कांग्रेसका कार्यकर्ता अब जगेडामुक्त : विश्वप्रकाश शर्मा
इलाम : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १४ औं महाधिवेशन पछिको रुपान्तरित कांग्रेसमा कुनैपनि कार्यकर्ता भूमिकाबिहीन भएर ‘जगेडामा नरहने’ बताएका छन् । इलाममा नेपाली कांग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै केन्द्रदेखि टोलसम्मका कार्यकर्तालाई विभागको जिम्मेवारी दिएर सक्रिय गराउने बताए । उनले भने ,‘अब कुनै कांग्रेस कार्यकर्ता जगेडामा बस्दैनन्, जिम्मेवारी पाउँछन् ।’ उनले सबैलाई जिम्मेवारी प्रदान गर्ने कामको थालनी इलामबाट गर्न समेत जिल्ला कार्यसमितिलाई अनुरोध गरे ।
नयाँ जिल्ला नेतृत्व आएसँगै इलामका दश स्थानीय तहमा टोल समिति गठन अभियान चलिरहेको समयमा इलाम आइपुगेका शर्माले अधिवेशनको प्रतिस्प्रर्धाको तिक्तता बिर्सेर टोलदेखि नै दह्रो समन्वय र सहकार्यका साथ अघि बढ्न सुझाव दिए ।
उनले कांग्रेसमा पाको पुस्ता खोज्नेलाई सभापति शेरबहादुर देउवाजस्तो पाको, युवा खोज्नेलाई विश्वप्रकाश, गगन थापाजस्तो युवा नेतृत्व स्थापित भएको बताए । उनले उमेर खोज्नेलाई उमेर, इतिहास खोज्नेलाई इतिहास, संघर्ष र बलिदान खोज्नेलाई संघर्ष र बलिदान भएको पार्टी कांग्रेस भएको दावी गरे ।
अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो ‘हावादार विकासे गफ’ कांग्रेसले नगर्ने शर्माले प्रष्ट पारे । शर्माले भने, ‘कांग्रेस लोकतन्त्र र विकासको पथमा ढिलो हिँड्छ तर सहि बाटोमा हिँड्छ ।’
उनले राजनीतिक दलले राजनीतिको मात्रै कुरा नगरेर सामाजिक रुपान्तरणको विषयमा काम गर्नुपर्ने बताए । उनले सामाजिक विसंगति गर्नेलाई कुनैपनि दलले सदस्यता दिन नहुने बताए ।
शर्माले कार्यकर्तालाई म, हामी र कांग्रेस बदल्ने संकल्प लिएर अघि बढ्न आग्रह गर्दै आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी गरे । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले पार्टीको जिल्ला कार्यालय निर्माणको काम सुर भएको जानकारी गराउँदै सबै कार्यकर्तालाई दशवटा इँटा सहयोग गर्न आग्रह गरे ।