मासिए हिटी, सुके मूल
काठमाडौं : रानीपोखरी र जमलको आरसिटी क्लब अगाडि मल्लकालमा बनेको एउटा हिटी छ। त्यसलाई झंगछकु भनेर चिनिन्छ। व्यापारको सिलसिलामा ल्हसा तथा तिब्बततिरबाट आउने मान्छेहरू त्यसै धारामा नुहाइधुवाई गर्नुपर्ने नियम थियो। यहाँ नुहाएपछि मात्रै असन छिर्न पाउँथे। यहाँ नुहाएपछि अन्नपूर्ण देवता (इटाचपा) भएको ठाउँमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियम थियो। अनि मात्रै यात्रुहरू यताउता गर्न पाउँथे। हाल उक्त हिटी पुरिइसकेको छ। सम्पदा संरक्षण महाअभियानमा लागेका यादवलाल कायस्थ भन्छन्, ‘त्यो नियम किन थियो ? अहिलेको भाइरसका संक्रमण र बनेका नियमले हिटीको महत्व दर्शाउँछ।’
दरबार मार्गको महेन्द्रको सालिक अगाडि सोह्राहिटी (तीनधारा) पनि पुरिए। उत्खनन् गर्दै जाँदा त्यहाँ कलात्मक संरचना भेटिएको कायस्थ दाबी गर्छन्। उक्त ठाउँमा बैंक बनाउन लागिएको थियो। तर, कायस्थलगायत अभियन्ताहरूले दुई वर्षसम्म विभिन्न निकाय पुगेर बैंक बनाउन नदिने पहल गरेका थिए। त्यसपछि पुरातत्व विभागले २० लाख रुपैयाँ बजेट छुट्यायो। ठेकेदार खटायो र पुरातात्विक महत्वभन्दा बेग्लै संरचना बन्यो।
सम्पदा जीवन्त राख्नलाई राज्यसँग भिजन भएन। ढुंगाको संरचना मात्रै देख्यो। त्यसको अर्थ बुझाउन सकेन। हिटी बनाउनेलाई प्रोत्साहन गरेन। सम्बन्धित विषयमा ज्ञान भएकालाई नियुक्ति किन दिँदैन ?
– यादवलाल कायस्थ, सम्पदा संरक्षण महाअभियान्ता
पानी किन्ने तर ढुंगेधारालाई हेला गर्ने प्रवृत्ति छ। हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आएको छ। आकाशबाट आएको पानी जमिनमा रिचार्ज हुने
अवस्था छैन।
– सौभाग्य प्रधानाङ्ग, निमित्त महानिर्देशक, राष्ट्रिय अभिलेखालय
कायस्थ भन्छन्, ‘रानीपोखरीको चारै सुरमा चार प्रकारकै हिटी छन्। एउटा विद्युत् प्राधिकरणको वरिपरि पुरिएको अवस्थामा छ। त्यस्तै भोटाहिटीको अन्डर ग्राउन्ड बाटो (सब–वे) मुनि सातवटा हिटी भेटिएको थियो। तीनवटा धारा छाउनी संग्रहालयमा राखिएको छ। अन्य उत्खनन हुनै बाँकी छन्।
काठमाडौं उपत्यका खानेपानी बोर्डले सन् २०२० मा हिटीहरूका बारेमा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। बोर्डमा कार्यरत हाइड्रोजियोलोजिस्ट अनुज खनालका अनुसार अहिलेसम्म उपलब्ध भएका नामका आधारमा खोजबिन गरी तथ्यांक निकालिएको हो। बोर्डले जम्मा ५ सय ७३ वटा हिटीका नाम फेला पारेको थियो। त्यसैलाई आधार मानेर फिल्डमा खोज्न थालिएको थियो। ‘४ सय ७९ वटा फिल्डमा भेटिए। ५२ वटा यहाँ–यहाँ थिए भनेर ठाउँ मात्र पत्ता लाग्यो,’ खनालले भने, ‘४२ वटा त लोप नै भइसकेको पायौं।’
पाटन सुन्धारामा सुनको पालिस लगाइएको लूं:हिटी। तस्बिर : अशोक दुलाल
