आर्मी र गण्डकी राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा
वीरगन्ज: त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश वीरगञ्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। आदर्शनगर रंगशालामा बिहीबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाइ ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै आर्मीले अन्तिम चारमा आफनो स्थान पक्का गरेको हो। यसअघि गत मंगलवार भएको उद्घाटन खेलमा पनि आर्मीले मधेस प्रदेशलाई ५-० ले पराजित गरेको थियो।
बिहीबार भएको खेलमा आर्मीका लागि कमला चन्द एक्लैले ४ गोल तथा निलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल गरेकी हुन्।
बिहीबारको पहिलो खेलको वुमेन अफ दी म्याच आर्मीकै अन्जना चन्द ठकुरी घोषित भइन्। बिहीबार नै भएको अर्को खेलमा लुम्बिनी प्रदेशलाई २-० गोलले पराजित गर्दै गण्डकी प्रदेशले पनि सेमीफाइनलके यात्रा तय गरेको हो।
गण्डकीलाई अन्तिम चारमा पुरयाउन कमला देवी घर्ती र नानु गुरुङले १-१ गोल गरेका हुन्। उक्त खेलको वुमेन अफ दी म्याच गण्डकीकी सविना पुन राना घोषित भइन्। जारी प्रतियोगितामा यसअघि बुधबार भएको खेलमा गण्डकीले सुदुर पश्चिम प्रदेशसंग गोल रहित बराबरी खेलेको थियो। मधेस प्रदेश र सुदुरपश्चिम प्रदेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। प्रतियोगितामा शुक्रबार सेमिफाइनल चरणका खेलहरु हुनेछ।