दुर्गमका बासिन्दालाई वीरेन्द्रनगरमा ‘आवास गृह’
सुर्खेत : कर्णालीका नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगर आउन सहज छैन। दुर्गमका नागरिकलाई उपचार र अन्य कामका लागि वीरेन्द्रनगर आउन खर्चिलो हुन्छ। भौगोलिक विकटता र आर्थिक अभावमा प्रदेश राजधानीको बसाई उनीहरुका लागि महँगो पर्दछ। यही समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले वीरेन्द्रनगरमा आवास गृह निर्माण गर्ने भएको हो।
भौगोलिक विकटता, यातायातको सहज पहुँच नहुनु र गाउँमै भरपर्दो उपचार सेवा नभएकै कारण हुम्ला, डोल्पा, मुगुु, कालिकोट र जुम्लाका नागरिक वीरेन्द्रनगर आउने गरेका छन्। यसका लागि उनीहरुले समय र पैसा दुबै खर्चिनुपर्ने अवस्था छ। जेनतेन प्रदेश राजधानी झरेपनि उनीहरुको वीरेन्द्रनगरबसाई महंगो छ। तर आर्थिक रुपमा विपन्न नागरिकलाई वीरेन्द्रनगरमा बस्न र औषधि उपचार गर्नै मुश्किल हुन्छ। यही कारण कर्णाली प्रदेश सरकारले राजधानीमा आउने दुर्गमका नागरिकलाई सस्तो र सहज रुपले बास दिनेगरी ‘कर्णाली नागरिक अतिथि आवास गृह’ बनाउँदै छ।
उक्त अथिति गृहमा मुख्यगरी उपचारका लागि दुर्गम जिल्लाबाट आएका विरामी र अन्य नागरिकले सस्तो दरमा बास बस्न पाउनेछन्। ‘दुर्गमका नागरिक उपचारकै लागि वीरेन्द्रनगर आउँछन्, अन्य कामका लागि आउँदा पनि उनीहरुलाई समस्या हुने गरेको छ’ मुख्यमन्त्री जीवनबहादुर शाहीले भन्छन्, ‘उनीहरुका लागि सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने छ, यसैका लागि वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेर हामी आवास गृह निर्माण गर्छाै’ यसले दुर्गमका नागरिकलाई वीरेन्द्रनगर आउँदा महँगो खर्चमा होटलमा बस्नैपर्ने बाध्यता अन्त्य हुने उनको विश्वास छ।
प्रदेश सरकारसँग आफ्नै जग्गा नभएका कारण वीरेन्द्रनगर नगरपालिकालाई आवास गृह निर्माणको जिम्मा दिन लागिएको प्रदेश सरकारले जनाएको छ। जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाले वडा नं. ६ स्थित राम मन्दिर रहेको जग्गामा आवास गृहका लागि प्रस्ताव गरेको छ। ‘राम मन्दिर क्षेत्रमा अतिथि आवास गृह बनाउन प्रस्ताव भएको छ’ मेयर देवकुमार सुवेदीले भन्छन, ‘प्रदेश सरकारबाट बजेट आएपछि अन्य काम अगाडि बढ्छ।’ आवास गृहका लागि जग्गा अभाव नहुने उनको भनाइ छ। आवास गृहमा विरामीसहित दुर्गमबाट आउने नागरिकले सेवा पाउने छन्।
आवास गृह निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजना गरेको छ। सोही बजेट कार्यान्वयन गर्न प्रदेशले नगरपालिकालाई जिम्मा दिने तयारी गरेको छ। प्रदेशले बजेट नगरलाई बजेट दिएपछि जग्गाको एकीन गर्ने र पूर्वाधार निर्माण सुरु गर्ने नगरपालिकाको योजना छ। यस्तै प्रदेश सरकारले किरियापुत्री भनव पनि बनाउने भएको छ। वीरेन्द्रनगर–२ उत्तरगंगा मन्दिर क्षेत्रमा किरियापुत्री भवन बनाउन लागिएको हो। भवन निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा एक करोड बजेट छुट्याएको छ।