कोरोना जोखिम भत्तामा अस्पतालका निर्देशक र उप-निर्देशकको मनोमानी

कोरोना जोखिम भत्तामा अस्पतालका निर्देशक र उप-निर्देशकको मनोमानी

चितवन : नेपाल सरकारले अस्पतालको कोभिड वार्डमा काम गर्नेहरुलाई प्रोत्साहनस्वरुप जोखिम भत्ता दिने भनेपनि उनीहरुले उचितरुपमा भत्ता पाएनन्। भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको उपचारमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुले भन्दा अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपनिर्देशक डा. कृष्णसागर शर्माले सबैभन्दा बढी आफूलाई राखेर वितरण गरेको पाइएको छ।

जोखिम मोलेर काम गरेकाको तुलनामा उनीहरुले आफूलाई बढी रकम बुझेको पाइएको छ। तलब स्केलअनुसार वितरण गरिने भए पनि धेरै दिन काम गरेको देखाएर बढी भत्ता लिएको स्रोतले बताएको छ।

करसहित वितरण गरिएको २६ लाख रुपैयाँमध्ये डा. गौतम र डा. शर्मा मिलेर मनोमानी ढंगबाट वितरण गरेका हुन्। मापदण्ड नबनाइ उनीहरुले आफू निकटका कर्मचारीलाई पनि बढी भत्ता वितरण गरेका छन्। आफूखुसी भत्ता वितरण गरेपछि अस्पतालमा विरोध भएको छ। गौतम र शर्माले सबैभन्दा बढी भत्ता आफैँले लिएका छन्। कोडिभ वार्डमा खटिएकाले कम भत्ता पाएको भन्दै विरोध जनाएका छन्।  

कोरोना भत्ताको नाममा उपनिर्देशक शर्माले सबैभन्दा बढी लिएका छन्। क्यान्सर अस्पतालले दोस्रो लहरको समयमा २०७८ वैशाखमा कोभिड वार्ड सञ्चालन गरेको थियो। शर्माले वैशाखको १६ दिनसहित जेठ र असारको पूरै दिन गरेर ७४ दिनको बनाएर एक लाख ३८ हजार २६७ रुपैयाँ बुझेका छन्।

उनले लिएको भत्ताअनुसार उनी एक दिन पनि नछुटेको देखिन्छ। उनीपछि धेरै पाउनेमा कार्यकारी निर्देशक डा. गौतम हुन्। उनले एक लाख २२ हजार ४४९ रुपैयाँ लिएका छन्।

नर्सिङ प्रमुख सविता पन्थीले ५६ हजार बुझेकी छन्। तर कोभिड वार्डको संयोजकको रुपमा निरन्तर काम गरेका मेडिकल अंकोलोजिष्ट रजिष्ट्रार डा. गुरुशरण शाहले जम्मा ४४ हजार रुपैयाँ पाएका छन्। कोभिडमा काम गर्नेको ड्युटी रोष्टरसमेत बनाइएको छैन। कार्यकारी निर्देशक र उपनिर्देशकले आफू निकट कर्मचारीले धेरै काम गरेको बनाएर भत्ता दिएका छन्।

अस्पतालको प्रशासनलाई थाहै नदिइ आफूखुसी भाग लगाएका छन्। आफूहरु निकटका कर्मचारीलाई उनीहरुले बढी भत्ता वितरण गरेका छन्। अग्रपक्तिमा रहेर प्रत्यक्ष बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको तुलनामा प्राशसनिक कर्मचारीले बढी भत्ता पाएका छन्।

कार्यकारी निर्देशक गौतमको स्वकीय सचिव राजकुमार बसेल, उपनिर्देशकको स्वकीय सचिव सावित्रा पन्त र अध्यक्षको स्वकीय सचिव हेम गर्जा मगरले पनि भत्ता पाएका छन्। स्टोर शाखाका इन्चार्ज कृष्ण बराल, सोही शाखाका अशोकबाबु लम्साल, अक्सिजन प्लान्टमा काम गर्ने हेल्पर सुकबहादुर तामाङले पनि बढी भत्ता लिनेमा पर्छन्।

