बाथटबमा विलिन विजयशमशेर

बाथटबमा विलिन विजयशमशेर

जवाहरलाल नेहरूले भोजको आयोजना गरेका थिए। त्यहाँ नेहरूले विजयलाई तेन्जिङको राष्ट्रियताबारे सोधे। तेन्जिङलाई राष्ट्रपति भवनमा राख्ने प्रयास भए पनि विजयले नेपाली दूतावासमा राखेका थिए।


नेपालको कूटनीति क्षेत्रमा विजय शमशेर जंगबहादुर राणा परिचित नाम हो। नेपालमा औद्योगिकीकरण परराष्ट्रसम्बन्ध, राष्ट्रसंघको सदस्यता, सन् ५० को सन्धि र दिल्ली सम्झौतासँग पनि विजयशमशेरको नाम जोडिएर आउँछ। छोटो आयु बाँचेका विजयशमेशरलाई नेपालको सफल कूटनीतिज्ञ मान्ने गरिएको छ। कार्यसम्पादनका क्रममा उनले देखाएको कार्यकुसलताको अहिले पनि चर्चा हुने गर्दछ। राजदूत रहकै बेला विजयशमशेरको ६८ वर्षअघि २०१० पुस १५ गते दिल्लीमा निधन भएको थियो। निधन हुँदा उनी मात्र ३८ वर्षका थिए। लेखमा विजयशमशेरले गरेका महत्वपूर्ण काम र उनीसित जोडिएका प्रसँगहरू समेट्ने प्रयास गरिएको छ।

प्रधानमन्त्री मोहनशमशेर र दीक्षाकुमारीका कान्छा छोरा विजयशमशेर १९७१ पुस ८ गते जन्मेका थिए। उनले कलकत्ता विश्वविद्यालयबाट अँग्रेजीमा एमए गरेका विजयशमशेरको विवाह १९९५ वैशाखमा भारत, सुकेतका रजौटाकी छोरी सरलाकुमारीसँग भएको थियो (गो.प., १९९५ वैशाख ३१)। विजय दम्पत्तिबाट छोरा पशुपतिशमशेर तीन छोरी थिए। यद्यपि, विजयशमशेरको विवाह भएको १५ वर्ष बित्दा पनि सन्तान नभएपछि आफूलाई छोराका रूपमा अँगालेको र त्यसको अर्को वर्ष अर्थात् विसं. १९९७ मा पशुपतिशमशेरको जन्म भएको दाबी दोखलाका दीपबहादुर बस्न्यातको छ (काठमाडौँप्रेसडटकम, २०७६ चैत ९)। तर, विहे भएको दुईवर्षमै विजय दम्पत्तिबाट पशुपतिशमशेर जन्मकाले बस्नेतको दाबी सत्य देखिँदैन। 

पढाइ पूरा गरेपछि विजयशमशेर सन् १९४१ देखि ४६ सम्म घरेलु तथा वनस्पति विभागका डाइरेक्टर जनरल रहे। उद्योग, वाणिज्य, गोरखापत्र, जनसंख्या, तथ्यांक, परराष्ट्र र आकाशवाणी विभागहरूको डाइरेक्टर जनरलको जिम्मेवारी पनि उनले सम्हाले। १९३९ देखि ५१ सम्म उनी नेपाल ब्यांक लि.को अध्यक्ष रहे। सन् १९५० देखि ५१ सम्म आर्थिक योजना आयोगका अध्यक्ष भए (गो.प., २०१० पुस १६)। भीमबहादुर पाँडेले तयार गरेको ‘नमूना आर्थिक सर्वेक्षण’ उनैले श्री ३ जुद्धसमक्ष पेश गरेका थिए। ल्याण्ड मोर्टगेज बैंक र कोअपरेटिभ सोसाइटी स्थापनाका लागि जुद्धशमशेरलाई मनाउने उनै थिए। २००१ सालको औद्योगिक प्रदर्शनीमा श्री ३ जुद्धको भाषण विजयले नै लेखेका थिए। भाषणमा ‘नेपालमा औद्योगिक विकास नभए देशको भविष्य अन्धकार हुनेछ’ भन्ने वाक्य पारेका थिए (कुँवर राणाजीहरूको बृहत वंशावली, ०५२ : ९८)। भीमबहादुर पाँडेका अनुसार विजयशमशेरल चालेका पाँच उल्लेखनीय कदमहरूमा ‘नेपालको आर्थिक सर्भे रिपोर्ट’, ‘भूबन्धक बैंक र सहयोगी संस्था’, ‘प्रथम अखिल नेपाल औद्योगिक प्रदर्शनी’, ‘नेपालमा पंचवर्षीय योजनाको कल्पना’ र ‘नेपालमा सर्वप्रथम औद्योगिक सर्भे’ थिए।  

