यसरी पत्ता लगाइन्छ ओमिक्रोन भेरियन्ट

यसरी पत्ता लगाइन्छ ओमिक्रोन भेरियन्ट

काठमाडौं: नेपाल कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन्। छिमेकी देश भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट देखिने क्रम बढेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ।

पूवमा भारतको सिक्किम, पश्चिम बंगाल, पश्चिममा भारतको उत्तराखण्ड राज्य र दक्षिणमा भारतको बिहार र उत्तर प्रदेशसँग नेपालको सीमाना जोडिएको छ। ती क्षेत्रबाट नेपालीहरु अहिले पनि निर्वाधरुपमा आवतजावत गरिरहेका छन्। केही दिनअघि नेपालबाट भारत जान लागेका १८ जनामा कोरोना संक्रमण देखिएपछि भारतले ती नेपालीलाई नेपाल फर्काइदिएको थियो। तर सरकार त्यस घटनाबारे अनविज्ञ छ।

गत मंसिर २० मा कोरोनाको ओमिक्रोन भेरियन्ट नेपालमा देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो।

कोरोनाको नयाँ भेरिएन्ट देखिनु भनेको कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन हुनु हो। त्यहीँ नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरिएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ८९ भन्दा धेरै देशहरुमा फैलिसकेको छ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्टको जोखिम न्युनीकरण गर्न नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ रिपोर्ट अनिवार्य गरेको जनाएको छ। त्यस्तै खोपको विवरण लिँदै आएको मन्त्रालयले बताएको छ। लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भइ प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको सरकारी अधिकारीहरु बताउँछन्।

स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमूना संकलन गरी पीसीआर गर्ने र संकास्पद नमूनाहरुको जीनसिक्वेन्सिङ गर्ने गरिएको छ। त्यस्तै पोजिटिभ भएका नमूनाहरुको थप परीक्षण गर्ने गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मीश्र कोरोनाको नयाँ भेरियन्ट आउन नदिन सतर्कता अपनाइएको बताइन्। उनले भनिन्, 'हामीले निगरानी गरिरहेका छौं। कोरोनाको नयाँ नयाँ भेरिएन्टहरु देखिरहेका छन्। कोरोनाविरुद्धको खोप अभियानलाई तिव्ररुपमा अघि बढाएका त छौं। तर खोपको कभरेज बढेन।’

उनले स्थानीय तह, प्रदेश सरकारसँग पनि भ्याक्सिनको कभरेज बढाउन समन्वय गरिरहेको बताए। 'विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टीनको व्यवस्था गरिएको छ। जीनसिक्वेन्सिङ पनि भइरहेको छ,’ उनले भनिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले ओमिक्रोनको नयाँ भेरियन्ट पहिचानका लागि जीनसिक्वेन्सिङ हुँदै आएको बताए। ‘जीनसिक्वेन्सिङ भइरहेको छ। एसजीन नेगेटिभ आएका स्याम्पलहरुको मात्रै सिक्वेन्सिङ गर्ने हो। अहिले पनि जीनसिक्वेन्सिङ भइरहेको छ। जीनसिक्वेन्सिङको नतिजा आउन कम्तीमा एक हप्ता लाग्छ,' उनले भने।

के हो ओमिक्रोन?

कोरोना संक्रमण जोखिम बढ्दो क्रममा छ। कोरोनाका नयाँ नयाँ भेरियन्टहरु देखिन थालेका छन्। कोरोनाको भेरियन्टको नाम अल्फा, बेटालगायत राखिएको छ। कोरोनाको नयाँ भेरियन्ट हो या होइन भनेर पत्ता लगाउने प्रविधि जीनसिक्वेन्सिङ हो। माइक्रोवायोलोजिष्टका अनुसार भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डLकोड गर्ने परीक्षण नै जीनसिक्वेन्सिङ हो।

भाइरसमा भएको म्युटेनस (उत्परिवर्तन) पत्ता लगाउने विधिको नाम हो जीनसिक्वेन्सिङ। पीसीआर परीक्षणका क्रममा कोरोना भाइरसको जीन शरीरमा छ कि छैन भनेर जाँच गरिन्छ। सिक्वेन्सिङमा जीनको बनावटको अध्ययन गरिन्छ। कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउन पीसीआर परीक्षणसँगै एस जीन परीक्षण पनि गरिन्छ।

पीसीआर रिपोर्ट पोजेटिभ नमूनामा एस जीन फेला नपरे (एस जीन टार्गेट फेलर) उक्त नमूनालाई जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइन्छ। एस जीन फेला नपरेको नमूनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुने सम्भावना बलियो हुने चिकित्सकहरु बताउँछन्। कुनै व्यक्तिमा कोरोना परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आयो। कोभिड-१९ परीक्षणमा पोजिटिभ आएकाहरुको एस जीन परीक्षण गर्नुपर्ने नयाँ रणनीतिअनुरुप परीक्षण गर्दा नमूनामा एस जीन फेला परेन (S-gene Target failure)। तत्पश्चात् S-gene फेला नपरेको नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीनसीक्वेन्सिङ गरिन्छ।

सरकारले नयाँ भेरियन्टको फैलावट र यसले पार्ने असर पत्ता लगाउन जिन सिक्वेन्सिङलाई तीव्रता दिएको जनाएको छ। जीनसिक्वेन्सिङबाट हालः सक्रिय रहेको भेरियन्ट कुन हो भनी पत्ता लाग्छ।

मन्त्रालयले हिजोआज दैनिक गरिने पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको नमूनाको जीनसिक्वेन्सिङ गर्न थालेको छ। त्यस्तै पोजेटिभ रिपोर्ट आएको नमूनामा एस–जीन परीक्षण गर्दा एस–जीन फेला नपरेको नमूनाको पनि जीनसिक्वेन्सिङ गरिन्छ।

