कान्तिपुरी नगरी काष्ठकलाको अलकापुरी

कान्तिपुरी नगरी काष्ठकलाको अलकापुरी

वैज्ञानिक प्रविधि, उपकरण र कलकारखानाका होडमा हाम्रा पौराणिक हस्तकलालाई यथावत् जगेर्ना गरिराख्न कठिन साध्य बनेको यथार्थ हो।


नेपाली काष्ठकारिगरी काठमाडौं उपत्यकाका तीनवटै सहरको गौरव मानिन्छन्। यी काष्ठकारिगरी खासगरि नेपाल र नेपालीका लागि गौरवशाली गरिमाका संवाहक पनि बनेका छन्। यस गरिमाको ऐतिहासिक पृष्ठभूमि लिच्छविकालीन सभ्यतासित जोडिएको पाइन्छ। यसको प्रत्यक्ष प्रामाणिक इतिहास विश्वविख्यात चाँगुनारायणको मन्दिर हो। जुन भक्तपुर जिल्लाको उत्तरपश्चिममा छ। यो मन्दिरमा जडित काष्ठकारीपूर्ण झ्यालढोका, टुँडाल र अनेक प्रकारका चित्रकारी आँखीझ्याल खासगरि बाह्य पर्यटकका आँखामा गढ्ने गरेका छन्।

नेपाली काष्ठकारिगरी सहरकै गौरवशाली गरिमाका संवाहक बनेको छ। यो गरिमाको ऐतिहासिक पृष्ठभूमि लिच्छविकालीन सभ्यतासित जोडिएको छ। यसको प्रत्यक्ष प्रामाणिक इतिहास भक्तपुर जिल्लाको उत्तरपश्चिममा रहेको विश्वविख्यात चाँगुनारायणको मन्दिर रहेको छ। यो मन्दिरमा जडित काष्ठकारीपूर्ण झ्यालढोका, टुँडाल, अनेक प्रकारको चित्रकारी आँखीझ्याल रहेका छन्। संस्कृत वाङ्मयमा चाँगुनारायणलाई चम्पक नारायण भनिन्छ। तत्कालीन अवस्थामा चाँगुनारायण स्थानमा चाँपको घना जंगल थियो। चम्पक वर्तमान नेपाली वाङमयमा चाँप नै हो। चाँप शब्द लिच्छवि भाषाबाटै हाम्रो वाङमङ नेपालीमा प्रवेश भएको थियो। 

भनिन्छ, चाँपको काठ नितान्त कमलो हुन्छ। काष्ठकारिगरी गर्नेका लागि अत्यन्त नै उपयुक्त आधार वस्तु। काष्ठकारिगरी भन्नु काठमा बुट्टा कुँदेर कलावस्तु बचाउनु नै त हुँदो हो। मात्र चाँपको काठलाई पानीले जोगाउन पर्नै हुन्छ। झरी पानीले यसलाई भसक्कै निमित्यान्न पार्दो हुन्छ। कमलो काठमा बुट्टागरी सुगम पर्दो हुन्छ। उत्तम वस्तु भएरै चाँपलाई काठका राजा भनिन्छ। मेरै जीवनकालमा भक्तपुर, ललितपुर, कान्तिपुरका मन्दिर र अरू कलावस्तु संग्रहालयमा चाँपका काष्ठकारिगरी यथावत् रहेका छन्। काष्ठकारीपूर्ण कलावस्तुहरू बनेपा, धुलिखेल, खोपासी, पनौती, डोटी, सिलगढी दार्जीलिङका मन्दिरहरूमा पनि देखेको हुँ। जंगबहादुरका भाइ धीरशमशेरले त झन्डै भक्तपुरका पाँचतले, ललितपुरको बगलामुखी जस्तै कलाकृतिपूर्ण भव्य मन्दिर धीरधामै बनाउन लगाएको रहेछ। नेपाली मौलिक कलाशैलीमा धीरधाम अझै अध्यावधिक तन्दुरुस्त छ। नेपाल राज्यको अमित सांस्कृतिक सीमा स्तम्भको प्रतिमूर्ति झैं लाग्छ हाम्रो सांस्कृतिक स्तम्भ समान त्यो। 

