राष्ट्रनिर्माताको राष्ट्रियता

राष्ट्रनिर्माताको राष्ट्रियता

पृथ्वीनारायण शाहको सोचको महानतालाई गरिएको मूल्यांकनले उनको योगदानलाई प्रष्ट्याएको छ। आजको राजनीति भने ठीक विपरीत छ।


भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ। समाजशास्त्रीय मन्थनलाई हेर्दा रेडमन्ड विलियम्सको राजनीतिक र सांस्कृतिक वैचारिक विमर्शमा हुने शिल्पको चर्चा हुनुपर्छ। एडल्फ हिप्पोलिक टेनले साहित्यलाई 

‘जाति, क्षण र पर्यावरण’का आधारमा हेर्नुपर्ने अवधारणा राखेका छन्। इतिहासलाई पनि सोही समयको परिवेश, बाध्यता र त्यागसँग गाँसेर हेरिनुपर्ने हो। आज भनिएको शान्ति र समृद्धिको जगमा जात व्यवस्थाबाहेक अन्य कमजोरीलाई धेरै खोतलेर पृथ्वीनारायणको महान् योगदानलाई भुल्नु पनि एकांकी आरोप हुनेछ। चन्द्रमा दाग देखिए जसरी उनमा खोट रह्यो तथापि नाक, कान काटेर अमानवीय व्यवहार देखाएको झोंकलाई माओवादी द्वन्द्वसँग जोडेर हेर्दा कुन चाहिँ एकीकरणका लागि र कुन खण्डीकरणका लागि भन्ने तर्क हुन सक्छ। राजनीतिक पूर्वाग्रह बोकेर दुश्मनी साँध्ने र जन्मदिने बाबुआमालाई कैदी बनाएर शासन गर्ने कंश बुद्धि वर्तमान राजनीतिमा प्रष्ट छ।

२०६३ सालमा भर्खर–भर्खर राजतन्त्रलाई ढालेको झोकमा ‘पृथ्वी जयन्ती’ नमनाउने घोषणा भयो। ‘राष्ट्रिय एकता दिवस’ मनाउँदा राजावादी शासनलाई प्रश्रय दिएको प्रतीत हुन्छ भन्ने मथिंगल बोक्नेले एउटा कालजयी इतिहासलाई लत्याउने त्यो लज्जास्पद निर्णय गर्‍यो। आज नेपाल र नेपाली रहनुको कालजयी इतिहासलाई झिनो स्वार्थमा रम्नेहरूले चक्मा दिएको दुःखद् अवस्था सिर्जना भएको छ। यसको अर्थ निरंकुश शासनलाई प्रश्रय दिइनुपर्छ भन्ने अर्थमा कदापि होइन। १७७९ मा जन्मेका मान्छेलाई २०७८ सालमा चर्चा गरिरहँदा त्यही समयको परिवेश र क्षणसँग हेर्नुपर्छ भन्ने बुद्धि अहिलेका बौद्धिक भनाउँदामा भएन। परिणामतः पृथ्वीनारायणको गरिमालाई आमाचकारी गाली गर्नेले नबुझेरै गाली गर्ने आवधिक शैली हाबी भएको हो कि त !

पढ्दै आएका छौं– नेल्सन मण्डेलाले पनि विद्रोह गरे तर काला जातिलाई मात्रै एकोहोर्‍याएनन् बरु सबैलाई मानवीय सद्भाव र सम्मान गरे। यस मानेमा संसारमा आज पनि त्यो एक नाम उदाहरणीय छ। जनआन्दोलन केका लागि हो र पृथ्वीनारायण को हुन् भन्ने विषयमा बहस गर्नुपूर्व हजुरबा हजुरआमालाई सम्झे पुग्छ। हिजो सालिक तोडेर उपद्रो मच्चाउनेलाई इतिहासको गरिमा र राष्ट्रभक्ति थाहा भएन। कसैको उक्साहटको मुङ्ग्रे बलले वितण्डा मच्चाउनेले एकताको सिको गरेको भए सायद समाज परिवर्तनको गाडी निकै अघि दगुरिसक्थ्यो होला। तर, त्यसो भएन केवल अर्काका सिद्धान्त प्यारा भए। आफ्नी आमाको गालामा भएको खोट बोकेर अर्काकी आमाको आचरणै थाहा नहुनेले गल्र्याम्म अँगालो हाल्न पुगेको देखियो। त्यहाँ राष्ट्रप्रेमको मियो नै स्वार्थको आडमा जटित हुन पुग्यो। वर्तमान राजनीतिमा कम्युनिस्ट समाजवादको नारा स्वार्थको कित्तामा खण्डीकृत छ।
‘बिलो लिएझैं शिरमा उनेर,
यो राज्य बाँड्ने चिज हैन हेर।’