नेपानी बोर्डले हिटीहरूको अवस्था कहाँ, कस्तो छ, कति हराए, जोगाउन के गर्न सकिन्छ भन्ने उद्देश्यले अध्ययन गरेको खनालको भनाइ छ। प्रत्येक वर्ष हिटीहरूका बारेमा अपडेट गर्ने गरिएको उनी बताउँछन्। भने, ‘यो नितान्त गतिशील दस्तावेज भएकाले संख्याहरू प्रत्येक वर्ष अपडेट हुँदै आएका छन्।’ अध्ययनमा देखिएअनुसार कतिपय हिटीहरूमा सरकारी निकायले कार्यालय खडा गरिसकेका छन्। ललितपुर महानगरपालिकाको कार्यालय पनि पहिलाको पोखरीमा बनेको अध्ययनले देखाएको छ। ठाउँअनुसार स्थानीय, व्यापारी, गुठी, सरकारी निकाय सबैका कारण हिटी मासिएको अध्ययनले पुष्टि गर्ने खनाल बताउँछन्। पुरातत्व विभागले गर्नुपर्ने काम बोर्डले गरेको र अध्ययनपछि केही नगरपालिकाले काम पनि सुरु गरिसकेको उनको दाबी छ। ललितपुरको महालक्ष्मी नगरपालिका बोझेपोखरी र कीर्तिपुरले पालापुखु:को टेन्डर नै खुलाएको बताए।
तर, कायस्थ भने ढुंगेधाराहरू बोर्डले अध्ययनमा भेटिएको भन्दा फरक रहेको दाबी गरे। बोर्डको अध्ययनमा सम्पूर्ण प्राचीन ढुंगेधाराहरू समेट्न नसकेको जिकिर गरे। ‘हामीले उत्खनन गरेका कुनै पनि हिटीहरू बोर्डको अध्ययनमा छैनन्’ कायस्थले भने, ‘उनीहरूको अध्ययन त्रुटिपूर्ण छ।’ यद्यपि बोर्ड प्राचीन स्मारक जोगाउनमा इच्छुक देखिएको बताए।
उपत्यकामा थुप्रै हिटीहरू प्राचीन महत्व बोकेका छन्। तर, त्यसलाई उनीहरूले समेट्न नसकेको गुनासो गरे। ओमबहाल नजिकै १४ सय वर्ष पुरानो हिटी छ। उक्त हिटीमा राजा भीमार्जुन देवको पालामा लेखिएको शिलालेखसमेत भेटिएको बताए। त्यस्तै हाँडीगाउँमा पनि करिब १४ सय वर्ष पुरानो हिटी भेटिएको छ।
ललितपुर च्यासलस्थित पानीले पुरिएको हिटी। तस्बिर : अशोक दुलाल
अध्ययन नपरेको तर महत्वपूर्ण हिटीका रूपमा स्वयम्भूको जन्मद्वार हिटीलाई मानिएको कायस्थले जनाए। अन्य सबै ठाउँका हिटी सुल्टो छन्। तर, स्वयम्भूमा उल्टो छ। जुन मृत्यु संस्कारसँग सम्बन्धित रहेको बताए। उक्त हिटी पुरिएको अवस्थामा छ। सम्पदाहरूको वास्तविक अभिलेख कतै पनि नभएकाले प्राचीन महत्व बोकेका हिटीहरू लोप हुँदै गएको कायस्थको गुनासो छ।
हिटी किन महत्वपूर्ण छन् ? कायस्थले यसरी वर्णन गर्छन् : ‘हि’ भनेको रगत ‘टी’ को अर्थ तरल पदार्थ। रगत जतिकै महत्वपूर्ण पानी बग्ने भएकाले हिटी भनिएको हो। प्राचीनकालमा शरीरमा चाहिने आवश्यक तत्वहरू हिटीको पानीले पूरा गथ्र्यो भन्ने विश्वास थियो। तर, राज्यले यस्ता सम्पदालाई सामान्य ढुंगेधाराको संज्ञा दिएर बेवास्ता गरेको उनले बताए। ‘सम्पदा जीवन्त राख्नलाई राज्यसँग भिजन भएन। ढुंगाको संरचना मात्रै देख्यो,’ कायस्थले भने, ‘त्यसको अर्थ बुझाउन सकेन। हिटी बनाउनेलाई प्रोत्साहन गरेन। सम्बन्धित विषयमा ज्ञान भएकालाई नियुक्ति किन दिँदैन ?
