देशका बारेमा सोच्दा
मजस्तै देशका बारे सोच्ने अरू पनि त धेरै नागरिक होलान् देशमा। कतिपय त एक थोपै केश नफुल्नेहरू पनि होलान्, तिनीहरू पनि त देशप्रति पक्कै पनि बेखबर छैनन् होला।
देशका बारेमा सोच्नु पनि अब त व्यर्थै लाग्न थाल्यो। हो त, किन सोच्नु ? जे सोच्नु छ, जति सोच्नु छ; सोच्नेहरूको ठूलो जमात छ। कुनै कमी छैन देशमा।
o देश कुन दिशातर्फ जाँदै छ ?
o देशले कता कोल्टे फेर्दै छ ?
यी यावत् प्रश्नको जवाफ कसैलाई थाहा छैन। तर थाहा नभए पनि अरू सबै विषयलाई पाखा लगाएर देशका बारेमा सबैले सोचिरहेछन्– साँच्चै अब यो देशको हालत के होला ? त्यसो त, एउटा आशंका भने यहाँ उब्जन सक्छ– यो सोचाइ सकारात्मक छ कि नकारात्मक ? सरसर्ती हेर्दा देशप्रति सोच्नेहरू पक्कै पनि चिन्तित नै हुन् कि जस्तो लाग्छ। तर यथार्थमा त्यस्तो होला कि नहोला ?
के यसलाई जाँच्ने कुनै कसी होला देशमा ? अथवा कसी रहेछ नै भने पनि कति मात्रामा चिन्तित होलान् भनेर तौलने तुलो कतै होला ? एक जना महाशयसँग जम्काभेट भएको थियो, झन्डै दुई वर्षपश्चात्। म बडो रनभुल्लमा परें– के यिनी उनै मेरा परिचित हुन् त ? किनकि दुई वर्षअघिका उनमा अहिले आकाश–जमिनको अन्तर थियो। उमेरको हिसाबले उनको केश फुल्ने बेला त भएको थिएन, तर मैले भेट्दा उनको टाउको पूरै सेतै थियो।
‘हैन, म त झुक्किएँ त !’ जिस्किए जस्तो गरेर भए पनि मलाई बोल्न करै लाग्यो, ‘तपाईं नै हो कि तपाईंको दाजु हो तपाईं ?’ उनले मेरो संकेत नबुझ्ने कुरै थिएन, आफ्नो टाउको मुसार्दै अलिक मुस्काए जस्तो गरेर उनी बोले– ‘म नै हुँ नि !’ ‘अनि... कसरी यति चाँडै यस्तो सेतै भएको तपाईंको केश ?’ मैले उसको टाउको नियालें।
‘सोचाइले...।’ मेरो प्रश्न भुइँमा झर्दा–नझर्दै फ्याट्ट उसको एक शब्द जवाफ फर्कियो। मैले नबुझेर सोधिहालें– ‘सोचाइले ? कस्तो सोचाइ ?? खुलस्त पार्नुस् न !’ ऊ विस्तार गर्न लाग्यो– ‘सोचाइ... सामान्य सोचाइ होइन, देशको चिन्ता लागेर...।’ र, उसले आफ्नो वाक्य अपूरै छोड्यो। ‘तपाईंलाई देशको चिन्ता पर्नुसँग यो केश फुल्नुको के सम्बन्ध ?’ मैले खोतल्न चाहें।
‘किन छैन सम्बन्ध ? चिन्ताले तनाव हुन्छ। तनावले शरीरमा प्रतिक्रिया जनाउँछ।’ ऊ कड्केर बोल्यो– ‘सुन्नुभएको छैन ? कता हो एक रातको पारिवारिक तनावले भर्खर उमेरकी एउटी आमा भोलिपल्ट बिहान उठ्दा सेत्तै फुलेकी थिइन् रे। मलाई त सामान्य मान्नुस् न, झन्डै दुई वर्ष भइसक्यो देशको बोरमा सोचेर चिन्तित भइरहको छु। अनि केश फुल्दैन त मेरो ?’
