बेमौसममै फल्यो स्याउ

बेमौसममै फल्यो स्याउ

सुर्खेत : सामान्यतया स्याउ चैतमा फुल्ने र वैशाखमा फल्ने गर्छ। तर, अघिल्लो वर्ष मुगुको गमगढी आसपासका किसानको बगैचामा मंसिरमै स्याउ फल्यो। समयभन्दा अगाडि नै स्याउ फलेपछि किसानहरू छक्क परे। त्यतिमात्र होइन, बेसिजनमा स्याउ फलेपछि अशुभ हुने भन्दै उनीहरू चिन्तित बने।

जुम्लामा पछिल्ला वर्षहरूमा बेसिजनमा स्याउ फल्न थालेको छ। चन्दननाथ नगरपालिकास्थित रोकायाबाडाका किसान प्रेमबहादुर रोकाया बेसिजनमा स्याउ फलेपछि आश्चर्यमा परेको बताए। उनले भने, ‘चैतमा फुल्नुपर्ने स्याउ असोजमै फुल्यो। वैशाखमा फल्नुपर्ने ठाउँमा कात्तिकमै फल लाग्यो। बगैचा हेर्न आउनेको पनि भीड लाग्यो। 

डोल्पाको जुफालमा पनि वैशाखमा फल्नुपर्ने स्याउ पुसमा फल्यो। स्थानीय किसान अजय बुढाले भने, ‘यो त अनौठो भयो, पुस स्याउ आजसम्म फलेको थिएन।’ विगत १५ वर्षदेखि स्याउखेती गर्दै आएका जुम्लाको कनकासुन्दरी–२ का किसान रामबहादुर बुढाको बगैंचामा अघिल्लो वर्ष कात्तिकमा स्याउ फल्यो। ‘अचेल के हुन लाग्या हो खै ? वैशाखमा फल्नुपर्ने स्याउ कात्तिकमै कसरी फल्यो होला ?’

स्याउ पाक्ने अवधि छोटो बन्दै गएको बताउँछन्, कृषि विज्ञहरू। उनीहरूका अनुसार जलवायु परिवर्तनका कारण हिउँ कम पर्न थालेको छ। जसका कारण तापक्रम वृद्धि हुन थालेको छ। फलस्वरूप यस्तो समस्या देखिएको हो। जिल्ला कृषि विकास कार्यालय जुम्लाले जलवायु परिवर्तनकै कारण बेमौसमामा स्याउ फल्न थालेको र चाँडै पाक्न थालेको जनाएको छ। 

‘बेमौसममा स्याउ फल्नुको मुख्य कारण जलवायु परिवर्तनको असर हो,’ कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले भने, ‘जुम्लामा पहिलेभन्दा तापक्रम बढेकाले यसो भएको हो।’ भण्डारीका अनुसार यो वर्ष जुम्लामा ८ हजार मेट्रिकटन उत्पादन हुनुपर्नेमा घटेर ६ हजार १ सय मेट्रिक टन मात्र स्याउ उत्पादन भएको छ। अर्कोतर्फ हिमाली क्षेत्रमा हिमपातभन्दा वर्षा बढी हुन थालेको छ। 

जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख सरद लामाले भने, ‘यहाँ हिउँभन्दा वर्षा धेरै हुन थालेको छ। बाली पाक्ने बेलामा धेरै पानी पर्दा कृषि उत्पादन पनि घट्दो छ।’ कुनै बेला दैलेखको गुराँसेमा पनि लटरम्म स्याउ फल्थ्यो। तर, पछिल्ला वर्षमा त्यहाँ स्याउ फल्न छाडेको छ। तापक्रम वृद्धिसँगै स्याउखेती हराउँदै गएको छ भने फलेका दाना पनि साना आकार छन्। 

जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेल भन्छन्, ‘जलवायु परिवर्तनको असर कृषिमा धेरै परेको छ। यसले कृषिमा रोग र किराको प्रकोप पनि बढेको छ।’ उनका अनुसार जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ कम पर्न थालेको, पानीका मुहान सुक्न थालेको र उत्पादनमा कमी हुँदा खाद्यान्न संकटको जोखिम नै बढ्न थालेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.