सेफभित्र प्राचीन पाण्डुलिपि

सेफभित्र प्राचीन पाण्डुलिपि

२००७ सालअघि राजपरिवार र राणाहरूका लागि मात्रै औषधि उत्पादन हुन्थे। २००९ देखि राजा त्रिभुवनले सर्वसाधारणका लागि खुला गरेका हुन्।


नेपालको राजनीतिक इतिहासमा राणाकाल तुलनात्मक रूपमा शान्त र स्थिर थियो।तर पनि नागरिक अधिकार, विकास र समृद्धिका हिसाबले भने निकै पछाडि परेको पाइन्छ।तर, केही राणा प्रधानमन्त्रीको दीर्घकालीन तथा महत्वाकांक्षी सोचका कारण थुप्रै महत्वपूर्ण र ऐतिहासिक काम भएका छन्।राणा प्रधानमन्त्री वीरशमशेरको प्रोत्साहन र चन्द्रशमशेरको चातुर्यपूर्ण सोच र महत्वाकांक्षाको उपज हो, प्राचीन पाण्डुलिपि चन्द्रनिघण्टु।

आयुर्वेदमा स्वस्थको स्वास्थ्य रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग गरिने द्रव्यहरूको स्वरूप परिचय, उपयोग, गुण कर्म आदि विवेचनासहितको संग्रहयुक्त कोषलाई निघण्टु भनिन्छ।यस्ता निघण्टुहरू सम्बन्धित विशेषज्ञद्वारा प्रत्यक्ष अवलोकन तथा लामो अनुभवको आधारमा निस्वार्थभावले तयार गरिएका प्राचीन अभिलेखहरू भएकाले यी महत्वपूर्ण ज्ञानका स्रोत मानिन्छन्।संस्कृत भाषामा ‘नि’ शब्दको अर्थ शेष अर्थात् बाँकी नरहनु हो भने ‘घण्टु’ को अर्थ सँगालो हो। इतिहासविद् प्रा. दिनेशराज पन्त आयुर्वेदहरूको कोषलाई निघण्टु भनिने बताउँछन्।

नेपालमा प्राचीनकालदेखि नै आयुर्वेदिकका काम हुँदै आएको र चन्द्रशमशेरले आफ्नो पालामा देश तथा विदेशका प्रख्यात कविराजहरू सहभागी गराएर हस्तलिखित ग्रन्थ चन्द्रनिघण्टु निर्माण गरेको पाइन्छ।‘प्राचीनकालदेखि नै आयुर्वेदको काम भइरहन्थ्यो।श्री ३ चन्द्रशमशेरको पालामा विद्वान् कविराजहरूलाई सहभागी गराएर आयुर्वेदका विभिन्न पक्षलाई समेटेर पाण्डुलिपि निर्माण गर्न लगाए।तत्कालीन समयमा राणाहरूले आफ्नो नामलाई निकै महत्व दिने भएकाले त्यो हस्तलिखित पाण्डुलिपि आफ्नो नाममा चन्द्रनिघण्टु नामकरण गराए’, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत रहेका पन्त भन्छन्, ‘काम त वीरशमशेरकै पालामा सुरु भएको हो।तर, त्यो कामले पूर्णता भने चन्द्रशमशेरको पालामा पायो।’

सुधारमुखी राणा प्रधानमन्त्रीको छवि बनाएका वीरशमशेर विभिन्न नयाँनयाँ काम गर्न चाहन्थे।उनी आफ्ना कामले राणा र राजपरिवारलाई मात्र होइन, आम जनतालाई पनि प्रभाव पारोस् भन्ने सोच्थे।त्यही क्रममा उनले विभिन्न जडीबुटीका बारेमा विज्ञ टोली खटाएर अध्ययन एवं अनुसन्धानको काम सुरु गरेका थिए।त्यो काम उनको पालामा पूरा हुन सकेन।सुधारवादी कामका कारण जनताका प्रिय बनेका वीरशमशेर तत्कालीन सत्ता राजनीतिको कसिंगर बन्न पुगेका थिए।त्यसैले उनी त्यतिखेरको राजनीतिक दाउपेजको सिकार भए।उनीपछि चन्द्रशमशेर श्री ३ महाराज बने।उनले पनि वीरशमशेरले सुरु गरेको अध्ययन अनुसन्धानको कामलाई निरन्तरता दिएका थिए।उनले नेपालसँगै भारतबाट समेत आयुर्वेद शास्त्रका जानिफकारलाई झिकाएर आयुर्वेदको हस्तलिखित ग्रन्थ तयार पार्न लगाएका थिए।

