राजनीतिमा महानिशा
असल नेता त्यो हो जो देश र जनताप्रति सधैं इमान्दार, सरल र सादग हुन्छ। देश–जनतालाई ठग्दैन। सधैं देशलाई दिन्छ, देशसँग कहिल्यै लिँदैन। त्योभन्दा ठूलो अर्को कुनै राष्ट्रवादी पनि हुँदैन।
ईश्वर ! ईश्वर सधैं फस्र्ट ह्यान्ड हुन्छ, सेकेन्ड ह्यान्ड हुँदैन।
ईश्वर सड्दैन। मानिस सडेपछि आफूलाई ईश्वर देख्छ। सडेका मानिसहरू सेकेन्ड ह्यान्ड ईश्वरको डमी बनेर पतन भइरहेका छन्। नेताको जन्म हुन छोडेको छ।
राजनीतिक अवतारवादको कारखानाबाट त्यही ईश्वरको कुरूप आविष्कार उत्पादन हुँदैछ। सेकेन्ड ह्यान्ड ईश्वरका बुख्याचा संस्करणबाट शासित छ मान्छे !
बुद्धिको मार्केटप्लेसमा सबैभन्दा सस्तो केही छ भने बौद्धिकता नै छ। बुद्धि–विनिमयलाई बुद्धि–विस्खलनले प्रतिस्थापित गरेको छ। मान्छे आफैंले आफैंलाई मान्छेबाट गिराउँदै छ।
मान्छेबाट गिरेर मान्छे हुन नसकेपछि त्यो मान्छे असफल नेता बन्न सफल भएको छ। देशमा असफलताहरूले सफलता पाएका छन्। असफलताका उन्नत उपजले देश कुरूप र कंगाल बन्दैछ।
मेरो सामान्य समझले भन्छ– असल नेता त्यो हो जो देश र जनताप्रति सधैं इमान्दार हुन्छ। सरल छ, सादग छ। देश–जनतालाई ढाँट्दैन, ठग्दैन, लुट्दैन। जसले सधैं देशलाई दिन्छ, देशसँग कहिल्यै लिँदैन। त्योभन्दा ठूलो अर्को कुनै महान् नेता पनि हुँदैन। त्योभन्दा ठूलो अर्को कुनै राष्ट्रवादी पनि हुँदैन।
‘दोषी चस्मा’ ओढेका विश्वेश्वरप्रसाद कोइरालाका आँखाले जताततै शत्रु मात्र देख्थे। मेरा नाङ्गा आँखाले नेताका महललाई सर्वत्र सुँगुरको खोर मात्र देख्दै छन्। बलियो कमजोरी छ मेरा आँखामा। शक्तिशाली भ्रममा बाँच्न जानेनन् आँखा। जस्तो छ त्यसलाई त्यस्तै देख्न सिके।
मानव समाजको क्रिस्टल क्लियर संस्करण हो, नेता। स्निग्ध चरित्र नै नेताको अस्मिताको आवरण हो।
नेता, जसले राजनीतिक नेतृत्व लिन्छ, ऊ मान्छेभित्रको असल मान्छे मात्र होइन, असल मान्छेभित्रको पनि उच्चतम मान्छेको उत्कृष्ट संस्करण पनि हो।
तर नेताले आफूलाई हेर्ने नेत्र फरक छन्। आफ्ना चित्र जस्ता भए पनि आफूलाई मान्छे होइन, ईश्वर देख्छन्। उनीहरू ठान्छन््– तिमी जड हौ, उनीहरू नै तिम्रो चेतना हुन्। उनीहरूको बोली नै तिम्रो बोली हो। आफ्ना आँखा फुटाऊ, उनका आँखाले हेर।
आज म राजनीतिको महानिशामा अध्यात्मको उषा खोजिरहेको छु। जहाँ इमानको उज्यालो सूर्य उदाओस्। अध्यात्म नै त्यो शक्ति हो, जुन शक्तिले मान्छेलाई मान्छेबाट गिर्न दिँदैन।
नेता चाहन्छन्– तिमी आफूलाई होइन, सधैं उनीहरूलाई विश्वास गर। आफ्नो सम्पूर्ण अस्तित्वलाई मेटाइ देऊ।