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र राष्ट्रसंघमा आवेदन 
१९४७ मार्च २३ देखि अप्रिल २ सम्म भारतको नयाँदिल्लीमा ‘एशियन रिलेसन्स कन्फ्रेन्स’ सम्पन्न भएको थियो। कन्फ्रेन्समा ८ जना सहभागी थिए (शरण, १९९७ : ११)। कन्फ्रेन्समा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व विजयशमशेरले गरेका थिए। नेपालले अन्तर्राष्ट्रिय मंचमा भाग लिएको यो नै पहिलोपटक थियो। कन्फ्रेन्सले सहभागी राष्ट्रहरूमा मुनाफारहित संस्थाका रूपमा ‘एशियन रिलेसन्स अर्गनाइजेन’ स्थापना गर्ने निर्णयअनुसार सन् १९४८ मा विजयशमशेरको अध्यक्षता ‘नेपाल काउन्सिल अफ् वल्र्ड अफेयर्स’ गठन भएको थियो। 

प्रधानमन्त्री मोहनशमशेरले २००५ वैशाख १४ गते आफ्नो ‘सिन्दूरयात्रा’ गरेका थिए। सिन्दूरयात्राका क्रममा मोहनशमशेरले दिएको लामो भाषण विजयशमशेरले लेखेका थिए। भाषणमा ‘भारतसँग सौहार्द सम्बन्ध रहेको, बेलायतसँग सन् १९२३ को सन्धिमा हस्ताक्षर भएको, अमेरिकासँग २००४ सालमै राजदूत आदानप्रदान भएको र चीन फ्रान्स, नेदरल्याण्डस् र बेल्जियमसँग सद्भाव राख्ने प्रयत्न भइरहेको’ उल्लेख थियो। राष्ट्रसंघको सदस्य प्राप्तिबारे– “आजकलको युगमा कुनै देशले पनि संसारव्यापी कुराहरूबाट सम्पूर्णतया अलग रहनु न असल कुरा हो, न सम्भव नै छ, तसर्थ हामीले पनि हाम्रो मित्रता खोज्ने अरू मुलुकहरूसँग राजनैतिक सम्बन्ध कायम गर्ने नीति लिइबक्सेका छौँ। सोही विचार मनमा लिएर हामीबाट नेपालले संयुक्त राष्ट्र संस्था (संघ)को सदस्य बन्नाले त्यसबाट लाभ हानि के कति छ त्यस कुराको राम्रोसँग विचार र छलफल गर्न लागि बक्सेका छौँ” भनिएको थियो (गो.प., २००५ वैशाख ४)। 

नेपाललाई राष्ट्रसंघको सदस्यका लागि पहलकर्ता विजयशमशेर नै थिए। २००५ भदौमा प्रचार विभाग ४ नं.ले विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघमा नेपाल प्रवेश गर्ने निर्णय गरेको जनाएको थियो। विज्ञप्तिमा ‘संयुक्त राष्ट्रसंस्था (संघ)को सदस्य हुने प्रश्नका उपर नेपाल सरकारले विचार गरेको केही समय भयो। यो प्रस्तावका बारेमा मुलुकमा व्यक्तिगत तथा सामूहिक रायको अध्ययन पनि सरकारबाट भइसकेकोले अब सकेसम्म छिटो यो संस्थाको सदस्य हुनाका निमित्त नियमानुसारको दरखास्त पठाउने निर्णय गरिएको छ’ भनिएको थियो (गो.प., २००५ भदौ २४)। 

