पनौतीमा उत्तरप्रयाग तीर्थ

पनौतीमा उत्तरप्रयाग तीर्थ

६–६ वर्षको अन्तरमा पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर र गोदावरीमा साउन महिनाभर १२ वर्षे मेला लाग्ने गर्छ। पनौतीमा माघ १ गतेदेखि मेला सुरु हुँदैछ । 


परम्परागत कला, संस्कृतिका साथै ऐतिहासिक, व्यापारिक र पर्यटकीय दृष्टिले पनौती महत्त्वपूर्ण स्थान हो। असला माछा, आलु, धान, सुन्तला, लप्सी तथा घिउको निकासीका लागि प्रख्यात पनौती व्यापारिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ। समुद्री सतहबाट ४६ सय फिटको उचाइमा अवस्थित पनौतीको हावापानी समशीतोष्ण प्रकारको छ।

पनौतीको नामाकरण
स्थानीय बासिन्दा पनौती सहर एउटै ढुंगामा अडिरहेको विश्वास अझै गर्छन्। ऐतिहासिक प्रमाणहरूमा पनौतीलाई ‘अस्म नगर’ पनि भनिएको छ। जसको अर्थ हुन्छ– पवित्र तथा अलौकिक ढुंगामा अवस्थित सहर। पौराणिक कथनअनुसार पनौतीलाई नागले वेष्टित गरेको छ। यसै कारण नागलाई चोट लाग्ला भनेर यहाँ ढिकी नकुट्ने प्रथा चलिआएको छ। पनौती सहर एउटै ढुंगाको जगमा अडिएकाले पनि ढिकी राख्नु हुन्न भनिन्छ। बासुकी नागको जन्मथलो यहीं हो। धेरै वर्ष पहिले उनलाई यहाँबाट पाटन लगिएको भन्ने कथन छ। यिनै बासुकी नागबाट यस पनौती नगर संरक्षित भएको मानिन्छ। त्यसैले पनि राजा, महाराजा वा राष्ट्रप्रमुखहरू यहाँ आएर बास बस्न हुँदैन पनि भनिन्छ।

परापूर्वकालमा एक साधु पनौतीको पवित्रता र पुण्य जाँच्न मकर संक्रान्तिको दिन सुकेको बाँसको पानीले खिइएर चिल्लो भइसकेको ढुंगामा गाडेर यिनी अन्य धार्मिक स्थलतर्फ लागे। १२ वर्षसम्म यताउति घुमिफिरी तीर्थमै आइपुगे र बाँस पलाएको देखे। नेवारी भाषाअनुसार ‘पँ’ को अर्थ बाँस र ‘लोहँ’ को अर्थ ‘ढुंगा’ हुन्छ। त्यसैले यस ठाउँको धार्मिक महत्त्व थाहा पाई ‘पँ लोहँती’ अर्थात् ढुंगामा बाँस पलाएको भनी नाम दिए। र यसैबाट अप्रभंश भई ‘पलाँती’ ‘पनाती’ ‘पन्ती’ नाम रहन गएको विश्वास छ। पनौतीलाई नेवारीमा ‘पन्ती’ र स्थानीय भाषामा ‘पनाती’, ‘पलाँती’ भनिन्छ।

उत्तरप्रयाग तीर्थ र पनौतीको पुण्यता
हिन्दू धर्मावलम्बीका लागि त्रिवेणी संगमको नामले प्रख्यात उक्त स्थानमा १२ वर्षको एकपल्ट मेला लाग्छ। मकर संक्रान्तिको दिनदेखि एक महिनासम्म भव्य मेला लाग्छ। यो दिन सूर्य मकर क्षेत्रमा प्रवेश गर्ने हुनाले यस घटनालाई पवित्र मानिन्छ। जनविश्वासअनुसार उक्त दिनहरूमा यो त्रिवेणीघाटमा स्नान गर्नेहरूलाई धर्म तथा पुण्य प्राप्त हुने हुनाले यस धार्मिक स्थललाई ‘उत्तर प्रयाग तीर्थ’का रूपमा लिइन्छ। यससँग सम्बन्धित प्राचीनकथा यस प्रकार छ।