क्राइष्ट चामत्कारिक हुँदाहुँदै पनि व्यावहारिक हुन नसक्दा आलोचित भए। क्राइष्टले आफ्ना भक्तलाई ‘तिमीहरू मेरा भेडा हौ’ भने। नेताहरूले आफ्ना कार्यकतालाई त्यही भेडोठाने। क्राइष्ट र नेताको बोलीलाई मान्छेले व्यवहारमा उतारिरहेका छन्। मान्छेभित्र मान्छे हराइरहेका छन्। सडकमा भेडाहरू बढिरहेका छन्।
दुई हजार वर्षपहिलेका मानिस क्राइष्टका भेडा भए। दुई हजार वर्षपछिका मानिस नेताका भेडा भएका छन्।
क्रूर वर्तमानले भयावह भविष्यको बाटो लिँदै छ। अब देशमा नेताको मृत्यु हुँदैन। भयो भने एउटा भ्रष्टाचारीको मृत्यु हुन्छ। एउटा दुराचारीको मृत्यु हुन्छ। एउटा देशघातीको मृत्यु हुन्छ। एउटा अपराधीको मृत्यु हुन्छ।
मान्छेबाट गिरेर सेकेन्ड ह्यान्ड ईश्वर बनेका मानिसलाई जर्ज बर्नाड शा अर्कै अद्भुत शब्द–स्वरूपमा उभ्याउँछन्। उनी भन्छन्– ‘पोलोटिसियन्स आर द पिग।’ उनका आँखाले हेर्दा मान्छेबाट मान्छे गिरेपछि नेता होइन, सुँगुर बन्छन्। उनी थप्छन्– ‘कुस्ती नखेल्नु, दुवै फोहर हुन्छौ। सुँगुरले त्यही मन पराउँछ।’
सुँगुर भन्नेबित्तिकै हाम्रा आँखामा फोहरको विम्ब छाउँछ। जर्ज ओर्वेलको ‘एनिमल फार्म’का चित्रहरू पात्र बनेर राजनीतिमा नाचिरहेको देखिन्छ। यदाकदा लाग्छ, सपना हुन् यी तर आजभोलि मेरा आँखा दिउँसै सपना देख्न थालेका छन् ! खुला आँखाले देखेका दुरुह दृश्य पनि सपनाजस्तै हुन थालेका छन्।
सुँगुरको खोरमा कस्तो सुन्दरता हुन्छ ? नेताका महल जनताका लागि किन घिनलाग्दा रछान हुँदैछन् ?
सुँगुरको खोर र नेताका महलमा एउटा भयावह असमानता छ। यो असमानताभित्र पनि मेरा आँखाले अर्को एउटा कुरूप समानता देख्छन्।
सुँगुर र मान्छेको आकृति र आवरण भिन्न छ। तर, मान्छेबाट गिरेका मान्छेको प्रकृति र प्रवृत्तिमा एकांगी एकात्मकता देखिन्छ ! असमानता भित्र एउटा अर्को अनौठो समानता झल्किन्छ।
सुँगुरका खोर र नेताका महलको वास्तुशिल्पी फरक छ तर बुद्धिको बर्लुत–वृत्तिभित्र वंशतन्त्रको विरासत उस्तै लाग्छ। महलभित्र बुख्याचा–बिरादरी बाँचेको त्यो अतीत सधैं प्रतीत भइरहेको छ। वर्तमान घिनलाग्दो छ।
विश्वेश्वरप्रसाद कोइरालाका दोषी चस्मा ओढेका आँखाले जताततै शत्रु मात्र देख्थे। मेरा नांगा आँखाले नेताका महललाई सर्वत्र सुँगुरको खोर मात्र देख्दै छन्। बलियो कमजोरी छ मेरा आँखामा। शक्तिशाली भ्रममा बाँच्न जानेनन् आँखा। जस्तो छ त्यसलाई त्यस्तै देख्न सिके।
भ्रष्टाचार गर्नु र रछान खानु एउटै होइन भने सुँगुरलाई रछान र अपवादबाहेक मान्छेलाई भ्रष्टाचार किन उत्तिकै मन पर्छ ?
