जीवन जस्तै मृत्यु

जीवन जस्तै मृत्यु

मृत्युको ज्ञान ग्रहण गर्नु भनेको मृत्युलाई खुलेर स्विकार्नु हो। मृत्युबोध गर्न सक्नु हो। जीवन जस्तै मृत्युलाई पनि लिन सक्नु हो। जति बाँचिन्छ, त्यसभित्र अर्थपूर्ण जीवन बाँच्नु पनि हो।


हामी कतिपयले प्रश्न गरिरहेका हुन्छौं, ‘आखिर अर्थपूर्ण जीवन बाँच्नु भनेको के हो ? के कुराले मानिसको जीवनलाई अर्थपूर्ण बनाउँछ ?’ यी प्रश्नहरूको उत्तर हतपत पाउँदैनौं। महान् लेखक, कवि, दार्शनिक, विचारक, चिन्तकहरूले वर्षौं बिताएका छन्, जीवनको अर्थ र अर्थपूर्ण जीवनबारे बुझ्नका लागि। ब्रिटिस कवि टीएस इलियटले आफ्नो कविता ‘द वेस्ट ल्यान्ड’मा अर्थहीनता र एक्लोपनको उजागर गर्दै मानवीय निकटताको खोजी गरेका छन्।

इलियटले इंकित गर्छन् कि यो भौतिक संसारमा मानिस स्वार्थी र एक्लो हुँदै गइरहेको छ। त्यसको समाधान भनेको मानवीयता र भाइचाराको सम्बन्ध हो। जसले मानिसलाई एक्लो र अर्थहीन जीवन बाँच्न दिँदैन। रसियन लेखक भ्लादमिर नाबाकोब कसरी अरू मानिसको दुःखाइ र पीडाले हामीलाई कठोर बनाउँछ भन्नेबारे आफ्नो चेतनाको उजागर गर्छन्। जोसेफ कनार्ड भने ‘मिस कम्युनिकेसन’ अर्थात् बुझाइमा गलत सूचना प्रवाह हुँदा त्यसले मानवीय जीवनमा पुर्‍याउने असरका बारेमा बताउँछन्। 

मृत्युदेखि डराउनु स्वाभाविक हो। तर त्यही डरका कारण त्यसबारे त्यति धेरै बहस र छलफल गर्दैनौ। जसका कारण मृत्युदेखि अझ बढी डराउँछौं। मृत्यु बुझ्नु भनेको आफ्नो पहिचान र अस्तित्व मेटिनु हो भन्ने सोचलाई चुनौती दिनु हो।

यी महान् व्यक्तिहरूका कुरा सुन्दा र पढ्दा पनि अर्थपूर्ण जीवन बाँच्नु भनेको मानवीयताको सम्बन्ध स्थापित गर्नु, अरूको दुःखलाई बुझ्न सक्नु र खास विषयवस्तु जसले हाम्रो जीवनलाई परोक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ, जस्तो जन्म र मृत्यु आदिलाई सही हिसाबले बुझ्न सक्नु हो।

न्युयोर्क टाइम्सको बेस्ट सेलर पुस्तक ‘होएन ब्रेथ्स बिकम्स एयर’का लेखक पल क्यलनिथी, जो आफैं पेसाले डाक्टर र पछि लेखक भए। उनी ४० वर्ष पनि नपुगी क्यान्सर रोगबाट पीडित भएर बिते। उनी लेख्छन्, ‘के कुराले जीवनलाई अर्थपूर्ण बनाउँछ ? भनेर बुझ्न मैले साहित्य र दर्शन पढें। कसरी मस्तिष्कले जीवलाई यो संसारको अर्थ बुझ्ने क्षमता दिन्छ ? भन्ने बुझ्न न्युरो साइन्स पढें। ल्याबमा काम गरें र मेरा साथी सर्कलबीचको सम्बन्धलाई अझ बढी घनिभूत बनाएँ।’ मानिसले जीवनको अर्थ बुझ्न वा अर्थपूर्ण जीवन बाँच्न अनेक उपाय गर्ने गर्छन्। कोही चमत्कार गर्छन्, कोही आविष्कार गर्छन्। कोही समाजसेवा गर्छन्। कोही मानिसबीच राम्रो सम्बन्ध स्थापित गर्न चाहन्छन्। के हामीले हाम्रो मस्तिष्कको क्षमतालाई एउटा राम्रो मानवीय सम्बन्ध स्थापित गर्न प्रयोगमा ल्याएका छौं ? के हामीले पीडा हुने विषयमा छलफल गरेर त्यसको गहिराइसम्म पुगेका छौं ? हामीले पढेका, देखेका र बुझेका राम्रा कुराहरूलाई हाम्रो जीवन अर्थपूर्ण बनाउन प्रयोगमा ल्याएका छौं त ?

