राजनीति अर्थात् व्यापार

राजनीति अर्थात् व्यापार

नेताहरू ‘लिडर’ बाट ‘डिलर’मा परिणत भएका छन्। उनीहरू राजनीतिलाई व्यापार ठान्छन् र नाफामा तल्लिन छन्।


विभिन्न कालखण्डमा अपार नागरिक समर्थनसहित नेपालको राजनीतिक अग्रपंक्तिमा हाईहाई भएका अधिकांश कम्युनिस्ट पार्टीहरू अहिले बाईबाईको संघारमा छन्। वर्तमानका  मुख्य पार्टीहरू एमाले, माओवादीलगायत अन्य सबै कम्युनिस्ट दलहरू विगतमा धेरै पटक फुटेका अनि कहिलेकाहीँ नाटकीय रूपमा जुटेका पनि थिए। एमालेकोे पछिल्लो बबन्डर तथा कलहपूर्ण कचहरीले विभाजनसम्मकै बाटो लियो। छुट्टिएर बनेको दलको नाम चाहिँ एकीकृत राखिएको छ। केही थान पूर्ण असफल तथा वयोवृद्घ नेताहरूको अनवरत जिहादबीच अनगिन्ती जवान तर लाचार र लम्पट पछिल्लो पुस्ताका नेताहरूको सघन हस्तक्षेपको अभावका कारण कम्युनिस्ट पार्टीहरूले साख गुमाउँदै छन्। कम्युनिस्ट सिद्घान्त र चरित्रमा गम्भीर अपचलन हुदाँसमेत तिनै नेताको चाकडीमा लहजीबाज देखाउने अनि उनीहरूका कर्मकाण्डी नेतृत्वलाई देवत्करण र निसर्त सदर गर्ने तर उनीहरूलाई विस्थापित गरेर आफू नेतृत्व लिन तयार नहुने युवा भनिने कायर पुस्ताको नालायकीपना झन घृणालायक बन्दैछ। कम्युनिस्टहरू कमै मात्र निष्ठ र घोर बदमास देखिँदैछन्।

दल त दलदलमा छँदैछन्। यस भित्रका समूह अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन्।

सन् १९२१ आसपास चेन दुहिऊ र ली दह्याजो नामक नेताको अगुवाइमा गठन भएको ‘कम्युनिस्ट पार्टी अफ चाइना’ अझै त्यहाँको सर्वशक्तिमान एवं एक्लो पार्टी छ। १९३० तिर स्थापना भएको ‘कम्युनिस्ट पार्टी अफ भियतनाम’ पनि हालसम्म एकाकार रूपमा छ। उत्तर कोरिया महाशक्ति अमेरिकालाई चुनौती दिने सामथ्र्य राख्छ।  नेपालमा प्रजातन्त्रको अभ्युदयको समय २००७ सालको आसपास स्व. पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो। तर विराट विरासत बन्नु सट्टा कम्युनिस्टहरूमा उराठ लाग्ने दलदलको कमजोर धरातलमात्र बन्यो। परिणाम आज मसाल, मार्सल, एकीकृत, विकेन्द्रित, क्यास, ड्यास, नेकपा, नेकाप डबल, एकीकृत समाजवादीजस्ता नाममा लगभग दुई दर्जन कम्युनिस्ट पार्टीहरू छन्। नेपालमा कम्युनिस्ट पार्टीहरू निश्चित मिसनभन्दा कुनै फेसनमा आधारित भएर खुलेका देखिन्छन्। संसारका केही कम्युनिस्ट शक्तिहरूको लोभलाग्दो कदबीच यहाँको अवस्था भने दयनीय छ। कम्युनिस्ट आन्दोलनलाई कुनै कालखण्ड सशक्त नेतृत्व गरेका बाबुराम भट्टराई, बैद्य, विप्लव, सीपी मैनाली, मोहनविक्रमजस्ता नेताहरू दूरः गुमराहमा देखिन्छन्, चोइटिएर तितरबितर छन्, कम्युनिस्टको नाममा विभिन्न खालका कचहरीहरूमा केन्द्रित छन्।