मान्छेबाट गिरेर सुँगुर चरित्रमा अवतरित हुने सत्ताको सनातनी चक्रमा पिसिएको छ, मानवीय चेतना।
भ्रष्टाचारप्रति निरपेक्ष नेता खोज्न डायजिनस बन्नु पर्छ। दिउँसै लालटिन बालेर हिँड्नु पर्छ। डा. गोविन्द केसीजस्ता मानवहरू हिँडिरहेका छन्। असल मानिस देखेर कुकुर भुक्दैनन् तर भेडा भुक्छन्– ...आयो भन्छन् ! आफ्नै दिमागले काम नगरेको आफैं थाहा पाउँदैनन्।
एउटा भ्रष्ट पिँढी कति दोषी छ ? त्यही भ्रष्ट पिँढीको भ्रष्टाचार र अराजकताले अधर्मी समाजको निर्माण गर्छ। नेताको जन्म त्यही समाजबाट हुन्छ।
फ्रान्ज काफ्फाले रचना गरेको एक अभौतिक भूगोल हो– मेटामोर्फेसिस ! त्यो भूगोलमा मान्छेबाट कीरा भएका कीरा–मान्छे निवास गर्छन्। काफ्फाका भन्दा कम तिख्खर थिएनन्, हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाका आँखा।
देवकोटा आफ्ना वरिपरि भेडा मात्र देख्न थाले। उनका लागि संसार एक दृश्य भयो। त्यो दृश्यलाई सुन्थे– भेडाको आवाजमा। मान्छेलाई शब्दमा देख्थे– भेडाको स्वरूपमा !
खोरमा सुँगुर जस्तै सायद देवकोटा पनि महलमा भेडाहरू निमग्न निवास गरेको देख्थे। अन्तिमतिरको त्यो सुरुआतीमा आफू पनि भेडो भएर बाँच्न चाहन्थे। अन्त्यबाट सुरु गर्दै ईश्वर पुकार्थे– प्रभु ! मलाई भेडो बनाइदेऊ।
देवकोटाले मलाई आँखा दिएनन्। उनका आँखा चोर्न पाइनँ– म नव प्रमिथस हुन सकिनँ।
ज्योति छोडेर गए। आशंका छ– मेरो भागमा पनि अलिकति परेको छ !
अहिलेको राजनीति ल्यान्डस्केपमा उभिएका महलहरू तिनै जर्ज ओर्वेलको त्यही एनिमल फार्मजस्ता लाग्छन् मलाई। देशबाट मानिस हराउँदै छन्। भेडाको भीड झाँगिदै गएको देख्छु।
मानिसको आत्मा फोहर भएपछि सुँगुर बन्छ। सुँगुरको धर्म एउटै हुन्छ– खानु, खानु र खानु। सत्य नांगो हुन्छ, सत्य छोप्दा मानिस आफैं नांगिन्छ– सुँगुर पनि वस्त्रविहीन हुन्छ।
सत्य छोप्नु राजनीतिक धर्मको मूल कर्म मानिएको छ। के सत्ता र सुँगुर पर्यन्त–पर्याय बनेर बाँचेका हुन् ?
