नेतृत्वको क्षमतामा निर्भर विकास
देश समुन्नत र विश्वसामु अब्बल हुन त्यहाँको नेतृत्वकै क्षमता प्रमुख कुरा हो।
हाम्रो देशमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व छ। तर, देश कतातिर छ ? एक पटक खोजेर हेर्नु पर्ने भएको छ। केही वर्ष अघिसम्म उद्योगको हिस्सा १२ प्रतिशत थियो। अहिले ५:६ प्रतिशतमा झरेको छ। बन्दाबन्दीका कारण अझ ओरालो लाग्ने क्रममा छ। कृषि प्रधान देशमा जीडीपीको एक चौथाइ मात्र यस क्षेत्रको योगदान भएको छ। यो हरेक वर्ष घट्दो छ। आर्थिक वर्ष ०६८। ०६९ सम्म जीडीपीको एक तिहाइ अर्थात् कृषिको योगदान ३२ दशमलव ७ प्रतिशत थियो।
निरन्तर ओरालो लाग्ने क्रममा अहिलेको आर्थिक सर्भेक्षणअनुसार २५ दशमलव ८ प्रतिशतमा पुगेको छ, जुन हालसम्मकै न्यून हो। चार वर्ष अघिसम्म यसको वृद्धिदर ५ दशमलव ३ प्रतिशत र जीडीपीमा कृषिको योगदान २८ दशमलव ९ प्रतिशत थियो। विकसित देशमा अर्थतन्त्रका तीन आधार छन् जसमा उद्योग, कृषि र सेवा हुन्। सेवामा पनि धेरै विषयहरू छन् खासगरी पर्यटन, यातायात, बैंकिङ, स्वास्थ्य, मनोरञ्जन आदि।
विकसित देशमा रोजगारीको आधार उद्योग नै हुन्छ। झन्डै एक चौथाइ जनशक्ति यसैमा संलग्न हुने गर्छन्। कृषिमा पनि संलग्न हुन्छन्, बाँकी अन्य सेवामा। विकासोन्मुख देशका लागि पनि कृषि, उद्योग र सेवा क्षेत्रमा एक तिहाइका दरले जनशक्ति परिचालन भई रोजगारी व्यवस्थापन हुनु राम्रै हुन्छ अझ बढी राम्रो त बढी रोजगारी उद्योग र सेवा क्षेत्रमै हो। सेवा क्षेत्रमा बढी सम्भावना पर्यटन हो हाम्रो, कृषि प्रधान देश भएकाले कृषि क्षेत्रमा अधिकांश जनशक्ति परिचालान पनि नराम्रो थिएन, कारण हाम्रो रोजीरोटीको क्षेत्र नै यही हो।
उन्नत भनिएका देशमा अहिले पनि दुई तिहाइ जनसंख्या सेवा क्षेत्रमै संलग्न छन् । दक्षिण कोरियामा २५ प्रतिशत, कुवेतमा २४:४ प्रतिशत, रुसमा सेवा क्षेत्रमा ३२:३ प्रतिशत, चीनमा कृषि क्षेत्रमा २४:७ प्रतिशत, उद्योग क्षेत्रमा २८:२ प्रतिशत र सेवा क्षेत्रमा ४७:१ प्रतिशत जनसंख्याको रोजगारी व्यवस्थापन भएको देखिन्छ।
चीनमा भोका नांगा मानिस बिरलै होलान्, त्यहाँ कम्युनिज्म छ, समाजवादको पाठ सिकाइन्छ, कडा अनुशासन र सुशासन छ। चीनमा माओत्सेतुङले कम्युनिस्ट क्रान्ति गरेयता सन् १९५० मा चीनको अर्थतन्त्र जापानको भन्दा ४९ प्रतिशतले ठूलो थियो। सन् १९७७ तिर देङ सियायो पिङले चीनमा खुल्ला बजार नीति ल्याए। त्यतिबेलासम्म यहाँको अर्थतन्त्र अकासियो। अहिले उत्पादन र निर्यातमा चीन विश्वमा एकछत्र रजाइँ गर्दैछ, विश्वकै केन्द्र बनेको छ चीन। सन् १९७८ मा बजार अर्थतन्त्र सुधारपछि चीनको वार्षिक आर्थिक वृद्धिदर १० प्रतिशत रहेको छ। हाल यसको आर्थिक वृद्धिदरमा केही कमी आए पनि विश्व अर्थतन्त्रमा ऊ अगाडि छ।
नेपालका राजनीतिक दलका नेतृत्वहरू अब दामकामी छोडेर नाम कामीतिर लाग्ने कि ?
