सहकार्य गरेर तीनै तहको निर्वाचन समयमै गर्नुपर्छ :गच्छदार
विराटरनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारले पार्टी सभापति शेरवहादुर देउवाले मनोनयन गरेका पदाधिकारीहरु विधानसम्मत रहेको बताएका छन् ।
१४ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका सभापतिले पार्टीको विधि र विधानअनुसार पदाधिकारीहरुको नियुक्ति गरेको उनले बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको भेटघाटमा उनले भने, 'सभापतिले विधान र अधिकार प्रयोग गरेका छन्।' पार्टी सभापतीय प्रद्धतिमा चल्ने भएकाले सभापतिले आफ्नो दायित्व निर्भाव गर्दै जानुपर्ने बताए ।
पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने भएपनि आउने निर्वाचनमा सबै एक भएर कांग्रेसलाई विजय गराउन लाग्नुपर्ने उनले बताए। उनले महाधिवेशमा उत्पन्न भएको आपसी मनमुटावलाई त्याग नगरे निर्वाचनमा प्रतिसोधको भावना राखे कांग्रेसलाई नोक्सानी हुने उनको भनाइ थियो।
तीनै तहको निर्वाचनमा पार्टीको महाधिवेशनसम्म भएको प्रतिस्पर्धाको बदला लिने भावना पार्टीको हित विपरित हुने उनले बताए । आगामी निर्वाचनमा सबै एक भएर जानुपर्ने उनले बताए ।
नयाँ संविधान कार्यावन्यन भइसकेकाले सरकारले निर्वाचन आयोगसँग सहकार्य गरेर तीनै तहको निर्वाचन समयमा नै गर्नुपर्ने बताए । उनले स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर कर्मचारीको नेतृत्वमा जाने अपवाह मात्र भएको बताए ।