कवि अगमसिंह गिरी एक पुनर्पठन

कवि अगमसिंह गिरी एक पुनर्पठन

४४ वर्ष पुग्दा–नपुग्दै, ‘मरणको एक चहकिलो मध्याह्न’, ‘एउटा युवक मृत्य’ मर्ने कवि गिरीले भारतेली नेपाली कवितामा यौटा सिंगो युग नै बोकेका थिए।


नेपाली भाषी भारतीय समाजमा कवि भानुभक्त आचार्यपछि सर्वाधिक चिनिएका र पुजिएका कवि हुन् अगमसिंह गिरी। नेपाली सांस्कृतिक जागरणकै प्रतीकात्मक रूपमा भारतमा कवि भानुको जन्मजयन्ती प्रतिवर्ष विशेष उत्साहका साथ मनाउने परम्परा साढे सात दशकअघि दार्जीलिङले नै बसाएको हो। नेपाली जातीय संवेदनाका अनन्य गवैया कवि अगमसिंह गिरीको जन्मजयन्ती मनाउने प्रथा पनि गत तीन दशकअघिदेखि दार्जीलिङबाटै थालिएको हो।

कवि गिरीको पहिलो अर्धकद सालिक युग परिबोध, दार्जीलिङको प्रयासमा दार्जीलिङ नगरपालिका परिसरमा ईशाब्द (सन्) १९८५मा अनावरण भएको थियो। त्यसको ठीक ९ वर्षपछि, तत्कालीन नवसंस्थापित अर्धस्वायत्त व्यवस्था दार्जीलिङ गोर्खा पार्वत्य परिषद्को तत्परतामा कवि गिरीको पूर्णकद सालिक दार्जीलिङको लुइस जुब्ली प्राङ्गणमा खडा गरिएपछि नै हो दार्जीलिङ सहरमा आधिकारिक तौरतरिकाले गिरी जयन्ती मनाउन थालिएको। गिरी जयन्तीले आज भारतका विभिन्न ठाउँमा नेपाली भाषा–संस्कृतिप्रेमीमाझ एक उत्सवकै रूप लिइरहेछ। गिरीलाई नपढेका तथा नपढ्नेहरूले पनि गिरी पूज्य कविका रूपमा जान्दछन्।
नेपाली भाषी भारतेलीको जातीय व्यथा, अग्घोर जाति–प्रेम गिरीय काव्य–सृजनको एक प्रमुख स्वर भएकैले उनी यहाँका जातीय कवि दरिए। योबाहेक उनको अर्को मुख्य स्वर हो, उनको अन्तरमा गढेर, चेतनालाई ढाकेर बसिरहने यौटा अव्याख्येय दु:ख। यी दुई स्वरको अतीव कोमल काव्यिक अभिव्यक्ति स्वाच्छन्दिक (रोम्यान्टिक) परिपाटीमा दिए कविले। 

यता भारतेली नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रवृत्तिका काव्य प्रणेताहरूमा अगमसिंह गिरी उत्कर्ष हुन्। ईशाब्द १९५५ मा ‘याद’ खण्डकाव्य र १९५९ मा ‘आत्मव्यथा’ (कविता संग्रह) देखि ‘जीवन गीत’ (कविता संग्रह, सन् १९६१) र ‘आँसु’ (गीतिकाव्य, सन् १९६८) हुँदै सन् १९७० मा ‘युद्ध र योद्धा’ (खण्डकाव्य) अनि मरणोपरान्त प्रकाशित कविता संग्रह ‘जलेको प्रतिबिम्ब : रोएको प्रतिध्वनि’ (सन् १९७८) सम्मकै कविताहरूमा यही प्रवृत्तिका विविध रूप पाइन्छन्।

