आकाश छानो, धर्ती ओछ्यान !
काठमाडौं : मध्यराति १२ः२३ बजेको छ। भद्रकाली मन्दिर परिसर सुनसान छ। जहाँ सात जना लहरै सुतिरहेका छन्। कोही गुन्द्रीमा त कोही कार्टुनमा। हामी (अन्नपूर्णकर्मी)लाई देख्नेबित्तिकै कुकुर भुक्छन्। झट्ट भित्तामा आँखा ठोक्किन्छन्, ‘पाकेटमारदेखि सावधान !’
‘हेल्लो दाइ, हेल्लो ....’
हामीले सुतिरहेकामध्ये एक जनालाई बोलाउँछौं।
कुकुर भुक्न रोकिन्छ।
काठमाडौं सहर चकमन्न छ। त्यही बेला बिउँझिन्छन् दोलखा जिरीका रमेश लामा। उनी कार्टुन ओछ्याएर सुतेका थिए। पातलो बर्को ओढेका थिए। उनी काठमाडौं सहरमा ज्यामी काम गर्छन्। अरूको भारी बोकेर आउने पैसाले पेटपालो गर्छन्। तर, कोरोना महामारीले उनको ‘रोजगारी’मा धक्का पुगेको छ।
‘कहिले काम पाइन्छ त कहिले पाइँदैन। काम नपाउँदा भोकै आएर मन्दिरमा सुत्छु’, उनी भन्छन्, ‘गरिबको जीवन यस्तै चलिरहेको छ।’
कोरोना महामारी चल्नुअघि दैनिक काम पाउँथे। कहिले इँटा ओसार्थे त कहिले खेतमा कोदालोसँग जोतिन्थे। कोरोना भाइरस फैलिएपछि सहरमा आवतजावत ठप्प भयो। काम चलेन। त्यसकै चेपुवामा परे रमेश।
खुला आकाशलाई छानो बनाएर सडकपेटी या पाटीपौवामा सुत्न थालेको १० वर्ष भयो। ‘कमाइ छैन। खान पुग्दैन। कोठा भाडामा लिन सकिँदैन’, उनी भन्छन्, ‘काम नपाएको बेला सडकपेटी, पाटीपौवामा सुत्छु। भद्रकालीमा सुरक्षित ठाउँ छ। त्यही भएर यहाँ आएर बास बस्छु।’
गरिबलाई नहेर्ने पनि सरकार हुन्छ ? हाम्रा लागि यहाँ को छ र ? भद्रकाली माताबाहेक सबै बिरानो। सरकार त झन् निर्दयी भयो।
– रमेश लामा, दोलखा
कसलाई दुःखमा बाँच्न मन छ र ? सबैका आफ्ना, आफ्ना भाग्य र कर्म छन्।
– दुर्गा न्यौपाने, पोखरा
तातो चिया बेच्यो, जिन्दगी काट्यो। दुई दिनको जिन्दगीमा हामी गरिबको अरु के नै छ र ?
– कैलाश खड्का, रामेछाप
मजदुरी चलेका दिन त्यहीँ रात काट्छन्। नहुँदा बास खोसिन्छ। पेटमा अन्न पर्दैन। ‘चिसोले निद्रा पनि लाग्दैन’, उनी भन्छन्।
हामी भन्छौं, ‘गरिबलाई हेर्ने सरकार छ नि !’
