आउनै छाडे खोया हाँस
काठमाडौं : सर्वोच्च शिखर सगरमाथा नाघेर आउने खोया हाँस काठमाडौं उपत्यकामा देखिन छाडेका छन्। अंग्रेजीमा ‘बार हेडेड गुस’ भनिने यी चरा केही वर्षअघिसम्म कीर्तिपुरस्थित टौदहमा देखिन्थे।
मानवीय क्रियाकलाप र अनुकूल वातावरण नभएका कारण आउनै छाडेका हुन सक्ने पन्छी संरक्षण संघकी कार्यकारी अधिकृत इशाना थापा बताउँछिन्। थापाका अनुसार यी चरा मंगोलिया, चीन तथा मध्य एसियाबाट नेपाल आउने गर्छन्।
‘उपत्यकाको टौदहमा केही दिन बस्थे। तर, केही वर्ष भयो देखिएका छैनन्’, थापा भन्छिन्, ‘बाटो बिराएको अथवा अनुकूल वातावरण नभएर नआएको हुन सक्छ।’ यस विषयमा अध्ययन भने नभएको थापा बताउँछिन्।
विज्ञका अनुसार यो हाँस सगरमाथा नाघेर आउने अचम्मको प्रजातिको पन्छी हो। यिनीहरूको शरीर उचाइमा उड्न सक्ने क्षमता ग्रहण गर्न सक्ने हुने जनाइएको छ। यसबारे भारतले अनुसन्धान गरेको थियो। यी चराको शरीरमा ट्याग लगाइएको थियो। सगरमाथाभन्दा माथिबाट उडेर आउने तथ्य उक्त ट्यागले प्रमाणित गरेको थापा सुनाउँछिन्। चितवन आसपास र रारा तालमा भने अझै आउने गरेको उनी सुनाउँछिन्।
चराहरू मौसमअनुसार नियमित आउनेजाने गर्छन्। विशेषगरी जाडो छल्न नेपालमा आउने गरेको उनी बताउँछिन्। तर, हिजोआज कृषिमा परिवर्तन, वासस्थानमा प्रभावका कारण नियमित प्रक्रिया बदलिएको उनको ठहर छ।
‘मान्छेहरूले चराले नखाने बाली लगाउन थाले। तालतलैया भए पनि उचित आहाराको अभाव छ’, उनी भन्छिन्। चराहरू केही समयका लागि आउने र फर्किने गर्छन्। नेपालका तालहरू प्रयोग गर्छन्। र, भारततिर पनि जान्छन्।
जलवायु परिवर्तनका कारण मौसमी फलमा ह्रास आएको छ। त्यसले चराको नियमित प्रक्रियामा प्रत्यक्ष प्रभाव पारेको छ। ‘चरा आउने क्रम उचित समयभन्दा अगावै देखिन्छ’, उनी भन्छिन्, ‘या त धेरै समय बसिरहने पनि हुन्छन्।’ तर, एक–दुइटा बाटो बिराएर आएको हुन सक्ने उनको भनाइ छ। तर, ठूलो संख्यामा नियमित आउने चराको ‘प्याटर्न’मा भने परिवर्तन आएको छ।
माथिल्लो भेगमा २०–२५ हजार कर्याङकुरुङ एकै पटक आउने गर्थे। यो चरा ठाउँ–ठाउँमा बस्दै बाली खाँदै उड्थ्यो। तर, हिमालतिर गहुँ, जौको सट्टा स्याउ खेती लगाउन थालेपछि त्यता कमै मात्र आउजाउ गर्ने गरेको जनाइएको छ।
विज्ञका अनुसार चरा आएर बस्ने ठाउँ हुनुपर्छ। कतैबाट बाधा हुनुहुँदैन। वरिपरि चारो हुनुपर्छ। खोलानाला, तालतलैया मात्र राखेर पुग्दैन। खेतीमा आएको परिवर्तनले पनि चराहरूलाई समस्या परेको छ।
