वीरगन्जमा एकैदिन २२ जना संक्रमित, संक्रमण दर ३९ प्रतिशत
वीरगन्ज : कोरोनाको पहिलो र दोश्रो लहरमा हटस्पट बनेको वीरगन्जमा संक्रमण फेरि ह्वात्तै बढेको छ । वीरगन्जमा सोमबार एकै दिन २२ जनामा संक्रमण भेटिएसंगै वीरगन्ज फेरि संक्रमणको चपेटामा परिसकेको आशंका गर्न थालिको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार साँझ ५८ जनाको पीसीआर परिक्षण गर्दा २२ जनामा संक्रमण भेटिएको हो । सोमबार परिक्षण गरिएकामध्ये ३९ प्रतिशतमा संक्रमण भेटिएकोले यसले चिन्तित बनाएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले बताए ।
उनका अनुसार सोमबार साँझ संक्रमण पुष्टि भएका २२ जनामा १९ जना वीरगन्ज महानगरका स्थायी बासीन्दा हुन् भने बाँकी ३ जना छिमेकी बारा, रौतहट र मकवानपुर स्थायी घर भएपनि वीरगन्जमा बस्दै आएकाहरु हुन् ।
संक्रमण पुष्टि हुने सबैमा कोरोनाको कुनै न कुनै किसिमको लक्षण देखिएको पनि उनले बताए । उनले भने,‘नारायणी अस्पताल र एडभान्स हस्पिटलमा उपचाररत २ जनामा संक्रमण देखिएको छ, अरुमा भने सामान्य लक्षण छ, उनीहरु होमआइशोलेसनमा छन् ।
दोश्रो लहरपछि कोरोना संक्रमण शून्य अवस्थामा पुगिसकेको वीरगन्जमा सोमबार एकैदिन परिक्षण गरिएका ५८ मध्ये २२ जनामा संक्रमण भेटिनुले वीरगन्ज फेरि कोरोनाको भूमरीमा परेको पुष्टि भएको डाक्टर सिंहले बताए ।
उनले भने,‘अबको एक वा दुई हप्तामा वीरगन्जका अस्पतालहरु संक्रमितहरुले भरिभराउ हुन सक्ने संकेत देखिएको छ ।
यसअघि नारायणी अस्पतालको प्रयोगशालामा एक वा दुइ दिनको अन्तरालमा ३० देखि ३५ जनाको पिसिआर परिक्षण हुँदै आएको थियो । ती परिक्षणमा अधिकतम ३ वा ४ जनामा मात्र संक्रमण भेटिने गर्दथ्यो ।
तर सोमबार एकैदिन २२ जनामा संक्रमण भेटिएकाले मङगलबारदेखि भने दैनिक परिक्षण थालिने पनि डाक्टर सिंहले बताए ।
तर सोमबार दुइ दिन बिराएर ५८ जनाको परिक्षण गर्दा झण्डै ३९ प्रतिशतमा संक्रमण भेटिनुले स्थिती नियन्त्रण बाहिर जान सक्ने खतरा देखिएको डाक्टर सिंहले बताए । सोमबार नै वीरगन्जको इनर्वा नाकाको हेल्थ डेस्कमा भारतबाट प्रवेश गर्नेहरुको एन्टिजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको छ ।
नाकामा गरिएको परिक्षणमा संक्रमण पुष्टी हुने १३ मध्ये ९ जना भारतीय र ४ जना नेपाली रहेको हेल्थ डेस्क इन्चार्ज डाक्टर अनिषा महत्तोले जानकारी दिइन् ।