मोलार प्रिग्नेन्सी : निको हुन्छ प्रजनन प्रि–क्यान्सर
मोलार प्रिग्नेन्सी भएका महिलालाई सन्तानका रहर हुन सक्छ । यस अवस्थामा पूर्ण उपचारपछि गर्भवती हुन सक्ने हुन्छन् ।
विराटनगरकी सविता केसीको विवाहको तीन वर्षपछि महिनावारी रोकियो। केसी. दम्पतीले विवाहको लगत्तै सन्तानको चाहना नभएकाले परिवार नियोजनका प्राकृतिक उपाय र कहिलेकाहीँ अस्थायी साधन रोजेका थिए। तर करिब एक वर्षदेखि सन्तानका चाहना राखेका सविताको गर्भ रहिरहेको थिएन। परिवार नियोजनका साधनले असर पो ग¥यो कि भन्ने चिन्तामा रहेको बेला महिनावारी रोकिँदा उनीहरू खुसी भए। पहिलो अनि लामो प्रतीक्षापछिको भएकाले गर्भ परीक्षणका लागि समयमा नै उनी अस्पताल पुगिन्। चिकित्सकले सुझाएका गर्भावस्थाका सम्पूर्ण परीक्षणहरू उनले गराइन्। तर उनको अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गर्दा भ्रूण नदेखिएर ‘मोलार प्रिग्नेन्सी’ देखियो।
सुनसरीकी ३२ वर्षीया रञ्जना चौधरीको कथा पनि उस्तै छ। तीन सन्तानका आमा भइसकेकी चौधरीको नियमित रहेको महिनावारी रोकियो। महिनावारी रोकिएपछि पिसाब परीक्षण गराउँदा गर्भवती भएको थाहा भयो। सन्तानका रहर पुगिसकेका रञ्जनाले गर्भपतन गर्न बाध्य भइन्। उनले नेपाल सरकारले सूचीकृत गरेको स्वास्थ्य संंस्थामा गएर परामर्शसहित औषधिको प्रयोगले गर्भपतन रोजिन्। गर्भपतन पछि ढुक्क भएकी सरिताको एक महिना नबित्दै पुनः रक्तस्राव हुन थाल्यो। सुरुमा महिनावारी भएको होला जस्तो लागे पनि रक्तस्राव अत्यधिक हुने भएपछि पिसाब जाँच गरियो। जसमा पुनः गर्भ रहेको ठहर गरेपछि पुनः सोही संस्थामा निःशुल्क पाठेघर सफा (एमभीए) गराइन्। पाठेघर सफा गरे पनि उनको अलिअलि रक्तस्राव भईनै रह्यो। त्यसपछि उनी आत्तिन्। उनले अल्ट्रासाउन्ड गरेपछि मोलार प्रिग्नेन्सी (जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज) भएको थाहा भयो।
मोलार प्रिग्नेन्सी अर्थात् जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज महिलाहरूमा हुने एक प्रकारको प्रजनन प्रि–क्यान्सर हो। युरोपियन मुलुकहरूमा ०.६ देखि १.१ प्रतिहजार गर्भमा मोलार प्रिग्नेन्सी हुने गरेको पाइएको छ। यो समस्या एसियन मुलुकहरूमा अलिक बढी छ। गर्भको साल (प्लासेन्टा) बाट जन्म लिने यस क्यान्सरमा एक किसिमको कोष (ट्रोफोब्लास्ट) को अनियन्त्रित वृद्धि भएको हुन्छ। एक पटक जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएका महिलामा यो दोहरिने सम्भावना बढिरहेको हुन्छ। जुनसुकै उमेरका महिलामा यो हुन सक्ने भए पनि कम उमेर (१५ वर्ष) वा बढी उमेर (३५ वर्ष) मा गर्भवती भएकाहरूमा जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज हुने सम्भावना बढी रहन्छ। त्यस्तै धूमपान सेवन गर्ने, भिटामिन एको कमी भएका, महिनावारी अनियमित हुनेहरूमा तथा गर्भपतन भएका महिलामा यो देखिने सम्भावना बढी रहेको पाइन्छ। यसको उत्पत्ति नै ट्रोफोब्लास्ट अर्थात् निषेचन भएको जाइगोटबाट हुने भएकाले गर्भ नै नबसी मोलार हँुदैन। त्यसैले मोलारलाई मोलार प्रिग्नेन्सी भनिएको हो।
जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएका महिलामध्ये करिब ८४ प्रतिशत महिलामा अनियमित रक्तस्राव हुने गरेको पाइएको छ। उनीहरूमा अत्यधिक रक्तस्राव हुने हुन्छ। लामो समयसम्म महिनावारी (रक्तस्राव) भइरहने भएकाले कमजोर हुने, शरीर पहेंलो हुने, चक्कर लाग्नेजस्ता समस्याहरू आउन सक्छन्। यस अवस्थामा ह्युमान कोरियोनिक गोनाडोट्रोपिन (एचसीजी) हर्मोन बढी हुने हुन्छ। त्यसैले पिसाबमा गर्भ परीक्षण गर्दा ‘पोजेटिभ’ देखिने हुन्छ। एकातिर रक्तस्राव हुने र अर्कातिर पिसाब परीक्षणमा गर्भ देखिनाले गर्भको बच्चा खेर गएको हुन सक्ने अनुमान अधिकांशले गर्ने गर्छन्। त्यसैले यस अवस्थामा कतैकतै पाठेघर सफा (क्युरेट, एमभीए) गरेर बिरामीलाई घर पठाउने गरिन्छ। तर रोग पहिचानका लागि परीक्षणहरू गरिँदैन। त्यसैले रोग पत्ता लगाउन ढिला हुने गरेको घटनाहरू पनि देखिन्छन्।
जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएका महिलाको पाठेघर ठूलो हुने, अत्यधिक वान्ता हुने गरेको पाइन्छ। यस अवस्थामा योनि मार्गबाट रक्तस्राव हँुदा रगतसँगै सेता सानासाना अंंगुरका दानाहरू जस्तै देखिने हुन सक्छ। यस अवस्थामा कसैकसैलाई उच्च रक्तचाप हुने, खुट्टा सुन्निनेजस्ता समस्या थपिन सक्छ। यो रोग फोक्सो, कलेजो, मस्तिष्क, पेटजस्ता अन्य अंगहरूमा फैलिन सक्ने सम्भावना रहन्छ। रोग फैलिसकेपछि अन्य जटिलताहरू देखिन सक्छ। रोगका लक्षणका आधारमा मात्र जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएको ठोकुवा गर्न सकिँदैन। यसका लागि बिरामीलाई पूर्ण परीक्षण गर्नुका साथै रगतमा एचसीजीको मात्रा, रगतका अन्य परीक्षणहरू, छातीको एक्सरे, भिडियो एक्सरे, तथा पाठेघर सफा गर्दा निकालिएका कोषहरूको परीक्षण गर्नुपर्ने हुन सक्छ।
क्यान्सर भन्नेबित्तिकै सबैलाई डर लाग्ने गर्छ। जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज एक किसिमको क्यान्सर हो भन्नेबित्तिकै ‘निको त हुन्छ नि ?’ भन्ने प्रश्न धेरैको रहन्छ। यस किसिमका बिरामी र बिरामीका आफन्तहरू निकै आत्तिने गर्छन्। तर समयमा नै रोगको निदान गर्न सकिए यो अन्य क्यान्सरहरू जस्तो चाँडै फैलिने र धेरै जटिलताहरू यसबाट हुँदैनन् भन्दा फरक नपर्ला। त्यसैले धेरै आत्तिनु वा डराउनु पर्दैन। तर पूर्ण उपचारका लागि नियमित परीक्षण र उपचारमा समय खर्चिनुपर्छ। प्रारम्भिक अवस्थामा मोलार प्रिग्नेन्सीका बिरामीलाई लठ्याएर पाठेघर सफा गर्ने (सक्सन एन्ड इभ्याकुएसन्) गर्नु पर्छ। यस अवस्थामा अत्यधिक रक्तस्राव हुन सक्ने सम्भावना भएकाले रगतको व्यवस्थासमेत गर्नु उपयुक्त हुन्छ। पाठेघरमा रहेको मोलार तन्तुहरू राम्रोसँग सफा गरिनु अर्थात् पुर्णरूपले निकाल्न सक्नु नै यसको प्रमुख उपचार हो। यस्ता बिरामीहरूको नियमित रगतमा एचसीजीको मात्रा परीक्षण गर्दै फलोअप गर्नुपर्छ। कम्तीमा महिना दिनको अन्तरमा गरिएको तीन वटा रगतमा एचसीजीको मात्राको रिपोर्ट राम्रो आएमा मात्र उपचार सकिएको सम्झनुपर्छ भन्ने मान्यता रहेको छ। तर यसरी गरिएको एचसीजीको मात्रा नघटेमा जस्ताको त्यस्तै वा बढेमा) केमोथेरापी (क्यान्सरविरुद्धको औषधि) चलाउनुपर्ने हुन्छ।
