सुदूरपश्चिममा ओमीक्रोनको फितलो सर्तकता : सीमाबाट सिधै घर

सुदूरपश्चिममा ओमीक्रोनको फितलो सर्तकता : सीमाबाट सिधै घर

धनगढी : भारतका ८ वटा राज्यमा कोरोनाको ओमिक्रोन भेरियन्ट भेटिएपनि नेपालतर्फ खासै तयारी गरिएको छैन । कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सय भन्दा बढी मानिसहरुको ज्यान गएको थियो ।

भारतको राजधानी नयाँ दिल्ली, महाराष्ट्र, राजस्थान, कर्नाटक, गुजरात, केरला, आन्ध्र प्रदेश र चण्डीगढ राज्यमा कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टका सक्रमित भेटिएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मंगलबार भारतको नयाँदिल्लीमा ओमिक्रोनका थप ४ संक्रमित फेला परेसँगै भारतभर हालसम्म ४५ जनामा ओमिक्रोन पुष्टि भएको सञ्चार माध्यमहरुले जनाएका छन । युरोपियन मुलुकहरुमा ओमिक्रोन तिब्र रुपमा फैलिँदै गएको छ । 

कोरोनाको दोस्रो भेरियन्ट आउने भन्दै प्रक्षेपण भएका बेला पनि नेपालसँग एक वर्षको तयारी समय थियो तर त्यसबेलाको लापरवाहीले हजारौं मानिसहरुले ज्यान गुमाए । 
अहिले पनि नेपालमा ओमिक्रोन भेरियन्ट फैलिने विज्ञहरुले प्रक्षेपण गरिसकेका छन ।

सीमा क्षेत्रमा बिना रोकटोक आवागमन

बैतडीको पुरचौंडीका नरेन्द्र साउद विहीबार भारतको बेंगलोरबाट आए । गौरीफन्टा नाकामा स्वास्थ्य परिक्षण भईरहेको छ तर उनले त्यो झन्जडबाट मुक्त हुन, सिधै अटो रिक्सामा चढेर धनगढी बसपार्क पुगे । 

‘सामान पनि थियो, भारतमा कोरोना जाँच गरेकै हो, खासै डर लागि रहेको छैन, झन्जट भन्दा त सिधै अटो चढेर आईयो’ उनले भने । उनले, भारतमा पनि कोरोनाको खासै डर नलागेको बताए । 

कैलालीको टीकापुर नगरपालिका-१ बसपार्कका जीवन शाह पनि सोमबार भारतको बेंगलोरबाट घर फर्किएका छन । गौरीफन्टा सीमा नाकामा भेटिएका उनले, एक महिनामै घर फर्किएको बताए । ‘एक महिना यो भारत गएको, घरमा ईमरजैन्सी काम पर्यो, त्यही भएर फर्के’ उनले भने ।

उनले, भारतमा पनि ओमीक्रोनको कुरा ब्यापक रुपमा चलेको तर आफूलाई भने खासै डर नलागेको बताए । ‘कोरोनाको तेस्रो भेरियन्ट आउने कुरा त सुन्दैछु तर काम गरेर खाने मान्छे, अब त डर लाग्दैन’ उनले भने । 

शाहले, सीमा क्षेत्रमा भईरहेको खुला आवागमनले भने कोरोना सर्नसक्ने बताए । ‘सीमा क्षेत्रमा सबैलाई खोप लगाउनुपर्छ, सबैको परिक्षण गर्नुपर्छ, पहिलाको जस्तो लापरवाही गर्नु हुदैन’ उनले भने । अहिले सीमा क्षेत्रमा परिक्षण गरिएका पोजेटिब बाहेकका कसैलाई पनि क्वारेन्टाईनको कुनै ब्यवस्था छैन । उनीहरु, सोझै सार्वजनिक यातायातमा घर जाने गरेका छन । 

होल्डीङ सेन्टर निर्माणमा ढिलाइ

कैलालीको त्रिनगर नाका नजिकै एक हजार जना क्षमताको होल्डीङ सेन्टर निर्माण भईरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मा पाएको होल्डीङ सेन्टरको भक्तपुरको हनुमान कन्सट्रक्सनले २८ करोड ८१ लाखमा ठेक्का पाएको हो ।

नेपाली सेनाले नै खोलेको ठेक्कामा हनुमान कन्सट्रक्सनले २०७८ सालको असार ३ गते त्यसको सम्झौता गरेको छ । उससँग सेनाले २०७८ को भदौ मसान्तभीत्र होल्डीङ सेन्टर बनाईसक्नु भन्दै सम्झौता गरेको हो तर भदौमा काम सम्पन्न हुन सकेको छैन ।