२००५ मंसिर १४ गतेदेखि अष्ट्रेलियाको ल्याप्सटनमा संयुक्त राष्ट्रसंघको ‘एशिया र सदूरपूर्वको आर्थिक कमिशन’ (एक्याफे)को चौथो अधिवेशन शुरु भएको थियो। अधिवेशनमा नेपाल ‘एशोसिएट मेम्बर’ नियुक्त भएको थियो (गो.प., २००५ मंसिर १८)। अधिवेशनमा नेपालबाट मृगेन्द्रशमशेर, तारामानसिंह स्वार र प्रा. साम्वदेव पन्त सहभागी थिए (स्वार, २०३७ : २७)। 

पूर्वनिर्णयनुसार २००६ साउन ७ गते विजयशमशेरले संयुक्त राष्ट्रसंघको सदस्यताका लागि नेपालका तर्फबाट आवेदन दिएका थिए। आवेदनमा नेपाल सार्वभौम स्वतन्त्र मुलुक रहेको तथ्यप्रमाण र सन्धिसम्झौता पेश गरेका थिए। तर, सोभियत संघको भीटोका कारण नेपाल राष्ट्रसंघको सदस्यता पाउनबाट बंचित रहेको थियो। नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता ०१२ मंसिर ३० गतेमात्रै पायो (गो.प., २०१२ पुस १)। 

सन् ५० को सन्धिका वार्ताकार
नेपाल–भारतबीच ३१ जुलाई १९५० मा हस्ताक्षर शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भयो। नेपालका तर्फबाट सन्धिलाई अन्तिमरूप दिने काम विजयशमशेर, गुन्जमान सिंह, नरेन्द्रमणि दीक्षित र भीमबहादुर पाँडेले गरे। पाँडेका अनुसार मस्यौदा सन्धिमा नेपाली पक्षद्वारा व्यक्त असन्तुष्टि भारतीय पक्षबाट बेवास्ता भएको थियो। सन् ५० को सन्धिमाथि नेपालमा अहिले पनि प्रश्न उठिरहेको छ। नेपालको अहितको उक्त सन्धि प्रधानमन्त्री मोहनशमशेरले किन स्वीकारे भन्नेमा विश्लेषकहरूको आआफ्नै मत छ। भीमबहादुर पाँडेका अनुसार राणाशासन धरमराउन लागेका बेला उक्त सन्धि भएको थियो। त्यतिबेला राणाहरू सबैको सम्पत्ति भारतमा थियो। सोही कारण भारतद्वारा प्रस्तावित सन्धि लत्याउनसक्ने अवस्थामा मोहनशमशेर थिएनन् (त्यसबखतको नेपाल)। कानुनविद शम्भुप्रसाद ज्ञवालीले भने सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धिमा नेपाल सार्वभौम राष्ट्र« हो भन्ने प्रस्ट बेहोरा नभएकोले नेपालको राष्ट्रसंघको सदस्यता रोकिएका कारण सो सन्देह दूर गर्न मोहनशमशेरले त्रुटिसहितको सन् ५० को सन्धि स्वीकारेको बताएका छन् (कानुन द्वैमासिक, ०५७ वैशाख)।

२००७ सालको परिवर्तनका सहयोगी 
मोहनशमशेरको शासनकालमा सुरक्षाको जिम्मा उनका जेठा छोरा शारदाशमशेरको काँधमा थियो। हैदराबाद कब्जाका लागि भारतले नेपालसँग सैन्य सहयोग माग्दा शारदाशमेर २००५ साउन २० गते भारत गएका थिए। त्यसपछि सुरक्षाव्यवस्था विजयशमशेरले सम्हालेका थिए। २००५ कात्तिकमा काठमाडौँ आएका बीपी कोइराला भूमिगतरुपमा संगठन बिस्तारमा थिए। सो कुराको चाल पाएर पनि विजयशमशेरले आँखा चिम्लेका थिए। विजयसँग मोहनशमशेर रिसाएपछि मात्रै बीपी पक्राउ परेका थिए। २००७ कात्तिकमा राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिए, त्यसपछि स–परिवार दिल्ली पुगे। त्रिभुवनको भारतगमनसँगै राणाशासन धर्मराउन थाल्यो। नेपाली कांग्रेसको सशस्त्र क्रान्ति जारी त्यसपछि राणा, राजा र कांग्रेसबीच दिल्लीमा भारतको मध्यस्थतामा सम्झौता भएको थियो। सम्झौताताका विजयशमशेरले प्रधानमन्त्री मोहनशमशेरको प्रतिनिधिका रुपमा वार्तामा संलग्न थिए। सम्झौतापछि राणाशासन अन्त्य भएको थियो। 

