हर्कतले कस्तो सन्देश देला ?
आज कतिपय सन्तान गुनिला होइन, नुनिला बन्दैछन्। शिक्षितकै घरमा पारिवारिक विकृति हुन थालेपछि अरूबाट के आशा राख्न सकिन्छ ? धेरथोर होला अथवा प्रत्यक्ष वा अप्रत्यक्ष, हरेकजसोका घरमा यस्ता दृश्य देखिन थालेका छन्। कतिपय घरमा त छोराबुहारीसँग बसेको छु भन्ने अवस्था मात्र छ। न तिमीहरूसँग बस्दैनौं भन्न सक्ने अवस्था छ न आमाबुवालाई पाल्दैनौं भन्ने अवस्था छ। धर्मरको अवस्थामा परिवारले समय गुजारिरहेको छ। आज सन्तान किन कमजोर बन्दैछन् ? सन्तानका लागि जिन्दगीलाई दाउमा राख्ने अभिभावकको उपचार के होला ?
कुुशेऔंसी होस् वा आमा खुवाउने आंैसी, वर्षौंअघि सँगै खिचेका फोटा फेसबुकमा पोस्ट्याउँछन् बिदेसिएका सन्तान। अचम्म लाग्छ, नेपालमा रहेका बुवाआमाको स्वास्थ्य अवस्था के छ ? के समस्या छ ? केही सोध्दैनन्। उस्तै परे एक कल फोनसमेत गर्दैनन्। फेसबुकमा फोटो राखेर ‘मिस यु, लभ युु’ भन्दै औंसी मनाउँछन्। वृद्धावस्था त्यस्तो अवस्था हो जहाँ आमाबुवालाई के खानु भयो ? सन्चो, बिसन्चो के छ ? के लाउने खाने मन छ ? मात्र सोधिदिए पनि मनभरि हुन्थ्यो। त्यो कमै सन्तानले मात्र गर्ने गर्छन्। मिस यु वा लभ यु लेखेर फोटो पोस्ट्याउने छोराले श्रीमतीका लागि भने बर्थडे पिच्छे महँगा कपडा उपहार दिन्छन्। एनिभर्सरी आउनु मात्र पर्छ, नयाँनयाँ ठाउँ घुमेका फोटा फेसबुकमा हुन्छन्।
बिडम्बना नै भन्नुपर्छ, उनीहरूले कहिल्यै भन्दैनन्, ‘आमा ! बुवा ! घुम्न जाने कि ? साथीभाइसँग लन्च र डिनर जान भ्याउँछन् तर आमाबुवासँग दुई मिनेट कुरा गर्न समय हुन्न। छोराछोरीलाई भोलिको आफ्नो बुढेसकालका लागि तयार बनाउन अनेक गर्छन्, आमाबुवाका लागि गर्नुपर्छ भन्ने सोचसम्म दिमागमा ल्याउँदैनन्। योभन्दा बिडम्बना के होला ?