पाँचथरमा आगलागी : तीन घर जले, दुई करोडको क्षति
फिदिम : पाँचथरको फालेलुङ गाउँपालिका ६ बरभन्ज्याङमा गए राती आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ। बजारका तीन घरसहित आधा दर्जन बढी पसल जलेर खरानी भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जितबहादुर म्योङबा, रामजित राई र मनबहादुर राईको घर जलेर खरानी भएका हुन्। उक्त घरमा सञ्चालित पसलहरु समेत खरानी हुँदा ठूलो क्षति भएको बताइको छ।
जितबहादुरको घरबाट रातको करिब १० बजेबाट आगलागी सुरु भएको थियो। जितबहादुरको घरमा सञ्चालित दूग्ध डेरी, किराना पसल र नेपाली काँग्रेस फालेलुङ ६ को कार्यालयमा समेत आगलागी हुँदा ५७ लाखको क्षति भएको बताइएको छ।
रामजितको घरमा सञ्चालित धर्म केरुङको किराना पसल र टेलर्स खरानी हुँदा ४० लाखको क्षति भएको बताइएको छ। मनबहादुरको घर खरानी हँदा २० लाखको क्षति भएको प्रहरीको अनुमान छ। उक्त घरमा सञ्चालित आइएमइ मनी ट्रान्सफरसहित छ लाख नगदसहति १० लाख बराबरको जुत्ता पसल, दुई तोला सुन, धनप्रसाद राईको किराना पसल र छ थान कम्प्युटर गरी २१ लाखको क्षति भएको अनुमान छ।
त्यस्तै गरी सुरेन्द्र राईको फेन्सी पसल र अलैँची गोदाम खरानी हुँदा २० लाखको क्षति भएको छ भने रञ्जना राईको टेलर्समा रहेका चार थान लुगा सिलाउने मेसिन र कपडासहति १४ लाखको क्षति भएको जनाइको छ। आगलागीबाट करिब दुई करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
विद्युत सर्ट भइ आगलागी सुरु भएको प्रहरीको अनुमान छ। जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा रातको एक बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। फिदिमबाट दुई ओटा दम्कल समेत आगो नियन्त्रणका लागि बरभन्ज्याङ पुर्याइएको थियो।