कोरोनाको दोस्रो लहर सुरु हुँदा भरतपुरका अस्पताल भरिएपछि क्यान्सर अस्पतालमा एक सय ४० बेडको कोभिड वार्ड सञ्चालन गरेको थियो। वार्ड सञ्चालनको लागि समिति बनाउने छलफल भए पनि व्यवस्थापनले समिति बनाउन आनाकानी गरेको थियो।

कोभिडको समयमा संक्रमण न्यूनीरण गर्दै सेवा सुविधा प्रभावित नहोस भनेर डा. विनय ठाकुरको संयोजकत्वमा त्यसबेला कोभिड व्यवस्थापन उपसमिति बनेको थियो। यो उपसमितिले छुट्टै समिति बनाएर कोभिड वार्ड सञ्चालन गर्न आग्रह गरेको थियो। तर कार्यकारी निर्देशकले अटेर गरेर उपसमिति बनाउन मानेनन्।

‘अस्पतालको व्यवस्थापकले दिने हो भने अध्यक्षदेखि तल्लो तहको कर्मचारीले पाउनुपर्‍यो। वार्डमा गएर प्रत्यक्ष बिरामीको उपचारमा खटिएकालाई दिने हो भने त्यसैअनुसार हुनपर्‍यो,' एक चिकित्सकले नाम नबताउने सर्तमा भने, 'आफूलाई मन परेको मान्छेलाई धेरै दिन काम गरेको बनाएर भत्ता बाँडिएको छ। त्यसमा पनि प्रशासनिक फाँटमा काम गरेकाले पाएका छन्।’

अस्पतालको प्याथोलोजीमा काम गर्ने कसैले पनि भत्ता पाएका छैनन्। विभागका प्रमुख रञ्जनकुमार भट्टले कार्यकारी निर्देशकलाई भेटेर असहमति व्यक्त गरे। उनले मनोमानी ढंगबाट वितरण गरिएको भन्दै प्याथोलोजी विभागको टोली नै गएर कार्यकारी निर्देशकलाई भेटेर भत्ता वितरण पारदर्शी नभएको भन्दै विरोध गरेका छन्।

कोभिड परीक्षणका लागि स्वाव संकलन गर्नेले समेत भत्ता पाएका छैनन्। प्याथोलोजिमा काम गरेका चार जना चिकित्सक, नौं जना टेक्नोलोजिष्टले भत्ता नै पाएनन्।

‘काम गर्न नमानेर रोएर जागिर छाड्न खोज्नेहरु थिए। त्यस बेलामा पनि हामीले रातदिन नभनी काम गर्‍यौं। तर कार्यकारी निर्देशक र उपनिर्देशकले हामीलाई केही नदिएर आफैँलाई राख्नुभएछ,' एक प्राविधिकले भने।

अधिकांश असन्तुष्ट छन्। त्यस्तै कोभिड वार्डमा प्रयोग भएका कपडा सफाइ गर्ने कर्मचारीले समेत पाएका छैनन्। अस्पतालको लोन्ड्रीमा काम गर्ने ६ जना भत्ताबाट वञ्चित भएका छन्। लोन्ड्री इन्चार्ज कृष्ण आचार्यले जोखिममा काम गर्दा आफूलाई वेवास्ता गरिएको गुनासो गरे। ‘कोभिड वार्डको लुगा धुनेहरुले पनि भत्ता पाइएका छैनन्। मैले कुरा राख्दा उपनिर्देशक शर्माले बिर्सेर त्यस्तो भएको हो भन्नुभयो,' आचार्यले भने।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले काम गरेका सबैले भत्ता पाएको बताए। ‘जसले जति काम गर्‍यो, काम गरेअनुसार दिइएको छ,’ उनले भने, 'डाइरेक्टर र डेपुटीले बढी काम गरे बढी पैसा पाए। काम गरेको भएर पाएका हुन् नत्र पाउथेनन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.