यस्ता प्रश्नहरूको उत्तर खोज्दा खासगरी मृत्यु र विपत्का बेला के कुराले जीवनलाई अर्थपूर्ण बनाउँछ भनेर बुझ्न सहयोग गर्दोरहेछ। क्यालानिथि लेख्छन्, ‘जीवन र मृत्युका प्रश्नहरू भनेका मानवीय नैतिक प्रश्नहरू पनि हुन्।’ मृत्युलाई सजिलै लिन सकिने कुरा पनि होइन। हरेक दिन मृत्यु देखिरहेको एउटा सर्जन आफैंले मृत्यु भोग्नु पर्‍यो भने कति आत्तिन्छ होला ? वास्तविक दुःखाई के हुँदोरहेछ भन्ने कुरा क्यालानिथिले पुस्तकमा लेखेका छन्। भन्छन्, ‘क्यान्सरका बिरामीलाई दुःखाईका बारेमा बुझाएँ तर जतिबेला क्यान्सरले दुख्न थालें, त्यतिबेला थाहा भयो– दुःखाई त कहाँ मैले बुझाए जति मात्र रहेछ र ? डाक्टर भएर बिरामीको उपचार गर्नु र आफैं बिरामी भएर डाक्टर भए ठाउँ जानु दुई फरक अनुभव रहेछन्। बिरामीको दुखाईको तह डाक्टरलाई थाहा हुँदोरहेनछ।’

आखिर जन्मिनु र मर्नु त अवश्यभावी छ। विसंगति नाटककारको रूपमा चर्चित सेमुअल बेकेट लेख्छन्, ‘एकदिन जन्मिन्छौं अनि एकदिन मर्छौं।’ अर्थपूर्ण जीवन बाँच्न विषयवस्तुबारे मात्र ज्ञान भएर हुँदोरहेनछ, नैतिक स्पष्टता पनि चाहिँदोरहेछ। त्यसलाई बुझ्न सक्ने सामथ्र्य पनि चाहिन्छ। ग्रीक भाषामा एउटा संकल्पना छ अर्थात् जसको नेपाली अर्थ ‘हुन्छ सामथ्र्य।’ जसका लागि नैतिक, भावनात्मक, मानसिक र शारीरिक तत्परताको खाँचो पर्दछ। मृत्युमा पुगेको व्यक्तिको सबैभन्दा ठुलो डर भनेको उसलाई अस्तित्व र पहिचानको हो। अब म यो धर्तीमा कहिल्यै आउने छैन ? कहिल्यै कोही÷केही देख्न पाउने छैन ? मेरा कोही हुने छैनन् आदि इत्यादि।

यदि त्यो व्यक्तिको मानवीय सम्बन्ध राम्रो र फराकिलो छ। उसले भोलि यो धर्तीबाट बिदा लिएर गए पनि अफसोच हुने छैन भन्ने जुन निष्कर्षमा पुग्छ, त्यो व्यक्तिका लागि मृत्यु सायदै पीडादायक होला। मानवीय सम्बन्धको महत्त्व मृत्यु र विपत्का बेला ठूलो हुँदोरहेछ। तर पनि मानिस किन बढी भौतिक र स्वार्थी हुन्छ ? त्यो पनि बुझ्नु जरुरी हुन्छ। मानिस जतिसुकै स्वार्थी र भौतिकवादी भए पनि सबैभन्दा ठूलो प्रश्नले पिरोल्ने भनेको अन्तत्वोगत्वा भोलि आफूले संसार छोडेर जाँदा के कमाएँ ? कति कमाएँ ? भन्ने नै हो। कति साथीभाइ बनाएँ ? मेरा कति आफन्त आफ्ना भए ? म यो समाजलाई के दिएर जाँदैछु ? भन्ने प्रश्नहरू नै हुन्। यदि यी सबैको उत्तर त्यो व्यक्तिले पायो भने त्यो व्यक्ति मृत्युमा त्यति नआत्तिएला जति ऊ कुनै उत्तर नपाउँदा आत्तिन्छ। एउटा प्रेरणादायी र अर्थपूर्ण बचाइका आधारहरू यिनै रहेछन्। आफू मर्ने बेलामा कम्तिमा एउटा माया गर्ने मान्छेसम्म होस्। जसले नबोलीकनै भए पनि तपाईंको हात समाइदियोस्, तपाईंका आँखामा हेरेर। आखिर त्यो नै मौन वार्तालाप हुन्छ, गहिरो र अर्थपूर्ण।