अगमसिंहका दौतरीद्वय वीरेन्द्र अनि ओकिउयामा ग्वाइनका स्वाच्छन्दिक काव्य–प्रणयन भिन्दाभिन्दै धारमा बगेको थियो। अघिल्लोमा प्रगतिवादी चेत प्रखर पाइन्छ भने पछिल्लोमा रहस्यवादी दार्शनिकता। गिरीको जाति–प्रेम केवल सामयिक संवेग तथा अस्थायी आवेग थिएन। थियो त्यो उनको हृदयमा निरन्तर ढुक्ढुकाइरहने प्राणतत्त्व। त्यै ढुकढुकीको आरोह–अवरोह सुरुदेखि नै उनका अधिकतर कवितामा सुनिन्छ।
यसरी ढुकढुकिरहने जातिप्रेम भावी सन्ततिमा पनि तरंगित भइरहोस् भन्ने चाहन्थे उनी। त्यसैले, ‘मृत्युअघि सल्बलाउँछ जातित्व’मा लेखे–

भनिराख्छु मेरो छोरालाई 
प्यारो यो जातित्वको माया 
नेपालीत्वको सुन्दर अभिमान 
यहाँ नेपाली– केवल नेपाली बन्नुको गर्व 
जीवनको एउटै
केवल एउटै असीमित सार्थकता 
यिनै हुन् ज्यथा, हुन् यिनै सम्पत्ति...

नेपाली जातिको दीनता–हीनताले अचाक्ली दुख्दै पनि तर नेपाली हुनुको गर्व छ कवितामा। उनको हृदयमा नेपाली जातिको माया यति अगाध कि ‘नेपाली आमाको गर्भमा फेरि आउने/एक धमिलो प्रलोभन पुनर्जन्मको’ यस्तो उत्कट चाहना अभिव्यक्त छ, पूर्वोद्धृत कवितामा। नेपाली जातिप्रति यतिविधि अनुरागले हरहमेशा द्रवित भइरहने कवि गिरीभन्दा अघि या पछि भारतेली नेपाली साहित्यमा विरलै देखिन्छ। नेपाली जातिप्रति कविको यो प्रगाढ प्रेमले भौगोलिक साँध मेट्न खोज्थ्यो। त्यो भौगोलिक साँध जुन इतिहासको यौटा कथाले कोरेको थियो भारतेली नेपालीको निधारमा। त्यसैले उनले गाए राष्ट्रियताको राजनीतिक विवेकभन्दा माथि उठेर जातीय भावना छपछप भिजेका पंक्तिहरू। 

जसबाट सुरहरू निस्के विरह र विक्षोभका, आक्रोश–अठोट र आशाका, अनि कहिले हरेस र हतासका। बिडम्बना नै बनेको यौटा ऐतिहासिक घटनाले पूर्वजभूमिबाट पृथक्याएर अर्कै बासभूमिमा परेको यथार्थ गिरीको छातीमा गिर्खा जस्तै बिझाइरहन्थ्यो। ‘घरको माया बिर्सेर किन पो यहाँ आयौ नि?’ यो प्रश्न उनको मेचीवारिका सारा नेपाली (नेपालीभाषी भारतेली)लाई। कविता ‘सम्चार यही भन्दिनू’ टुंग्याउँदै– ‘सोद्धै खोज्दै देवराली डाँडा पारी पुग्नेछु/धरराका वरिपरि तीनै सहर हेर्नेछु’ भने। तर पनि ‘नेपाली तन लिई प्रवास पथमा व्यर्थै म जन्में किन?’ सम्म उनले भनेको पाइन्छ। पछि रेडियो नेपालबाट पुष्प नेपालीले ‘फर्क हे फर्क नेपाली तिमीलाई डाक्छ हिमाल/आमाको माया बराबर तिम्रै हो तिम्रै हो नेपाल उज्ज्वल’ मर्मस्पर्शी धुनमा गाए। जसले प्रवासिएका नेपालीलाई आह्वान गरे। यताबाट अगमसिंह गिरीले प्रत्युत्तर दिए–

‘नडाक हिमाल हामीलाई अस्तित्व हाम्रो बिलाउँछ 
नडाक पहाड–पखेरो जातित्व हाम्रो निदाउँछ 
आँसुको माया छरेर गण्डकी–कोसी नडाक 
लेकाली डाँडा नडाक महाकाली मेची नडाक 
हामीले यहाँ हेर्नुछ ब्युँझेको नौलो बिहानी 
– ‘सुन हे सुन नेपाली’ 