चन्द्रशमशेरका पालामा लेखिएको हुनाले शीर्षकमा उनकै नाम जोडेर पाण्डुलिपिको नाम चन्द्रनिघण्टु राखिएको सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वअध्यक्ष डा. रामचन्द्र अधिकारी बताउँछन्।‘चन्द्रशमशेरले बंगाल र बम्बईबाट विज्ञसहितको कालिगढ झिकाएर त्यतिखेर जडीबुटीलगायतका विषयमा अध्ययन अनुसन्धान गरेको इतिहासमा पाइन्छ’, समितिका पूर्वअध्यक्ष डा. अधिकारी भन्छन्, ‘उनले आफ्नै नाममा चन्द्रनिघण्टु नाममा हस्तलिखित पाण्डुलिपि निर्माण गर्न लगाएका थिए।’

चन्द्रशमशेरको पालामा निर्मित प्राचीन हस्तलिखित ग्रन्थ ‘चन्द्रनिघण्टु’ प्रताप मल्लको पालामा स्थापना भएको वैद्यखानाको दराजमा लामो समयसम्म थन्कियो।त्यति मात्र नभई त्यो ऐतिहासिक ग्रन्थ विभिन्न समयमा देश बाहिर लैजाने षड्यन्त्र सुरु भएपछि त्यो षड्यन्त्रलाई परास्त पार्न आफैंले प्रकाशन गरेर सर्वसाधारण जनतामाझ पुर्याउन प्रकाशन आरम्भ गरिएको पूर्वअध्यक्ष अधिकारी बताउँछन्।

‘१० भागमा रहेको चन्द्रनिघण्टुलाई वैद्यखानाले करिब डेढ सय वर्षदेखि निकै सुरक्षाका साथ राखेको थियो।तर, ती महत्वपूर्ण दस्तावेज मासिने मात्रै होइन, पटकपटक अन्यत्रै लैजाने षड्यन्त्र पनि हुन थालेपछि मेरै पहलमा पाण्डुलिपिलाई पुस्तकका रूपमा प्रकाशन गर्न सुरु भएको हो’, पूर्वअध्यक्ष अधिकारी थप्छन्, ‘म वैद्यखानाको चार वर्ष अध्यक्ष हुँदा १० भागमध्ये तीन भाग प्रकाशन गर्न सफल भएँ।आम मानिसले कहिलेकाहीँ मात्रै सुन्दै आएको र सेफमा राखिएको चन्द्रनिघण्टुका बारेमा सर्वसाधारणले पनि जान्ने र बुझ्ने मौका पाएका छन्।’

अधिकारीको पालामा प्रकाशन सुरु भएको चन्द्रनिघण्टुको अहिले ७ भाग प्रकाशन भइसकेको छ।सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहका अनुसार अहिलेसम्म चन्द्रनिघण्टु ७ भागसम्म प्रकाशन भइसकेको छ।‘निकै पुरानो दस्तावेजका रूपमा रहेको चन्द्रनिघण्टुको अहिलेसम्म ७ भाग प्रकाशन भइसकेको छ।५ संस्करणसम्मलाई हामीले सर्वसाधारणका लागि बिक्री वितरणमा राखिसकेका छौं।६ र ७ भागको विमोचन पनि सकिएको छ।अब बोर्ड बैठक बसेर ती पुस्तकको पनि बिक्री वितरण सुरु गछौं’, उनी भन्छन्, ‘बाँकी रहेका ३ भाग पनि चाँडै नै प्रकाशन गर्नेछौं।यसका लागि स्वास्थ्य मन्त्रालयसँग पनि कुरा भइरहेको छ।’

