कर्णालीमा धान उत्पादन वृद्धि
सुर्खेत : कर्णालीमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । यसपाली किसानले धान भित्राउने बेलामा वर्षा भएको थियो । वर्षाका कारण काटेको धान खेतमै नोक्सान भएपनि कर्णालीमा धानको उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष कर्णालीमा ६० हजार दुईसय २३ मेट्रिकटन धान बढी उत्पादन भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार यो वर्ष प्रदेशभर एकलाख ८१ हजार एकसय ९७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाका अनुसार अघिल्लो वर्ष प्रदेशभर एकलाख २० हजार नौ सय ७० मेट्रिकटन मात्र धान उत्पादन भएको थियो । कर्णालीका १० जिल्ला मध्ये सात जिल्लामा धान उत्पादन वृद्धि भएको हो । सुर्खेत, दैलेख, जुम्ला, रुकुमपश्चिम, कालीकोट, मुगु र हुम्लामा उत्पादन वृद्धि भएको निर्देशनालयले जनाएको छ ।
जसमध्ये दैलेखमा सबैभन्दा धेरै धानको उत्पादन भएको छ । दैलेखमा यो वर्ष २९ हजार चारसय ८८ मेट्रिकटन उत्पादन बढेको हो । यो वर्ष त्यहाँ कुल ३३ हजार नौसय ३७ मेट्रिकटन धान उत्पादन भएको छ । जबकी अघिल्लो वर्ष चारहजार चारसय ४९ मेट्रिकटन मात्र धान उत्पादन भएको थियो । त्यस्तै सुर्खेतमा पनि २७ हजार तीनसय मेट्रिकटन उत्पादन वृद्धि भएको छ । अघिल्लो वर्ष ४२ हजार आठसय तीन मेट्रिकटन धान उत्पादन भएको सुर्खेतमा यो वर्ष बढेर ७० हजार एकसय तीन मेट्रिकटन उत्पादन भएको छ ।
त्यस्तै जुम्लामा एकसय १५, रुकुमपश्चिममा तीनहजार नौसय ७८, कालीकोटमा ६ सय ६५, मुगुमा चारसय ७४ र हुम्लामा आठ मेट्रिकटन उत्पादन वृद्धि भएको छ । अघिल्लो वर्ष जुम्लामा ६ हजार ६ सय ७०, रुकुमपश्चिममा आठ हजार नौसय ७६, कालीकोटमा नौ हजार चारसय ८९, मुगुमा सात हजार पाँचसय ७६ र हुम्लामा सातसय ९० मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष धान उत्पादन बढेर जुम्लामा ६ हजार सातसय ८५, रुकुमपश्चिममा १२ हजार नौसय ५४, कालीकोटमा दश हजार एकसय ५४, मुगुमा आठहजार ५० र हुम्लामा सातसय ९८ मेट्रिकटन पुगेको छ ।
यसपाली बेमौसमी वर्षाका कारण १६ देखि २० प्रतिशतसम्म धान नष्ट भएको थियो । बेमौसमी वर्षा नभएको भए प्रदेशमा धान उत्पादन अरु बढ्ने निर्देशनालयको अपेक्षा थियो । ‘कोरोनाका कारण युवाहरु पनि गाउँमै बसे, जसले गर्दा धेरै क्षेत्रफलमा खेती भयो । समयमै पानी प¥यो, मलबीउको पनि अभाव भएन’ रोकायाले भने, ‘हावापानीले पनि साथ दिएपछि धान उत्पादनमा वृद्धि भएको हो ।’ धान पाक्ने बेलामा बेमौसमी झरी नपरेको भए उत्पादन अझ बढ्ने उनले बताए । यो बर्ष जाजरकोट र सल्यानमा भने धानको उत्पादन घटेको छ ।
जाजरकोटमा अघिल्लो वर्षभन्दा ६ सय ९१ र सल्यानमा एकहजार एकसय १० मेट्रिकटन उत्पादन घटेको हो । अघिल्लो वर्ष जाजरकोटमा दशहजार ६ सय ५२ र सल्यानमा २८ हजार नौंसय ६० मेट्रिकटन धान उत्पादन भएको थियो । तर यो वर्ष घटेर जाजरकोटमा नौ हजार नौसय ७१ र सल्यानमा २७ हजार आठसय ५० मेट्रिकटन मात्रै धान उत्पादन भएको छ । डोल्पामा भने अघिल्लो वर्ष र यो वर्ष बराबर धान उत्पादन भएको छ । त्यहाँ अघिल्लो र यो वर्षमा ६ सय पाँच मेट्रिकटन धान उत्पादन भएको छ । डोल्पा कर्णाली प्रदेशमा सबैभन्दा कम धान उत्पादन गर्ने जिल्लामा पर्दछ ।