अचेल हाम्रा जीवन्त जमानाले बनेपा भन्ने गरेको काभ्रे जिल्लाको एक नगर लिच्छविकालका आधार भूमि रहेको थियो। त्यहाँ अचेल भरी चण्डेश्वरी माईको भव्य मेला लाग्छ। चण्डेश्वरी जात्रामा स्थानीय युवा पुस्ताले माईको रथ काँधमा बोकी झुलाउँछन्। झुलाउने अवसरमा जुरुकजुरुक उचाल्ने अवसरमा ‘ल्ह्वाकायो मायन ल्ह्वाकायो’ भन्ने प्रचलन छ। प्रफुल्ल उमंग अवस्थामा अनायासका उल्लास यो। चण्डेश्वरीका मन्दिर पीठमा चाँपको बोट थियो। त्यसै बोटको जरोमा चण्डेश्वरी माईको आगम रहेकाले चण्डेश्वरीको आवास गृह मान्छन्, अद्यावधिक बनेपाली बन्धुहरू।

काठमाडौं वसन्तपुरस्थित नौतले दरबारको कलात्मक झ्याल । 

लिच्छविकालीन नेपालको आधारभूमि सम्भवतः बनेपा थियो। चण्डेश्वरी माई मन्दिर परिसर पनि अति प्राचीन अवस्थाको काष्ठकारीपूर्ण रहेको छ। चण्डेश्वरी स्थलमा उसबेला चाँपको घना जंगल रहेको धारणा राख्दछन्। इतिहासको एक कालखण्डमा लुम्बिनी एकीकृत ग्रामीण विकास परियोजनाको परिकल्पना गरिएको थियो। जापानका विभिन्न प्रिफेक्चरमा स्थापित–निर्मित बुद्धका पावनस्थलहरू अवलोकन भ्रमणमा जाँदा बुत्सु बुत्सु पुकारेको सुनेथें। त्यहाँका पैगोडा शैलीमा निर्मित बुद्धस्थलका काष्ठकारी पनि आफ्नैपन झल्काउने खालका आकर्षण रहेथे। टोकियोको ‘आशाकुशा स्राइन’मा त भव्य हीरामोती नवरत्न जडित बुद्धको आकृति अवलोकन नितान्त आल्हादक रहेथ्यो।

स्राइनभित्रको बुत्सु दर्शनार्थ बनाईका ठूलाठूला ढोकाका गाह्रोमा सुनौलो यामानका सोनापत्र टाँगिएको पाएँ। मेरो पथप्रदर्शक महाशयसित जिज्ञासा राखें, ‘यो के हो ? मित्सुकी साँ ? उहाँले भन्नुभयो, ‘यसको पूर्ण जानकारी मसित पनि छैन। तपाईंहरू तिरबाटै आएको भनेकोसम्म सुनिजानेको छु।’ म ढुक्क भएँ अब यो हाम्रै नेपालको हो। यसलाई नेपाल भाषाको रञ्जना लिपिको कुत्ताक्षर भनिन्छ। रञ्जना लिपि संयुक्त राष्ट्रसंघमा दर्ता भएको नेपाल राष्ट्रकै मौलिक लिपि हो। स्वर्गीय राजा महेन्द्रका पालामा २०१३ सालमा संयुक्त राष्ट्र संघको सदस्यता निमित्त हाम्रा चलनचल्तीका देवनागरी लिपि उल्लेख गरेकोमा यो त भारतको हो। नेपालको हो भने त्यसपछि काठमाडौंमा विज्ञजनबीच साहुती गरियो। अनि नेपाल भाषाको सुन्दर कलात्मक रञ्जना लिपि संयुक्त राष्ट्रसंघमा दर्ता भएको थियो। रञ्जना लिपिमा अभिलिखित सोनापत्र, ताम्रापत्र आदि काष्ठकारिगरितापूर्ण मन्दिर, स्मारक स्थलहरूमा जडित पाइन्छन्। यत्रतत्र अझै।