विषादी प्रयोगले चराहरू मरिरहेका छन्। प्राकृतिक रूपमा परागसेचन (पोलिनेटर) गर्ने र किरा फट्यांग्रा खाइदिन्थ्यो। तर, चरा नहुँदा विषादी झनै धेरै प्रयोग हुन थाल्यो। तालतलैयामा माछा कम भए।
थापाका अनुसार दुई–चार वर्षअघि काठमाडौं उपत्यकामा ५ सय प्रजातिका चरा पाइन्थे। तर, हाल आधा मात्रै देखिन्छन्। शिवपुरी, फुलचोकी क्षेत्रसम्म हेर्दा करिब साढे २ सय प्रजाति मात्र भेटन सकिन्छ।
मानवीय अतिक्रमण र वातावरणमा परेको प्रभावले चराहरूमा असर गरिरहेको वन तथा वातावरण विभागका प्रवक्ता वेदकुमार ढकाल बताउँछन्। मुख्यतः ठूला प्रकृतिका चरालाई असर गरेको प्रवक्ता ढकालको भनाइ छ। ‘वेटल्यान्डमा आश्रित चरा धेरै प्रभावित बनेका छन्,’ ढकाल भन्छन्, ‘चिल, गिद्धहरूलाई धेरै अप्ठ्यारो परेको छ। कुनै जंगलमा गिद्ध देखियो भने त्यस जंगललाई स्वथ्य इकोसिस्टम भएको जंगल मानिन्छ।’
ढकालका अनुसार किरा मार्न विषादी छर्ने गरेकाले समस्या बढेको छ। बस्ती बढेकाले चराहरूको बासस्थान खुम्चिएको छ। चितवन राष्ट्रिय निकुन्जमा पनि यस्तो समस्या देखिएको उनी सुनाउँछन्।
‘चराहरू उड्न सक्ने भएकाले इकोसिस्टम ठीक नभए तुरुन्त प्रतिक्रिया दिन्छन्,’ उनी भन्छन्, ‘अरूबाट प्रतिक्रिया पाउन समय लाग्छ। तर, चराहरूले आफूलाई अनुकूल नभए तुरुन्तै जनाउँछन्।’
संघमा कार्यरत अर्का अनुसन्धानकर्ता विमल थापा पर्यावरणमा समस्या परेकाले उनीहरूको उपस्थितिमा तल–माथि भएको छ। चराहरू उत्तरदेखि दक्षिण र दक्षिणबाट उत्तर जान्छन्। ‘जाडो छल्न आउँछन्’, थापा भन्छन्, ‘तर, पछिल्लो समय विभिन्न कारणले बसाईसराइ कहिले छिटो, कहिले ढिलो, कहिले आउँदै नआउने भएको छ। चराहरू धेरै कम भइसकेका छन्।’
पर्यावरण स्वथ्य राख्न चराले भूमिका निर्वाह गरेका हुन्छन्। यी पर्यावरणका अभिन्न अंग हुन्। भएका चराहरूलाई जोगाउने काम अनिवार्य देखिन्छ।
गिद्ध सिनो खाने चराका रूपमा चिनिन्छन्। गिद्ध भएका जंगललाई पर्यावरणीय हिसाबले राम्रो मानिन्छ। गिद्धले आधा घण्टामै सिनो खान्छ। त्यसैले किटाणु फैलिँदैनन्। कुकुरले तीन–चार दिन लगाएर खाने भएकाले त्यसले किटाणु फैलिएको हुन्छ। चराहरूमा परेको असरले कालान्तारमा भयानक परिणाम निम्त्याउन सक्ने उनको भनाइ छ।
चराका विषयमा बेलैमा सचेत हुन आवश्यक रहेको थापा बताउँछिन्। चरा नहुँदा चराभन्दा पनि मान्छेलाई धेरै असर गर्छ भन्ने बुझ्न आवश्यक रहेको उनको भनाइ छ।