राजदूत नियुक्त 
दिल्ली सम्झौतापछि प्रधानमन्त्री मोहनशमशेर नेतृत्वको राणा–कांग्रेस सरकार बन्यो। तर, परिवर्तित राजनीतिक परिस्थिति स्वीकार्ने पक्षमा राणाहरू थिएनन्। राणाहरू अस्थिरता फैलाउन उद्यत थिए। भरतशमशेरद्वारा गठित ‘गोरखा दल’ ‘खुकरी दल’का नामबाट गृहमन्त्री बीपी कोइरालामाथि आक्रमण गरेको थियो। आक्रमणमा भरतशमशेरको संलग्नता पुष्टि भएको थियो। भरतशमशेर बहालवाला रक्षामन्त्री बबरशमशेरका नाति थिए। सोही कारण बबरशमशेरलाई हटाई उनको ठाउँमा भारतमा राजदूत रहेका सिंहशमशेरलाई वनमन्त्री बनाइएको थियो। त्यसपछि विजयशमशेर भारतका लागि राजदूत नियुक्त भएका थिए। उनले २००८ साउन २३ गते भारतीय राष्ट्रप्रतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए (गो.प., २००८ साउन २६)। भारतमा रहँदा विजयशमशेरले सफल राजदूतको भूमिका निर्वाह गरेका थिए। 

तेन्जिङको तिकडम 
राजदूत रहँदा विजयशमशेरले झेलेको एउटा प्रकरण थियो, तेन्जिङनोर्गेको बेलायतयात्रा। तेन्जिङनोर्गे शेर्पा र एडमण्ड हिलरीले २९ मे १९५३ मा सगरमाथा चढेपछि उनीहरूको चर्चा चुलिएको थियो। हिन्दूस्तानी मिडियाहरू भने तेन्जिङलाई भारतीय भएको भनिरहेका थिए। नेपालमा त्यसको विरोध भइरहेको थियो। यसैबीच तेन्जिङ २८ जुनमा दिल्ली पुगे। विमानस्थलमा उनको स्वागतार्थ राजदूत विजयशमशेर, भारतीय शिष्टाचार महापाल चोप्रालगायत उपस्थित थिए। सोही साँझ भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले भोजको आयोजना गरेका थिए। भोजका क्रममा नेहरूले विजयशमशेरलाई तेन्जिङको राष्ट्रियताबारे सोधेका थिए। 

तेन्जिङलाई राष्ट्रपति भवनमा राख्ने प्रयास भए पनि विजयशमशेरले नेपाली दूतावासमा राखेका थिए। २८ जुनमै भारतीय शिक्षामन्त्री मौलाना अब्दुलले तेन्जिङको बेलायत भ्रमणबारे कुरा गर्न आफ्ना सचिवलाई नेपाली दूतावास पठाएका थिए। तेन्जिङ भने दार्जीलिङ गएर बेलायत जान चाहन्थे। तेन्जिङ र सर जन हण्टबीचको मतभेद मिडियामा आएकाले दार्जीलिङपछि बेलायत जाँदा उनले सम्मान नपाउने बताए। नेहरू पनि मौलानाकै लाइनमा बोले। त्यसपछि तेन्जिङ बेलायत जान राजी भए, तर परिवारका साथ। तेन्जिङको शर्तमा सहमति जुट्यो। नेहरूले तेन्जिङ नेपाली–भारतीय जे भए पनि सगरमाथा आरोहणलाई मानवजातिको प्रकृतिमाथिको विजय सम्झनुपर्ने बताए। विजयले तेन्जिङबारे भारतीय मिडियाले भ्रम फैलाएपनि उनी नेपाली रहेको बताए। नेहरूले ‘ये सब क्या है’ भन्दा तेन्जिङले ‘मै तो कुछ नही जानता साहेब, मै तो नेपालका भी हुँ, हिन्दुस्ताका भी हुँ’ भने।