बाँच्नुको अर्थ जिउनु मात्र होइन। मान्छेको मनमा बाँच्नु पर्छ मान्छे। जनताको मन नै नेताको घर हो।
तर जनताका मन भत्किएका छन्। सहरमा सुँगुरका खोर बढेका छन्।
ती नेता जसले आफूलाई ईश्वरीय आयाम र आधिपत्यभन्दा माथि ठान्छन्, ओशो यसलाई मानवीय अस्तित्व र चेतनाको हत्या मान्छन्। ओशो थप्छन्– ‘डकैतीको आधुनिक प्रक्रिया बनेको छ, राजनीति। वस्तुतः अहिले राजनीतिको मौलिक आधार नै झूट र चोरीमा चलेको छ।’
चोरको खेल भएको छ राजनीति। मूर्खहरू त्यही खेलको चर्चा गरेर बाँचेका छन्। हामी झन् कति मूर्ख ?
ओशोजस्तै मानवीय चेतनाको हत्यालाई बीभत्स शैतानी शक्तिको आक्रमण मान्छन् नित्से। यो कुरूप शक्तिको विकराल विनाशका लागि उनैले उवरमेञ्चको शाब्दिक स्वरूप स्थापना गरे। उनको अतिमानव यही सुरा–भौतिक शक्तिविरुद्धको पराभौतिक शक्ति हो।
वर्नाड शा, जर्ज ओर्वेल, ओशो, नित्सेजस्ता कैयन् चेतन मानव मस्तिष्कले राजनीतिक नेतृत्वलाई किन मानव जातिको निकृष्ट स्वरूप मान्छन् ? किन घृणा गर्छन् ? एरिस्टोटलले नेतालाई किन राजनीतिक पशु भने ? ‘नेता र लगौटी बदलिरहनु पर्छ तर दुवैको कारण एउटै हुन्छ !’ किन सुलभ सुझाव सुझाउँछन् मार्क ट्वइन ?
राजनीतिमा मूर्खता किन बाधक हुँदैन ? किनभने त्यसको सघन साधनाले मूर्खतालाई निर्वाध गरेको छ। मूर्खतालाई महानता ठान्ने बेसुर–सारथिका पछाडि एउटा भीड सधैं दौडिरहेको छ।
अहिले पनि ‘सिभिलाइजेसन’ शब्दको सुन्दर क्यानभासमा कुरूपताका बिम्ब कोरिएका छन्। राजनीतिभित्र मौलाएको मूर्खताको अधिपत्यले मान्छेका आँखाबाट मानवीय महानताको सपना पनि खोसिसकेका छन्।
के मूर्खताको अधिपत्यमा विद्वता बाँधिएको हो ? के विद्वताले सामथ्र्य गुमाइसकेको हो ? १७औं शताब्दीका नेपोलियन बोनापार्टले मूर्खताको अधिपत्य अस्वीकार गरे। २१औं शताब्दीमा पनि हामी अझै मूर्खताको आधिपत्य स्विकार्न किन बाध्य छौं ?
यद्यपि र अपवाद सधैं बाँच्नुपर्छ। जैन प्रवर्तक महावीर ‘यद्यपि’लाई हरेक वाक्यको मुखडा बनाउँथे। उनलाई पनि सायद यस्तै लाग्थ्यो, ‘यद्यपि’ सधैं एउटा झिनो विकल्प हो– अपवाद जस्तै।
यद्यपि अपवादहरू साह्रै थोरै भए पनि इतिहास बनेर पनि बाँचेका हुन्छन्। सार्वभौम नैतिकता र सत्यको सार्वभौमिकताको उज्यालो उदाहरण बनेर बाँचेका नेता हुन्– कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र मनमोहन अधिकारी। यो पंक्तिमा अटाउने
अरू केही नाउँ होलान्। छुटाउनु नहुने नाउँ भीमबहादुर तामाङ पनि हो।
आज म राजनीतिको महानिशामा अध्यात्मको उषा खोजिरहेको छु। जहाँ इमानको उज्यालो सूर्य उदाओस्। अध्यात्म नै त्यो शक्ति हो, जुन शक्तिले मान्छेलाई मान्छेबाट गिर्न दिँदैन। जहाँ राजनीतिक कर्ममा होमिएका राधाकृष्ण थारू, रामहरि जोशी, निर्मल लामा र नरबहादुर कर्माचार्यहरू जस्तै मान्छेबाट नगिरेका मान्छे पनि सधैं बाँचेका हुन्छन्।
अध्यात्मको अर्थ जटिल छैन। सदगुरु जगदीश वासुदेव भन्छन्– औसत मान्छेभन्दा माथि उठ्नु अध्यात्म हो।