भक्तपुरस्थित न्यातापोल मन्दिर

अन्तरमनले गुनगुनाए, ‘हाम्रामा पनि यति भव्य लिच्छवि र मल्लकालीन उत्कृष्ट प्रस्तर, काष्ठ, धातु मूर्तिहरू टुट्ने फुट्ने नगरी कुनै अत्याधुनिक आवरण दिएर सुरक्षित राख्नु परिष्कृत हुँदो हो। सरोकारी वर्गका ध्यानाकर्षण गर्ने चेष्टा जागिरहन्छ। यस्तो चेष्टा जाग्नुको अन्तर्य हाम्रा ती अनमोल कला–साधनाहरू वैज्ञानिक उपचारबिना लापरवाह यत्रतत्र परिरहेका छन्। त्यसो त हाम्रो प्राचीन–पौराणिक–तान्त्रिक विधिमा प्रस्तर मूर्तिहरूमा दूध, दही, सखर, मह, घिउ समानुपातिक मिसावट मिसाएर लेपन गर्ने प्रविधि नभएको होइन। यस विधिलाई पञ्चामृत लेपन विधि भनिन्छ।

काष्ठकारिगरीलाई घामपानीबाट जोगाउन प्राकृत जडीबुटीलाई बेसरी पकाएर लेपन गर्ने प्रविधि नभएको होइन। कालान्तरमा बार्नेस, इनामेल पोलिसिङले बजार पाएपछि हाम्रा मौलिक वस्तुगत प्रविधिहरू अन्तरध्यान हुन पुगेका हुन्। वैज्ञानिक प्रविधि, उपकरण र कलकारखानाका होडमा हाम्रा पौराणिक हस्तकलालाई यथावत् जगेर्ना गरिराख्न कठिन साध्य बनेको यथार्थ हो। २०१३ सालको फागुन बाह्रबिसे माथि फुलपिङ कट्टी पुग्दा वनस्पति जडीबुटीहरू ठूल्ठूला खर्खण्डोमा इनामेल जस्तै बनाइएको ग्रामीण परिपाटी प्रत्यक्ष दर्शन गर्न पाएथें।

जेसुकै भए पनि मौलिक काष्ठकारिगरी यति वैविध्य/विविधतापूर्ण छ यो छोटो प्रस्तुतिमा वर्णन गर्न साध्य हुन्न। यहाँ छोटो मिठो ढंगमा आँखेझ्यालको प्रसंग जोड्ने जमर्को गर्न चाहेको छु। आँखेझ्याल साना, ठूला, सादा, बुट्टेदारहरू छन्। भक्तपुर दत्तात्रय स्थानको पुजारी मठको पूर्व दिशाभिमुख मयूरझ्याल विश्वविख्यात छ। यति कलात्मक झ्याल मात्र त्यही नै रहेको छ। आँखीझ्यालको चारैतिर ससाना मयूरहरू झरर् उड्ला जस्तै जीवन्त ढाँचामा कुुँदिएका छन्। यति धेरै पर्यटकहरू आगमन भइरहन्छन् कि क्युरियो सामग्रीहरू, मृत्तिकाका मकुण्डोजडित पुतलीहरू आदि आकर्षण विन्दु बनेका छन्।

आँखेझ्याललाई नेपालभाषामा तिकिझ्याल, आङ्लोमा पिपिङ विन्दो/ल्यातिस भनिन्छ। केही नदेखिने भाव बोधक हुन्छ आलेख। यसले कोठाभित्रबाट बाहिर चियाउन मिल्ने अर्थबोध हुन्छ। बाहिरबाट भित्र केही नदेखिने भावबोधक यथार्थ बनेको छ। यसको प्रयोजन समय, युग, प्राकृतिक, सामाजिक, सांस्कृतिक पर्यावरण र संस्कार अनुरूप भएका छन्। समय युगानुकूल हुन्छ। युग प्रकृति र पर्यावरणमा चल्छ, चलेको हुन्छ। 