यसोभन्दा उनी रिसाउँछन्। ‘यहाँ को छ सरकार ? कहाँ छ सरकार ?’, उनी प्रश्न तेर्साउँछन्।
राजधानी सहरमा बढ्दो चिसो। छिपिँदो रात। मौन हुन्छन् उनी। केहीबेर सोचेर फेरि बोल्छन्, ‘गरिबलाई नहेर्ने पनि सरकार हुन्छ ? नेताहरू कुर्सीकै लागि लडिरहेका छन्। हाम्रा लागि यहाँ को छ र ? भद्रकाली माताबाहेक सबै बिरानो। सरकार त झन् निर्दयी भयो।’ मजदुरी पाए दिनभर पसिना बगाउँछन्। राति चिसोको स्याँठले सुत्नै कठिन हुन्छ। वर्षातले भिजाएर हैरान पार्छ। कहिल्यै सुख मिल्दैन भारी बोक्ने भरियालाई।
भद्रकाली मन्दिर परिसरमा रूखहरू छन्। वरिपरिका पाटीपौवा नै सहाराविहीनहरूको ‘ठूलो घर’ हो। जहाँ उनीहरू जीवनको दुःख बिसाउँछन्।
०००
‘मेरो नाम रामबहादुर थापा मगर। सिन्धुली जिल्ला बेसारे गाउँमा घर पर्छ। मेरो जन्म २०२५ सालमा भयो। दिनभरि बौद्धमा हुन्छु। सडकपेटीमा रात बिताउँछु। मुटु नै चिसिने चिसो छ। सुत्न निकै कठिन छ। निद्रा लाग्दैन। यसो पुरानोधुरानो लुगा छ। केही ओढ्नेछ केही ओछ्याउने। यसकै सहारामा रात काट्छु। गरिबको जिन्दगी लकडाउनले घर न घाटको बनाइहाल्यो। गोजीमा धनसम्पत्ति छैन। चोर, डाँका लाग्ने डरै भएन।’
सडकपेटीमा सुत्नु रामबहादुरको रहर होइन। गरिबीले अठ्याएको बाध्यता हो। चुच्चेपाटीमा उनीसँग हाम्रो भेट हुँदा रातिको १०ः१५ बजेको हुन्छ। कोरोना महामारीभन्दा पहिले उनी डेरामा बस्थे। कालिमाटीमा भारी बोक्थे। लकडाउन लाग्यो। काम बन्द भयो। सुरुको लकडाउनमा काम खोज्दै गोरखा हानिए। अस्पताल बनाउन इँटा, ढुंगा ओसारे। मसला मुछे। भन्छन्, ‘गोरखामा एक महिना काम गरेँ। भाइरस फैलिन्छ भन्दै प्रशासनले काम बन्द गरायो। ठेकेदारले एक हजार रुपैयाँ पैसा दियो। हिँडेरै काठमाडौं आइपुगेँ।’
लकडाउनले कामसँगै कमाइ घट्यो। भोको पेटले मान्ने कुरै भएन। कोठा भाडा तिर्न नसक्दा सडकपेटीमा बास हुन थाल्यो। बौद्धतिर संघ–संस्थाले दिएको मागेर खान थाले। कति बेकाम बस्ने भनेर काम खोज्दै पोहोर दोस्रो लकडाउनमा लमजुङतिर गए। भनिन्छ, ‘दुखियालाई जहाँ गए पनि दुःखले छोड्दैन।’
‘रात–दिन दुई महिना सडक निर्माणमा काम गरेँ। ठेकेदार भाग्यो। सुतेको र खाएको भर मात्रै भयो। ५ सय मात्रै पेश्की लिएको थिएँ’, उनी भन्छन्। १७ जना बिजोग भएर काठमाडौं फर्किएको उनी सुनाउँछन्। ‘पैदलै ५–६ दिन हिँडेर आयौं। पोहोर वैशाख १२ गते काठमाडौंमा पाइला टेके’, उनी भन्छन्, ‘त्यसपछि फेरि सडकको बास र खाना खान संघ–संस्थाको भर पर्न आइलाग्यो।’
यस्तो बसाइले उनलाई दुःखी बनाएको छ। ‘ओत लाग्ने ठाउँमा सुत्छौं। तैपनि चिसोले हैरान बनाउँछ। एयरपोर्टको कुवामा नुहाउन जान्छु। चउरतिर लुगा सुकायो। अनि झोलामा हालेर फर्किन्छु।’
