माओवादी बैठक : अध्यक्षको टुंगो, पदाधिकारी थाँती

माओवादी बैठक : अध्यक्षको टुंगो, पदाधिकारी थाँती

काठमाडौं : माओवादी केन्द्रले अध्यक्षबाहेक पदाधिकारी टुंगो लगाउन सकेको छैन। आकांक्षी धेरै देखिएपछि उक्त पार्टीको केन्द्रीय कमिटी बैठक ६ दिन पर धकेलिएको छ। सोमबार बसेको बैठक अध्यक्षमा पुष्पकमल दाहाललाई चयन गर्दै ‘गृहकार्य’ गर्न पुस २५ गतेसम्म स्थगन गरिएको हो।

आठौं राष्ट्रिय महाधिवेशन केन्द्रीय सदस्य घोषणा गरी आइतबार समापन भएको थियो। अब १४ पदाधिकारी केन्द्रीय कमिटीबाटै चयन हुने केन्द्रीय सदस्य रामकुमार शर्माले बताए। त्यससँगै स्थायी कमिटी, पोलिटब्यु्रो र मनोनयन गरिने केन्द्रीय सदस्यको टुंगो सहमतिका आधारमा लगाइने शर्माको भनाइ छ।

महाधिवेशनबाट घोषणा गरिएको २ सय ३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक हतारमा डाकिएका कारण पनि पदाधिकारी छनोटमा समस्या भएको एक नेताले बताए। ‘अध्यक्षमा निर्वाचित भएर दाहाललाई बधाई लिने हतारले गृहकार्यबिनै केन्द्रीय कमिटीको पहिलो बैठक बसाइयो’, ती नेताले भने, ‘त्यही कारण पदाधिकारीमा सहमति जुट्न सकेन।’

विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी हुने व्यवस्था छ। वरिष्ठ उपाध्यक्षको दौडमा नारायणकाजी श्रेष्ठ छन्। कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, देव गुरुङ, गणेश साह, फम्फा भुसाल र हरिबोल गजुरेल उपाध्यक्ष पदका आकांक्षी छन्। महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतको दाबी छ। 

ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकअघि नवनिर्वाचित केन्द्रीय सदस्यले शपथ लिएका थिए। त्यसलगत्तै बसेको बैठकले दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो। दाहालले आफ्नो लागि यो अन्तिम अवसर भएको बताए। ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु। नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौती पनि हो’, उनले बैठकलाई सम्बोधन गर्दै भने।

दाहालले उमेर हदका कारण होस् वा अन्य कुनै कारणले होस् पार्टी, जनता र देशका लागि अन्तिमपटक सेवा गर्ने अवसर पाएको भन्दै सबैलाई धन्यवाद दिए। ‘कमरेडहरू यो अवसरलाई म सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु’, उनले भने।

माओवादीले विधान संशोधन गरी पहिलो पटक समावेशी समानुपातिको अभ्यास गरेको छ। विधानअनुसारको सक्षम र समावेशी नेतृत्व चयन गर्न भने हम्मेहम्मे देखिएको छ। 

‘पार्टीको नयाँ विधानअनुसार पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, मनोनीत केन्द्रीय सदस्यसहित सबै खाली ठाउँमा सदस्यहरू नियुक्त गर्न गृहकार्य पुगेन। त्यसैले पुस २५ गतेका लागि अर्को बैठक बस्ने निर्णय भयो’, केन्द्रीय सदस्य राजु खड्काले भने, ‘पार्टीको अधुरा समितिहरूमा एउटै प्याकेजमै सहमतिको आधारमा सदस्यहरू चयन हुन्छ।’ 

नेताहरू वर्षमान पुन र ओनसरी घर्तीमगर नेपालबाहिर रहेकाले पनि पदाधिकारी चयन नगरिएको केन्द्रीय सदस्य प्रकाश पोखरेलले बताए। पुन उपचारका क्रममा चीनमा छन्। ओनसरी पुनसँगै चीनमै छन्। दुई दिनपछि नेता पुन डिस्चार्ज भएर नेपाल फर्किने जनाइएको छ। पोखरेलले भने, ‘उहाँहरूले पदाधिकारीलगायत अन्य कमिटी छानिने बैठकमा उपस्थित हुने इच्छा नेताहरूलाई फोन गरी व्यक्त गर्नुभयो। त्यसैले अर्को बैठक बसेर पदाधिकारी, स्थायी कमिटीलगायत ठाउँका सदस्यहरू तय गर्न बैठक स्थगन गरेका हौं।’ केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय बनाउने व्यवस्था विधानमा छ। १५ प्रतिशत केन्द्रीय सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.