चन्द्रनिघण्टुको सबै भाग प्रकाशन गरेपछि पुराना पाण्डुलिपिहरूलाई संग्रहालयमा राख्ने कि अहिलेजस्तै आफैंले सुरक्षित राख्ने भन्ने विषय भने टुंगो लागेको छैन।‘चन्द्रनिघण्टु’लाई नेपालको मात्र नभएर आयुर्वेद क्षेत्रकै एक अमूल्य ग्रन्थका रूपमा लिइन्छ।यस ग्रन्थ मूलतः संस्कृत भाषामा लेखिएको भए पनि नेपाली, नेवारी, हिन्दी, अंग्रेजी र ल्याटिन भाषामा पनि अनुवाद गरिएको छ।पाण्डुलिपिको मौलिकता नष्ट नहुने गरी पछिल्लो समयमा वनस्पतिका विषयमा भएका अनुसन्धानसँगै विभिन्न भाषामा पनि अनुवाद गरिएको छ।‘चन्द्रनिघण्टु सम्पादन समिति नै बनाएर काम गर्दै आएका छौं।समितिका विद्वान्हरूले पाण्डुलिपिको मौलिकता नष्ट नहुने गरी पुस्तकलाई आधुनिकता दिने काम गर्नुहुन्छ’, उनी भन्छन्, ‘विदेशीका लागि पनि पुस्तक उपयोगी होस् भनेर अंग्रेजी, ल्याटिनलगायतका भाषामा अनुवाद गरिएको छ।’

यसमा विभिन्न जडीबुटीका रंगीन चित्रहरू, तिनका विशेषता, कर्म र उपयोगीका बारेमा वर्णन गरिएको छ।वीरशमशेर र चन्द्रशमशेरका पालामा सुरु भए पनि चित्रहरू बनाउने र लेख्ने काम कसले गरे भन्ने स्पष्ट उल्लेख र तिथिमिति भने चन्द्रनिघण्टुमा कहीँ पनि उल्लेख भएको पाइँदैन।तर, नेपालमा त्यतिबेला उपलब्ध आठ सयभन्दा बढी जडीबुटी र दुई सय खनिज एवं द्रव्यहरूका परिचय, उत्पत्ति भएको स्थान, औषधोपयोगी भाग, गुण र कर्म, प्रयोज्य कल्प एवं मात्राका बारेमा सचित्र वर्णन गरिएको छ।वैद्यखानाका अनुसार, चन्द्रनिघण्टु तयार गर्दा धन्वन्तरीनिघण्टु, मदनपाल, भावप्रकाश, राजनिघण्टु, कैयदेवनिघण्टु र अमरकोशलाई मुख्य आधार मानिएको छ।‘निघण्टुहरूको निर्माण क्रम संहिताकालदेखि नै प्रचलित भएको तथ्य प्राचीन चरकसंहिता, सुश्रुतसंहिता आदि ग्रन्थहरूमा द्रव्यहरूको वर्गीकरण तथा गुणकर्महरूको वर्णनबाट प्रमाणित हुन्छ’, चन्द्रनिघण्टु सम्पादन समितिका पूर्वसदस्य डा. काशीराज सुवेदीले ‘चन्द्रनिघण्टुको परिक्रमा गरिहेर्दा’ लेखमा भनेका छन्।

चन्द्रनिघण्टु आयुर्वेदका विद्यार्थी र नेपालका जडीबुटी र आयुर्वेदका विषयमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि पनि निकै उपयोगी सन्दर्भ ग्रन्थ भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामअधार यादवले बताए।उनका अनुसार, नेपालमा पाइने जडीबुटी र औषधिजन्य द्रव्यहरूको संकलन गरेर राखिएको पौराणिक ग्रन्थको नाम चन्द्रनिघण्टु हो।यसमा नेपालमा पाइने वनस्पति द्रव्य, जान्तव द्रव्य र खनिज द्रव्यहरूको सम्मिश्रण रहेको छ।नेपालको हिमाली, पहाडी र तराई भेगमा पाउने वनस्पति, जान्तव र खनिजका बारेमा प्रष्ट रूपमा उल्लेख गरिएको छ’, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा अवस्थित केन्द्रका कार्यकारी निर्देशक यादव भन्छन्, ‘पहिले कुन–कुन जडीबुटी कुन–कुन रोगको उपचारमा प्रयोग गरिन्थ्यो भनेर चन्द्रनिघण्टुमा सन्दर्भसूचीसहित वर्णन गरिएको छ।’ यी आधारमा हेर्दा यो आयुर्वेद चिकित्सा विज्ञानका विद्यार्थी, वैज्ञानिक, अनुसन्धानकर्ता, वनस्पतिविज्ञहरूका लागि निकै उपयोगी देखिन्छ।