कोरोना महामारी चलेसँगै उनको गाँस र बास खोसिएको छ। खुला आकाश नै घर बनेको छ। धर्ती ओछ्यान। २०४८ सालदेखि लगातार काठमाडौंमा ज्यामी काम गर्दै आएका छन्। तर, विगतमा सडकमा बस्नुपरेको थिएन। महामारीले उनीजस्ता असंख्यक कामदारको कन्तबिजोग भएको छ।
उनका छोरा, छोरी र श्रीमती छन्। बुवाआमा धेरै पहिले बितिसके। उनी लकडाउनपछि घर गएका छैनन्। खर्च पनि पठाउन सकेका छैनन्।
‘घर जान त मन छ। खै गोजीमा खर्च भएको ? खर्चबेगर जाने कुरो भएन’, उनी भन्छन्, ‘घर जान ६–७ सय चाहिन्छ। घर गएर मात्रै के गर्ने ? यसो दुई–चार हजार लिएर जानुपर्यो।’
धन कमाएर घर फर्किने योजना छ। प्यारीलाई नयाँ गहना र छोराछोरीलाई लुगा र मिठा खानेकुरा लिएर फर्केने मन छ। तर, उनले २० दिनदेखि काम पाएका छैनन्।
एक अक्षर पढेका छैनन्। साथमा ‘टिकटिके’ मोबाइल पनि छैन। गाउँका मान्छेसँग भेट हुन्छ। उनीहरूमार्फत सन्चोविसन्चोको खबर घरमा पठाउँछन्। भन्छन्, ‘लकडाउनले साह्रै कठिन पारेको छ। जिन्दगी जिन्दगी भएन। खुसीको कुरो के सुनाऊँ <’
०००
राति ११ः३२ बजेको छ। वसन्तपुर दरबार क्षेत्रमा कुकुरहरू जुधिरहेका छन्। कालभैरवको मूर्ति बत्तीले चहकिलो देखिन्छ। त्यही बेला कोही व्यक्ति एकोहोरो खोकिरहेको आवाज आउँछ। खुला ठाउँमा सुतेका भेटिन्छन् पदमबहादुर नेपाली। उमेरले ५२ वर्ष पुगेका। उनी चिसोले बिरामी परेका छन्।
चितवन चैनपुरका उनी लुगा सिएर जीविका चलाउँथे। तर, २२ दिनअघि मेसिन चोरी भयो। कमाइ खाने बाटो हरायो। ‘चोरले पसिनाको कमाइ चोरेर लग्यो। अब कसरी कमाउने ? खाने <’ उनी दुःखेसो पोख्छन्। पहिले उनी मन्दिरको पेटीमा सुत्थे। मेसिन सँगै राख्थे। ‘मेसिन चोरी भयो। त्यहाँ सुत्न मन लाग्दैन। कालभैरव माताकै अगाडि आएर सुत्न थाले’, उनी भन्छन्।
लुगा सिलाउने, कमाउने, खाने । राति मन्दिरमा सुत्ने । यस्तै हो नि मेरो जिन्दगी । तर, मेसिन चोरी भइहाल्यो । के गरी खाने ?
पदमबहादुर नेपाली, चितवन
सडकछाप भनेर उठाएर लैजान्छन्। सुँगुरजस्तै हुल्छन्। न राम्रो लाउन दिन्छन् न त पेटभरि खान नै। चौबीसै घण्टा थुनेको थुन्यै गर्छन्।
हरि बुढा, जुम्ला
गरिबको जिन्दगी लकडाउनले घर न घाटको बनाइहाल्यो । गोजीमा धनसम्पत्ति छैन । चोर, डाँका लाग्ने डरै भएन ।
रामबहादुर थापा मगर, सिन्धुली
पत्थर बिछ्याएको मन्दिर प्रांगणमा निकै चिसो महसुस भइरहेछ। त्यही परिसरमा पातलो मन्डी ओछ्याएर उनी सुतेका थिए। उनको दयनीय अवस्था कोही मनकारीले देखे। सिरक दिएर गए। त्यसले केही राहत मिलेको उनी सुनाउँछन्।
‘भात खान जाँदा मेसिन चोरी भयो। दिनको ५ सयजति कमाइ हुन्थ्यो। पुलिसमा पनि के उजुरी गर्नु ? चोर्नेले चोरी हाल्यो। बेचेर खाइदिइसकेको होला’, उनी भन्छन्, ‘मेरो सम्पत्ति चोर्नेको कहिल्यै कल्याण हुँदैन।’ चौथो पटक मेसिन चोरी भएको उनी सुनाउँछन्।