आँखेझ्याल कालखण्डमा प्राकृतिक परिवेश खुला चकमन्न अवस्थाको आविष्कार थियो। हावाको झोक्काको बेग अचेलको हुरी–बतास जस्तै बेगवान हुन्थ्यो। मेरो बाल्यकालको अवस्था र वर्तमान स्थिति एक समान छैन, भएन। सामाजिक परिवेश अहिले झैं खुला, स्वच्छन्द थिएन। मात्र प्राकृतिक परिवेश खुल्ला उन्मुक्त थियो। हाम्रो नेपाली काष्ठकला र सीप युगानुरूप विकसित भएर नैरन्तर्य चलिरहेका छन्। अब त विश्व पर्यटन र पर्यावरणका बहँदो छ्यानका कारण नेपाली काष्ठकारिगरी विश्वव्यापी फैलँदै छ। कतिपय अन्तर्राष्ट्रिय पर्यटकहरू हाम्रामा रुमलेर विश्वभरि फैलाइरहेका छन्। हाम्रा सबैसबै प्रकारका काष्ठकारिगरी फैलाउन सहयोग गरिरहेका छन्। हल्का फुल्का हलुँगा चाँपका काठ अहिले दुर्लभ भएर कालजयी काष्ठकारी साधना दुर्लभ छन्।

काष्ठकारिगरीका अनेक विधा छन्। तिनमध्ये अहिले तोरण कला साधनाका संक्षिप्त प्रसंग जोड्न चाहेँ। तोरण ढोका, झ्याल, आँखीझ्याल आदि माथि शोभायमान गरी जडेका यत्रतत्र देवालय, मठ, आँगम घरहरू आदिमा जडित देखिन्छन्। आँगम घर नेवारहरूका कुलायन देवीदेवताका पारिवारिक गोप्य घर हो। तोरण मन्दिर मठ, बौद्ध बिहारहरूमा सजाइने एक प्रकारका शृंगारिक वस्तु साधना हुन्। जुन देव–देवी, बुद्ध र महामानवालय आदिको मूल प्रवेशद्वार माथि जडिएका हुन्छन्। तिनका मुख्य बीच भागमा मूल देवता मूर्ति जडिएका हुन्छन्। तोरणका तिनैतिर ध्यान मुद्राहरू जडित हुन्छन्। तिनमा ध्यान मुद्राका तन्त्र मूर्ति साधना गरिएर स्थापित भएका छन्। यथार्थमा तोरण अर्ध अन्डाकार गोलाद्र्ध हुन्। अन्डाकार बीर्य सञ्चय कोष हुन्। बीर्य प्रजननका बिउ भण्डार हुन्। यो प्रतीकात्मकताभित्र शाश्वत सत्य निहित यथार्थ हो। 

भक्तपुरस्थित पचपन्न झ्याले दरबार 

यसैगरी प्राणी मात्रका मातृकोष/गर्भाशय पनि जीवनविज्ञानको शाश्वत सत्य हो। विश्व ब्रम्हाण्ड दार्शनिक भावधारायुक्त छ। अर्को शब्दमा यसभित्र सत्यार्थका प्रकाश अन्तनिहित छ। हाम्रा विवेक–ब्रह्ममा अटेसमटेस रहेका हुन्छन् यो ब्रह्म विवेक। अनन्त आविष्कारका अन्तर खानी यिनै विवेक ब्रह्म मान्नुपर्छ। काष्ठकारिगरीका छोटो विवेचनाले यहाँसम्म डोर्‍याइएछु। काष्ठकारिगरीकर्मीहरू पनि यस विधाका कुलायनधर्मी शिक्षाका अन्तरमुख दीक्षा मन्त्र दान गरिएका हुन्छन्। त्यस्ता कुलायन धर्मको मन्त्रदान पद्धतिलाई दीक्षा भनिएका छन्।