सन् १९४९ देखि १९७८ सम्म चीन जनवादी गणराज्य तत्कालीन सोभियत संघको शैलीमा केन्द्र नियन्त्रित अर्थ व्यवस्थामा थियो। त्यतिबेलासम्म निजी व्यापार र पुँजी बजारलाई स्थान थिएन। औद्योगिक साम्यवादका लागि माओले दीर्घकालीन अर्थव्यवस्था स्थापना गरे। माओको निधनपछि देङ सियाओ पिङ र पछिका नेतृत्व व्यवस्थापनले सुधार गरे। एकदलीय शासनको अधीनमा बजारोन्मुख मिश्रित अर्थव्यवस्था र १९७८ पछि निजीकरण सुरु भयो, विदेशी लगानी पनि। उद्योगहरू स्थापना हुन थाले। राज्य नियन्त्रित प्रणाली हट्दै गयो। उसले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको जुलाई १ सन् १९२१ लाई स्मरण गर्दै आफ्नो सयवर्षे इतिहासको गौरब गर्दैछ, पार्टीका महासचिव सीको नेतृत्वमा चीन संसारकै उन्नत देश बन्न सफल छ।
अरूलाई कुनै दु:ख नदिने नसताउने। विश्वव्यापी विकासको साझेदार बन्ने सहअस्तित्वमा विश्वास गर्दै आफ्नो र सकेसम्म अरूको भलो चाहँदै अगाडि बढेको देखिन्छ। विश्वमा औद्योगिक क्षेत्रमा उसले गरेको प्रगति उल्लेखनीय छ। कृषि कर्ममा भन्ने हो भने धान उत्पादनमा अब्बल छ ऊ। तीव्र जनसंख्या हँुदा पनि उसले सजिलै व्यवस्थापन गरेको छ।
मलेसियामा उद्योग क्षेत्रमा १८:३ प्रतिशत जनसंख्या संलग्न छन्। देश समुन्नत हुन, विश्वसामु अब्बल हुन त्यहाँको नेतृत्वकै हात रहने कुरा मलेसियाले सिकाएको छ। विश्वका राजनेताको नाममा गनिने डा. महाथिर बिन मोहम्मदले मलेसियालाई आजको मलेसिया बनाए। उनको २२ वर्षको कार्यकालमा मलेसियाले भारी प्रगति गर्यो। सन् १९२५ को डिसेम्बर २० मा मलेसियाको अलोर सेतारमा जन्मिएका बिन १९४५ देखि राजनीतिमा लागे। उनको राजनैतिक दल होमल्यान्ड फाइटर पार्टी हो।
सन् १९८१ मा तत्कालीन प्रम तुन हुसेन ओनले स्वास्थ्यका कारण पदत्याग गरेपछि सन् २००६ सम्म देशको चौथो प्रम बनेका महाथिरले मलेसियालाई कायापलट नै गराए। १३ वटा प्रान्तमा विभाजित मलेसियामा पाँच प्रान्तहरूमा सुल्तानी राज थियो र ती एकअर्कामा झगडा गरिरहन्थे। मोहम्मदले त्यहाँको संविधान संशोधन गरिदिए, संसद् सदस्य हुन स्नातकको योग्यता चाहिने भयो। उनले देशमा भएको स्रोतसाधनको अधिक परिचालन गराए, जल, जमिन, जंगलको प्रयोग गरे, संसारका धनाढ्यहरूलाई यहाँ आकर्षित गराए, बहुराष्ट्रिय कम्पनीको ओइरो लाग्यो। आफ्नो उमेर ९५ वर्षसम्म शासनमा बसेका उनले देशको अर्थ व्यवस्थालाई माथि उठाए। नेपालको समेत भ्रमण गरेर उनले पारदर्शिता, सहकार्यको प्रेरणा दिए, निजी क्षेत्रसँग हातेमालो गर्न भने।