कश्यप ऋषिका १३ पत्नी थिए। जसमध्ये नागका आमाको नाम कद्रु र गरुडका आमाको नाम विनिता हो। कद्रुभन्दा विनिता जेठी थिइन्। कुराकानीको क्रममा एकदिन यी दुईबीच सूर्यको रथ तान्ने घोडाको रङ सेतो हो कि कालो भन्ने विषयमा विवाद भयो। विवाद बढ्दै गएर बाजी नै राख्नुपर्ने अवस्था भएछ। विनितालाई उक्त घोडाको रङ सेतो लाग्थ्यो भने कद्रुलाई कालो। उक्त घोडाको रङ सेतो हो कि कालो भन्ने निक्र्योल भोलि बिहान गर्ने र हार्नेले जित्नेको दासी बन्नुपर्ने बाजीको सर्त बन्यो। भोलिपल्ट कद्रुका छोरा नागहरूले षड्यन्त्र गरी सूर्यको रथ तान्ने घोडाहरूमा कालो छायाँ पारी घोडाको रङ कालो नै हो भन्ने भान पारियो। यसरी विनिता बाजी हारिन् र नातामा आफ्नी बहिनी नै भए पनि कद्रुको दासी बन्नुपर्ने भयो। भोलिपल्ट विनिताका छोरा गरुड घर आउँदा घरमा आफ्नी आमालाई देखेनन्। आफूलाई भोक पनि लागिसकेका कारण आमा कहाँ गई होलिन् ? भनी यताउता खोज्दै जाँदा आफ्नी आमाले कान्छीआमा कद्रुको टाउकोमा जुम्रा हेरिरहेको देखे। उक्त दृश्यले गरुड आश्चर्यचकित भए।

आमाको सेवा चाकडी गर्नुपर्ने सानीआमाकै सेवा गरिरहेको देखेर केही गडबड छ भन्ने अनुमान लगाए। आमालाई घर जान दुई, तीन पटक बोलाउँदा पनि आमाले बेवास्ता गरिरहिन्। सानीआमा कद्रुले जानू जानू भनेपछि मात्र आमा उठ्नुभयो। घर आएपछि गरुडले आफूभन्दा कान्छीको किन सेवा गर्नु परेको ? सानीआमाले अनुमति नदिएसम्म घर आउन किन नमानेको ? भनी कारण सोधे। सुरुमा त विनिताले टार्न खोजिन् तर गरुडको करकापले बाध्य भएपछि आफू दासी बन्नु पर्नाको सबै बेलीबिस्तार लगाए। त्यो बेला आफूले गरेको वाचाको ठूलो महत्त्व हुन्थ्यो।

यसै सिलसिलामा कद्रुका छोरा नागहरूको मनमा अमृत पिई चिरञ्जीवी हुने एउटा पापी विचार सुझ्यो। स्वर्गमा रहेको अमृत ठूलीआमा विनिताको छोरा गरुडले मात्र ल्याउन सक्ने कुरा तिनीहरूलाई थाहा थियो। अतः आमा कद्रुसित सल्लाह गरी गरुडले स्वर्गबाट अमृत ल्याए ठूलीआमालाई दासीबाट मुक्ति दिने सल्लाह भयो। नागहरूले यो कुरा गरुडलाई सुनाए। नागहरूले षड्यन्त्र गरेको थाहा पाउँदापाउँदै आफ्नो आमालाई दासबाट मुक्ति दिलाउन गरुडले अमृत ल्याइदिन तयार भए। गरुडले स्वर्ग गई अमृत चोरेर ल्याई नागहरूलाई बुझाए। अमृत पाउनेबित्तिकै नागहरूबीच कसले पहिला पिउने भन्ने सानोतिनो झगडा नै भयो। तर गरुडले अमृत पवित्र वस्तु भएकाले नुहाइवरी आफ्नो शरीरलाई शुद्ध बनाई मात्र अमृत सेवन गर्न सल्लाह दिए।