एस–जीन फेला नपरेको नमूनामा पनि ओमिक्रोन भेरियन्ट पुष्टिको सम्भावना भएकाले त्यस्तो नमूनाको जीनसिक्वेन्सिङ गरिएको स्वास्थ्य मन्त्रालय बताउँछ।

'जीन सिक्वेन्सिङ भइरहेको छ'

डा. संगिता मिश्र, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

जीनसिक्वेन्सिङ दैनिक गर्ने कुरा भएन। सायद कुनै पनि देशले गर्दैन। जीनसिक्वेन्सिङ ‘ससपेक्टेड ट्रान्समिसन स्याम्पल’को आवश्यकताअनुसार गर्ने हो। केही दिनअघि २ हजार टेस्ट गर्दा २ जनामा मात्रै ओमिक्रोन देखियो। सबै स्याम्पललाई जीनसिक्वेन्सिङ गर्न जरुरी छैन। पहिला हामीले कुन-कुन स्याम्पललाई गर्नुपर्ने हुन्छ जीनसिक्वेन्सिङ कुनमा ससपेक्टेड छ। स्याम्पल नै कम आइरहेको छ। एस-जीन नेगेटिभ स्याम्पललाई मात्रै जीनसिक्वेन्सिङ गर्ने भनिएको छ। एस-जीन नेगेटिभ स्याम्पल आयो भने त गर्ने हो जीनसिक्वेन्सिङ। त्यही भएर आवश्यकताअनुसार केन्द्रीय प्रयोगशालाले आफ्नो क्षमता बढाएको छ।

'कोरोना पोजेटिभ र एस-जीन नेगेटिभ देखिए जीनसिक्वेन्सिङ गर्छौं'

राजेशकुमार गुप्ता, चना अधिकारी,  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

जीनसिक्वेन्सिङ भइरहेको छ। पहिलो फेजमा स्क्रिनिङ हुन्छ। कोरोना पोजेटिभ पनि आउनुपर्‍यो। एस-जीन नेगेटिभ पनि आउनुपर्‍यो। बल्ल यो ओमिक्रोन हुनसक्छ भनेर त्यसको जीनसिक्वेन्सिङ गर्ने हो। सबै स्याम्पलको जीनसिक्वेन्सिङ गर्नु पर्दैन। पोजेटिभ अएका स्याम्पलहरु जम्मा गर्ने। त्यसपछि पीसीआरबाट एस जीन टेस्ट गर्नुपर्छ। एस-जीन नेगेटिभ आएका स्याम्पलहरु एकदमै थोरै हुन्छन्। एस-जीन नेगेटिभ आएका स्याम्पलहरुको मात्रै सिक्वेन्सिङ गर्ने हो। अहिले पनि जीनसिक्वेन्सिङ भइरहेको छ। जीन सिक्वेन्सिङको नतिजा आउन कम्तीमा एक हप्ता लाग्छ।

कुनै दिन २५० जनाको कोरोना पोजेटिभ देखियो भने सिक्वेन्सिङ गर्नुपर्ने ५-७ वटा हुन्छ। कोरोना पनि पोजेटिभ आयो र एस-जीन पनि पोजेटिभ आयो भने ओमिक्रोन हुनै सक्दैन। त्यही भएर तिहीहरुको सिक्वेन्सिङ गर्नुपरेन। कोरोना पोजेटिभ र एस-जीन नेगेटिभ देखिए त्यसको मात्रै सिक्वेन्सिङ गर्ने हो। 'क्राइटएरिया' भित्र परेका सबैको जीनसिक्वेन्सिङ गर्छौं। सिक्वेन्सिङ गरिसकेपछि अल्फा बेटा, गामा वा अरु कुनै नयाँ म्युट्रेसन हुन सक्छ।

के हो एस-जीन?

जितेन्द्र श्रेष्ठ, माइक्रोबायोलोजिष्ट

कोरोना भाइरसको परीक्षण गर्दा पीसीआर पद्यतिमार्फत् मुख्य गरी भाइरसको भित्री न्युक्लियोक्याप्सिड प्रोटिन कोड गर्ने एन-जीन र बाहिर देखिने स्पाइक प्रोटिन कोड गर्न एस-जीन हेरिन्छ। सुरुमा देखिएको ओरिजिनल कोरोना भाइरसको सोही एस र एन-जीनमा भएको म्युटेसनले गर्दा नयाँ भेरिएन्टको उत्पति हुन्छ।

अहिले आएको पछिल्लो ओमिक्रोन भन्ने भेरिएन्टमा कोरोना भाइरसको एस-जीन (स्पाइक प्रोटिन)मा मात्र ३२ वटा म्युटेसन भएको हुँदा पुरानो भेरिएन्टको एस-जीन पत्ता लगाउने पीसीआर प्राइमरले ओमिक्रोन भाइरसको एस-जीन पत्ता लगाउन नसक्ने हुनाले तत्काल नेपालमा प्रयोग भइरहेको पुरानो पद्यतिको पीसीआरले ओमिक्रोन भाइरस हो भनि पत्ता लगाउन सक्दैन। तर अन्य एन-जीनहरु देखिने तर, एस-जीन नदेखिने जस्तो पीसीआर रिपोर्ट आयो भने ओमिक्रोन हो कि भन्ने शंकामात्र गर्न सकिन्छ। तर त्यसलाई प्रमाणित गर्नका लागि ओमिक्रोन भाइरसको एस-जीन पत्ता लगाउने प्राइमरहरु नै प्रयोग गरी पीसीआर पद्यतिको विकास गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.