पृथ्वीनारायण शाहको सोचको महानतालाई राष्ट्रकविको मूल्यांकनले जसरी प्रष्ट्याएको छ आजको राजनीति ठीक विपरीत छ। पृथ्वीनारायणको राष्ट्रिय एकताको गरिमालाई अपुङ्गी व्याख्या गर्नेहरूले आज भारेभुरे राजा हुने संगठनको लडाइँ गरिरहेको प्रष्ट छ। जनताले दिएको बहुमतलाई केवल पदको भागबन्डा नमिलेका कारण आज धुजा–धुजा बनाइएको छ। राजनीति जस्तो फोहोरी स्वार्थको दुर्गन्धले जनतामा शीतयुद्ध मच्चाएर वैमनस्यता चुलिनु, अस्थिरताको विरासतलाई अझैबलियो बनाइनुलाई देश र जनताका लागि गरिएको त्याग भन्न सकिन्छ र ! हिजो पृथ्वीनारायणको देशभक्ति र त्याग अनि आज स्वार्थका लागि झुन्ड–झुन्ड बन्ने नेतृत्वलाई पनि हामी उही रूपमा तुलना गर्न सक्दैनौं ? के आजको लडाइँ, हिजोको माओवादीले गरेको द्वन्द्व या त आज सुनिने जेलनेलको यातना भोगिएका कथा मुलुकको दिगो शान्ति र एकताकै पक्षमा हो त !
‘छाडेर काम सारा, एक काम रोजिरहेछु,
यो देशमा म एउटा मानिस खोजिरहेछु...।’

डा. विश्वनाथ बरालको शब्दको यही गीतको सारमा मुलुक तड्पिएको छ भन्दा अत्युक्ति हुँदैन। वितृष्णाको मुसलले विक्षिप्त छ आजको न्याय। सुशासनका भाषण र सिद्धान्त साह्रै जनमुखी छन् तर व्यवहार स्वार्थजनीन लिप्साको गोलघरमा हस्तान्तरित भइरहेको छ। अनि, वर्तमान राजनीतिले त यस गीतको भावार्थलाई बोध गर्नुपर्ने बाध्यता जन्माएको छ। अर्थात् अझ भनौं– भैरव अर्यालको ‘महापुरुषको संगत’ निबन्धमा जस्तो महापुरुषको खोजी गर्दैगर्दा प्राप्त भएको नैराश्यताले जनतामा राजनीतिक वितृष्णा छ। पृथ्वीनारायणको योगदान राष्ट्रिय स्वार्थको बारीमा फुलेको पूmल थियो। त्यसैले त्यहाँ देशप्रेमको साथ थियो। त्यो युद्ध एकताको गीतबाहेक अरू स्वार्थमा आधारित थिएन। त्यसैले हाम्रो नेपाल नाम गरेको देश छ र हामी पनि छौं ! माटोको गर्व !

जसरी मदन भण्डारीलाई बिर्सन सकिँदैन, जसरी बीपीलाई सम्झनुपर्छ। त्यसैगरी राजा कि राष्ट्रनिर्माता भन्ने हल्ला मच्चाएर राष्ट्रनिर्माताको इतिहास लुक्दैन। विश्वमा अमेरिका, युरोप भनिएका विकसित क्षेत्रले गोर्खाली शान र स्वाभिमानलाई उँचो मान्छ। विनाश होइन, क्रान्ति होइन, बुद्धत्वको सिंगो सारलाई मनन् गर्छ। इतिहासका पानामा पृथ्वीनारायणको दूरदर्शितालाई जाँच्छ। नेपाल र चीनलाई हिजो दुई ढुंगा र नेपाललाई तरुलको संज्ञा दिएर सचेतनाको गहन भाव त्यसै पोखेका होइनन् उनले। दिव्योपदेशका पानाभरि दिगो विकास र सुशासनमा जनताप्रेमको सुगन्ध छर्लंगै छ। बडप्पनको लक्कु बोकेर देशको झन्डाभित्र पुर्खाको गरिमालाई गलहत्याउँदा लाज र डरै मान्दैनौं। कुतर्कले सत्यता किन छोप्नुपर्‍यो ? राष्ट्रिय एकता दिवस कुनै पार्टी, राजतन्त्रको वकालत गर्ने वा कुनै शासन पद्धतिलाई पक्षपोषण गर्ने पाटोबाट एक–दुई जनाको नेतृत्वभित्र खुम्चिएको संकीर्णतावादी आवाज होइन। यो सिंगो नेपालको कालजयी इतिहासको मेरुदण्ड हो। राष्ट्रिय भाव हो ः
यो राज्य लिन्छौं जुन आज अंश
बाँड्दै र चुँड्दै अनि वंश वंश
...
विशाल नेपाल म रच्छु रच्छु
कहाँ छ मृत्युञ्जयलाई मृत्यु !

राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेझैं दलमर्दनको सोचलाई पृथ्वीनारायणको महानताले बोध गराउँछ। उनमा भएको दूरदर्शिता र निःस्वार्थताले राष्ट्रिय स्वार्थलाई बोल्छ ! ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु। देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ दिव्योपदेशभित्र देशप्रेम छैन र ? युद्धको डोरो र रक्तपात होस्– आज त नेपाली एकतामा व्यक्ति, सम्प्रदाय र जातिको संकीर्णता थोपरिएका छन्। सार्वभौमिकताका कुरा गर्दै भ्रष्ट चरित्रले केवल आडम्बर प्रस्तुत गर्दा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा प्रहार हुन्छ। नेपाली मनलाई नियाल्दा सायदैले सोच्लान्– ‘म अब पृथ्वीनारायणको योगदान भुल्न सक्छु।’ एक दिनका लागि मात्र पनि उसको नाम लिनलाई भारी लाग्छ। यो देशले इतिहासलाई कसरी सम्मान गर्ला ? राष्ट्रकविले आफ्नो राष्ट्रियताको मर्मस्पर्शी खण्डकाव्यभित्र पृथ्वीनारायणको राष्ट्रिय भावनालाई जगाएका छन्। भाइ दलमर्दन शाहको सोचभित्र घुसेको व्यक्तिवादितामा संकीर्णता स्पष्ट भेटिन्छ :

पृथ्वीनारायणले भाइको वचनलाई नमान्नु राष्ट्रिय स्वार्थ हो। केवल खिचातानी, संक्रमण र अन्योलको घनचक्करमा देश सधैं रुमल्लिरहँदा नेपाली र नयाँ नेपाललाई भौतिक उन्नतिमा लगेर साँघुर्‍याइएको आभास हुन्छ। आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई १८०१ सालमा प्राप्त नुवाकोटको विजयले आरम्भ गर्‍यो। तत्कालीन छिमेकी लमजुङ र कास्कीसँग मित्रताको हात पैmलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय। मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेलबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली शान र स्वाभिमानको इतिहास छ।

जनताले दिएको बहुमतलाई केवल पदको भागबन्डा नमिलेका कारण आज धुजा–धुजा बनाइएको छ। पृथ्वीनारायणको योगदान राष्ट्रिय स्वार्थको बारीमा देशप्रेम फुलेको थियो।

कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेजस्ता शूरवीर व्यक्ति मारिए। जयन्त रानाले निर्मम रूपमा छाला काढिएर मर्नु पर्‍यो। शूरप्रतापले कानो हुनुपर्‍यो। इतिहासले यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाक कान काटेर बदला लिएको घटनालाई बोले। तर पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निष्कासित क्रिश्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो। उपत्यकाबाट अंग्रेजको राजनीतिक कुचाला लघारियो। उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो। फलतः किराँत र लिम्बूवान् प्रदेशका राजाले गोर्खाली झन्डामुनि एकैसाथ बस्ने अपेक्षा बोकेर आत्मसमर्पण गरे। तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन। सबै जातको पूmलबारी हो’ भन्ने महान् अभिव्यक्तिसँग स्वाभिमानको उच्चतामा रम्न पाइरहेका छौं। सैनिकले कदर पाए। कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो संग्रामको महायज्ञमा दिलो ज्यान दिए। एकीकरणको सपना साकार पार्नका निम्ति कसुर छाडेनन्।

