सप्तरीमा तीव्र रुपमा फैलियो कोरोना, ७५ जनाको परीक्षणमा ६५ जना संक्रमित
राजविराज : तीव्र रुपमा कोरोना फैलिन थालेको सप्तरीमा ७५ जनाको पीसीआर परीक्षण गर्दा ६५ जना संक्रमित देखिएका छन्। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सप्तरीमा संक्रमितको संख्या तीव्र बढेको छ।
गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट मङ्गलबार आएको रिपोर्टमा ७५ मध्ये ६५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। संक्रमित हुनेमा प्रहरी अत्यधिक रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
संक्रमित ६५ जनामा सबैभन्दा बढी राजविराजमा ९ महिला र ४८ पुरुष छन्। यसैगरी तिलाठी कोइलाडी गाउँपालिकामा १ महिला र १ पुरुष, रुपनी गाउँपालिकामा १ पुरुष र अन्य जिल्लाका १ महिला ४ पुरुष छन्।
यो समेत सप्तरीमा कोभिडको तेस्रो लहरमा संक्रमित हुनेको सङ्ख्या १०५ पुगेको छ। जसमा २३ महिला र ८२ पुरुष छन्। संक्रमितमध्ये रुपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि गजेन्द्रनारायण सिंह अस्पतालमा शनिबार भर्ना भएकी उनको सोमबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो। यो समेत सप्तरीमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या १४० पुगेको छ।
तेस्रो लहर सुरु भएयता सप्तरीमा १६९ जनाको स्वाब परीक्षण गरिएकोमा १०५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। जसमध्ये राजविराजमा १६ महिला र ५३ पुरुष गरी ६९ जना संक्रमित देखिएका छन्। संक्रमित १०४ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
राजविराजस्थित सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश र कर्मचारीहरूमा पनि कोरोना संक्रमण तिब्रताका साथ बढेको छ। सप्तरी जिल्ला अदालतका ४ जना न्यायाधीश र ४ जना कर्मचारीमा संक्रमण देखा परेको छ।
यसैगरी उच्च अदालत जनकपुर राजविराज इजलासका ३ जना न्यायाधीश र ४ जना कर्मचारी गरी ७ जनामा संक्रमण देखिएको छ। जिल्लामा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिए पनि स्वास्थ्य सुरक्षामा सतर्कता अपनाइएको छैन।