काँक्रेविहारसम्म जोड्ने 'फोरलेन' सडक बन्दै, १२ करोड ७६ लाखमा ठेक्का सम्झौता
सुर्खेत : सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारसम्म फोरलेन सडक निर्माणको काम अगाडि बढेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखि काँक्रेविहारसम्म जोड्ने सडकलाई फोरलेनको बनाउन लागिएको हो । सडक निर्माण भएमा काँक्रेविहार पुग्ने पर्यकटलाई सहज हुनेछ ।
हाल काँक्रेविहारसम्म पुग्ने सडक कमजोर छ । यसले पर्यटकलाई सास्ती हुने गरेको थियो । तर अब यो सडक फोरलेनको हुने भएपछि काँक्रेविहार अवलोकनका लागि आउने पर्यटकहरु पनि बढ्ने स्थानीयको अपेक्षा छ । सडक स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । यो सडक विस्तारका लागि १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले ठेक्का लिएको छ । भौतिक पूर्वाधार विकास निर्देशनालयले गत मंसिर १४ गते निर्माण कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतासँगै कम्पनीले स्तरोन्नतिको काम सुरु गरेको हो ।
भौतिक पूर्वाधार विकास निर्देशनालयका सव–इन्जिनियर प्रेमचन्द्र पाण्डेका अनुसार १८ महिनाभित्र अर्थात २०८० सालको असार १५ गतेसम्म मंगलगढीदेखि काँक्रेविहारसम्मको सडक चारलेनको बन्नेछ । पर्यटकीय पूर्वाधारलाई प्राथमिकतामा राख्दै तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रुपमा मंगलगढी–काँक्रेविहार सडक स्तरोन्नतिको योजना अगाडि सारेका थिए । अब मंगलगढी–काँक्रेविहार जोड्ने सडकलाई २५ मिटर चौडा बनाइने छ । सहमति अनुसार दुई मिटर फुटपाथसहित २५ मिटर चौडाइ हुनेछ । जसमा नालाभित्र २० मिटर सडक हुनेछ ।
यस्तै १५ मिटर क्षेत्रभित्र सवारी साधन गुडाउने मिल्ने बनाइने छ । बाँकी भाग फुटपाथ, नाला र पैदल यात्रुका लागि छोडिने छ । अक्सफोर्ड प्रविधिबाट स्तरोन्नतिपछि सडक फोरलेनको हुनेछ । पर्यटकीय क्षेत्र पुग्ने सडक भएका कारण पनि यो सडकलाई आकर्षक र दीर्घकालीन बनाउने गरी अक्सफोर्ड प्रविधिमा विस्तार गरिन लागिएको हो । जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति हुने भएपछि स्थानीय बासिन्दा पनि हर्षित बनेका छन् । यसले पर्यटकलाई पुग्न सहज हुने अपेक्षा गरिएको छ । ‘मंगलगढीदेखि काँक्रेविहारसम्मको सडक पर्यटकीय मार्ग हो’ वीरेन्द्रनगर–९ का वडाध्यक्ष सुरेश मानन्धरले भने, ‘सडक स्तरोन्नतिले पर्यटकीय गतिविधिहरु बढाउँछ ।’ सडक स्तरोन्नति भएसँगै काँक्रेविहार पुग्ने पर्यटकलाई सहज हुने र यसले पर्यटकहरुको आगमन पनि वृद्धि हुने उनको अपेक्षा छ ।
यद्यपी मंगलगढी–काँक्रेविहार सडकलाई तत्कालका लागि लाटीकोइलीको शिव माध्यमिक विद्यालय पुग्ने क्षेत्रसम्म मात्रै फोरलेनको बनाइने छ । बाँकी खण्डमा संरक्षित जंगल भएका कारण अहिलेकै सडक यथावत रहने भएको कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ । यो सडक लामो समयदेखि स्तरोन्नति नहुँदा बाहिरबाट काँक्रेविहार पुग्ने पर्यटकले सास्ती बेर्होदै आएका थिए । साथै धुलो र हिलोका कारण स्थानीय बासिन्दाले पनि हैरानी भोग्नु परेको थियो । यसअघि यहीँ सडकको काम तत्काल अगाडि बढाउन माग गर्दै स्थानीयले प्रदर्शन र आन्दोलन गर्दै आएका थिए । ऐतिहासिक महत्वको काँक्रेविहार क्षेत्रको उत्खनन् गरेर हाल पुरातत्व विभागले शिखर शैलीको मन्दिर निर्माण गरेको छ । काँक्रेविहार क्षेत्रमा वन्यजन्तुको पनि अवलोकन गर्न पाइन्छ ।