सिंगापुरको इतिहास धेरै लामो छैन। सन् १९६५ मा यो मलेसियाबाट छुट्टिएको हो। वरिपरि समुद्र, प्राकृतिक स्रोत नभएको एउटा टापु हो यो। सबै भूगोल जोड्दा हाम्रो काठमाडौं उपत्यका जत्रो पनि छैन। जम्मा ५७० वर्ग किमि जमिन भएको सिंगापुरमा २० लाखको हाराहारीमा जनसंख्या होलान्। नेता ली क्वानले सिंगापुरलाई आजको सिंगापुर बनाएका हुन्। सन् १९२३ को सेप्टेम्बरमा जन्मिएका लीले बेलायतमा अध्ययन गरे।
मलेसिया र इन्डोनेसियाका बीचमा रहेको सिंगापुरले अमेरिकाको न्युयोर्क र पूर्वको हङकङलाई बिर्साउँछ। छिमेकी हङकङ सहर र न्युयोर्कको म्यानहाटभन्दा कम छैन सिंगापुर। प्रतिव्यक्ति आय भन्ने हो भने जापानपछिको पहिलो छ यो देश। सन् १९५४ मा लीले कानुनमा आफ्नो अध्ययन सकेपछि सिंगापुरमा पिपुल्स एक्सन पार्टी भन्ने राजनैतिक संगठन खडा गरे। पार्टीको महसचिव भएर सन् १९९२ सम्म काम गरे १९५५ मै उनी सिंगापुर विधान सभामा चुनिए। १९५९ मा स्वशासित सिंगापुरका प्रम बने। सन् १९६३ को सेप्टेम्बरदेखि मलेसियाको एक प्रदेशको रूपमा रहँदा पनि उनी त्यहाँको प्रम नै रहे। सन् १९५९ को विधान सभामा जम्मा ५१ सिटमध्ये उनको पार्टीले ४३ सिट ल्याएको थियो। ३५ वर्षको युवा उमेरमै प्रम बनेका उनले सन् १९६७ मा समृद्धिका लागि आर्थिक विकास बोर्ड गठन गरे।
कुचो लिएर आफैं सडक सफा गर्न निस्कने ली क्वान ३१ वर्षसम्म लगातार प्रम बनिरहे। एसियामा सिंगापुर आज धेरै नै समृद्ध भएको देखिन्छ। १९६० को दशकसम्म विश्वको सबैभन्दा गरिबमा गनिने मुलुक सिंगापुरको कायापलट भएको छ अहिले। सिंगापुरको अन्तर्राष्ट्रिय चाँगी विमानस्थल र त्यहाँका गगनचुम्बी महलहरूले विश्वकै मन खिचेको छ। विश्वकै लगानी आकर्षित मुलुक हो यो। समुद्रपारि रहेको मलेसियाबाट पाइपबाट पानी आपूर्ति भएको छ।
बाटाघाटाका धाराहरूबाट पानी पिउन मिल्छ। त्यहाँको सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, प्रविधिमा आधारित पारदर्शी प्रणाली, जलीय यातायातको विकास, सार्वजनिक परिवहनको कुशल व्यवस्थापन, प्रदूषणरहित वातावरण, सडकमै उभिरहौं जस्तो लाग्ने, पर्यटकीय क्षेत्रहरू अत्यन्त मनमोहक धेरै छन् सिंगापुरमा। वैज्ञानिक र व्यावहारिक शिक्षा प्रणाली छ, अनिवार्य शिक्षा, हरेक तहका जनतामा शिक्षाको पहुँच पुर्याएर प्रधानमन्त्री ली क्वानले साँच्चै सिंगापुरलाई सिंगारे। लगानी आकर्षण केन्द्र सिंगापुरमा धुलो, धुवाँ, फोहोर कतै भेटिन्न। चीन र अमेरिकासँग सिंगापुरले आर्थिक कूटनीति राम्रो गरेको छ। हाम्रा देशका राजनीतिक दलका नेतृत्वहरू अब दामकामी छोडेर नाम कामीतिर लागौं कि ?