उसबेला अम्बर गुरुङको स्वर–संगीतमा लोकप्रिय बनेको २२ पंक्तिको यो गीतमा आफू बसेको यो ठाउँ छोड्न नसक्नुको अरू धेरै भावनात्मक कारणहरू देखाइएका छन्। ऐतिहासिक प्रारब्धले पारिदिएको जुन बासभूमि छ त्यहीनेर ‘ब्युँझेको नौलो बिहानी’ हेर्ने आकांक्षा पालिएको पाइन्छ। अब यहाँका पाखा–पखेरा, चियाबारी–बाँसघारी, सयपत्री–चाँप–गुराँससितै जीवन हुर्किरहेको छ। त्यसैले, अर्को गीत ‘मायालु पाखा चियाबारी’मा उनले फेरि भने– ‘नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली...।’ ‘पुर्खाको लास यहीं छ चियाबारीमाझ रोपेको/चिनारु खोज मुग्लानमै स्याउलाले कहीं छोपेको।’

उनको स्वच्छ जातीय भावना सिर्जनात्मक उत्कर्षमा उठेको छ खण्डकाव्य ‘युद्ध र योद्धा’मा। विश्वयुद्धमा विसर्जित भई वैश्विक ख्याति कमाएका वीरको वीरत्व तर अब कविद्वारा प्रसंशित छैन यहाँ। बरू बारम्बार धिक्कारिएको छ, त्यो सौर्य स्वजातीय स्वाभिमानको निमित्त नभएर अरूका निमित्त खर्च गरिएकोमा। अमरसिंह, बलभद्र, भक्ति थापाजस्ता स्वाभिमानी योद्धाहरू चाहिएको हो जातिलाई। चाहिएको होइन अरूका निमित्त लडिदिने स्वाभिमानहीनहरू।

भिक्टोरिया क्रस र अरू अनेक तक्माहरूले वैश्विक ख्यातिमा उचालेको गोर्खा वीरत्वप्रति गर्वित हुने अर्थात् त्यसलाई गौरवीकरण गर्ने, मिथकीकरण र रूमानीकरण गर्ने पारम्परिक भाव तथा दृष्टिको यस्तो मूर्तिभञ्जक अपारम्परिक विपठन ‘युद्ध र योद्धा’भन्दा अघि कुनै नेपाली कवितामा भएको थिएन। बिडम्बनै भएझैं, पूर्णतया रोम्यान्टिक कवि गिरीले नै गोर्खा वीरत्वको रुमानीकृत रूपलाई विरुमानीकृत गरिदिए। विश्वद्वारा प्रशंषित जातीय सौर्यलाई परबाट नियालेर तथा यस सौर्यको उपयोगको औचित्य–अनौचित्यमाथि यस किसिमको विवेचनात्मक आख्यान काव्यिक तहमा सिर्जना भएको पहिलो काव्य हो, युद्ध र योद्धा।

यस काव्यको वस्तु तत्त्वले शिवकुमार राईको कथा ‘फ्रन्टियर’को सम्झना गराउँछ। वजिरिस्तानको सीमामा पठान केटी शलिमाले गोर्खा सिपाहीको चेतनालाई बेस्सरी झक्झकाउने शब्दहरू दाह्रा किट्दै बोलेकी थिई। उसले भनेकी थिई, ‘थुक्क तिमीहरूको जुनी ! सफेद चमडाका गुलामहरू। आफ्नो देशको रक्षा त कहाँ छ कहाँ, दस रुपैयाँमा गुलामी गरी अर्काको घर फोर्न हिँड्ने ! हामी पठान हौं। एउटै मात्र पठान जिउँदो रहुञ्जेलसम्म पनि हामी यी सेता सुँघुरहरूलाई घरभित्र पस्न दिन्नौं।’

अनि कथाको मूल पात्रको मनमा कुरा खेल्छ– ‘...अमरसिंह र बलभद्रजस्ता वीर पुर्खाहरूले घरको रक्षा गरेका थिए, तर तिनै वीर पुर्खाका सन्तान म चाहिँ के भनेर अर्काको घर फोर्न तम्सें हुँला...।’ अनि फेरि भन्छ– ‘आत्मग्लानी र क्षोभले म एकछिन पनि शलिमाको अघि टिक्न नसक्ने भएँ।’ फ्रन्टियर (ई. १९५१) कथाकी शलिमाका यिनै शब्दहरूमा बीज भेट्टाएर युद्ध र योद्धा (ई. १९७०)को काव्यिक वृक्षले यो रूप लिएको हो कि ? पाठकले यस्तो अनुमान लाउनै सक्छ।