कम्युनिस्ट पार्टीका कथित कचहरीमा त्यसै पार्टीका नेता कार्यकर्तालाई त जीवनमरणकै सवाल होला। लगानी र प्रतिफलको वारदात बन्ला, षड्यन्त्र र सफलताका रूपमा रहला। तर यसका शुभेच्छकहरू अथवा यो पंक्तिकार जस्तो राजनीतिशास्त्रको विद्यार्थी मात्रलाई समेत पनि केही मर्माहत चाहिँ बनाउँछ। किनकि दलहरू निरन्तर फुट्नु तथा आन्तरिक लफडाबाजीको दलदलमा सदैव अल्मलिनु सबल प्रजातन्त्रका लागि निश्चय नै शुभ समाचार होइन। तसर्थ यसरी पार्टीहरू फुट्नु चाहिँ गलत नै हुन्छ तर एकीकृत र एकताबद्घ कम्युनिस्ट भनिएकाहरूबाट पनि नागरिकलाई खासै केही उल्लेख्य चाहिँ भएको छैन।  कुनै पनि दल राजनीतिक शक्तिको रूपमा रहनुपर्छ कि पर्दैन भन्ने कुरा तीन मुख्य सिद्घान्तहरूका कसीमा मापन गरिन्छ। दलका नेता तथा सदस्यको सामाजिक जीवन चरित्र, सरकार तथा मातहतका निकायको कार्य सम्पादन, दल स्थापनाको औचित्य तीनवटै आधारले अब कम्युनिस्ट नामका र यही खाले कामका दलको आवश्यकता लगभग सकिएको आभास हुन्छ। कम्युनिस्ट चरित्र तथा आचरणमा आएको गम्भीर स्थलन यसको सबैभन्दा प्रमुख जड हो।

चरित्र र आचरण
आज कम्युनिस्ट भनिने अधिकांश नेताहरूको जीवन तथा आचरण कम्युनिस्ट अनि समाजवादी चरित्र अनुरूप छैन। सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवन प्रिय बन्दैछ। पुस्तकालय मदिरालयमा फेरिएका छन्। जुवा, तास, लफडाबाजी, रामरमिता, भोगविलास, डिस्को, डान्सबार कम्युनिस्ट नेताका सन्तान र सन्ततिहरूका आत्मीय अखडा बन्दैछन्। नाजायज, अवैधानिक तथा नकमाएको धनदौलत थुपार्नमा अधिक लगाव राख्छन् र अविछिन्न उपासना गर्छन्। बुर्जुवा शिक्षा भनेर अरूलाई विद्यालयबाट बाहिर निकालेर आफू चाहिँ निजी शिक्षाको व्यापारमा व्यस्त छन्। अत्तर छर्केर हिँड्ने, उच्च कोटीका विदेशी सोमरसका साथमा राजषी ठाँटको चौरासी व्यञ्जन उनीहरूको प्रमुख दिनचर्या बन्दैछ। गोडा भएका कम्युनिस्टहरूलाई घोडा चाहिँदैन भन्नेहरू महँगा गाडी र हेलिकप्टरमा तडकभडकका साथ सवारी चलाउन उद्घत छन्। अधिकांश कम्युनिस्ट नेता व्यापारीभन्दा धनी छन्। रवाफिलो र भड्किलो जीवन शैली छ। आडम्बर र अहंकार यस्तो छ कि उनीहरू सामान्य नागरिक नभै असामान्य महासामन्त अथवा सम्भ्रान्तहरू हुन्। आजका कम्युनिस्ट नेताहरूमा जर्ज ओरेलको पुस्तक ‘एनिमल फार्म’मा देखाइए जस्तै चरम र क्रूर अवसरवाद व्याप्त छ।

