रोइरहेछ हिमाल
काठमाडौं : विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यस बेला आधारशिविरमा आइस फुटाएर पानी पिउनु पथ्र्यो। तर, अहिले त्यहाँ खोला बग्छ। यसलाई जलवायु परिवर्तनको असर मान्छन् आरोही शेर्पा। २८ वर्षको यो अवधीमा सगरमाथामा थुपै्र परिवर्तन देखेको उनी सुनाउँछन्।
उनका अनुसार पहिले आधारशिविरबाट माथि जाँदा हिउँको ढिक्का हुन्थ्यो। ६ हजार ५ सय मिटरमाथि क्याम्प २ छ। त्यहाँ बरफ देखिन्थ्यो। अहिले हिमताल मात्रै छ। त्यहाँभन्दा माथि पनि ठाउँ–ठाउँमा कालो पहाड छ। ‘हिउँ बिलाएर कालो देखिएको छ’, सन् २०२१ मा २५औं पटक सगरमाथा चढेर कीर्तिमानी बनाएका शेर्पा भन्छन्, ‘सगरमाथा मात्रै होइन, सबै हिमालमा यस्तो समस्या छ।’
चुचुरोको वरपर पनि कालो पत्थर देखिएको उनी सुनाउँछन्। ‘पहिला थोरै ढुंगा थियो, अहिले धेरै देखिन्छ’, उनी भन्छन्, ‘पहिलाजस्तो समयमै हिउँ पर्न छाडेको छ। परे पनि तुरुन्तै बिलाउँछ। हिमालको छेउछाउमा बस्ती बढेको छ। होटल र लज धेरै छन्। आगो बाल्ने गरिएको छ। पहिलाभन्दा जंगल पातलिएका छन्।’ हिमालको फेदतिर रूख रोपेर हरियाली बनाउन आवश्यक देख्छन् उनी।
गर्मीयाममा देखिएको बझाङको साइपाल हिमाल। अन्नपूर्ण फाइल तस्बिर
‘हिमाल चोखो थियो पहिला। अहिले मान्छे थुप्रियो’, भीड बढेकोमा उनको असन्तुष्टि छ, ‘पहिला वर्षमा ३०–४० जना मात्रै हिमाल चढ्थे। अहिले एकै पटक सयौं पुगेका छन्।’
पाइला–पाइलाका कारण हिमाललाई असर गरेको तर्क उनी गर्छन्। समयमा हिउँ र पानी नपर्ने हो भने बिस्तारै कसैले पानी नपाउने उनको भनाइ छ। हिउँबाट बगेर खोला बन्ने हो। हिउँ नभएपछि खोला सुक्न थालेको छ। हिमालमा हिउँ नरहे संसारले नै पानी नपाउने अवस्था आउन सक्ने उनी बताउँछन्। भन्छन्, ‘जलवायु परिवर्तनको असरसँग जुध्न संसारका सबै लाग्नुपर्छ। औद्योगीकरण कम गर्नुपर्छ। वृक्षरोपण आवश्यक छ।’
पहिले आधारशिविरबाट माथि जाँदा हिउँको ढिक्का हुन्थ्यो। अहिले हिमताल मात्रै छ। हिउँ बिलाएर कालो देखिएको छ।
कामिरिता शेर्पा, विश्व कीर्तिमानी आरोही
५० वर्षअघि गाउँमा व्यापक हिमपात भयो। याकहरू मरे। तीन–चार महिनापछि मात्रै हिउँ बिल्यो। त्यस्तो हिउँ नदेखेको त वर्षौं भयो।
कान्छा शेर्पा, तेन्जिङ नोर्गे शेर्पाको आरोहण दलका सदस्य
पहिला घरको ढोकासमेत खोल्न नसक्ने गरी हिउँ परेको अनुभव छ नाम्चेका ९० वर्षीय कान्छा शेर्पासँग। त्यस बेला गाउँमा परेको हिउँ दुई–तीन महिनासम्म पग्लिँदैनथ्यो। तर, पछिल्लो समय पातलो पर्छ। तुरुन्त बिलाउँछ।
