हिमपातपछि खुलेको सोलुखुम्बु (फोटो फिचर)
सोलुखुम्बु : गत शनिबारदेखि बिहीबारसम्म निरन्तर परेको हिमपातका कारण सोलुखुम्बु सेताम्मे बनेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा ३ फिटसम्म र सदरमुकामसहित पत्ताले क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
करिब ५/६ दिनको हिमपातपछि जिल्लामा आज (शुक्रबार) पहिलो पटक घाम लागेको छ । घाम लागेसँगै हिउँ टल्किएर वरिपरिका डाँडा पाखाहरु चाँदीझै टल्किएका छन् । हिमपातले केहि दिन घरभित्रै सिमित बनेका स्थानीयबासीहरु समेत घाम लागेपछि बाहिर निस्किएर रमाउन थालेका छन् । टलक्क टल्किएको हिउँले वरिपरिको वातावरण मनमोहक देखिएको छ।
अधिकांश कच्ची सडकहरु हिलाम्मे भएकाले अवरुद्ध छन् । सडक हिलाम्मे बनेसँगै सवारी साधनहरु निर्वादरुपमा चल्न सकेका छैनन् । त्यसैगरी पत्ताले क्षेत्रको सडकमा बाक्लो हिउँ जम्दा जिल्ला भित्रिने तथा बाहिरिने सावरी रोकिएका छन् ।
हिमपातले गर्दा केहि दिनदेखि रोजगार घर तथा कोठामा सिमित बनेका मजदुरहरु आजबाट काममा निस्किएका छन्। कृषकहरु हिमपातपछि बाली सप्रिने भन्दै खुसी भएका छन् । उनीहरु वस्तुभाउलाई घाँसपात गर्न र बारीको काममा बिहानैदेखि व्यस्त छन् । हिउँ परेपछि बन्द भएका विद्यालय खुलेसँगै विद्यार्थीहरु पनि आजदेखि विद्यालय जान थालेका छन् ।