निर्वाचनबाहेक अन्य समय नागरिकसँग भेट्दा उनीहरूलाई लाज लाग्छ, उनीहरूका कुरा सुन्दा समय बर्बाद भए जस्तो आभास हुन्छ। अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदो छ। सादा जीवन भन्ने कुरा त दस्तावेजमा लेख्नलाई मात्र बनाइएको हो। नेताहरू ‘लिडर’ बाट ‘डिलर’मा परिणत भएका छन्। उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लिन छन्। कालाबजारी, भ्रष्टाचार तथा तस्करीलाई दर्शन मान्छन्, घुस कमिसनखोरीलाई अमृत झैं पिउँछन्। बलात्कार सामान्य ठान्छन् र भइरहने बताउँछन्। कसैले उनीहरूको विरोध गरे विदेशी दलालको आरोप लाउँछन्। उपभोक्तावाद तथा क्रोनी क्यापिटलिजमको विस्तारलाई सहज हुनेगरी नियम बनाउँछन्, सामराज्यवादी आचरण देखाउँछन्, हरेकमा मुनाफा खोज्छन्, सबैको स्रोत र साधन आफ्नो लागि दोहन गर्न चाहन्छन्। परिवारवाद उनीहरूको अन्तिम ध्येय हुन्छ, उनीहरूले शोषक तथा सामन्ती भनेका राजा महाराजाहरूले त्यति राज्यको दोहन गरेनन् होला जति उनीहरू आफ्नो र परिवारको लागि गर्दैछन्। देश बनाउन होइन, आफू बन्नु मात्र उनीहरूको ध्येय हुन्छ। आर्की ब्राउनको पुस्तक ‘द राइज एन्ड फल अफ कम्युनिजम’ले समेत संसारभर कम्युनिस्टहरूको आचरण पतनउन्मुख भएको देखाउँछ। अहिलेका हाम्रा कम्युनिस्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आदर्शसँग मिल्ने प्रकारको छैन। कार्यसम्पादन त झनै रुग्ण छ।

रुग्ण कार्य सम्पादन
कम्युनिस्टहरू पटकपटक सरकारको नेतृत्व गर्दा वा सरकारको महत्त्वपूर्ण साझेदारीमा रहँदा पनि कार्यसम्पादनसमेत खासै उत्साहजनक थिएन। बलात्कार, हत्या तथा हिंसाजस्ता कुराहरू झन् बढिरहे। निर्मला बलात्कार काण्ड, सुन काण्ड, गुठी विधेयक काण्ड, रुकुम काण्ड, बालुवाटार जग्गा काण्ड, सेक्युरिटी मास प्रिन्टर काण्ड, स्वास्थ्य सामग्री खरिद काण्ड, अयोध्या काण्ड, बेसार पानी काण्ड आदिका तरगंहरू कम्युनिस्टहरूकै समयमा आए। ‘ओम्नी’ र ‘यती’ले दह्रैगरी कब्जा जमाएको देशलाई ‘बतास’ले त उडाउला नै जस्तो पनि यही समयमा देखियो।

हरेक ठाउँमा सेटिङसहित साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर सार्वजनिक संस्थान, निगम, विश्वविद्यालय, न्यायालयलगायत अन्य संस्थाहरूमा आफ्ना कार्यकर्ता भर्ती गर्ने र अपवादबाहेक तिनलाई सकेसम्म निकम्मा तथा कवाडी बनाउनेमा कम्युनिस्टहरू झन् माहिर देखिए। हरेक ठेक्कापट्टामा कमिसन, हरेक नियुक्तिमा नजराना तथा घुस, अनि निर्णयमा नियोजित सिन्डिकेट स्थापित बनाइयो। मजदुर, किसान, पिछडिएका वर्ग, श्रमिकहरू भोटका लागि मात्र प्रयोग गरिए। अरूबेला त व्यापारी, करछली गर्ने उद्योगी, नजराना चढाउने कमिसनखोर, दलाल तथा समाजलाई तर्साउने डन, देश तथा नागरिकलाई ठग्ने ठेकेदार घरबेटी, सकेसम्म बाँकी समुदायको श्रोषण गर्ने खलनायकहरूसँग सत्संग तथा दिव्य मिलनमा रमाए। सामन्तको टाउको छिनाउनेदेखि शोषकको सफाया गर्ने दुहाइ दिँदै सुरु भएका पार्टीका नेता आज आफैं नयाँ सामन्तसँगै शोषकको रूपमा उदाएका छन्। नागरिकका लागि सार्वजनिक सेवा प्रवाह र विकास निर्माण चाहिँ झनै खस्कँदो छ। देशको सर्वपक्षीय विकास, आर्थिक उपार्जन, प्रभावकारी सेवा तथा नागरिक जीवनलाई गुणस्तरीय बनाउने कार्ययोजनामा ठोस प्रस्टता छैन। लेखक गोवद्र्धन रानाको पुस्तक ‘साम्यवाद’मा लेखिएको छ ‘झुट बोलेर नागरिकलाई झुक्याउनु नै कम्युनिस्टहरूको दार्शनिक धर्म हो’। साँच्चै यस्तै परिदृश्य उजागर हुँदैछ।