प्रभावकारी काव्यिक संरचनामा यौटा महत् वैषयिक माध्यम काव्यिक जीवन्ततामा तरंगित भइउठेकाले नै यो काव्यकृति वैशिष्ट्यको उपल्लो तहमा उक्लेको छ। पहाडको उपत्यका माझबाट एक रफ्तारको बेगले आफ्नै छुट्टै आवाज उपत्यकाभरि गुञ्जाउँदै बगिरहेको खोला जस्तो छ, यसको काव्यिक गति। सुरुदेखि अन्त्यसम्मै यस खण्डकाव्य यस्तरी प्रवाहित छ कि त्यो प्रवाहसितै पाठक स्वत: हेलिँदै जान्छ। नेपाली काव्यविधामा गिरीको युद्ध र योद्धालाई एक विशेष उपलब्धि मान्न सकिन्छ।

जातिप्रेमले ओतप्रोत अगमसिंहका कविता र गीतहरूले भारतेली नेपाली समाजको संवेदनालाई स्वीकारेका छन्। जातीय जागरण अझ माथि उकास्न, अर्थात् सुस्ताउन खोजेको जातीय चेतनालाई ब्युँझाउनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् भनेर निर्धक्क भन्न सकिन्छ। गिरीका कविताहरूमा पाइने लुटिएको, पिल्सिएको, ठगिएको, हेपिएको, जीर्ण, विदीर्ण, गरिब, निमुखा, शोषितजस्ता शब्दहरू पनि तत्कालीन अधिकतर निम्न र केही निम्नमध्यवित्त वर्गले निर्मित भारतेली नेपाली समाजकै दुर्दशाका चित्रण हुन्। 
तीप्रतिका टिठ्याइँ हुन्, आफ्नो जातिको माया व्यक्तिएका हुन्। त्यसभन्दा पर ती शब्दको अरू कुनै अतिरिक्त अर्थ छैन। गिरीय कविताको अर्को उत्तिकै टड्कारो स्वर हो, कविको अन्तर्तहबाट ध्वनित भइरहने दु:ख। खण्डकाव्य याद (ई. १९५५) अनि आँसु (ई. १९६८) यही आन्तरिक दु:खाभिव्यञ्जनाका धारा हुन्। युद्ध र योद्धा पनि बेग्लो सुरमा सुनाइएको त्यही स्वर हो। यी बाहेक उनका फुटकर कविताहरूमा पनि यो आर्त र आर्द्र स्वर पर्याप्त सुन्न पाइन्छ।

विगतप्रतिको विव्हलता, आँसु, रोदन, प्रकृति, एकान्तताजस्ता कुराहरू स्वाच्छन्दिक स्वभावलाई सहजै समात्ने तत्त्वहरू त हुँदै हुन्। कहिल्यै नफर्कने गरी बितेर गएको शैशव, संघर्षमय यौवनको अधुरो प्रेम, एक्लो जीर्ण बुढेसकालको कल्पना जीवनका यी तीन अवस्थाको लयात्मक, गेयात्मक, अतीव कोमल काव्यिक प्रस्फुटन छ ‘याद’ खण्डकाव्य। उनको कविता संग्रह आत्मव्यथा (ई. १९५९)मा संकलित कविता ‘शैशव स्मृति’ याद भन्दा अघि लेखिसकिएको थियो कि ! अनि त्यसकै विस्तारित रूप पो हो कि यो खण्डकाव्य ! यस्तो अड्कल काट्न सकिन्छ। ‘याद’को तेस्रो पद (चौध पंक्तिको) मा रहेको आठ पंक्तिलाई नै शैशव–स्मृति कविताको प्रारम्भिक पदको रूपमा कुनै हेरफेर नगरी जस्ताको तस्तै राखिएको छ।