कुलायन धर्म हरएक कुलले पालना गर्ने साधनालाई कुलायन धर्म भनिएका छन्। यस दिशाउन्मुख तन्त्रलाई कुलायन तन्त्र साधना भनिएका छन्। यस दिशातिर उन्मुख उहिल्यै राणाकालीन शासन व्यवस्थाको ब्रिगेडिएर जनरल स्व. धनशमशेर जबराले कुलायन तन्त्रमा उल्लेख गरेका छन्। काष्ठकारिगरीका यी साधनाका साधकहरूले गरेका यी शिल्पकला मनखुसीका उपज होइनन्। मन्त्रतन्त्र साधनायुक्त छन्। काष्ठकारिगरीका महिमा अपरम्पार छन्। काष्ठकारिताका क्षेत्रफल यति विस्तृत छन्। यस छोटो रचनामा अँगाल्न सम्भव छैन। दत्तात्रयधाम परिसरमा रहेका मयूरझ्याल जस्तै काठमाडौं नरदेवी यटखाटोलको देशेमरु झ्याल, ललितपुर दरबारको सुनौलो झ्याल अत्यन्त उल्लेखनीय छन्। झ्यालकै प्रकरणका सम्बन्धमा चर्चा गर्दा यिनका विविध प्रकरण छन्। विमानझ्याल, फलेझ्याल, सूर्यझ्याल, पासुकाझ्याल साथै अरू धेरै किसिमहरू छन्।

पाटनस्थित मन्दिरको कलात्मक काष्ठकला । 

यसमै अर्को प्रसंग जोडेर रचना गर्नु उपयुक्त हुन्छ। अन्त्यमा संस्कृति र सांस्कृतिक सम्पदाले हाम्रा जीवनका आमूल क्षेत्र अँगालेका छन्। काष्ठकारिगरी पनि सांस्कृतिक सम्पदाका एक कवल एक फाँट अवश्य नै हो। झ्यालहरूको सिलसिलामा एक प्रकरण सँझ्याल हो। सँझ्यालको सन्र्दभमा प्रसंग जोड्दा दुई बिम्बात्मक अर्थ बोध हुन्छ। सँ को अर्थ जोड्ने हुन्छ। यस झ्यालका विभिन्न झ्यालहरू अनेक जोड्नीहरू जोडेर सिँगो आकार/स्वरूप बनाइएका हुन्छन्। दोस्रो अर्थमा नेपालभाषामा सँ भन्नाले भोट (तिब्बत) हुन्छ। भोटमा यस्तै किसिमका झ्यालहरू भएर सँ झ्याल भनिएका हुन्।

नेपाली काष्ठकला र सीप युगानुरूप विकसित भएर नैरन्तर्य चलिरहेका छन्। अब त विश्व पर्यटन र पर्यावरणका बहँदो छ्यानका कारण नेपाली काष्ठकारिगरी विश्वव्यापी फैलँदै छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले जितेन्द्र रसिकको ‘अलकापुरी भक्तपुर’ मा शुभेच्छा यसरी प्रकट गर्नुभएको छ, ‘मलाई राष्ट्रकविको उपाधि भक्तपुरकै सँझ्याभित्र सुसजित छ। सँझ्या नभए म अपूर्ण हुन्छु। भक्तपुर काठैकाठको अलकापुरी हो। यो कलाको महासागरभित्र रहेको सम्पदाबारे लेख्नु अति कठिन कार्य हो।’

राष्ट्रकविको यस्तो मार्मिक अभिव्यक्तिले विभोर बनें। सँझ्याको मर्म कोर्न मन पराएँ। राष्ट्रकविज्यूमा अर्पित राष्ट्रिय अभिनन्दन तिनमै सजाएर तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाले समर्पेका हुन्। भक्तपुरको सांस्कृतिक सम्पदाका साना छेस्कै भए पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूको इच्छापूर्तिमा उपहार बनाउन सघाउन पाउँदा अलकापुरी नगरी भक्तपुर गौरवान्वित ठान्छ।

भक्तपुरको नवदुर्गा मन्दिरको तोरण र झ्याल ।

तस्बिर : अशोक दुलाल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.