दल त दलदलमा छँदैछन्, दलभित्रका समूह अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन्। गुटभित्र विचार तथा सिद्घान्तको छलफल हुन्छ, गिरोहमा केवल अरूलाई ठगेर वा हटाएर आफूलाई फाइदा हुने कदम उठाइन्छ। मात्र लेनदेन र नाफाघाटाको हिसाब गरिन्छ, चरम अवसरवादको प्रतीक्षा हुन्छ। आपसी मतान्तर जीवन, जनता, आदर्श, नीति तथा कार्यक्रममा नभै पदको बाँडफाँड र शक्तिको भोगका लागि 

हुन्छ। कम्युनिस्ट पार्टीहरूका पछिल्ला महाधिवेशनको मोक्सद पनि यही नै भएको देखियो। अब त यिनीहरूको स्थापनाको औचित्यसमेत सकिएको छ।

औचित्यको समाप्ति
तत्कालीन माओवादीको उद्देश्य राजतन्त्र फालेर संविधानसभामार्फत गणतान्त्रिक संविधानको निर्माण थियो भने तत्कालीन एमालेको उद्देश्य पञ्चायती व्यवस्थाको उन्मूलन थियो। दुवै पार्टीको आधारभूत उद्देश्यसमेत पूरा भएकोले अब बाँकी नागरिक अपेक्षा पूरा गर्न नयाँ ढंगका दलहरूको आवश्यकता पर्छ। तत्कालीन शक्तिको प्रतिस्थापन पछि के गर्ने भन्ने न त स्पष्ट योजना थियो न त सानदार व्यवस्थापन गर्दै नागरिकको आशाअनुसार काम गर्न सके। त्यही अदक्षताको प्रभाव अहिलेको कम्युनिस्टहरूमा पनि परेको हो।

त्यसैले भविष्यमा उनीहरू विभाजित वा एकीकृत नै रहे पनि नागरिक भलाई तथा देश हितमा भने उनीहरूका गतिविधि केवल कागलाई बेल पाकेजस्तो मात्रै हुनेछ। तत्कालै केही अनुपम र उदाहरणीय हुने अवस्था छैन। उनीहरू बीचका लफडा अनि नाटकीय शैलीमा हुने मेलमिलाप आदिले कसैको आडम्बरलाई जोगाउँला तर कम्युनिस्ट आचरण, समाजवादी चरित्र तथा नागरिक अपेक्षालाई जोगाउन सक्ने ल्याकत देखिँदैन। भविष्यमा अन्य कोही कसैले नयाँ ढंगले अर्को नैतिक र इमानदार कम्युनिस्ट शक्ति गठन गर्न सक्ला तर अहिलेकै गतिविधिको जीवन्ततालाई समाजले स्वीकार्नु चाहिँ समाजवाद तथा कम्युनिजमको घोर खिल्ली उडाउनुमात्र हो अब कम्युनिस्टहरूको राजनीतिक अभीष्टमाथि निर्मम समीक्षा गर्ने बेला आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.