सेनाले २०७८ को पुस मसान्तभीत्र त्यो सक्ने भन्दै म्याद थप गरिदिएको छ । तर अहिलेसम्म होल्डीङ सेन्टरको ६५ प्रतिशत मात्रै निर्माण काम भएको छ । कोरोनाको तेस्रो लहर फैलिएपछि भारत वा अन्य मुुलुकबाट फर्किएकाहरुलाई त्यस सेन्टरमा होल्डीङमा राख्ने उद्देश्यले त्यसको निर्माण हुन लागेको हो ।

निर्माण कम्पनीका सहायक प्रबन्धक यज्ञपुरुष न्यौपानेले बर्खामा पानीका कारण निर्माणमा ढिलाई भएको र अहिले बजेट निकासा नभएका कारण ढिलाई भएको बताए । ‘बर्खामा नजिकैको मोहना नदीको पानी पस्यो, बाढीले काम गर्नसकिएन । कार्तिकको मध्यबाट काम सुरुगरिएको हो । अहिले पनि बजेट निकासा भएको छैन, जनशक्ति बढाउन र थप सामाग्री  किन्नका लागि बजेटको अभाव भएको छ’ न्यौपानेले भने ।

उनले, अर्थमन्त्रालयले सेनाको स्तपती निर्देशनालय (निर्माण निर्देशनालय) लाई बजेट निकास नदिएका कारण आफूहरुले नपाएको बताए । जस्ता, प्रिफाईप र फलसिलिङ सहितका २० वटा क्वारेन्टाईन भवन, २ वटा प्रशासनीक भवन, २२ वटा सौचालय भवन र १५ वटा भान्सा र डायनिङ भवनहरु निर्माण भईरहेका हुन ।

निर्माण ब्यवसायीले, बजेट निकासा भएमा माघमा काम सकिने बताए । ‘बजेट पाए त जनशक्ति बढाईन्छ र सामान पनि छिटो आउछ, अहिलेसम्म ७ करोड मात्रै रकम पाईएको छ’ उनले भने । 

होल्डीङ सेन्टरमा फ्रिफाईवका भवनहरु बनिरहेपनि, त्यहा  पहुँच मार्ग बनेको छैन । विद्युतको लाईन, खानेपानी, नदि नियन्त्रण, नालीहरु, माटो भरानको कार्य, पार्किङ जस्ता कुराहरु ठेक्कामा छैनन । निर्माण ब्यवसायी न्यौपाने भन्छन, ‘हामीहरुको काम सकिएपनि अरु पुर्वाधार अभावले सञ्चालन गर्न समस्या हुन्छ ।’

भदौ मसान्तमै सक्ने भनिएको एक हजार जना क्षमताको होल्डीङ सेन्टर, जसको निर्माण काम पुसमा सक्ने भनिएको छ, तर यो अवस्था हेर्दा सकिने छाँटकाँट देखिदैन । तस्बिर : शिवराज भट्ट/अन्नपूर्ण

मंसिरयता एक लाखको आवागमन

शसस्त्र प्रहरीको तथ्यांक अनुसारे गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर मंसिर देखि पुसको ७ गतेसम्म ९९ हजार ७४८ जनाको आवागमन भएको छ । मंसिरदेखि पुसको ७ गतेसम्म कञ्चनपुरको गड्डाचौकी नाका भएर १५ हजार ४ सय जना र गौरीफन्टा नाका भएर १५ हजार ४७७ जना भारत पसेका छन । यो सुदूरपश्चिमका नागरिकको मात्रै संख्या हो ।

यस्तै गड्डाचौकी भएर २१ हजार ६२३ जना भारत पसेका छन भने गौरीफन्टा नाका भएर ४७ हजार २४८ जना भारत पसेका छन । नेपालमा कामको समय सकिएपछि भारत जानको संख्या फर्किने भन्दा दोब्बर रहेको छ । नेपालमा रोजगारी नपाईने भएकाले, खेतीपातीको काम सकेपछि यस क्षेत्रका मानिसहरु कामका लागि भारत जाने गर्छन ।

