धरान उत्सवमा सिम्रिक एयरको विशेष छुट, २८ हजारमा पाथिभरा र हलेसी दर्शन गर्न पाइने
धरान : धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा सिम्रिक एयरले विशेष छुटको व्यवस्था गर्ने भएको छ। सिम्रिकले धरान उपमहानगरपालिकाको स्थापना दिवसको दिन पुस २० गते देखि ३० गते सम्म प्रदेश १ का धार्मिक स्थलहरु खोटाङको हलेसी महादेव र ताप्लेजुङको पाथिभरा मन्दिरसम्मको हवाइ यात्रामा विशेष छुटको व्यवस्था गरेको हो ।
धरान उपमहानगरपालिकाले पुस २० गते देखि २३ गते सम्म धरान डेको अवसरमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । सोही अवसरमा सिम्रिक र धरान होलिडेजको संयुक्त आयोजनामा सिम्रिकले हवाई यात्रा गराउन लागेको हो ।
यस अगाडि ३२ हजारमा पाथिभरा र हलेसी उडान भर्दै आएको सिम्रिक हेलिकोप्टरले धरान उत्सवको अवसरमा विशेष छुट गरी २८ हजारमा हवाई भाडा निर्धारण गरेको धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले बताएका छन् ।
धरान उत्सवको अवसरमा मंगलबारदेखि सिम्रिकले हवाई यात्रा गराउने भएपछि पर्यटकहरुले टिकट बुकिङ गर्न थालेको श्रेष्ठले बताएका छन् । यस अगाडि धरान बजार परिक्रमा गराए बापत ५ हजार शुल्क लिइँदै आएको भएपनि उत्सवको अवसरमा ३ हजार ५ सयमा धरान बजार बजार परिक्रमा गराइने धरान होलिडेजका प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए । उनले हेलिकोप्टरबाट पूर्वका पाथिभरा, हलेसी मन्दिरको दर्शन गराउनुका साथै रमणीय हिमाली श्रृखलाहरुको दृष्याबलोकन समेत गराइने बताए ।
धरानका मेयर तिलक राईले आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि उपमहानगरपालिकाको अनुरोधमा सिम्रिक र धरान होलिडेजले विशेष छुटमा पर्यटकलाई हवाई यात्रा गराउने व्यवस्था गरेको बताए ।
सिम्रिक हेकिोप्टर संचालनका लागि क्याप्टेन विमल शर्मा सापकोटासहितको प्राविधिक टोली तयारीका साथ धरान आउने सिम्रिक एयरका अप्रेसन म्यानेजर रमेशमान बर्जचार्यले बताए ।उनले दसैं तिहारभरी हवाई सेवा प्रदान गर्ने सिम्रिक एयरको हेलिकोप्टरको आन्तरिक व्य्वस्थापनका लागि इन्जिनियर गणेशबहादुर बस्नेत नेतृत्वको प्राविधिक टोली समेत धरान आइसकेको बताए ।
प्रदेश १ कै सुन्दर सहर धरानको जग वि.स १९५७ सालदेखि बस्ती बस्न थालेको छ । धरान उपमहानगरपालिकाले प्रत्येक वर्ष पुस २० गते स्थापना दिवस मनाउँदै आएको छ । मंगलबार १२१औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको मेयर राईले बताए । स्थापना दिवसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताइएको छ ।