‘मलाई पनि पढ्न मन छ’
फिदिम : सडकको छेउतिर एउटा सानो घर छ। घरमा एउटी बालिका हात टेकेर घसँ्रदै बाहिर—भित्र गर्छिन्। कहिले उनी घसँ्रदै आँगन डुल्छिन्। कहिले उनी हातको सहाराले सडकसम्म पुग्न डिल उक्लने कोसिस गर्छिन्। घर माथिको सडकमा पुग्दा उनी औधी खुसी हुन्छिन्।
हिँड्ने संघर्षले जमिनमा घोटिएका उनका हातहरू पिल्सिएका छन्। पिल्सिएको हातको पीडाले उनलाई एकै ठाउँमा रोक्न सक्दैन। हिँड्ने चाहनाले उनलाई घरभित्र, बाहिर, आँगन र सडकसम्म घिसारिरहेको छ। उनलाई स्कुल जाने मन छ। लेख्ने अनि बढ्ने तीव्र इच्छा छ। घरमा आउने मान्छेसँग उनी मुस्कुराउँदै गफ गर्छिन् र भन्छिन्, ‘मेरो नाम मनिषा नेपाली हो। मलाई पनि पढ्ने मन छ।’
पाँचथरको तुम्बेवा गाउँपालिका— १ तीनघरेकी १३ वर्षीया मनिषा खट्टा टेकेर हिँड्न सक्दिनन्। सानैदेखि मनिषाको कम्मरमुनिको भाग चल्न सकेन। आर्थिक अभावका कारण उनका बुवाआमाले छोरीलाई उपचारमा लैजान सकेनन्। ‘छोरीको समस्या के हो अहिलेसम्म थाहा छैन,’ मनिषाकी आमा पवित्रा नेपाली भन्छिन्, ‘छोरी एकदम बाठी छ। लेखपढ गर्न रुचाउँछे तर, हिँड्न सक्दिनँ।’
‘छोरी पछि एउटा छोरो जन्मियो। त्यसपछि श्रीमान् विदेश गएका अहिलेसम्म आउनु भएको छैन,’ पवित्रा भन्छिन्, ‘केही वर्ष अघिसम्म त खर्च पठाउँदै हुनुहुन्थ्यो, अहिले त्यो पनि छैन।’ विदेशबाट श्रीमान् अहिलेसम्म नआएपछि अपांंग छोरी र छोरो हुर्काउन अनितालाई निकै हम्मे परेको छ। ‘घरमा काम सघाउने कोही छैन,’ अनिता भन्छिन् ‘अब त श्रीमान् आइदिए हुन्थ्यो।’ छोरीको पढ्ने इच्छा पूरा गर्न नसक्दा अनितालाई खल्लो लागेको छ।