उनी सानै उमेरमा बुवाआमासँग चितवनबाट काठमाडौं आए। उनका श्रीमती, छोरा र छोरी छन्। सम्पत्तिको नाउँमा गाउँमा एउटा झुप्रो छ। ‘लुगा सिलाउने, कमाउने, खाने, राति मन्दिरमा सुत्ने। यस्तै हो नि मेरो जिन्दगी’, उनी भन्छन्, ‘मेसिनले कमाई गरेर घरजहानलाई बेला–बेला घरखर्च पठाउँथेंँ। अब त्यो पनि छैन। के गरी खाने ? ६० रुपैयाँमा भात पाइन्छ। गोजीमा सुक्को छैन।’
घरै फर्किनुपर्ला भन्ने विचार गरेको उनी सुनाउँछन्। ‘गाउँमा गएर पनि कसरी बस्ने ? मेरो मेसिन छैन। गाउँमा पनि घुमेर कमाउन सकिन्थ्यो’, उनी भन्छन, ‘त्यसै बस्नलाई घर जाने कुरो भएन। घर फर्किन ८ सय पर्छ। खल्तीमा घर फर्किने भाडा पनि छैन।’
०००
कालीमाटीको सडकपेटीमा बोरा देखिन्छ। लाग्छ– बोराभित्र मालसामान छन्। तर, हामी झुक्किन्छौं। नजिकै पुग्दा अनौठो दृश्य देखिन्छ। मजदुरले चिसो छल्न बोराभित्र ज्यान लुकाएका रहेछन्। बोरा ओछ्याउने, कम्बल ओड्ने अनि बोराभित्र पस्ने। भारी भोक्नेहरूले चिसो बढेपछि यसरी नै रात काट्छन्। उनीहरूको बास सडकपेटीमा हुन्छ। जहाँ सटर अगाडिको पेटी टाउको लुकाउने ठाउँ हुन्छ।
देशभरिका स्वादिला स्वादिला तरकारी चखाउने ठाउँ हो कालीमाटी फलफूल बजार। मध्यराति १२ः४३ बज्दा गाडीहरू हुँइकिरहेका छन्। ट्रकका ट्रक तरकारी आइरहेको देखिन्छ। तरकारी लोडअनलोड गर्ने मजदुरहरू बाटो कुरेर बसिरहेका छन्। उनीहरूलाई आतुर छ– ‘कति खेर काम पाइन्छ ?’
‘साथी हो उठ, उठ। ढिलो भयो। गाडी आइसक्यो,’ कालीमाटी सडकपेटीमा सुतेका पोखराका ५२ वर्षीय दुर्गा न्यौपाने हलिखली गर्छन्। कोही पुलुक सडकतिर हेर्छन्। कोही घडीतरि नजर लगाउँछन् त कोही जीउ तन्काउन थाल्छन्। एकपछि अर्को गर्दै सबै मजदुर उठ्छन्।
त्यही बेला कोही बोल्छन्, ‘चिया खाऊ, निद्रा भगाऊ।’
गाडीको उज्यालोले रामेछापका कैलाश खड्कासँग परिचय गरायो। जो १५ वर्षदेखि चिया बेचेर जीवन चलाइरहेका छन्। ‘तातो चिया बेच्यो, जिन्दगी काट्यो। दुई दिनको जिन्दगीमा हामी गरिबको अरू के नै छ र <’, उनी भन्छन्।
देशका ‘कर्मवीर’ हरेक रात सडकपेटीमा लस्करै सुत्छन्। कोही कामको खोजीमा हुन्छन् त कोही मामको। धनीका पक्की घर। डस्ना। सिरक। शरीरभरि न्यानो लुगा। चिसो छल्न हिटर हुन्छन्। तर, गरिबहरू कसरी चिसो भुइँमा एउटा बोरा ओछ्याएर रात काट्छन्, भोग्नेलाई मात्रै यसको पीडा र व्यथा छ। हामी ६ घण्टा चिसोमा हिँड्दा अर्को खुट्टा फुलेर रगतनै जम्यो।
कामदार न्यौपाने भन्छन्, ‘कसलाई दुःखमा बाँच्न मन छ र ? सबैका आफ्ना–आफ्ना भाग्य र कर्म छन्।’
सडकपेटीमा सुत्नेहरू चिसोले बिरामी पर्छन्। तातो खाना, नाना र छाना सबै इच्छा हुन्छ। तर, एक छाक जुटाउनै मुस्किल पर्छ। हुम्लाका श्यामकृष्ण मगर भन्छन्, ‘धुलोमाटोले हाम्रो शरीर भरिन्छ। नुहाउने त कताकता हो। पिउने पानी पनि पाउन कठिन हुन्छ। गरिब नुहाउने खोलामा हुनेखानेले ढल हालिदियो।’