२६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ। उनका ‘प्रजा योग्य भए दरबार बलियो हुन्छ। जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ’ भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ। आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ। उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ। स–साना राज्यलाई एक्लैले डोल्याएपछि अंग्रेजको सपनामा भेलबाढी आयो। त्यसैले 
हामी छौं। त्यसैले त एकीकरणका भावसँग कवि सुवानन्द दासको कवित्व पोतियो–
नेपालको सिनकि लुटि मंरातको घिउले भुटि
पालपाको ल्याउ हिंग जिरो, रिसिंगको ल्याउ पिरो
तनहुँको भातसित भीर्कोटको दालसित
कन्चन कचौराभरि स्वर्णका थलियाभरि
अष्टदल चौकी बसि गंगाजल झारिभरि
पुरव मुहडा गरि
महाराजको जिउनार बनाउ है।

नेपाल भूमिमा कृत्रिमता विरोधी भाव छ। त्यसैले संसारको दौलत नेपालका लागि नगन्य बन्छ। विश्वको नक्सामा सानो नेपालभित्र जबजब मनसुनी हावामा रम्छ, भूपरिवेष्ठित देशले चिनिन्छ। जलाशयको खानी, सौन्दर्यकी रानी, अन्नको भण्डार भनिन्छ तब नेपाली स्वाभिमानका स्वर्णाक्षरित नाम बन्छन्। बहुजातिका परम्परा, भेष र पर्वका एकताको शृंगारमा स्वर्गले आफ्नो स्वरूपलाई बिर्सन्छ। अतः फुर्सदमा भगवान्ले सोचेर बनाएको संसारमा कुनै ठाउँ छ भने त्यो हो– नेपाल। आखिर कसैले त जोड्यो, यो अमर हृदयस्पर्शी इतिहासलाई ! आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई सलोट गर्दै छ। गौरवसँग रमाउन पाएका छौं। थुप्रै परिवर्तन भए, घटना घटे, समयसँग तीता–मीठा अनुभवले भरिएको थैली छँदै छ। राज्यले परिवर्तन पाउला तर इतिहासबाट सिकेर सम्मान गर्दै भविष्यको स्वप्ना तुन्न पनि जान्नुपर्छ।

टुंग्याउनीमा ...
शाहका पालामा घुस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाएको देखिन्छ। यसमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुञ्जिन्छ। कृषि विकासको सपना– ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’, स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अंग्रेजको कालो नीतिको चर्को विरोधी भाव, राष्ट्रिय स्वाधीनतामा, जडीबुटी बेचेर पैसा साट्ने, खानी सदुपयोग गर्ने सबै आत्मनिर्भरताका दूरदर्शी भाव उच्छ्वलन हुन्। किल्लालाई दह्रो बनाउने भावमा परराष्ट्रको कूटनीति ‘जाइकटक नगर्नु झिकीकटक गर्नू’, ‘चीनको बादशाहसँग छाहा राख्नु दक्षिणको बादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिभित्र राज्य र सीमारक्षाबाट सैनिक सबलता पोखिनुमा कलात्मकता छ। ‘सैनिकलाई नुनको पछि नलगाउनु किनकि राजाको सार भनेको सिपाही र रैती हुन्’ भन्ने रामराज्यको आदर्श राजधर्म झल्किन्छ। अमूल्य दिव्यापदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाडेको इतिहास कालजयी छ। हिजो जानीनजानी मानिएका भए पनि यी युगपुरुषको यादमा हरेक सच्चा नेपालीले भावना बोधमा माथ झुकाउन जान्नुपर्छः

पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राष्ट्र त्यहाँ अखण्ड
थुत्तिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा अनि फूलबाट।

राष्ट्रकविले कवित्व भावमा ऐतिहासिक गाथामा राष्ट्रिय गौरवको अखण्ड, सुन्दर र सिंगो नेपाल निर्माणको योगदानलाई उरालेका छन्। चन्द्र–सूर्यअंकित नेपाली झन्डाको अस्तित्व अटल रहनुको देन पृथ्वीनारायणलाई जान्छभन्दा अत्युक्ति नहोला। बुद्धको बुद्धत्वमा शालीन शान्तिको दीप जलोस् या पृथ्वीनारायणसँग गाँसिएको वीर गोर्खालीको इतिहास– नेपालीपन शान्ति र क्रान्तिको आफ्नै पाटामा जीवन्त छ। पूर्वदेखि पश्चिमसम्मका ठूला देशले वीर गोर्खालीलाई किन चिन्छन् ? पृथ्वीनारायण कसरी  राष्ट्रनिर्माता बन्न सक्दैनन् र ! यो देशको कीर्ति परदेशसम्म पुर्‍याउन बहादुरी पस्कने पृथ्वीनारायणको पसिना र रगतको बलिदानीलाई स्वाभिमानी देशले सदैव सम्मान गर्न जान्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.