कारोना महामारीले उग्ररुप लिएपछि र भारतमा उद्योगधन्दा कलकारखाना बन्द भएपछि मात्रै नेपालीहरु फर्किने परम्परा छ । पहिलो र दोस्रो चरणको कोरोनाको महामारीका बेला पनि भारतबाट लाखौ मानिसहरु घर फर्किएका थिए । त्यतीबेला स्थानीय तह र प्रदेश सरकारलाई उनीहरुको ब्यवस्थापनमा हम्मेहम्मे परेको थियो ।

बरिष्ठ फिजिसियन डाक्टर शुुभेषराज कायस्थ भन्छन, ‘ओमीक्रोन भेरियन्टको तयारीका लागि स्थानीय, प्रदेश र संघ सरकारले ढिलाई गर्नु हुदैन ।’ दोस्रो भेरियन्टका बेला झण्डै एक वर्षको समयमा नेपालमा खासै तयारी नभएका कारण धेरैले ज्यान गुमाएको उनले बताए ।

‘पहिलो चरणमा औषधी उपकरणको अभाव भयो, मास्क नै खोज्न धौ-धौ भयो, दोस्रोमा अक्सिजन र सिलेन्टर अभाव भयो, कोरोनाका लागि के के तयारी चाहिन्छ भन्ने कुरा सबै थाहा भईसक्यो, तर समयमा काम गरिदैन’ उनले भने । ‘यसपाली हामीले महामारीका लागि समयमै तयार भएर बस्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठन सहितका विज्ञहरुले ओमिक्रोनको संक्रमण दर यस्तै रह्यो भने कोरोनाको तेस्रो लहर विश्वभरी फैलिने चेतावनी दिईसकेका छन ।

प्रदेश सरकार भन्छ : तयारीमा जुटेका छौं

कोरोनाको दोस्रो भेरियन्टको तयारीमा नराम्ररी चुकेको सुदूरपश्चिम प्रदेश सरकारले भने ओमिक्रोनका लागि तयारीमा लागिसकेको दाबी गरेकोछ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिह कार्कीले, ओमिक्रोनको तयारीका लागि अहिले सीमा नाकामा सबैजनालाई एन्टीजेन परिक्षण भइरहेको र सबैलाई खोप पनि दिने गरेको बताए ।

‘पहिलो कुरा त प्रदेश सरकारले एन्टीजेन परिक्षण सबैको गरिरहेको छ । अहिले एन्टीजेन किटको अभाव छैन, एन्टीजेन पोजेटिव देखिएका जस कसैको पनि स्वाब संकलन गरेर ओमिक्रोन हो वा होईन भनेर सेम्पल पठाउने काम पनि भईरहेको छ।’ कार्कीले भने ।

उनले, प्रादेशीक प्रयोगशालाले एन्टीजेन परिक्षणमा पोजेटिब देखिएकाको स्वाब संकलन गरेर काठमाण्डौंस्थित केन्द्रिय प्रयोगशालामा पठाईरहेको बताए । ‘पोजेटिब देखिएकाहरुलाई कनरीमा रहेको आईसोलेशनमा राखिन्छ, अनि स्वाब संकलन गरेर केन्द्रिय प्रयोगशाला पठाईन्छ’ कार्कीले भने । उनले सीमा क्षेत्रमा पहिलो वा दोस्रो मात्राका खोप दिईरहेको बताए । ‘भारतमा खोप नलगाएका र नेपाल फर्किरहेका नेपालीहरुलाई पहिलो होस वा दोस्रो दुबै मात्राका खोप दिने कार्य सुरु गरिएको छ’ उनले भने । 

प्रदेश सरकारले होल्डीङ सेन्टर निर्माणमा भईरहेको ढिलाई प्रति पनि चासो लिएको उनले बताए । ‘निर्माणको जिम्मा नेपाली सेनाको भएपनि, प्रदेश सरकारले त्यसमा भईरहेको ढिलाई प्रति चासो लिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खडकाले निरिक्षण पनि गर्नुभएको छ । तीन सय शैयाको होल्डीङ सेन्टर तुरुन्तै तयार पार्नु भनेर निर्देशन दिईएको छ ।’ उनले भने । 

तर तीन सय शैयाको होल्डीङ सेन्टर तयार पारेपनि त्यसलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वा स्थानीय सरकारलाई भन्ने कुराको टुंगो लागेको छैन । त्यसैमा झन खानेपानी, विद्युत, ढल निकास, माटोभरान र नजिकैको मोहना नदीको कटानको पनि कुनै योजना भने बनेको छैन । जस कारण तीन सय सैयाको होल्डीङ निर्माण ब्यवसायीले तयार पारेपनि सञ्चालन गर्न भने समस्या देखिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.