मटिहानीका मुसहरलाई नेपाली सेनाको न्यानो माया
महोत्तरी : महोत्तरीको मटिहानीका मुसहर समुदायले नेपाली सेनाको न्यानो साथ पाएका छन् । चिसिएको मौसमा मटिहानी नगरपालिका-४ मझौराका ६० परिवार मुसहरलाई लत्ता कपडा, एक बोरा चामल, दाल र एक÷एक थान कम्बल वितरण गरिएको हो ।
सैनिक श्रीमती संघ (नेपाली सेना) भद्रकाली काठमाण्डौंबाट प्राप्त न्यानो सामग्री र खाद्यान्न लिएर रणभीम गण परिकौलिका सेनाका टोलि मुसहरको दैलोमा पुगेको रणभीम गणका गणपति शिवहरि केसी बताए ।
पुस्तौंदेखि गरिब तथा विपन्न मुसहरले सेनाको न्यानो माया पाएकोमा खुशी व्यक्त गरेका छन् । ‘खान अन्न र चिसोमा लगाउन लाउन न्यासो लुगाफाँटो र चिसोमा ओड्न कम्मल पाएँ,’ सिकसिकाउँदो जाडोबाट थोरै भएपनि न्यानो साथ पाएको अुनभूति भएको मटिहानी-४ का अघनिया देवी सदाले भनिन् । आफ्नो जीवन प्रभावित भइरहेको बेला राहतले सहयोग पुगेको ७८ वर्षीय लटुसदा मुसहरले खुसी व्यक्त गरेका थिए ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल तथा नेपाली सेनाका ९ नं. बाहिनी बर्दिबासका सहायक रथी शिशिर चन्द्र केसिले संयुक्त रुपमा राहत वितरण गरेका थिए ।
मटिहानी नगरपालिकाका प्रमुख मण्डलले राहत सामग्रीले मुसहरहरुलाई सहयोग पुगेको विश्वास व्यक्त गरे । त्यसै कार्यक्रममा बाहिनीपति केसीले जाडो बाट प्रभावित हुने मुसहर समुदायलाई लक्षित गरी राहत ल्याइएको बताए ।