उनका अनुसार करिब ५० वर्ष पहिला गाउँमा व्यापक हिमपात भयो। याकहरू मरे। तीन–चार महिनापछि मात्रै हिउँ बिल्यो। ‘त्यस्तो हिउँ नदेखेको त वर्षौं भयो। हिमालहरू काला भए’, उनी भन्छन्। मान्छेको आवतजावत र खानपिन बढेकाले देवता रिसाएको अनुमान उनी गर्छन्। ‘हिउँ नपर्नु भनेकै देउता रिसाएको हो’, उनी भन्छन्, ‘हिउँ नपर्दा खेती राम्रो हुँदैन।’
तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीसँगै सगरमाथा गएका जीवित साक्षी हुन् उनी। त्यस बेला आधारशिविरबाटै हिउँ नै हिउँ देखेको उनी सुनाउँछन्। अहिले थोरै मात्र हिउँ पर्न थालेको छ। भन्छन्, ‘हिउँ नपर्दा जमिनमा पानी हुन्न। खेती हुँदैन। के खाएर बस्ने ? ठूलो समस्या छ।’
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी)ले यो शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश हिमाली क्षेत्रमा हिउँ एकतिहाइले कम देखाएको छ। दुई डिग्री तापक्रम वृद्धि भए दुईतिहाइ हिउँ पग्लिने प्रक्षेपण उसले गरेको छ। सन् २१०० सम्ममा १.५ डिग्री तापमान कायम गरे पनि हिन्दुकुश हिमालय क्षेत्रको १.८ डिग्री सेलसियसका दरले बढ्ने जनाइएको छ। नेपालजस्ता पर्वतीय भू–भागमा २.२ डिग्रीले बढ्ने अनुमान गरिएको छ।
काठमाडौं विश्वविद्यालयको जलवायु जोखिम अनुसन्धान केन्द्रका हिमनदी तथा क्रायोस्फियर विज्ञ डा. रिजनभक्त कायस्थ प्रत्येक वर्ष हिमालमा हिउँ घट्दै गएको बताउँछन्। हिउँ पग्लिने क्रम निरन्तर भएसँगै हिमनदी साँघुरिएका छन्। अहिले हिमालमा बरफ बनेको छैन। पहिला वर्षैपिच्छे हिउँ थुप्रिएर बरफ बन्थ्यो। तर, त्यो हुन पाएको छैन।
‘नेपालको हकमा हिउँ परेको ५–६ वर्ष नभई बरफ बन्दैन। हिउँको तलको भागमा बरफ हुन्छ। तापक्रम वृद्धिका कारण हिउँ त्यसै वर्ष पग्लिन थालेको छ’, उनी भन्छन्। नयाँ हिउँसँगै पुरानो बरफ पनि पग्लिन थालेकोमा चिन्ता व्यक्त गर्छन् उनी। भन्छन्, ‘हिमनदीहरू झनै साना भएर गएका छन्। ठूलो हुनै पाएनन्। हिमाल काला भएका छन्।’
उनका अनुसार हिउँ पर्न तापक्रम शून्य डिग्रीभन्दा कम हुनुपर्छ। शून्य डिग्री हुनेबित्तिकै पानी पर्छ। पहिला हिउँ पर्ने ठाउँमा अहिले पानी परेकाले हिमाल कालो भएका छन्। पहिला भएका बरफ बिलाउँदा र तापक्रमका कारण यस्तो समस्या आएको कायस्थ बताउँछन्।
मनाङ, मुस्ताङ, डोल्पालगायत क्षेत्रमा धेरै पानी पर्न थालेको उनी बताउँछन्। उनका अनुसार हिउँ कम हुनेबित्तिकै जीविकोपार्जनमा समस्या ल्याउँछ। जलस्रोतमा गम्भीर असर पार्छ। बालीनाली हुँदैन। बसाइसराइसम्म गर्नुपर्ने अवस्था आउँछ।
नेपालको हरितगृह ग्यास उत्सर्जनमा कम भूमिका छ। तर, पेट्रोलियम पदार्थको कम उपभोग गर्नुपर्ने उनी सुझाउँछन्। भन्छन्, ‘बिजुलीतिर जानुपर्छ। अनुकूलनका लागि विभिन्न संघसंस्थाले स्थापना गरेको जलवायुवित्त ल्याएर सम्बन्धित क्षेत्रमा लगानी गर्नुपर्छ।’
