पदकमा टियुको बदमासी : कम अंक ल्याउनेलाई पदक, धेरै पाउने भौँतारिँदै

पदकमा टियुको बदमासी : कम अंक ल्याउनेलाई पदक, धेरै पाउने भौँतारिँदै

काठमाडौंः त्रिभुवन विश्वविद्यालय (टियु)ले प्रत्येक वर्ष वितरण गर्दै आएको पदक वितरण यो वर्ष न्यायोचित नभएको पाइएको छ। टियुको ४७औं दीक्षान्त समारोहमा वितरण गर्ने पदकमा हेलचेक्र्याइ गरेको खुल्न आएको हो। टियुका केही विद्यार्थीहरुले सर्वोत्कृष्ठ अंक ल्याए पनि कम ल्याउनेले पदक पाएको खुलेको छ।

टियु केन्द्रीय विभागअन्तर्गत समाजशास्त्रबाट २०७६ फागुनमा आमिर राजाले ३.९४ सीजीपीए ल्याएका थिए। कूल ४ सीजीपीएसमा उनले ३.९४ सीजीपीए ल्याए पनि उनीभन्दा कम सीजीपीए ल्याएका विद्यार्थीलाई टियुले पदकको दाबेदारका रुपमा सार्वजनिक सूचना प्रकाशित गरेको छ।

गोरखापत्रमा २८ मंसिरमा प्रकाशित सूचनाअनुसार समाजशास्त्रतर्फ पदक पाउने सूचीमा एलिशा पौड्यालको नाम रहेको छ। उनले ३.८७ सीजीपीए ल्याएको सूचनामा उल्लेख गरिएको छ। तर टियुले त्यसलाई संशोधन गर्दै २ पुसमा अर्को विज्ञापन पनि प्रकाशन गरको छ। गोरखापत्रमै प्रकाशित सूचनामा एलिशा पौड्यालको सीजीपीए ३.९३ उल्लेख छ। चार दिनको फरकमा प्रकाशित सूचनामा एउटै व्यक्तिको दुईथरी सीजीपीए प्रकाशन गरेर पनि टियुले बदमासी गरेको देखिन्छ।

पीडित विद्यार्थी आमिर राजाले आफूमाथि अन्याय भएको बताए। 'पदकका लागि मैले टियुमा दाबी गरे। मैले भाइवा दिन्छु भन्दाभन्दै पनि विभागले कोरोनाको कारण देखाउँदै भाइवा लिन मानेन। यो समय गणना हुँदैन भनेर तत्कालीन विभागीय प्रमुख टीकाराम गौतमले मलाई जवाफ फर्काउनुभयो,’ उनले भने, ‘विभाग प्रमुख परिवर्तनपछि उहाँ (डा. युवराज लुइँटेल)ले डीन कार्यालयलाई पदकको दावेदारी रहेको भन्दै कोरोना समयको विशेष ध्यानमा राखी चिट्ठी पठाउनुभयो।’

गत असोज १३ मा पठाइएको चिट्ठीमा निज आमिर राजालाई दीक्षान्त समारोहमा सहभागी हुन पाउने र उक्त महेन्द्र विद्या भुषण हुन मानसिव सिफारिस गरिएको उल्लेख छ। पत्रमा भनिएको छ, ‘स्नातकोत्तर तहमा सर्वोत्कृष्ट प्राप्ताकं प्राप्त गर्ने विद्यार्थीले परीक्षाफल प्रकाशित भएको तीन महिनाभित्र सोध कार्य सम्पन्न गर्नुपर्नेमा शैक्षिकसत्र २०७४ मा भर्ना भइ हालसम्म चारै सेमेष्टर उत्तीर्ण गरी सर्वोच्च प्राप्तांक प्राप्त गर्ने यस विभागका विद्यार्थी आमिर राजाले कोभिड-१९ र त्यसपछिको बन्दाबन्दीको कारण स्थलगत अध्ययन गर्ने काम ढिला हुन गएको देखिएकाले कोभिड-१९ को विशेष परिस्थितिलाई मध्यनजर गरी यसपटकको लागि निज अमिर राजालाई दीक्षान्त समारोहमा सहभागी हुन पाउने र उक्त महेन्द्र विद्या भुषण हुन मानसिव सिफारिस गरिएको छ।’

तर,  मानविकी तथा समाजशास्त्रीय संकाय डीन कार्यालयले भने तीन महिना अवधिको निर्णय फेर्न नसक्ने भन्दै जिम्मेवारीबाट पञ्छियो। उसले परीक्षा नियन्त्रण कार्यालयमा जान भन्यो। आमिर राजाले भने, ‘डीन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र विभागबाट पनि मैले न्याय पाइनँ। मैले फेरि पनि पदकको दाबी गर्दै टियुमा निवेदन दर्ता गराएको छु। म कहाँबाट न्याय पाउने भन्दै भौँतारिएको छु।’

सूचनामा प्रकाशित विद्यार्थीले आफ्नो थेसिस र भाइवा कसरी पूरा गरे भन्ने प्रश्नमा विभाग मौन छ। स्रोतका अनुसार विदेश जानका लागि ती विद्यार्थीले थेसिस र भाइवाका लागि विभागमा आग्रह गरेको बताइएको छ। जसअनुसार विभागले पनि ती विद्यार्थीको थेसिस भाइवा लिन राजी भएको थियो। 'कोभिडका कारण कसैले पनि थेसिस गरे पनि भाइवा कसैको हुन पाएको थिएन। विदेश जानुपर्ने भन्दै आग्रह आएपछि ती विद्यार्थीको भाइवा लिइएको हो। पदकको बारेमा मलाई खासै जानकारी भएन,' स्रोतले भन्यो।

टियु मानविकी तथा सामाजिक शास्त्र शंकायका डीन प्रा.डा. कुसुम शाक्यले भने समयमा भाइवा नबुझाएका कारण समस्या भएको बताइन्। ‘समयभित्र भाइवा नबुझाएका कारण पदकमा नपरेको हुनसक्छ। एउटा विद्यार्थीको पछि नलाग्नुस् न,’ उनले अन्नपूर्णसँग भनिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.