सद्गुरुका शब्द–कसीमा अहिलेका ती नेता जो आफूलाई नेता मात्र होइन, राजनेता, महान् नेता ठान्छन्। तर, औसत मान्छेभन्दा निक्कै निचो देखिन्छन्। जसले आफूलाई औसत होइन, मान्छेका रूपमा एक दिन पनि उभ्याउन सकेका छैनन्। बुद्धिले नांगो भएपछि मान्छे विचारले पनि नांगो हुन्छ। नेता र नग्नता अहिले पर्यायवाची बनेका छन्।
कृष्णप्रसाद भट्टराई (किसुनजी) र गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) बीच उस्तै–उस्तै भिन्नताको भीषण भड्खालो कसरी बन्यो ? किसुनजीको स्वच्छ–सादगी साधना र सदाचारको विलोम–विम्ब कसरी बने गिरिजाबाबु ? गणेशमान सिंहको व्यक्तित्वको गजुरको चमकले शेरबहादुर देउवाको अनन्त–आदतलाई किन अलिकति पनि आलोकित गर्न सकेन ?
एउटै वृक्षको मूल र हाँगो बनेर हुर्किएका हुन्, मनमोहन अधिकारी र केपी ओली ! मानिसका आँखामा त्यही वृक्षको फूलको प्रतीक बने मनमोहन तर तिनै मान्छेका आँखामा फूलबिनाको प्रतीक कसरी बने केपी ओली ?
यी दुईबीच किन यति ठूलो भिन्नता ? एक सदाचार र एक सदाचारशून्य विचारको विशेषण कसरी बने ? मनमोहनको मनको उज्यालो ओलीजीको आत्माको आँतमा किन पोतिएन ? के थियो त्यो विदिर्ण विभेद?
अध्यात्म ! एक प्राणमा दुई अस्तित्व बाँच्नु पर्छ, नेता– अध्यात्म र राजनीति। राजनीति विचार हो भने अध्यात्म विवेक हो।
मदन भण्डारीको उचाइर मर्यादाको मानक मूल्य स्वयं श्रीमती विद्यादेवी भण्डारीका लागि किन मूल्यवान् बन्न सकेन ? वामदेव गौतम प्रवृत्तिको भेलसामु नदी किनारको रुख बनेर निर्धो बाँचेका मोहनचन्द्र अधिकारीभित्र के छ त्यस्तो, जसले उनलाई मान्छेबाट गिर्न बचायो ?
उनै मार्क ट्वइन भन्छन्– एक इमान्दार मानिस राजनीतिमा जति उज्यालो भएर चम्कन सक्छ अन्यत्र सक्दैन। इमान्दारिता नै अध्यात्म हो, आध्यात्मिक चेत र शक्ति हो।
कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारीहरू त्यही आध्यात्मिक चेतको चिरागमा चम्किएका उज्याला नाम हुन्। जो तारा बनेर मानस–नभमा बाँचिरहेका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सामान्य व्यक्तिगत जीवनशैली नेपाली राजनीतिको दुरुह पाटो पक्कै होइन जस्तो लाग्छ। यो पनि लागिरहन्छ कि उनी मूर्खतालाई अब अस्विकार गर्छन्। मूर्खता वैयक्तिक र अवैयक्तिक दुवै हुन्छन्।
हिजोको मूर्खतापूर्ण रुग्ण पाखण्डभन्दा उनी माथि उठन सक्नु भ्रम होइन। बाबुराम भट्टराईसँगै प्रदीप गिरी र केबी गुरुङ, गगन थापा र घनश्याम भुसालको व्यक्तिगत जीवन सादगीपूर्ण देखिन्छ। त्यो सादगी नै आध्यात्मिक साधना हो।
नेता ती हुन्, जसले आफूलाई ईश्वर होइन, मानिसको रूपमा देख्छन्– सामान्य मानिस। नेता ती सामान्य मानिस हुन्, जसले बाटो देखेका छन् र त्यो बाटो बिराउँदैनन्। त्यो बाटो हो– सरल र स्वच्छ राजनीतिक जीवनको बाटो। जीवनको त्योे बाटो जो हिँड्छ, ऊ जीवन पछिको अनन्त जीवन बाँचिरहेको हुन्छ।
तर किन नेताको नियति सिग्मन्ड फ्रायडको थानाटोसको गरिहराइतिर गमन गर्दै छ ? राजनीतिक जीवनमा सबैले किन मृगतृष्णा रोजिरहेका छन्। राजनीतिमा किन अन्तःपछिको अनन्त जीवन बाँच्ने जीवेष्णा हराएको छ ?