पौराणिक ग्रन्थ भएकाले चन्द्रनिघण्टुलाई डिजिटल रूपमा प्रकाशित गर्नुपर्ने जानकार बताउँछन्।‘नेपालको अमूल्य सम्पदा चन्द्रनिघण्टु र नेपालको आयुर्वेदका बारेमा प्रचार गर्न डिजिटल रूपमा प्रकाशित गर्नु आवश्यक छ’, यादव भन्छन्, ‘यसले नेपालको जडीबुटी र आयुर्वेदका विषयमा अध्ययन तथा अनुसन्धान गर्न चाहनेका लागि सहज हुन्छ।’ चन्द्रनिघण्टुलाई आयुर्वेद क्षेत्रको अन्तर्राष्ट्रिय सन्दर्भ ग्रन्थका रूपमा पनि हेरिन्छ।सिंहदरबार वैद्यखानाका पूर्वअध्यक्ष डा. अधिकारी सेफमा थुनिएर राखिएको ज्ञानको अथाह भण्डारलाई आफूहरूले पुस्तकका रूपमा प्रकाशन गरेको बताउँदै अब डिजिटलाइज गर्नुपर्नेमा जोड दिन्छन्।‘वर्षौंसम्म सेफमा थुनिएको ज्ञानको अथाह भण्डारलाई पुस्तकका रूपमा सबैका सामु ल्याउन सफल भयौं’, उनी भन्छन्, ‘अब यसको प्रचारप्रसारसँगै सुरक्षित साथ राख्न पनि डिजिटलाइज गर्नै पर्छ।’

‘१० वटै भाग प्रकाशित भएपछि त्यसलाई अनलाइनमा राख्ने योजना बनाएका छौं।पुस्तक विभिन्न भाषामा प्रकाशित भएकाले विदेशीले पनि पढ्न सक्नेछन्’, साह भन्छन्।निश्चित शुल्क राखेर पढ्न सकिने व्यवस्था गर्ने योजना बनाइएको छ।चन्द्रनिघण्टुमा त्यतिबेला नेपालमा उपलब्ध आठ सयभन्दा बढी जडीबुटी र झन्डै दुई सय खनिज एवं जान्तव्य द्रव्यहरूको परिचय तथा उपयोगितासम्बन्धी सचित्र जानकारी दिइएको छ।यसका १० भागमध्ये ८ खण्ड जडीबुटी र वनस्पति, नवौं खण्ड जान्तव्य (जनावर) र १०औं खण्ड खनिज (धातुजन्य)का बारेमा उल्लेख छ।

नवौं खण्डमा विभिन्न जनावर र तिनका अंगहरूको आयुर्वेदमा उपयोगिताका बारेमा उल्लेख छ।कस्तुरी, मृग, भालु, गैंडा, मयूरलगायत जान्तव्यको उपयोगिताका बारेमा सचित्र प्रकाश पारिएको छ।१०औं खण्डमा सुन, चाँदी, हीरा, मोती, फलाम, तामा, पित्तल र काँसजस्ता सप्तधातुका बारेमा वर्णन गरिएको बताइन्छ।‘१० खण्डमध्ये ८ खण्डमा जडीबुटीका बारेमा चर्चा गरिएको छ।नवौं खण्डमा जान्तव्य र १०औं खण्डमा खनिजका विषयमा लेखिएको छ’, पूर्वअध्यक्ष डा. अधिकारी भन्छन्, ‘जम्मा १९१८ पृष्ठको पाण्डुलिपिमा ९९३ द्रव्यहरूको वर्णन गरिएको छ।पाण्डुलिपिमा १०९८ रंगीन चित्र छन्।जसमध्ये ७३६ पृष्ठमा एक÷एक चित्र छन् भने बाँकी ३५३ चित्र १२६ पृष्ठमा कोरिएका छन्।’

