साकेला रौनक
भोजपुर : किरात राई समुदायको महान चाड उधौली साकेला पर्व सुरु भएको छ। किरात राईको बाहुल्यता रहेको भोजपुरमा कोभिड–१९ का कारण विगतका वर्षमा हुन नसकेको साकेला यो वर्ष उल्लासमय रुपमा सुरु भएको छ।
किराती मुन्दुमी संस्कृतिमा साकेवा, साखेवा, साकेन्वा भनेर चिनिने साकेला पर्वको रौनक गाउँगाउँमा पनि पुगेको छ। साकेलामा बालीनाली नबिगारोस् भनेर इष्टदेवता सुम्दिमा र पारुहाङ पुज्ने गरिएको नाक्छोङ (कुलधामी) मणि राईले बताए। न्वागी, सिमे, भूमे, उभौलीउधौंली र भूमिपूजाका रुपमा कुखुरा, कोदोको रक्सीलाई ‘सुप्तुलुङ’ अर्थात तीनचुल्हो र माङ (पितृ) मा चढाउने धार्मिक परम्परा छ।
जंगली जीव जनावरको नक्कल, कृिष कामको अनुकरण गर्दै ढोल र झ्याम्टाको तालमा नाचिने साकेला सिलीको आफ्नै महिमा रहेको किरात संस्कृतिविद् शरणबहादुर राई बताउँछन्। एक हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टा, बिनायोको तालमा एकै सुरमा गोलाकार घेराभित्र रहेर विविध साँस्कृतिक सिलिमा साकेला नाच्ने गरिन्छ। परापूर्वकालदेखि प्रकृतिपुजक किरात राईहरूले मंसिर पूर्णिमामा सूर्यको गति दक्षिणतर्फ लाग्ने समय भएकाले उधौलीलाई मुन्दुमी किरात भाषामा ‘दोङदावा’ भन्ने गरिन्छ।
कोरोना भाइरसका कारण विगत वर्षमा किरात राई यायोख्खा भोजपुरले केन्द्रीय सर्कुलर अनुसार नै साकेला नाच आयोजना नगर्न निर्देशन दिएको थियो। यो वर्ष भने कोरोना संक्रमणको जोखिम कम हुनुका साथै कोभिडविरुद्धको खोप पनि लगाएकाले किरात राई यायोक्खा भोजपुरले पनि साकेला नचाउने निर्णय गरेको छ। किरात धर्म र संस्कृतिको महत्वलाई निरन्तरता दिनका लागि साकेला आयोजना गरिएको किरात राई यायोख्खा भोजपुरकी अध्यक्ष सिर्जना राईले बताइन्।
किराती पूर्खाहरूले ढुंगे युगपछि कृषि युग सुरु गरेसँगै यो पर्व चलनचल्तीमा आएको विश्वास गरिन्छ। किराती सुनुवार, राई, लिम्बू र याक्खा जातिको प्रमुख चाड उभौलीउधौली साकेला वैशाख पूर्णिमा र उधौली साकेला मंसिर पूर्णिमादेखि एक महिनासम्म धुमधामले मनाइने गरिन्छ। भोजपुरसँगै खोटाङ, ओखलढुंगा र धनकुटामा साकेला मनाइन्छ। किरात राईहरूको बाहुल्यता रहेको नेपालको पूर्वी पहाडी भेगलाई यो साँस्कृतिक पर्वको थाकथलो मानिन्छ।