ललितपुरको पाटनस्थित थापाहिटी। तस्बिर : अशोक दुलाल
राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्ग भन्छिन्, ‘मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनका कारण ढुंगेधाराको महत्व घटेको छ।’ ढुंगेधाराको विषयमा अध्ययनसमेत गरेकी प्रधानाङ्गले विकासका नाममा स्रोतहरू ‘शील’ भएको जनाइन्। पानी नभई नहुने महत्वपूर्ण कुरा भए पनि स्रोत बचाउन कसैको ध्यान नगएको उनले बताइन्। ‘जमिनमुनिको स्रोत विकासको नाममा बन्द भएका छन्,’ उनले भनिन्, ‘आकाशबाट आएको पानी जमिनमा रिचार्ज हुने अवस्था छैन।’ मानिसको अतिक्रमण, अव्यवस्थित निर्माण, सहरीकरण तथा जलवायु परिवर्तनको असरले पनि ढुंगेधाराको अस्तित्व नास हुँदै गएको उनले बताइन्। ‘पानी किन्ने तर ढुंगेधारालाई हेला गर्ने प्रवृत्ति छ’, उनले भनिन्, ‘हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आएको छ।’
पाटनको आल्कोहिटीमा बाहेक अन्य ठाउँका स्थानीय ढुंगेधारा पुग्दैनन्। भाडामा बस्ने तथा फुर्सदिलाहरूले मात्र ढुंगेधाराको प्रयोग गरेको देखिएको प्रधानाङ्गको अध्ययनले देखाएको छ। प्राचीनकालमा परम्परागत सीपबाट तयार गरिएको हिटी जोगाउन नसक्नु बिडम्बना भएको उनको भनाइ छ। उक्त समयमा उपत्यकामा विभिन्न स्रोतबाट पानीको जोहो गरिएको देखिन्छ। वरिपरिका डाँडाहरू पानीका मुख्य स्रोत थिए। स्वयम्भूमा वरिपरिका डाँडाबाटै पानी आउँथ्यो। ललितपुरमा टीकाभैरव हुँदै, नखु खोला भएर पाटनका ढुंगेधारामा पानी ल्याइएको थियो। राजकुलोमार्फत पानी ल्याए पनि हाल ती हराइसकेका छन्। काठमाडौंका अन्य ठाउँमा बूढानीलकन्ठ, धापासीतिर पानीका स्रोत थिए। भक्तपुरमा नगरकोटबाट पानी ल्याइएको थियो। पाटनको आल्कोहिटीमा स्थानीय स्रोत अझै संरक्षित छ। तर, अन्य ठाउँमा सचेतना पुगेको छैन।
अझै पनि बाँकी रहेका ढुंगेधाराहरूको अन्डरग्राउन्ड म्यापिङ गर्न सकेमा संरक्षण गर्न सकिने प्रधानाङ्ग बताउँछिन्। ‘स्रोत कहाँ ब्लक भएको छ हेर्नुपर्छ,’ उनले भनिन्, ‘नियमसिद्ध हेर्ने हो भने ढुंगेधाराको वरिपरि निर्माण गर्न मिल्दैन। सडक बनाउन मिल्दैन। ठूला गाडी ल्याउनु हुँदैन। तर, प्राचीन महत्व झल्काउने ढुंगेधारा वरिपरि नै ठूलाठूला भवन ठडिएका छन्।’ संरचना बनाउँदा के कति ढुंगेधाराको संरचना बिग्रियो भन्ने बारेमा लेखाजोखा नभएको उनी बताउँछिन्।
कतिपय बेला, घर निर्माण गर्ने क्रममा ढुंगेधाराका लाइन भेटिएका छन्। तर, त्यसैमाथि निर्माण सम्पन्न भएका छन्। सम्पदा संरक्षण महाअभियानकर्ता कायस्थका अनुसार लिच्छवीकालीन हिटीमाथि घर बनाउन पुरातत्व विभागले स्वीकृति दिएको छ। हात्तीसारमा एउटा घर निर्माणका क्रममा लिच्छवीकालीन हिटी भेटिएको थियो। २५ फिटमुनि सबै संरचना भेटिए पनि विभागले पुरातात्विक होइन भन्यो। त्यहाँ दुई तल्ले घर बनिसकेको उनको दाबी छ। कानुनी रूपमा हेर्दा प्राचीन स्मारक ऐन २०१३ मा सम्पदाहरूको संरक्षणको व्यवस्था गरेको छ। सय वर्ष नाघेपछि पुरातात्विक संरचना हुन्छ भनेर पुरातत्व विभागले पनि उल्लेख गरेको छ।
यस्ता विषयमा राज्यले उचित मुआब्जाको व्यवस्थापन गर्नुपर्ने र वैकल्पिक व्यवस्था गर्नुपर्ने सरसफाइ तथा पानी विशेषज्ञ प्रकाश अमात्यको भनाइ छ। पुरातात्विक अथवा भित्रि सहरमा फरक मापदण्ड बनाउनु उचित हुन्छ। ‘ढुंगेधाराको म्यापिङ गरेर सम्भावित ठाउँमा निर्माण गर्न दिनु भएन’ अमात्यले भने, ‘व्यक्तिलाई मर्का परेमा सरकारले मुआब्जा दिने तथा बैकल्पिक व्यवस्था गर्नुपर्छ।’ सम्पदा पहिचान भएकाले भोलिका दिनमा विशिष्टता देखाउनका लागि सम्पदा जोगाउन आवश्यक छ। ‘बिग्रिनुभन्दा पहिला संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘मासिएपछि कहाँबाट ल्याउनु ?’