उनलाई लाग्छ, नदी देउता हुन्। यसमा थुप्रै जीवहरू बाँच्छन्। ‘किन उनीहरू (धनीमानी)ले यो कुरा सोच्दैनन् ? खै के भन्ने पढालेखाहरूलाई ? मूर्ख भएजस्तो छ’, उनी भन्छन्।
०००
जुम्ला बुम्रामाढीचौरका ३४ वर्षीय हरि बुढा दिनभरि मजदुरी गर्छन्। राति सडकपेटीमै बास बस्छन्। उनी २०६५ सालदेखि यस्तै दिनचर्या छ। तर, अचेल खान पनि धौ–धौ छ। लकडाउनले सतायो। बौद्धमा पर्यटकले दिएको खान्छन्। दिनमा लुगाफाटो घरघरको चेपमा राख्छन्। राति म्याट ओछ्यार सुत्न लाग्दा चुचेपाटीको सडक किनारमा राति १० बजे उनीसँग हाम्रो भेट हुन्छ।
‘पहिले काम पाइन्थ्यो। अब त पाइन छोड्यो। काम खोज्न गयो, छैन, छैन भन्दै फर्कादिन्छ’, उनी भन्छन्, ‘कमाई छैन। कोठा भाडा लिएर बस्न मिलेन।’
गरिबको दुःखमा ‘लोभिपापीहरू’ले नुन छर्किने गरेको उनी सुनाउँछन्। सरकार र संस्थाले केही वर्षअघि देशभरिका असहाय, गरिबलाई उद्धार गर्ने अभियान चलाएका थिए। तर, त्यो अभियान केही व्यक्तिलाई कमाई खाने भाँडो बनेको उनी सुनाउँछन्।
एक संस्थाले २०६६ सालमा उनलाई गाडीमा लिएर बूढानीलकण्ठ लग्यो। त्यो ठाउँभन्दा सडककै पेटी प्यारो लागेको उनी सुनाउँछन्। उनी भागेर सडककै आइपुगे।
‘सडकछाप भनेर उठाएर लैजान्छन्। सुँगुरजस्तै हुल्छन्। हुलेपछि न राम्रो लाउन दिन्छ न त पेटभरि खान दिन्छन्। चौबीसै घण्टा थुनेको थुन्यै। सुँगुरभन्दा पनि महाथुनेजस्तो गर्छन्’, उनी भन्छन्, ‘गरिबलाई देखाएर संसारबाट चन्दा मागी गरिखाने पेशा हो त्यो।’ उद्धार गर्ने हो भने ज्येष्ठ नागरिक, हिँड्न नसक्ने, अपांगता भएकालाई संस्थाले उद्धार गर्नुपर्ने उनको भनाइ छ। ‘तनेरीलाई त्यहाँ लगेर के काम ? धर्म गर्ने मन छ भने कोठा दिएर दिनको ५० रुपैयाँ किन नहोस् भाडा देओस्। यसैमा चाहिँ सेवा र ठूलो धर्म हुन्छ’, उनी भन्छन्।
गरिब जनतालाई उठाई लगेर थुन्ने र कमाउने काम बन्द गरिनुपर्ने माग उनी सरकारसँग गर्छन्। ‘उद्धारको नाममा गरिबको बेइज्जत पनि गर्छन्। फेसबुकमा हाम्रो फोटो हाल्छन्। सेवा गरेको भन्दै नाम कमाउने अनि हाम्रो खिल्ली उडाउने काम गर्छन्’, उनी भन्छन्, ‘फोटोमा गरिबको अनुहार देखाउँछन्। चन्दा उठाइ आफैं मिठोमिठो पेटभरी खान्छन्। ठूला महल बनाउँछन्। गाडी चढ्छन्।’ गरिबलाई देखाएर उनीहरूले कमाइ गरिरहेको बुढा बताउँछन्। भन्छन्, ‘अहिले हामी दुःखमा छौं। के हामी सधैं यसरी नै रहन्छौं त ?’
उनको माग छ, ‘बेरोजगारलाई सरकारले राम्रो रोजगारी दिओस्। हामी आफंै कमाएर खान्छौं।’ सरकारले काठमाडौंमा मजदुर बस्ने भवन निर्माण गरिदिनुपर्ने उनको अर्को माग छ। भन्छन्, ‘हामी सस्तो भाडा तिरेर बस्छौं।’