ललिता निवास जग्गा प्रकरणः सीआइबीले बुझायो अनुसन्धान प्रतिवेदन
काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बलुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफूले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको पुष्टि गरे।
तीन वर्षको अनुसन्धानपछि सीआइबीले यो प्रतिवेदन बुझाएको हो। अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने छ। ललिता निवास प्रकरणमा संलग्न सरकारी कर्मचारी, भूमाफियासहित साढे तीन सय बढिलाई प्रतिवादी बनाएको छ। सीआइबीले २०४९,२०६२,२०६६-६७ र २०६९ मा गरी चारपटक ललिता निवासको जग्गा व्यक्तिको नाम दर्ता गरेको सम्बन्धमा अुनसन्धान गरेको थियो। उसका अनुसन्धानमा १४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सीआइबीको छ।
अख्तियारले यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री मन्त्री विजयकुमार गच्छादारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यो मुद्दा विशेष अदालतमा विचराधीन छ। पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानविन समितिको सिफारिसको आधारमा सरकारले अख्तियार र सीआइबीलाई अनुसन्धानको जिम्मा दिएको थियो।