चक्रपथ निर्माण अधुरै
सुर्खेत : वीरेन्द्रनगरमा चक्रपथ निर्माणको चर्चा चलेको वर्षौं भयो। राजनीतिक दल र नेताहरूले यसैको नारा लगाएर धेरै चुनाव पनि जिते। तर, वीरेन्द्रनगरको समृद्धिको आधार मानिएको यही चक्रपथको निर्माण कार्य अझै अलपत्र नै छ।
निर्माण थालिएको १६ वर्ष भयो। ३१ किलोमिटर लामो यो चक्रपथको काम यो अवधिमा जम्मा २१ किलोमिटर मात्रै ट्र्याक खुलेको छ। स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाको ७० प्रतिशत काम बाँकी नै छ। वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बांगेसिमल जोड्ने यो चक्रपथ विवादकै कारण सुरुवात विन्दुमै काम हुन सकेको छैन। ‘स्थानीयको अवरोधकै कारण चक्रपथ निर्माणमा ढिलाइ भएको छ’ वीरेन्द्रनगर २ का वडाध्यक्ष बलबहादुर रोकाय भन्छन्, ‘उठिबास नै हुने भएपछि स्थानीयले सुरुवातीदेखि नै अवरोध गर्दै आएका हुन्।’
अतिक्रमणमा पर्ने जग्गाको उचित मूल्यांकन नगर्दा सुरुवातीदेखि नै स्थानीयले अवरोध गरेको वडा नम्बर ११ का वडाध्यक्ष नन्दलाल शर्मा बताउँछन्। ‘योजना ल्याउँदा स्थानीयसँग पर्याप्त छलफल र सहमति गरिएन’ अध्यक्ष शर्मा भन्छन्, ‘सडकले घरबारविहीन हुने भएपछि सुरुवातदेखि नै अवरोध हुँदै आएको छ।’ सडक निर्माण गर्दा स्थानीयले अतिक्रमण हुने घर र जग्गा क्षतिपूर्तिको माग गर्दै आएका छन्। जग्गा र घरको उचित क्षतिपूर्ति नपाएसम्म स्थानीयले सडक निर्माण हुन नदिने अडान राख्दै आएका छन्। यही कारण वीरेन्द्रनगर ११ को सुब्बाकुना, ९ र २ को सिमानामा पर्ने गुप्तीपुरलगायतका क्षेत्रमा विवाद छ।
स्थानीयको विवादकै कारण १, ४, ५ र ७ वडा क्षेत्रमा ट्र्याकसमेत खोल्न सकिएको छैन। आयोजना सुरु नहुँदै स्थानीयले अवरोध गरेपछि ३० मिटर चौडाइको सडकलाई १५ मिटरमा झारिएको छ। हाल: ७ देखि १५ मिटर चौडाइमा निर्माण सुरु भइरहेको छ। तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६२/०६३ बाट निर्माण थालेको थियो। वीरेन्द्रनगरलाई विकासको मुख्य कडीका रूपमा विकास गर्ने उद्देश्यले यो आयोजना निर्माण थालिएको हो। तर स्थानीयले पटकपटक अवरोध गरेपछि आयोजना अधुरै रहेको हो।
सडक डिभिजन कार्यालयले स्थानीय बासिन्दाले साथ नदिएका कारण चक्रपथ निर्माणमा ढिलाइ भइरहेको जनाएको छ। ‘३१ किलोमिटर सडक निर्माण गर्न वर्षदिन पनि लाग्दैन’ सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुरेशकुमार बस्यालले भने, ‘स्थानीयले साथ नदिएकै कारण चक्रपथ निर्माणमा ढिलाइ भइरहेको छ।’ चक्रपथ वीरेन्द्रनगरको महŒवपूर्ण आयोजना भए पनि स्थानीय सरकारबाट समेत अवरोध हटाउन कुनै पहल नभएको उनको गुनासो छ।
चक्रपथ निर्माण थालिएको वर्षौं बितिसक्दा पनि हालसम्म जम्मा एक किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ। वडा नम्बर ११ को सुब्बाकुनादेखि अमृतडाँडासम्मको एक किलोमिटर खण्ड मात्र कालोपत्रे गरिएको हो। पछिल्लो चार वर्षदेखि खड्का कृष्ण द क्याराभान जेइन्ड भेन्टर (जेभी) बाँकेले चक्रपथ निर्माणको काम गरिरहेको छ। जेभीले २०७४ साल चत्रै २३ गते सडक डिभिजन कार्यालय रुकुमपश्चिमसँग ठेक्का सम्झौता गरेको हो। १३ करोड ५३ लाख ५१ हजार ७ सय ७० रुपैयाँमा निर्माण सम्झौता गरिएको छ। सम्झौताअनुसार २०७६ चत्रै २३ गते चक्रपथ सम्पन्न गनुपर्ने थियो। तर जग्गा विवाद र कोरोना भाइरसको महामारीका कारण समयमा नै काम नहुँदा म्याद थप गर्दै निर्माण गर्नु परिरहेको हो।