‘कम्पलिट मोल’ किसिमका मोलार प्रिग्नेन्सी कुनै किसिमको शल्यक्रिया नगरी र पाठेघर नफाली पूर्णरूपले निको बनाउन सकिन्छ।
अधिकांश मोलार प्रिग्नेन्सीमा केमोथेरापी चाहिँदैन। तर सक्सन एन्ड इभ्याकुएसन गरेर एचसीजीको मात्रा घट्दै नगएमा तथा मोलार अन्य अंंगहरू (फोक्सो, कलेजो, आदि) मा फैलिएको अवस्थामा केमोथेरापी अनिवार्य हुन्छ। रोगको अवस्था, बिरामीको उमेर, क्यान्सर फैलिएको अवस्था तथा रगतमा एचसीजीको मात्राका आधारमा कम खतरनाक वा बढी खतरनाक समूहमा छुट्ट्याएर केमोथेरापी सुरु गरिन्छ। कम खतरनाक समूहमा परेका बिरामीलाई एक मात्र औषधि रहेको केमोथेरापी चलाउने भएकोले यो सस्तो पर्ने हुन्छ। यस समूहका बिरामीलाई एक पटकको उपचारमा औषधिको खर्च २ हजारदेखि २५ सय मात्र पर्ने भएकोले यसलाई सबैभन्दा सस्तो केमोथेरापी पनि भन्न सकिन्छ। बढी खतरनाक समूहमा परेका बिरामीहरूको केमोथेरापीमा धेरै किसिमका औषधिहरू प्रयोग गर्नुपर्ने भएकोले केही बढी झन्झटिलो र महँगो पर्ने हुन्छ। तर यस अवस्थामा पनि निको हुने सम्भावना अन्य क्यान्सरहरू भन्दा राम्रो रहेको पाइन्छ।
मोलार प्रिग्नेन्सीकै कारण कसैको मृत्यु भने हुँदैन। तर यसका जटिलता अर्थात् रक्तस्रावको कारण मृत्युसमेत हुन सक्छ। मोलार प्रिग्नेन्सी प्रिमेलिग्नेन्ट अर्थात् क्यान्सर हुनुभन्दा अगाडिको अवस्था हो। यसमा पनि ‘कम्पलिट मोल’ किसिमका मोलार प्रिग्नेन्सीमा करिब २० प्रतिशत जेस्टेसनल ट्रोफोब्लाष्टिक न्यु प्लासिया अर्थात् क्यान्सर हुने सम्भावना हुन्छ। तर यस अवस्थामा पनि कुनै किसिमको शल्यक्रिया नगरी र पाठेघर नफाली पूर्णरूपले निको बनाउन सकिन्छ। मेमौर गुयै र साथीहरूले एरिस्टाइड लि डान्टेक शिक्षण अस्पताल सेनेगलमा २००६ जनवरी देखि ३१ डिसेम्बर २०१४ सम्म गरेका लामो अध्ययनमा १ हजार ४४ मोलार प्रिग्नेन्सी बिरामीहरूको भर्ना गरिएको थियो। यसमध्ये १६४ अर्थात् १५ दशमलव ७ प्रतिशत जेस्टेसनल ट्रोफोब्लास्टिक न्यु प्लासिया अर्थात् क्यान्सर भएका देखाएका छन्। यीमध्ये २१ जना अर्थात् क्यान्सर नै भएकामध्ये १२ दशमलव ८ प्रतिशतको मृत्यु भएको थियो। केमोथेरापी समयमा सुरु नगरेका र पूरा नगरेकाहरूको मात्र मृत्यु भएको सो अध्ययनले पुष्टि गरेको छ।
पहिलो गर्भ पनि मोलार प्रिग्नेन्सी हुन सक्छ। मोलार प्रिग्नेन्सी भएका महिलालाई सन्तानका रहर हुन सक्छ। यस अवस्थामा पूर्ण उपचारपछि गर्भवती हुन सक्ने हुन्छन्। तर यस अवस्थामा मोलार दोहोरिने सम्भावना भएकाले चिकित्सकीय परामर्श र आवश्यक परीक्षण गरेर मात्र गर्भको योजना बनाउनु पर्छ।