खोलामा नुहाउन जानु अगाडि अमृत भएको भाँडो सुरक्षित तवरले लुकाउन एउटा ठूलो ढुंगाले थिचेर पानी पसे। यसैबेला स्वर्गमा अमृत भएको भाँडो चोरी भएको घटनाले खैलाबैला भयो। स्वर्गका राजा इन्द्रले अमृत कहाँ कसले लगे वा चोर्‍यो। त्यसको खोजी गर्न चारैतर्फ दूतहरू, ऋषिमुनि र देवताहरू दौडाए। पवनको सहयोगमा अमृत भएको भाँडो पत्ता लगाएर दूतहरूले अमृत ढुंगाले छोपे। त्यो ढुंगा त्यहीँ फालेर अमृतको घैंटो लिएर स्वर्ग गए। समयमै अमृत फेरा पारी सुरक्षित फिर्ता आएकोमा देवराज इन्द्र खुसी भए। अमृत भएको भाँडोलाई छोपिराखेको ढुंगामा थोरै भए पनि अमृत लागेको हुन सक्ने भएकाले त्यो ढुंगा पनि ल्याउन पुनः आफ्ना ऋषिमुनिहरूलाई खटाए।

पनौतीका बासिन्दा प्रयागमा गंगा र यमुनाको संंगममा गुप्त रूपले सरस्वती मिसिन आए। पुण्यमाता र रोशीको संगममा गुप्त रूपले रुद्रावती मिसिन आएकी छन् भन्ने विश्वास छ। त्यसैले पनौतीलाई उत्तार प्रयागको नामले पनि पुकारिन्छ। 

गौतम ऋषिले अमृत लागेको ढुंगा भेट्टाए र त्यसको जानकारी स्वर्ग इन्द्रकहाँ पठाए। त्यो लिन दूतहरू पठाए तर गौतम ऋषिले ती दूतहरूलाई भने ‘यो ढुंगा लानु पर्दैन, अब यो ठाउँ ‘उत्तर प्रयाग’ को नाममा पवित्र तीर्थस्थलको रूपमा चिनिनेछ। बरु म चाहिँ यहीँ जपध्यान गरेर बस्छु। तपाईंंहरू फर्कनोस् र यो सन्देश स्वर्गका राजा इन्द्रकहाँ पुर्‍याइदिनु पनि।’

यसपछि गौतम ऋषि त्यहीँ बसी जपध्यान गर्न थाले। गौतम ऋषिका पत्नी अहल्या पनि त्यहीँको कुटीमा बस्न थालिन्। गौतम ऋषि दम्पतीले यो तपोभूमिको प्रचार गर्न थाले। यो पवित्र थलोमा आफ्नो जीवनकालमा कम्तीमा एक पटक मात्र भए पनि पाइला राखेको खण्डमा सुख शान्ति मिल्ने र पाप नास हुने कुरा बताए। यसरी यो ठाउँको नाम पलाती (पलाको अर्थ ‘पाइला’ र ती को अर्थ ‘राख’ अर्थात् समग्रमा ‘पाइला राख्नु’ भन्ने अर्थ) रहन गयो। यहाँ पाइला राख्दा पुण्य प्राप्त हुने भएकाले यो ठाउँको नाम कालान्तरमा पुण्यवती पनि रहन गयो। यी दुवै नाम पलाती÷पुण्यवती अपभ्रंश भई पनौती नामकरण भयो।

अतः यस पवित्रस्थलमा सकिन्छ भने दिनहुँ, होइन भने महिनामा एक पटक, त्यो पनि नभए वर्ष दिनमा एक पटक वा त्यो पनि नसके १२ वर्षमा एक पटक यहाँ आई नुहाइ आफ्नो पाप नास गर्न वा पुण्य कमाउन सकिने उल्लेख छ। यसो गरे स्वर्ग सुख प्राप्त हुन्छ भनिन्छ। त्यो पनि नसके जीवनभरमा  एकपटक यस पुण्यभूमि टेके स्वर्गमा पुगेसरहको आनन्द प्राप्त हुनेछ भन्ने धारणा छ।

अहल्या अनि इन्द्रलाई श्राप र श्रापमोचनको कथा
परापूर्वकालमा सृष्टिकर्ता ब्रह्माले अहल्या नाम गरेकी अति सुन्दरी स्त्री सृष्टि गरी सुरक्षित राख्न गौतम ऋषिलाई नासोका रूपमा राख्न दिए। एक दिन स्वर्गका राजा देवराज इन्द्र सिकार गर्न जाँदा अहल्यालाई देखी उनको रूपमा मोहित भए। गौतम ऋषि स्नान गर्न गएको मौका पारी गौतम ऋषिको भेष धारण गरी अहल्यालाई छक्याई उनीसँग अनैतिक सम्बन्ध राखे। स्नानबाट फर्केका गौतम ऋषिले सो कुरा थाहा पाई इन्द्रलाई जिउमा हजारौं योनी उत्पन्न होस् भनी श्राप दिए। 

