अधिकांश नेतामा कोरोना : कोही आइसोलेसनमा, कसैले सपथ लिन पनि पाएनन्

अधिकांश नेतामा कोरोना : कोही आइसोलेसनमा, कसैले सपथ लिन पनि पाएनन्

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले पुस २८ गते राती १२ बजेबाट लागु हुनेगरी १२ बुँदे आदेश जारी गर्यो । आदेशमा २५ जनाभन्दा बढीले भेला हुन नपाउने व्यवस्था छ। तर, पुसको २३ गते उद्घाटन भइसकेर निर्वाचनको प्रक्रियामा रहेका नेकपा एमालेका जिल्ला अधिवेशनहरु रोकिएनन्। 

कतै सर्वसम्मत त कतै निर्वाचनबाट आएका पदाधिकारीहरुको सपथको कार्यक्रम पुसको २९ गतेसम्म पनि चलिरह्यो । त्यही अधिवेशनबाट कोरोना फैलिएपछि अहिले धेरै नेता कार्यकर्ता थला परेका छन् । 

पुस २३ गते सुदूरपश्चिमका बझाङ बाहेकका ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सुरु भएको थियो । केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएपनि, बन्दसत्रमा कुराकानी मिलाउन तीन, चार दिनसम्म पनि अधिवेशन चले । कैलाली जिल्ला अधिवेशनमा सहभागी संघीय सांसद‍् तथा नेकपा एमालेका कैलाली जिल्ला ईञ्चार्ज नारदमुनी रानालाई कोरोना पुष्टि भएको छ । उनी तीन दिनदेखि होम आइसोलेसनमा छन‍् ।

‘जिल्ला अधिवेशनमा भीडभाड थियो, त्यहीबाट कोरोना सरेको हुनुपर्छ,' नेता रानाले भने । उनलाई कोरोनाका लक्षण देखिएपछि जाँच गराउँदा पोजिटिभ देखिएको हो । उनी धनगढीस्थित आफ्नै घरमा होम आइसोलेसनमा छन् । 

यस्तै, नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पुसको तेस्रो हप्तादेखि गृह जिल्ला बैतडीको जिल्ला सम्मेलनमा सहभागी भए। बैतडीमा आमसभा गरेर नेकपा एमालेले जिल्ला अधिवेशनको उद्घाटन गरेको थियो । ‘टाउको दुखेको छ, ज्वरो र खोकी आएपछि कोरोना जाँच गराए, पोजिटिभ आएको छ,'नेता भण्डारीले भने । 

उनी पनि धनगढीमा आफन्तको घरमा होम आइसोलेसनमा बसेका छन‍्। कैलाली जिल्ला अधिवेशनमा जिल्ला सदस्यमा विजयी भएका अनेरास्ववियुका नेता चुडामणी भट्ट पनि कोरोनाबाट संक्रमण भएर होम आइसोलेसनमा छन‍् ।  ज्वरो र खोकी लागेपछि कोरोना जाँच गराउँदा उनमा कोरोना देखिएको हो। ‘अधिवेशनका बेला सबैसँग भेटघाट गर्नै पर्‍यो, भोट माग्नै पर्‍यो, कताबाट पो सरेछ,' भट्टले भने । 

नेकपा एमालेको कैलाली जिल्ला अधिवेशनमा निर्वाचन अधिकृत रहेका नेता चक्र तिमिल्सेनालाई पनि कोरोना देखिएको नेकपा एमालेका निवर्तमान उपाध्यक्ष रण बहादुर चन्दले बताए । तिमिल्सेना पनि कोरोना पछि होम आइसोलेसनमा बसेका छन्।

नेकपा एमालेको जिल्ला कमिटि सदस्य जितेका अत्तरियाका गणेश साउदलाई पनि कोरोना संक्रमण देखिएको छ।  उनी पनि होमआइसोलेसनमा बसेको अर्का जिल्ला सदस्य हितेश ओझाले बताए ।  

कञ्चनपुरमा नेकपा एमालेको जिल्ला सदस्य जितेका गजेन्द्र चन्दले कोरोनाका कारण जिल्ला सदस्य पदमा सपथ लिन पाएनन‍् । पुस २९ गते कञ्चनपुरमा विजयी नेताहरुको सपथ ग्रहण थियो । ‘कोरोना देखियो, सपथ कार्यक्रममा जान पाइनन्,'एमालेका नव निर्वाचित सचिव पल्लब राज भट्टले ।

नेकपा एमालेका नवनिर्वाचित कञ्चनपुर जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट र जिल्ला सचिव पल्लबराज भट्ट पनि अस्वस्थ छन्। ‘दुई दिन ज्वरो र रुघा लाग्यो, तर अहिले आराम लागिसकेको छ, मैले त कोरोना जाँच गराएन, धपेडीले भएको हो कि जस्तो लागिरहेको छ,' नेकपा एमाले कञ्चनपुरका नवनिर्वाचित सचिव पल्लब राज भट्टले भने ।

उनले चुनावका बेला सुत्न पनि नपाएकाले यस्तो भएको हुनसक्ने बताए । ‘जिल्ला सम्मेलनमा सहभागी धेरैजनालाई ज्वरो र खोकी लागेको छ, जाँच गराए धेरैमा पोजेटिभ आउन सक्छ, तर सबैजना घरमा आइसोलेट छन्,’ भट्टले भने ।

नेकपा एमालेको जिल्ला अधिवेशनमा समाचारका लागि गएका नागरिक दैनिक का ब्युरो प्रमुख दिल बहादुर छत्याल र अन्नपूर्ण पोस्टका ब्युरो प्रमुखलाई समेत कोरोना पोजेटिभ देखिएको छ। दुबैजना होम आइसोलेसनमा छन् । 

नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले जिल्ला अधिवेशनहरु उद्घाटन भइसकेकाले बीचैमा छोडन नमिल्ने भएकाले पनि सपथसम्मको कार्यक्रम गरिएको बताए । 

‘अधिवेशन उद्घाटनका बेला यस्तो थिएन, अहिले संक्रमण बढ्यो, त्यसैले माघ ८ गतेका लागि तय भएको प्रदेश अधिवेशन भने स्थगित गरेका छौं,' प्रदेश अध्यक्ष भण्डारीले भने । उनले, आफूहरु पनि कोरोना संक्रमण रोक्ने प्रयासमै रहेपनि अधिवेशनहरु सुरु भइसकेकाले बाध्य भएर सक्नै पर्ने अवस्था आएको बताए । 

आदेश छैन पालना

जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन नपाउने, सार्वजनिक सवारी साधनमा सीटभन्दा बढी बोक्न नपाउने, सार्वजनिक सवारीमा मास्क सेनेटाइजर अनिवार्य राख्नुपर्नेजस्ता आदेश जारी गरेपनि  कसैले त्यसको पालना गरेको छैनन्।

भारतमा कोरोनासँगै ओमिक्रोन भेरियन्ट फैलिएको छ । माघे संक्रान्तिका लागि भारतबाट हजारौं मानिस घर फर्किएका छन् । सीमा नाकामा दैनिक एन्टिजेन परीक्षणमा तीन सयको हाराहारीमा संक्रमण देखिएको छ। उनीहरुलाई कतै पनि होल्डिङ गरिएको छैन । 

सीमा नाकामा पोजिटिभ भएकाहरुले घरमै होमआइसोलेसनमा बस्छु भनेपछि उनीहरुलाई घर जान दिइएको छ । यसले पनि कोरोना घरघरमा पुग्ने देखिएको छ । जिल्ला प्रशासन कार्यालयले १२ बुँदे आदेश जारी गरेपनि त्यसको कुनै परवाह गरिएको छैन ।

बजारमा मास्कविना हिँडडुलको ठूलो जमात छ। माघे संक्रान्तिका दिन पनि कैलालीको बेहडाबाबा र गोदावरी धाममा हजारौं मानिसले दर्शन गरे । मास्कबिनाका मानिसले यस्तो भीडभाड गरिरहे पनि प्रशासनले रोक्न सकेको छैन । 

आदेश जारी गरेपछि प्रशासनले आदेशको पालना भए नभएको अनुगमन गरेको छैन । सार्वजनिक सवारी साधनमा सेनेटाइजर र मास्क अनिवार्य भनिएपनि त्यसको पालना हुन सकेको छैन ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.