तेन्जिङ आफ्ना सचिव लाक्पालाई पनि बेलायत लैजान चाहन्थे। तर, नेहरूले नलैजान भने। नेहरूले तेन्जिङको राहदानीबारे सोध्दा विजयशमशेरले नेपाली राहदानी बनाइसकेका बताए। त्यसपछि तेन्जिङका लागि विजयशमशेरले  लुगा सिलाउन लगाए। त्यतिबेलासम्म तेन्जिङ लाक्पालाई बेलायत नलैजानेमा राजी थिए। फेरि तेन्जिङले राजदूत विजयलाई भेटे र लाक्पालाई बेलायत लैजाने कुरा उप्काए। लाक्पा नगए आफू पनि बेलायत नजाने बताए। सो कुरा विजयले शिष्टाचार महापाल चोप्रालाई सुनाए। चोप्राले नेहरूलाई खबर गरे। चोप्राले सम्झाउँदा तेन्जिङले मानेनन्।

पछि उनले नेपाल–भारत दुबै देशको राहदानी पाए लाक्पालाई बेलायत नलैजाने बताए। राजदूत विजयले त्यसो गर्दा अप्ठेरो पर्छ भन्दा तेन्जिङले फेरि बेलायत नजाने भने। विजयले फेरि चोप्रालाई खबर गरे। चोप्राले नेहरूलाई सुनाए। त्यसपछि नेहरूले तेन्जिङलाई आफ्नो निवासमा बोलाए र पुराना कपडा थमाए। उक्त भेटमा तेन्जिङले लाक्पालाई बेलायत लैजान पाउँ भन्दा नेहरूले हुन्छ भने। सो कुरा तेन्जिङले विजयशमशेरलाई सुनाए। त्यसपछि तेन्जिङले लाक्पाका लागि लुगा मागे। विजयले नमिल्ने बताए। तेन्जिङले फेरि बेलायत जान्न भने। लुगामा के अल्झनु भनेर विजयले लाक्पालाई लुगा हालिदिए। अनेक तिकडमबीच तेन्जिङ १९५३ जुलाइ १ का दिन परिवार र लाक्पाका साथ लण्डन उडे। बेलायतबाट फर्केपछि भने उनले भारतीय नागरिकता रोजे। राजदूत विजयशमशेरले उक्त प्रकरणको फेहरिस्त ३ जुलाइ १९५३ मा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पठाएका थिए (कोइराला, २००८ : २७०–२७३)।

हृषीकेशको बात
हृषीकेश शाह राष्ट्रसंघका लागि प्रथम नेपाली स्थायी प्रतिनिधि हुन्। शाहको एकताका अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा छुट्टै पहिचान थियो। सोहीकारण राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्डको हवाइ दुर्घटनामा निधन हुँदा शाहको अध्यक्षतामा छानबिन समिति बनेको थियो। शाह २०१७ पुस १ पछि अर्थमन्त्री बनेका शाहलाई भारतीय संस्थापननजीको आरोप लाग्ने गरेको थियो। पंचायतको अन्त्यतिर भने शाह गैससमार्फत मानवअधिकारका मुद्दामा सक्रिय थिए। शाहको ०५९ कात्तिकमा निधन भएका शाहको सन् २०१४ मा ‘प्रारब्ध र पुरुषार्थ’नामक आत्मकथा प्रकाशित छ। हिमाल किताबद्वारा प्रकाशित उक्त आत्मकथा हरि अधिकारीले सम्पादन गरेका छन्। तर, आत्मकथाको भाषाशैली हेर्दा उक्त पुस्तक कुनै एकजना पूर्वराजदूतको हो भनेर स्वीकार्न गाह्रो पर्छ। पुस्तकमा शाहले बीपी कोइरालाको चरित्रमाथि प्रश्न उठाएका छन्। विजयशमशेरमाथि संगीन आरोप लगाएका छन्। शाहका भनाइ यहाँ उल्लेख गर्नै नसकिने खालका छन् (शाह, २०१४ : १५५–१६७)। 