‘आयुर्वेदलाई आयु (जीवन) र वेद (ज्ञान) को मेल मानिन्छ।जीवनको आयु बढाउने बुटी जडीबुटी हो र यसको उपयोगिताबारे जान्नु नै ज्ञान हो’ भन्ने गरिन्छ।‘आयुर्वेदको प्रयोजन स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोग लाग्दा त्यसको निवारणद्वारा आयु अर्थात् जीवनलाई सुखमय र चिरस्थायी बनाउनु नै हो’, चरकसंहिताको सूत्र स्थानमा उल्लेख छ।अर्थात्, आयुर्वेदमा स्वास्थ्यको रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग गरिने द्रव्यहरूको स्वरूप, परिचय, उपयोग, गुण कर्म आदि विवेचनासहितको संग्रहयुक्त कोष नै निघण्टु हो।नेपालको मौलिक ग्रन्थका रूपमा रहेको चन्द्रनिघण्टु सरकारी तथा गैरसरकारी निकायलगायत आयुर्वेद चिकित्सा विज्ञानका विद्यार्थीका लागि उपयोगी ग्रन्थमध्येको एक हो।

सिंहदरबार वैद्यखाना
नेपालको प्राचीनतम् स्वास्थ्य संस्थाको सिंहदरबार वैद्यखानालाई मानिन्छ।राजा प्रताप मल्ल (१६९८–१७३१) को पालामा हनुमानढोका दरबारमा स्थापना भएको मानिन्छ।अर्थात्, यो संस्थाले स्थापनाको ३७८ वर्ष लामो गौरवमय इतिहास पूरा गरिसकेको छ।वैद्यखानाको वार्षिक प्रकाशन ‘धन्वन्तरि’का अनुसार कान्तिपुरका राजा प्रताप मल्लले राणा प्रधानमन्त्री जंगबहादुरले थापाथली सारेको यो वैद्यखाना चन्द्रशमशेर राणाले सिंहदरबारमा सारेका हुन्।

सिंहदरबार वैद्यखाना नेपालमा आयुर्वेदीय औषधि उत्पादनको प्रमुख केन्द्र पनि हो।राष्ट्रकै अमूल्य निधिका रूपमा रहेको ‘चन्द्रनिघण्टु’लाई संरक्षकत्व प्रदान गरेर वैद्यखानाले अमूल्य गुण पनि लगाएको छ।‘कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लको पालामा स्थापना भएको सिंहदरबार वैद्यखाना राजनीतिक परिवर्तनको साक्षी मात्रै बनेको छैन, यसले आफ्नै पनि स्वर्णिम इतिहास निर्माण गरेको छ’, इतिहासविद् दिनेशराज पन्त भन्छन्।२००७ सालअघि राजपरिवार र राणाहरूका लागि मात्रै औषधि उत्पादन हुन्थे।२००९ देखि राजा त्रिभुवनले सर्वसाधारणका लागि खुला गरेको वैद्यखानाका पूर्वअध्यक्ष डा. अधिकारी बताउँछन्।उनका अनुसार, २०१६\०१७ सालदेखि यहाँ उत्पादित औषधिहरू देशका सम्पूर्ण सरकारी आयुर्वेद औषधालयमा निःशुल्क वितरणका लागि पठाउन थालियो।

नेपाल सरकारको आयुर्वेदिक औषधि उत्पादक संस्था वैद्यखानाले करिब ७५ भन्दा बढी खनिज एवं जान्तव द्रव्य, ५० भन्दा बढी मसला द्रव्य र ३०० भन्दा बढी जडीबुटी द्रव्यहरू प्रयोग गरी १ सय ७५ प्रकारका औषधि निर्माण गर्ने गरेको निमित्त निर्देशक साहले बताए।वैद्यखाना २०५२ सालदेखि भने सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सञ्चालन हुँदै आएको छ।समितिले उत्पादन गर्ने प्रमुख औषधिमध्ये च्यावनप्रास पनि एक हो।जाडो मौसममा समितिद्वारा उत्पादित च्यावनप्रासको निकै माग हुने गरेको उनी बताउँछन्।‘हाम्रा प्रमुख उत्पादनमध्ये एक च्यावनप्रास हो।अघिल्लो वर्ष ४ हजार किलो मात्रै उत्पादन भएकोमा यस वर्ष ९ हजार किलो उत्पादन गरेका छौं’, साह भन्छन्, ‘बजारमा हाम्रा उत्पादनको ठूलो माग छ।तर, माग अनुरूप भने अझै उत्पादन गर्न सकेका छैनौं।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.