क्रूर वर्तमानले भयावह भविष्यको बाटो लिँदै छ। अब देशमा नेताको मृत्यु हुँदैन। भयो भने एउटा भ्रष्टाचारीको मृत्यु हुन्छ। एउटा दुराचारीको मृत्यु हुन्छ। एउटा देशघातीको मृत्यु हुन्छ। एउटा अपराधीको मृत्यु हुन्छ।
सायद हजारौं वर्षपहिले नै वर्तमानको यो भूत उनको टाउकामा सवार हुन थालेको थियो। त्यसैले प्लेटो एउटा आदर्शवादी शासकको खोजीमा थिए– एउटा मान्छे, जो शासक हुन्छ, विशिष्ट बुद्धिले भरिएको होस्, कुशल–क्षमताले सम्पन्न होस्, तर्कशील र युक्तिसंगत होस्, जसले सबैको लाभका लागि निर्णय लिन सकोस्।
प्लेटोले आफ्नो किताब ‘रिपब्लिक’मा यस्तै एक दर्शनवादी शासकको अवधारणा ल्याए। प्लेटोको यो अवधारणा आध्यात्मवादकै उपज हो।
आफूलाई आध्यात्मिक देखाउनेहरूको कमी छैन यहाँ। तर, देखिनु र हुनुमा फरक छ। मानवताको सम्पन्नता हो– अध्यात्म। अध्यात्मलाई पश्चिमा जगत्मा ‘सेल्फ आइडेन्टिटी’का रूपमा पनि बुझिन्छ।
अध्यात्मको अर्थ असांसारिक हुनु पनि होइन। भौतिक संसारमा बाँचेको मान्छे असांसारिक हुन सक्दैन। तर, सांसारिक तामसमा डुबुल्की मारेर मृत्युपूर्व मर्नु पनि हुँदैन।
सरल छ, अध्यात्मको अर्थ। एक सहज संकल्प हो अध्यात्म– म पाप गर्दिनँ, कमसेकम मेरा आफ्नै नजरमा म गिर्दिनँ। तटस्थ बुद्धिको विकास हो– अध्यात्म। अन्तःप्रज्ञा हो– अध्यात्म। अन्तःप्रज्ञा जसलाई सहजज्ञान पनि मान्न सकिन्छ। सहजज्ञान नै एक असल नेताको न्यूनतम योग्यता र आधारभूत परिधान पनि हो।
आध्यात्मिकता मानवको एक अभिन्न आयाम हो। अध्यात्मशून्य नेतृत्वलाई नेता मान्न सकिँदैन र मान्नु पनि हुँदैन। नेता चोरका पनि हुन्छन्, साधुका पनि। गुन्डाका पनि हुन्छन् अनि देशका पनि। देशको नेता त्यो हो, जसको मनमा अध्यात्मको उज्यालो हुन्छ– अलिकति भए पनि।
@shivaprakash_NP