हुन त मृत्युको मुखमा पुगेको बेला जति नै नैतिकवान् वा सामथ्र्यवान् व्यक्तिलाई पनि हम्मेहम्मे पर्छ जीवनको अस्तित्व र पहिचान बुझ्न वा मृत्युलाई स्वीकार्न। प्रसिद्ध दार्शनिक मार्टिन हेइडेगर भन्छन्, ‘बितिरहेको समय थाहा पाइराख्नु भनेको ‘बोर्डम’को अवस्था हो।’ तर त्यसको ठीकविपरीत मृत्युको बोध भइराख्नु भनेको अर्थपूर्ण जीवनको खोजी नै रहेछ। मृत्यु सबै सजीव जीवलाई आउँछ, ढिलो वा चाँडो। त्यसभित्र अर्थ खोज्नु चाहिँ परिचय र अस्तित्वको निर्माण गर्नुरहेछ। हामी आफैंमा पूर्ण भए पनि यो संसार पूर्ण छैन, त्यो स्विकार्न सक्नुपर्छ। हो, दुखाइमा हामी सम्पूर्ण भुल्छौं, हाम्रो पहिचान, हाम्रो अस्तित्व। हामी जे हौं त्यो हुँदैनौं। हामी कर्ता होइन, कर्म बन्छौं। हामी दुखाइ वा दुखाइलाई नियन्त्रण गर्ने अरूथोक कुनैबाट सञ्चालित हुन विवश छौं। तर त्यही दुखाइभित्र बोध गर्न सक्नु अझ बढी अर्थपूर्ण हुँदोरहेछ। नित्जे भन्छन्, ‘साँचो जीवन भनेको त दुखाइको जीवन हो।’

स्वरसम्राट् नारायणगोपालले गाएका छन्, केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ। भरे फेरि एकान्तमा रुनु त छँदैछ। आफू मर्दैछु भन्ने थाहा पाएपछि क्यालनिथि लेख्छन्, ‘मैले फरक किसिमले बाँच्न सिक्नु पर्छ। मृत्यु एउटा टार्न नसक्ने बटुवा हो, त्यही भएर अब वास्तवमा नमरुञ्जेल म मर्दैछु भन्ने थाहा पाइराख्नु भनेको वास्तवमा बाँचिरहनु रहेछ।’ जीवनलाई अर्थपूर्ण बनाउनु नैतिक जिम्मेवारी पनि हो। कहिलेकाहीँ मृत्युलाई स्वीकार गरेर पनि अन्तिम क्षणमा स्विकार्न सकिँदैन। 

विज्ञानले भौतिक रूपले केही हदसम्म बचाउला तर फेरि पनि नैतिक सामथ्र्य नहुञ्जेल न आस रहन्छ, न डरको सामना गर्न सकिन्छ। न हामीसँग सामथ्र्य नै हुन्छ, न खुसी नै रहन सकिन्छ। मृत्युदेखि डराउनु स्वाभाविक हो। तर त्यही डरका कारण त्यसबारे त्यति धेरै बहस र छलफल गर्दैनौं। जसका कारण मृत्युदेखि अझ बढी डराउँछौं। मृत्यु बुझ्नु भनेको आफ्नो पहिचान र अस्तित्व मेटिनु हो भन्ने सोचलाई चुनौती दिनु हो। मृत्युलाई खुलेर स्विकार्नु हो। मृत्युबोध गर्न सक्नु हो। जीवन जस्तै मृत्युलाई पनि लिन सक्नु हो। जति बाँचिन्छ त्यसभित्र अर्थपूर्ण जीवन बाँच्नु पनि हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.