तोरी खेतीमा फर्किए किसान

तोरी खेतीमा फर्किए किसान

चितवन : कालिका नगरपालिका–६ भटेनीका गोविन्दप्रसाद ढकालले तोरी लगाउन छाडेको वर्षौं भएको थियो। रोग किराको प्रकोप र  माटोमा खाद्य तत्त्वले उत्पादनमा कमी भएकाले उनी तोरीबाट पलायन भए।

कुनै बेला देशभर तोरीको माग धान्ने जिल्लाका किसानले तोरी लगाउनै छाडे। तर, पछिल्लो समय भने किसानहरू पुनः पुरानै बालीमा फर्किएका छन्। तोरी उत्पादनमा पहिचान बनाएको चितवनका फाँटहरू अहिले पहँेलै भएका छन्। भटेनीका ढकालले अहिले एक बिघामा तोरी लगाएका छन्। ‘उत्पादन राम्रो हुन थालेपछि खेती सुरु गरेका हौं’, उनले भने, ‘तोरीको तेल किनेर खान पनि नसकिने भयौं। केही आफूलाई राख्ने बाँकी बिक्री गर्न थालेका छौं।’ गत वर्षको तुलनामा हजार हेक्टर बढी क्षेत्रमा तोरी लगाइएको छ। 

२०४७ सालमा चितवनमा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको थियो। २०६० सालमा सात हजार हेक्टरमा झर्‍यो। त्यसयताको एक दशक पनि तोरी लगाउने किसान घटे। माटोमा सल्फर र बोरन कम भएपछि तोरी उत्पादनमा गिरावट आएको थियो। 

चालू आवमा भने १३ हजार २ सय हेक्टरमा खेती भएको छ। गत वर्ष १२ हजार ४ सय हेक्टरमा थियो। रोग किराको प्रकोप कम भएपछि किसान पुनः तोरी खेतीमा आकर्षित भएको पूर्व बाली विकास अधिकृत नोदनाथ लामिछाने बताउँछन्। ‘पहिला जमिनमा प्रांगारिक पदार्थ प्रशस्त हुन्थ्यो। त्यसले रोग किरा लाग्दैनथ्यो। अर्गानिक तोरी उत्पादन हुन्थ्यो। रोग किराको प्रकोपले तोरी लगाउन छोडेका थिए’, उनले भने, ‘नगदेबाली हो। बजारको समस्या छैन। रोग किरा नियन्त्रणको प्रविधिको विकास भयो। त्यसैले फेरि किसान आकर्षित भए।’

तोरी तीन महिनामा उत्पादन लिन सकिने बाली हो। बजार बढेका कारण पनि हिँउदेबालीका रूपमा तोरी खेती बढ्न थालेको लामिछानेले बताए। गहुँ, मुसुरो खेती छाडेर तोरीमा लागेका छन्। 

माटोको गुणस्तर सुधारिएको छ। लाई, डँढुवा रोग हराएको छ। यसले पनि तोरीखेतीमा किसानलाई आकर्षित गरेको हो। गत वर्ष चितवनमा १२ हजार २ सय १८ मेट्रिकटन तोरी उत्पादन भएको थियो। यस वर्ष उत्पादन बढ्ने अनुमान कृषि ज्ञान केन्द्रको छ। ज्ञान केन्द्रले तोरीको लागि ब्लक बनाएर कार्यक्रम सुरु गरेको छ। माडी नगरपालिका–३ स्थित धोवा, सिमरा, बघौडामा सय बिघाको ब्लक बनाइएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनबहादुर पुनले बताए। ‘किसानका लागि सिँचाइ, बिउबिजन, तालिमको कार्यक्रम गरेका छौं’, उनले भने, ‘हरेक वर्ष तोरी खेती बढेको छ। हामी किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बनाउँदैछौं।’ 

चितवनमा करिब २५ हजार किसानले तोरीखेती गरेका छन्। व्यावसायिक रूपमै तोरीखेती गर्नेहरू बढेका छन्। तोरीबालीमा आकर्षणसँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएका छ। ४६ हजार हेक्टर खेतीयोग्य जमिनको २८ प्रतिशतमा यो वर्ष तोरीखेती गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.