माथिल्लो भेगको मौसमसम्बन्धी तथ्यांक राख्ने स्टेसनहरू कम छन्। जलवायुजन्य विपत्तिलगायत तथ्यांकका लागि माथिल्लो भेगमा स्टेसन राख्नुपर्छ। अन्यथा हाइड्रोलगायत विभिन्न क्षेत्रमा ठूलो हानि व्यहोर्नुपर्ने कायस्थको बुझाइ छ। मस्र्याङ्दीको ठुलाकी हिमताल क्षेत्र छ। त्यो फुट्यो भने ३ वटा हाइड्रोलाई असर पार्न सक्छ।
कायस्थका अनुसार नेपालमा ३ हजार ८ सय ८ वटा हिमनदी छन्। १४ सय ७० हिमताल छन्। ८ हजार मिटरभन्दा अग्ला हिमाल नै ९ वटा छन्। पूर्वदेखि पश्चिमसम्म नै हिमाल भएकाले कतिवटा भन्ने यकिन संख्या छैन। इम्जा, च्छोरोल्पा हिमताल फुट्ने उच्च जोखिममा रहेको इसिमोडको प्रतिवेदनमा उल्लेख छ। हिउँ पग्लिने क्रम प्रत्येक वर्ष तीव्र गतिमा भइरहेको छ। हिमशृखंला तथा हिमतालहरू प्रतिवर्ष करिब ७ सय ९ मिलिमिटर पानीमा परिणत भएको प्रतिवेदनमा छ।
हिमालहरू काला देखिन थालेको सत्य भएको उनको भनाइ छ। हिमनदीहरू साना र छोटा भएका छन्। बरफको आयतन घटेको छ। च्छोरोल्पा, इम्ला, ठुलाकी फुटेमा सय किलोमिटर तलसम्म असर पुर्याउन सक्ने अनुमान छ। ५० हजारभन्दा बढी व्यक्तलाई प्रत्यक्ष रूपमा असर निकालेको इसिमोडको २०११ को प्रतिवेदनमा छ।
कायस्थ भन्छन्, ‘नेपालमा २१ वटा अति जोखिमयुक्त हिमताल छन्। थप २५ वटा तिब्बतमा छन्। एउटा भारतमा। जम्मा ४७ वटा हिमताल नेपालका लागि अति जोखिमयुक्त छन्।’ ती सबै हिमताल नेपाल भएर बग्छन्। भारतबाट आएर महाकालीमा मिसिन्छ। समग्रमा हेर्दा पश्चिमी क्षेत्रमा भन्दा पूर्वमा धेरै जोखिम रहेको उनी बताउँछन्।
पृथ्वीको तापमान १.५ डिग्रीमा सीमित राख्न सके धेरै क्षति कम गर्न सकिने वैज्ञानिकहरूले जनाएका छन्। नेपालको सन्दर्भमा औसत तापमान वृद्धि १.५ डिग्रीमा सीमित भए पनि हिमाली भेगको तापमान २ डिग्रीमाथि हुने आकलन गरिएको छ। हिमालय क्षेत्रका झन्डै एकतिहाइ हिउँ पग्लने उल्लेख छ। तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न सके नेपाललगायत अति जोखिममा रहेका देशमा हुने जलवायुजन्य क्षतिलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिने बताइएको छ।
वन तथा वातावरण मन्त्रालयले केही समयअघि निकालेको प्रतिवेदन ‘जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलनका उपायको पहिचान’ले पनि हिमपहिरो तथा हिमताल विस्फोटको घटना बढ्दै गएको बताएको छ। जलवायुमा आएको उतारचढावले हिमताल विस्फोटनमा असर देखिएको प्रतिवेदनले बताएको छ। तालको आकार, गहिराई, लम्बाइ बढेको जनाइएको छ। ती ताल विस्फोट हुँदा अत्यधिक धनजनको क्षति हुनुको साथै तल्लो तटीय क्षेत्रका बासिन्दालाई थप सतर्क हुनुपर्ने देखिन्छ।