दरबन्दी छ, छैनन् डाक्टर
सुर्खेत : कर्णाली प्रदेशभर कुल ८ सय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। तर, हाल साढे २४ प्रतिशत अर्थात् ३०७ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन्। कार्यरतमध्ये विशेषज्ञ चिकित्सकको संख्या निकै न्यून छ। प्रदेशभर हाल १४ जना मात्रै विशेषज्ञ चिकित्सक दरबन्दीमा कार्यरत छन्। ती चिकित्सक पनि सुगममै केन्द्रित छन्। सुर्खेत र जुम्लाबाहेकका अन्य जिल्लामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक छैनन्।
विशेषज्ञमात्र नभई अन्य स्वास्थ्यकर्मी पनि सुगममै केन्द्रित छन्। परिणामतः हिमाली तथा पहाडी जिल्लाहरूमा २७ प्रतिशत स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था धान्नु परिरहेको छ। जनशक्ति अभावकै कारण कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र तंग्रिन सकेको छैन। किनकी अहिले पनि कुल दरबन्दीमध्ये ६५ प्रतिशत अर्थात् ५८० जना स्वास्थ्यकर्मीको कोटा रिक्त छ। रिक्त पदमध्ये विशेषज्ञ र प्राविधिक चिकित्सकको संख्या सबैभन्दा धेरै छ। संघीयता कार्यान्वयनमै रहेका कारण तत्काल पदपूर्ति हुने अवस्था पनि छैन।
जनशक्ति अभाव टार्न प्रदेश सरकारले करारमा कर्मचारी नियुक्त गरेर काम चलाउँदै आएको छ। तर, करारमा पदपूर्ति गरिएका जनशक्ति पनि पर्याप्त छैनन्। प्राविधिक तर्फका स्वास्थ्यर्मीहरू करारमा आउन मान्दैनन्। त्यसैले समग्र स्वास्थ्य सेवा सुधार गर्न कर्णाली प्रदेशका लागि निकै चुनौती छ। ‘कर्णाली प्रदेशभर साढे ६५ प्रतिशत स्वास्थ्यकर्मीको अभाव छ,’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘दरबन्दीअनुसार पदपूर्ति नहुँदा करारमा जनशक्ति व्यवस्थापन गरेर काम चलाउनुपरेको छ।’ ठूलो संख्यामा जनशक्ति अभाव भए पनि पदपूर्ति तत्काल हुने अवस्था नरहेको डा. खड्काले बताए।
जनशक्ति अभावकै कारण कर्णालीमा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको छ। झण्डै १८ लाख जनसंख्या भएको प्रदेशमा एउटा पनि (क) तहको विशिष्टकृत अस्पताल छैन। ५ सय शैड्ढयामा स्तरवृद्धि भएको प्रदेश अस्पताल सुर्खेत र ३ सय शैड्ढयाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण अस्पतालमा पनि विशिष्टकृत सेवा छैन।