यादमा पदैपिच्छे पुनरावृत्त पंक्ति छ– ‘जीवन क्षणको स्वप्न जगाउँदै/आयो निर्मम याद।’ ‘शैशव–स्मृति’मा यस्तो रिफ्रेनको पंक्ति छ– ‘आज बितेको स्मृतिले छुपछुप मेरो नयन रुझायो।’ तर, यस कविताको दोस्रो पदको अन्त्यमा रिफ्रेनको रूपमा प्रयुक्त पंक्ति र त्यसको अघिल्लो जोडी पंक्ति नै यादको चौथो पदमा फेरि जस्ताको तस्तै राखिएको देखिन्छ (हेर्नुहोस्– पाँचौंदेखि आठौं पंक्ति)। उसरी नै यादको पाँचौं पदको आरम्भिक चार पंक्ति दुरुस्तै शैशव–स्मृतिमा अन्तिम पदको रूपमा राखिएको छ। खण्डकाव्यलाई खण्डित गरी फुटकर बनाउने सम्भाव्यताभन्दा फुटकर कवितालाई नै विस्तार गरी खण्डकाव्य बनाइएको भन्ने अनुमान बढी बलियो बुझ्न सकिन्छ। जे होस्, यी कुरामा कविको काव्यिक कसरतको झल्को देखिन्छ।

गिरीको अर्को खण्डकाव्य, (कविले गीतिकाव्य भनेका), आँसु (ई. १९५६ मै लेखिएको तर १९६८ मा मात्र प्रकाशित) उपसंहारसहित चार खण्डमा छ। जुन यी शीर्षकसित– ‘प्रात:लाई चुवाएको आँसु’, ‘साँझलाई चुवाएको आँसु’, ‘रातलाई चुवाएको आँसु’ अनि ‘उपसंहार’। एक दिन (चौबिस घण्टा)को तीन अवस्था मात्र देखाइएको छ– प्रात:, साँझ, रात जसका निम्ति आँसु चुहाइएको छ। प्रात: अनि साँझको माझमा आउने दिन (दिउँसो)लाई बाहेक गरिएको छ यहाँ। किन होला ? प्रश्न उठ्न सक्छ। आँसु त्यो संवेदनको मौन तरल रूप– प्रात:कालको शान्त परिवेश र त्यसबेलाको मौन शीतविन्दु जस्तै।
आँसु त्यो मनस्थितिको निस्तेज घुर्मैलो रूप– दिन र रातको दोसाँधमा पस्रिएको साँझ जस्तै। आँसु त्यो एक्लोपनको अँध्यारो रात जस्तै चिसो भिजेको रूप। स्वाच्छन्दिक भावनाले भिजेको मन चुहिनलाई यिनै शान्त एकान्त प्रहर बढी अनुकूल भइदिन्छ स्वभावैले। दिउँसोको प्रहर स्वभावत: त्यो व्यस्तता, लोकाचार तथा व्यावहारिक संघर्षको प्रतीकरूप टड्कारो देखिनाले त्यहाँ कोमलता, संवेदनशीलता जस्ता सूक्ष्म कुराहरू उदांगो दिनको प्रतिकूलताद्वारा पाखा पारिनु अस्वाभाविक होइन। त्यसैले, रोम्यान्टिक प्रवृत्तिका रचनामा प्रात–साँझ–रातको एकान्तिक सौम्यता तथा रम्यताको चित्रण जति देखिन्छन्, दिनको बेफुर्सद व्यावहारिकता त्यति चित्रित भएको देखिँदैन। 

