खैरो हेरोइनको व्यापार बढ्दो
राजविराज : सप्तरी, सिरहा र सुनसरीमा पछिल्लो समय खैरौ हेरोइनको व्यापार बढ्दो क्रममा रहेको छ । पछिल्लो पाँच दिनको अवधिमा खैरौ हेरोइनसहित ४ जना पक्राउ परेकाले खैरो हेरोइनको ओसारपसार बढेको पुष्टि भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट खैरौ हेरोइनसहित सिरहाका दुई जना पक्राउ परेको आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २८ वर्षीय परमानन्द साह र धनगढीमाई नगरपालिका–११ का २८ वर्षीय दिपेन्द्रकुमार महतो पक्राउ परेको एसपी अविनारायण काफ्लेले बताए । एसपी काफ्लेका अनुसार उनीहरुको साथबाट ८ ग्राम ५५० मिलिग्राम खैरौ हेरोइन बरामद भएको छ । लोकमार्गमा उनीहरु सवार प्र–०१–००१ प ३१४० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा महतोको साथबाट खैरौ हेरोइन बरामद भएको हो ।
यसअघि बिहीबार सप्तरीको कञ्चनरुप नगरपालिकाबाट दुई जना भारतीय नागरिकलाई २२ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले पक्राउ गरेको थियो । कञ्चनरुप नगरपालिका–२ स्थित पूर्व–पश्चिम लोकमार्गबाट भारतको सुपौल जिल्ला भिमनगर ग्राम पञ्चायत–४ बस्ने ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जयप्रकाश पासवान पक्राउ परेका हुन् ।
भारतीय प्लेट बिआर ५०आर २४९६ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा पक्राउ परेका आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको र लागु्औषध ओसारपसार गर्न थालेको स्विकारेका छन् ।
गत भदौ महिनामा घरमै भण्डारण गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले घर खानतलाशी गर्दा सप्तरीको हनुमाननगरबाट ठूलो परिमाणमा तीन किसिमका ब्राउन सुगर बरामद गरेको थियो । हनुमाननगर कंकालिनी नगरपालिका–८ का धिरेन भनिने धिरेन्द्रकुमार यादवको घर कोठाबाट १२२.३६ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।
प्रहरीका अनुसार यादवको घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको अवस्थामा खैरो रङ्गको ब्राउन सुगर ४६.६४ ग्राम, सेतो रङ्गको ब्राउन सुगर ५०.६६ ग्राम र कालो रङ्गको ब्राउन सुगर २५.०६ ग्राम बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय लौकही, सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला कोशी गाँउपालिका–८ भण्टाबारीबाट लागुऔषध ब्राउन सुगरसहित ४० वर्षीय शम्भुलाई जेठ २७ गते पक्राउ गरेको थियो । शम्भुबाट ९.५४० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४ (१) को (छ) अनुसार अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई १५ वर्षदेखि जन्मकैद र पाँचलाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना छ ।
ऐनमा २५ ग्रामसम्मको कारोबार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना, २५ ग्रामदेखि एक सय ग्राम सम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना तथा एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र पाँचलाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
यसअघि सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा र उनका भाई १९ वर्षीय निरज शर्मालाई ०७७ कात्तिक १ गते ५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
निरजले चलाएको स ७ प १८६५ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीबाट खटेको प्रहरी टोलीले अग्निसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित महदेवा गाउँबाट महुलीतर्फ जाने भित्री सडक खण्डमा रोकेर जाँच गर्दा ब्राउन सुगर बरामद भएको थियो ।
पछिल्लो समय सप्तरी र सुनसरीमा ब्राउन सुगरको बरामद परिणामका आधारमा त्यस्ता प्रकारका वस्तुहरूको सेवनकर्ता ह्वात्तै बढेको अनुमान गरिएको छ । सप्तरीका एसपी अविनारायण काफ्लेका अनुसार भारतबाट ल्याइने लागुऔषध उदयपुर र धरानलगायतका ठाउँमा जाने गरेको छ ।
विभिन्न मुलुकबाट नेपालमा लागुपदार्थ भित्र्याउने वा नेपालहुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागुऔषध नियन्त्रण ब्यूरोले समेत जनाएको छ । त्यस्का अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागुपदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको छ ।
नेपाल प्रहरीका अनुसार नेपालमा लागुपदार्थ भित्रिने नाकाहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा र काँकडभिट्टा प्रमुख हुन् । सेवनकर्ता बृद्धि भएसँगै सप्तरी, सुनसरीमा पनि लागु पदार्थ कारोबारी सक्रिय हुन थालेको प्रहरी अधिकारीहरु बताउँछन् ।
खुला सीमाको फाइदा उठाउँदै सप्तरी, सुनसरी, सिरहा भित्र्याइँदै गरेका अवैध लागु पदार्थसहित मानिसहरु पक्राउ पर्ने क्रम दिनहुँ जस्तो रहेको प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ ।
बरामद खैरौ हेरोइन ।
खैरौ हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक ।