निक्षेप न्यून, कर्जा अधिक

निक्षेप न्यून, कर्जा अधिक

काठमाडौं : कर्जा प्रवाहमा आक्रामक देखिएका बैंकहरूको निक्षेप संकलनमा भने अपेक्षाकृत सुधार हुन सकेको छैन। कर्जा ४ खर्ब २२ अर्ब १७ करोड थप वृद्धि हुँदा निक्षेप संकलन भने १ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ मात्रै वृद्धि भएको छ। 

नेपाल बैंकर्स संघले सोमबार यो तथ्यांक सार्वजनिक गरेको हो। २७ वाणिज्य बैंकले चालू आवको पुससम्म ४३ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन्। यो असारको तुलनामा २.९३ प्रतिशतले मात्रै बढी हो। तर कर्जाको वृद्धि अधिक छ। पुससम्म ४१ खर्ब ४२ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। असारको तुलनामा यो ११.३५ प्रतिशतले बढी हो। 

कर्जा वृद्धिको अनुपातमा बैंकले स्रोत अर्थात् निक्षेप बढाउन सकेका छैनन्। राष्ट्र बैंकले चालू वर्ष कर्जा वृद्धिदर २० प्रतिशतसम्म तोकेको छ। निक्षेप बढ्न नसक्दा लगानीयोग्य पुँजी अभाव (तरलता समस्या) को स्थिति आएको बैंकविज्ञ अनलराज भट्टराई बताउँछन्। 

नेपालमा खपत हुनेभन्दा बढी वस्तु आयात भएकाले अनौपचारिक अर्थतन्त्र फस्टाएको हो कि भन्ने आशंका गर्न सकिने उनको भनाइ छ। ‘कोभिडका कारण करिब दुई वर्ष कारोबार नहुँदा असारदेखि उपभोक्ताको माग ह्वात्तै बढ्यो। बैंकको निक्षेप घट्यो। धेरै कर्जा वस्तु आयातमै गयो,’ उनले भने, ‘तर पनि बैंकहरू स्रोतको जोहोमा कमजोर देखिए।’ बैंकहरू आन्तरिक स्रोतको मात्रै भर परेको उनको ठहर छ। ‘प्रत्यक्ष वैदेशिक लगानीजस्ता बाह्य स्रोत जोहोमा अझै कमजोर देखिएका छन्। यद्यपि कोभिडले शिथिल भएको अर्थतन्त्र उठ्न खोज्दा बैंंकमा तरलता दबाबको स्थिति देखिनु सामान्य पनि हो,’ उनले थपे। राष्ट्र बैंकले कर्जा निक्षेप अनुपातको सीमा ९० प्रतिशत तोकेको छ। अहिले बैंकहरू सोही सीमामा छन्। जसले थप कर्जा दिने क्षमता केही बैंकबाहेक अरूको छैन।

अधिक निक्षेप बटुल्ने र कर्जा प्रवाह गर्नेमा एनआईसी एसिया पहिलो र ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ। एनआईसी एसियाले २ खर्ब ९९ अर्ब ३४ करोड निक्षेप संंकलन र २ खर्ब ७३ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर संख्या बढेकाले कर्जा लगानी बढेको एनआईसी बैंकको भनाइ छ।  २ खर्ब ८० अर्ब ८१ करोड निक्षेप संकलन गरेको ग्लोबल आईएमईले २ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ४४ करोड निक्षेप संंकलन र २ खर्ब १३ अर्ब ७७ करोड लगानी गरेको छ। नबिल बैंकले २ खर्ब ३५ अर्ब २८ करोड निक्षेप संकलन र २ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अरु बैंकहरूको निक्षेप र कर्जा प्रवाह २ खर्ब रुपैयाँभन्दा कम छ। 

थप कर्जा विस्तारमा ग्लोबल आईएमई अगाडि देखिएको छ। यस अवधिमा ग्लोबलले २८ अर्ब ७० करोड थप कर्जा प्रवाह गरेको छ। नेपाल बैंकले २७ अर्ब ९६ करोड, हिमालयन बैंकले २६ करोड २८ लाख, कृषि विकास बैंकले २३ अर्ब ७२ करोड, सनराइज बैंकले २१ करोड ७८ लाख र एनएमबी बैंकले २१ अर्ब १९ करोड रुपैयाँ थप लगानी बढाएका छन्। 

चालू आवको ६ महिनामा सन्राइज बैंकले सबैभन्दा बढी निक्षेप थप्न सफल भएको छ। बैंकले २१ अर्ब ४४ करोड निक्षेप बढाएर १ खर्ब ३१ अर्ब ६८ करोड रुपैयाँ पुर्‍याएको छ। यसपछि नेपाल बैंकले १९ अर्ब ७९ करोड रुपैयाँ निक्षेप थपेको छ। यसबाहेक क्रमशः हिमालयनले १८ अर्ब ४८ करोड, एनएमबीले १६ अर्ब ३२ करोड र एनसीसी बैंकले १५ अर्ब ३२ करोड निक्षेप उठाएको छ। यस्तै सानिमाले १४ अर्ब ७६ करोड र लक्ष्मी बैंकले १४ अर्ब ७० करोड रुपैयाँ थप निक्षेप संकलन गरेका छन्। बाँकी ११ बैंकको निक्षेप घटेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.