सुस्तरी सोधें– ‘होइन, त्यस्तो के पर्यो तपाईंलाई केशै फुल्ने गरेर देशको बारेमा चिन्ता गर्नुपर्ने ?’ ‘के भन्नुभएको तपाईंले ?’ ऊ साँच्चिकै रिसायो– ‘मजस्ताले चिन्ता नगरे कसले गर्ने देशको बारेमा, म जो यो देशको सचेत नागरिक हुँ।’ वाल्ल परेर उसको सेत्तै फुलेको केश फेरि नियालें। र, अलमल्ल परें, हो भनेर मानुँ कि होइन भनुँ ! हो भनुँ अपत्यारिलो कुरो। होइन भनुँ त देशको चिन्तामा केश फुलेको भनिएको मान्छे साक्षात् मेरो सामु खडा छ। बस्, प्रतिक्रियाविहीन म त्यत्तिकै उभिइरहेँ। एकक्षणमै ऊ पर पुगिसकेको थियो।
मजस्तै देशका बारे सोच्ने अरू पनि त धेरै नागरिक होलान् देशमा। कतिपय त एक थोपै केश नफुल्नेहरू पनि होलान्, तिनीहरू पनि त देशप्रति पक्कै पनि बेखबर छैनन् होला।
अब सोच्ने पालो मेरो थियो, देशकै बारेमा सोचेर उसको केश फुलेको हो भने त्यस्तो केश फुल्ने गरेरै के सोच्यो होला उसले ? देशका प्रति चिन्ता गर्नुपर्ने उसलाई के त्यस्तो बाध्यता थियो वा छ होला ? उसैले भने जस्तो के एक सचेत नागरिक हुनुको हैसियतले नै उसलाई दबाब परेको होला ? मैले कुनै भेउ पाउन सकिनँ। तर दिमागमा भने चलिरह्यो उसकै सेताम्मे केश। सायद त्यसै कारणले होला, मेरो मनमा एउटा प्रश्न खडा भइरह्यो– देशमा जति पनि केश फुलेका मान्छे छन्, ती सबैका केश फुल्नुको कारण देशकै चिन्ता हो त ? यदि त्यसो हो भने, केश नफुल्नेहरूले देशको चिन्ता नगरेको ठहरिने भयो। के, तिनले देश सोच्दै सोच्दैनन् त ?
देशको चिन्ता मलाई पनि छ, तर मेरो केश त्यस्तो सेताम्ये फुलेको छैन। यसको मतलव अलिअलि फुलेको कारण त्यत्तिकै मात्रामा थोरै–थोरै मात्र देशको चिन्ता गर्छु भन्ने लाग्छ कि क्या हो ? त्यसो हो भने त कुरो मिलेन त ! म त देशको बारेमा हरदम सोचिरहेको हुन्छु। मजस्तै अरू पनि त धेरै नागरिक होलान् देशमा। कतिपय त एक थोपै केश नफुल्नेहरू पनि होलान्, तिनीहरू पनि त देशप्रति पक्कै पनि बेखबर छैनन् होला। तिनका केश नफुल्नाको कारण अर्थात् साना उमेरका कारण देशप्रति तिनलाई पटक्कै चिन्ता छैन भन्ने अर्थ लगाउन मिल्ला र ?
देशकै चिन्ताले आफ्नो केश फुलेको अर्थात् देशकै लागि आफ्नो पूरै उमेर समर्पण गरेको भनेर भन्नेहरू जो छन् तिनले आजका युवाजमात, जसको केश फुलेको छैन। तिनका हातमा एक पटक देशको जिम्मेवारी सुम्पनुपर्छ भन्ने सन्दर्भमा चिन्तनमनन गरिदिने पो हो कि ?