सामान्यत: प्रात: त प्रतीक हो पीडान्तको, नवस्फुरणको, नवजागरणको, नवोत्साहको। तर गीतिकाव्य ‘आँसु’मा प्रात: नै साँझ र रातभन्दा तीन गुणा बढी आँसुले भिजेको छ। आशा र उत्साहको होइन तर उदासीनताको उठान भइदिएको छ प्रात: कविको दृष्टिमा। नैराश्य निचोरिएर चुहिएको छ, प्रात:मै प्रचुर, झन्नै निख्रिनै खोजेर। त्यसैले, साँझ र रातका निमित्त, औदास्य र विरहलाई ती समय अझ बढी अनुकूल भए तापनि, अश्रु–अभिव्यक्ति धेरै कम भएर गएको छ।
आँसु उमार्ने मार्मिक घटना वा स्थिति काव्यमा स्पष्ट देखाइएको छैन। तर कवि देख्छन्, सबथोक अश्रुसिक्त। जीवन, जगत्, प्रकृति सबै सबै रोदनमय। अनि भन्छन्– ‘रोदन सत्य हाँसो मिथ्या/अश्रु अमृतकण हो।’ अनि कविलाई आँसु नै प्रिय लागेको तथा रोदनप्रति आफ्नो अधिक आसक्ति रहेको आत्मस्वीकृति काव्यभरि भेटिन्छ। दृष्टान्त केही– ‘प्रिय मलाई लाग्दछ रोदन/चिर दिनको हो आँसु।’ हेर्नलाई यस्ता धेरै पंक्ति भए तापनि दुई पद मात्रले पनि कविको यस प्रवृत्तिबारे यहाँ थप कुरा राख्नलाई पर्याप्त हुन्छ–

मार्मिक गहनै लाग्दछ प्यारो
आँसु हरदम छाएको
अन्तर प्यारो लाग्दछ किन हो 
व्यथा नवनव पाएको 
समस्त सुखको हाँसो दिन्छु 
आँसु मलाई देऊ
मेरो मनमा तप्त व्यथाको 
घाउ मलाई देऊ 

आँसुुलाई गहना देख्ने, ‘व्यथा नवनव पाएको’ अन्तर (हृदय) प्यारो लाग्नु, ‘समस्त सुखको हाँसो’ दिएर सट्टामा आँसुु चाहने, ‘तप्त व्यथाको घाउ मलाई देऊ’ भन्नु यो असामान्य स्वभाव तथा मनोग्रन्थीको संकेत हो। जुन एक मनोवैज्ञानिक समस्या ‘स्वपीडन’को परिधिभित्र पर्छ। आफैंलाई पीडा दिएर अथवा स्वेच्छाले कसैमार्फत् पीडा प्राप्त गरेर एक प्रकारको यौनिक आनन्द अनुभूत गर्ने असामान्य मनोग्रन्थी। त्यसो त प्राय: सबै सामान्य मानिसमा पनि कुनै न कुनै रूपमा, आंशिक मात्रामा भए पनि, स्वपीडन ग्रन्थी रहेको हुन्छ नै। जस्तो कि यसैको विपरीत ध्रुवमा देखिने परपीडन ग्रन्थी। र, यी ग्रन्थी विभिन्न छद्मरूपमा नजानिँदो प्रकारले प्रकट भइरहेका हुन्छन्; स्वभावका यस्ता छद्मरूप अरूलाई तथा समाजलाई बिझाउने नभएसम्म ती कुरालाई उस्तो वास्ता गरिँदैन। हुस्सेजस्तो अस्पष्ट दु:खप्रति निरन्तर आसक्त भइरहने मनाग्रहकवि गिरीमा सुरुदेखि नै पाइन्छ। सौन्दर्यबोधको दृष्टिमा यो उनको स्वच्छन्दतावादी आग्रहकै एक रूप हो। मनोवैज्ञानिक दृष्टिमा भने यसलाई म्यासोकिज्म (स्वपीडन) मनोग्रन्थीको यौटा रूप मानेर अध्ययन गर्न पनि मिल्छ।

आँसुु गीतिकाव्यको दार्शनिक निचोड हो : सुख (हाँसो) भन्नु मिथ्या (अनित्य), आँसुु (दु:ख) नै सत्य (नित्य)। अनि यही सत्यलाई अँगाल्न कवि नजानिँदो किसिमले उनको अवचेतनको गव्हर (गहिराई)बाट उत्प्रेरित भई स्वपीडक (म्यासोकिस्ट) बनिसकेका हुन्छन्। सायद गिरीको कवितामा थाहा गरिने अव्याख्येय दु:खको मूल खोज्न परे उनको अवचेतनको अँध्यारो गुफामा रहेको स्वपीडन ग्रन्थीमा पुग्न पर्छ। कविले यदि सुखझैं दु:ख पनि अनित्य अर्थात् सुख–दु:ख दुवै नै मिथ्या हुन् मानेका भए उनको कविता सम्भवत: आध्यात्मिक चिन्तनतिर मोडिन्थ्यो। फेरि अर्को सम्भाव्यता– ‘दु:ख पराजेय, सुख प्राप्तेय’माथि विश्वास दृढ उभिँदो हो त कविको काव्यिक धार निश्चयत: अर्कै हुने थियो !’