दु :खद निधन
२०१० पुस १५ गते बिहान विजयशमशेर दूतावास निवासमा नुहाउन बाथरुम पसेका थिए। बाथरुममा पानी तताउन विद्युतीय रड बाथटबमा जोडिएको थियो। सोही टबमा पसेका विजयशमशेरलाई एकाएक करेन्ट लाग्यो। करेन्ट लागेर चिच्चाएपछि दूतावासका कर्मचारीहरूले ढोका खोेल्दा उनी बेहोस थिए। डाक्टर बोलाएर डेढ घण्टा अक्सिजन दिँदा पनि होसमा फर्केनन्। त्यसपछि उनलाई मृत घोषणा गरिएको थियो (गो.प., २०१० पुस १६)। 

विजयशमशेरको निधनको खबरसँगै भारतीय प्रधानमन्त्री नेहरू, राष्ट्रपतिका सैनिकसचिव, भारतीय विदेशसचिव नेपाली दूतावास पुगेका थिए। नेपाल सरकारले विजयको निधनमा झण्डा आधा झुकाएको थियो। नेपाली सेनाले सोही साँझ ५ :३० बजे टुँडिखेलमा ३८ तोपको शोकसूचक सलामी दिएको थियो। भारत सरकारले पनि विजयको निधनमा झण्डा आधा झुकाएको थियो (गो.प., २०१० पुस १६)। विजयशमशेरको अन्त्यष्टी भने २०१० पुस १७ गते साँझ दिल्लीको निगमबोधघाटमा राजकीय सम्मानसाथ भएको थियो। दुई माइल लामो विजयशमशेरको शवयात्रामा भारतीय प्रधानमन्त्री नेहरू, भारतीय केन्द्रीय मन्त्रीहरू, दिल्लीस्थित विदेशी कूटनीतिज्ञहरू सहभागी थिए (गो.प., २०१० पुस १८)। विजयशमशेरको निधनमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले मोहनशमशेर, उनकी श्रीमती र दूतावास कर्मचारीलाई समवेदना सन्देश पठाएका थिए (गो.प., २०१० पुस १६)। आफ्ना पूर्वअध्यक्षको निधनमा गोरखापत्रले २०१० पुस १८ गते ‘राजदूत श्री विजय’ शीर्षकमा सम्पादकीय लेखेको थियो। कतिपयले भने विजयशमशेरको मृत्युलाई रहस्यमय घटनाका रूपमा लिने गरेका छन्। 

अन्त्यमा
मृद्धुभाषी विजयशमशेरले दिल्लीको कूटनीतिक वृत्तमा विशिष्ट पहिचान बनाएका थिए। उनको भारतीय प्रधानमन्त्री नेहरू र इन्दिरा गान्धीसँग सुमधुर सम्बन्ध थियो। नेहरू विजयशमशेरको प्रतिभाबाट अति प्रभावित थिए। नेहरूले उनलाई आफूसँगै काश्मिर भ्रमणमा लगेका थिए (गो.प., २०१० पुस १८)। नेपाली दूतावासमा हुने कार्यक्रमहरूमा नेहरू र इन्दिरा गान्धी सहभागी हुने गरेका थिए। विजयशमशेरले दिल्लीको कूटनीतिक वृत्तमा विशेष छाप छोडेका थिए। उच्च छबी कायम गरेका थिए। यद्यपि, उनै विजयशमशेर वार्ताकार रहँदा नेपालको हितप्रतिकूल सन् ५० को सन्धिमा हस्ताक्षर हुनु सुखद पक्ष थिएन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.