पतिको यस्तो रूप देखेर विह्वल भएकी इन्द्राणीले आफ्ना गुरु बृहस्पतिका सामु यो श्राप कसरी हटाउने भनी बिन्ती चढाउँदा ब्रह्माजीको आज्ञा लिए। तिमी र इन्द्रले कुञ्जपर्वत् (हालको गोरखनाथ डाँडा) को फेदीमा लीलावती र पद्मावतीको संगममा जहाँ सुकेको बाँस गाड्दा टुसाएर आउँछ। त्यहाँ प्रत्येक ज्येष्ठ शुक्ल पूर्णिमाको दिन स्नान गरी १२ वर्षसम्म महादेवको तपस्या गरेमा यो श्रापबाट मुक्त भइने सल्लाह पाए।
इन्द्र र इन्द्राणीले ब्रम्हाजीको आज्ञा लिएर लीलावती र पद्मावतीको दोभानमा आई स्नान गरे। त्यहाँ इन्द्रले महादेव र इन्द्राणीले पार्वतीको तपस्या गरे। इन्द्राणीको तपस्याबाट  प्रसन्न भएर माघ महिनाको पुण्य घडीमा

रुद्रावती नदीको रूप लिई पार्वती त्यहाँ गुप्तरूपले बग्न थालिन्। दिव्यचक्षुले इन्द्राणीले पद्मावती नदी बगेकी देखिन्। पनौतीका बासिन्दा प्रयागमा गंगा र यमुनाको संंगममा गुप्त रूपले सरस्वती मिसिन आए।  त्यसरी नै यहाँ पनि पुण्यमाता र रोशीको संगममा गुप्त रूपले रुद्रावती मिसिन आएकी छन् भन्ने विश्वास छ। त्यसैले पनौतीलाई उत्तर प्रयागको नामले पनि पुकारिन्छ।

पनौतीको मकर मेला र रोशीको सम्बन्ध 
धेरै वर्षअगाडि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेकाले पनौतीका राजा दीर्गरथ र काठमाडौंका राजा सत्यवर फुल्चोकी माईको दर्शन र पानी वरदान माग्न गए। खडेरीबाट मुक्त हुन सुन र चाँदीको फूल चढाउन ल्याउनू भन्ने आदेश दुवै देशका राजालाई फुल्चोकी माईले सपनामा दिइन्। ललितकलाका धनी काठमाडौंका राजा आफ्नो देशमा प्रशस्त कालिगढ हुनाले खुसी भए। तर कालिगढहरूको अभावले चिन्तित पनौतीका राजाले मन्त्री, भाइभारदारको सल्लाह मुताबिक सुन र चाँदीको फूलको सट्टामा क्रमशः तोरी र मूलाको फूल फूलचोकी माईलाई चढाएछन्। 

कालिगढहरूको अभावका कारण साँच्चिकै फूल प्रस्तुत गर्नु परेको बिन्ती चढाएपछि फुल्चोकी माई प्रसन्न भइन्। र, नदी सृष्टि गरी पनौतीतर्पm पठाइन्, जसलाई आज भोलि लीलावती (रोशी) भनिन्छ। केही समयपछि काठमाडौंका राजा साँच्चिकै सुन र चाँदीको फूल लिएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए। उनले आफूलाई पनि वरदान मिल्नुपर्ने प्रार्थना गरे। त्यसपछि फुल्चोकी माईले आधा नदी त्यसतर्पm पठाइदिइन्, जुन नदी गोदावरीको नामले चिनिन्छ।

यी दुवै खोलामा ६–६ वर्षको अन्तरमा गोदावरीमा साउन महिनाभर र पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर १२ वर्षे मेला लाग्ने गर्छ। मकर मेलाको सुरुआत कहिलेदेखि भयो ? भन्ने कुरा यकिनका साथ भन्न नसकिए पनि राजा मानदेवका पालादेखि प्रत्येक १२ वर्षमा मकर मेलाको आयोजना हुन थालेको हो भन्ने भनाइ बुढापाकाको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.