ई. १९६३ देखि थालिएको आयामेली लेखन आन्दोलनले आफ्नो थर्किँदो पदचाप दार्जीलिङको सडकमा सुनाएर नितान्त नौलो र भिन्दै साहित्यिक हलचल मच्चाइरहेको बेला थियो। त्यसैबेला कवि गिरीले ई. १९६८ मा आँसु प्रकाशित गरेर सायद आफ्नो यो गीतिकाव्य आफूलाई निकै नै प्रिय लागेको संकेत दिइरहेका थिए। यति प्रिय कि आयामेली लेखनको दुन्दुभीले यसलाई हल्लाउन सकेन। र त्यो, उनको आफ्नो कवित्वप्रति रहेको दह्रिलो आत्मविश्वासकै प्रकाशन पनि थियो भन्न सकिन्छ। उक्त दुवै काव्य ‘याद अनि आँसु’मा गिरीको जुन अतीव कमनीय, कोमल, लयात्मक, सुललित भाषा छ। त्यसले पाठकलाई सहजतासित खिचेर लगिरहेको हुन्छ। युद्ध र योद्धा जस्तो अर्कै धारको काव्यमा पनि यो गिरीय काव्यिक लालित्य लगभग उस्तै छ।

४४ वर्ष पुग्दा–नपुग्दै, ‘मरणको एक चहकिलो मध्याह्न’, ‘एउटा युवक मृत्य’ मर्ने कवि गिरीले भारतेली नेपाली कवितामा यौटा सिंगो युग नै बोकेका थिए। जबसम्म भारतमा नेपाली भाषासित, नेपाली संवेदनासित नेपाली जाति रहला, तबसम्म कवि अगमसिंह गिरीको सान्दर्भिकता सधैं टड्कारो रहिरहनेछ।

नचिनिने भएछौ !
- अगमसिंह गिरी

तिमी ता यहाँ नचिनिने भएछौ।
गालाका रगतहरू सुकिसकेछन्
आँखाका ज्योति सब हराइसकेछन्
तिमी ता रुँदारुँदै निदाएको
बालक जस्तो
कठोर कारागारको यातना भोगी
विरक्त बन्दी जस्तो
गाँस खोसिएको बास लुटिएको
विह्वल हतभागी जस्तो
कस्तो कस्तो भएछौ !
तिमी ता यहाँ नचिनिने भएछौ !

अतीत गौरवले धपक्क बलेको
अघिको चहकिलो अनुहारमा
ग्लानिका विषाक्त रेखाहरू कोरिएछन्
पहाडका वैशाखी बनमा
तिमी जङ्गली फूलझैं हँसिलो देखिन्थ्यौ
तर अब ता चेहरामा तिम्रा
विषादका काला धर्साहरू कोरिएछन्
चोटमा भुक्नु होइन, बरु सहनु सिकेछौ
अब ता अर्कै अर्कै जस्तो भएछौ
तिमी ता यहाँ नचिनिने भएछौ !

’तिमी को हौं– चिनाउन आएको होइन म
बितेको गौरव–गाथा कहन आएको होइन म
तिम्रा संतप्त छातीका पीरहरू उखेल्न आएको होइन म
सजिलै खोसिएको गाँस
हलुकै लुटिएको बास दिलाउन आएको होइन म
छातीको त्यो गहिरो खोपिल्टा पूर्न आएको होइन म
निर्धा आँसुका धारा हेर्न आएको होइन म
केवल तिमी ‘तिमी’ नै हौ कि चिन्न आएको म
तर, तिमी ता यहाँ नचिनिने भएछौं !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.