पद्मसम्भव अर्थात् गुरु रिन्पोछे हिमाली आकाशका सूर्य
आउँदो पिँढीका लागि धार्मिक मार्गदर्शनको खाँचो पर्नेछ भन्ने अनुभव गरी पद्मसम्भवले आफूलाई काय, वाक र चित्ताका तीन योगहरूमा अभ्यस्त पारे।
बौद्ध धर्मअनुसार जीवहरूको जन्म चार प्रकारले हुन्छ। यही मान्यताअनुसार गर्भबाट जन्मने, अन्डाबाट जन्मने, पसिनाबाट जन्मने र अलौकिक रूपमा प्रकट हुने हुन्छ। जसमध्ये उनी मातापिताको समायोगबिनै उपपादुकरूपमा अर्थात् अलौकिक रूपबाट जन्मिएको विश्वास गरिन्छ। तिनै अलौकिक चामत्कारिक बालकलाई नै पद्मसम्भव भन्ने गरेको पाइन्छ।
पाकिस्तानमा पर्ने स्वाट उपत्यकालाई प्राचीनकालमा उड्डियान वा ओर्गेन (उर्गेन) भनिन्थ्यो। त्यहाँका राजा इन्द्रभूतिको राज्य निकै सम्पन्न थियो। जति उनको राज्यमा धनसम्पत्ति थियो, त्योभन्दा पनि विशाल उनको दान दिन आनन्द मान्ने र दानलाई नै राजाको धर्म ठान्ने खुला र उदारवादी मन थियो। फलस्वरूप उनले राज्यमा भएका सबै धनसम्पत्ति गरिबदुःखीलाई बाँडेर सकेका थिए। राज्यको कोष सबै बाँडेर सकिएकाले उनलाई ठूलो आपत् पर्यो। उनलाई धनसम्पत्ति सकियो भनेर चिन्ता पर्नुभन्दा पनि अब राज्यका गरिबदुःखी जनता माग्न आउँदा म के दिउँला ? खाली हात कसरी पठाउँला भन्ने चिन्ताले सताएको थियो।
पद्मसम्भव यतिसम्म दानप्रेमी थिए कि आफ्नो आँखासम्म पनि अरूको हितार्थ दान दिएका थिए। उनका पुत्र एवं उत्तराधिकारीको मृत्यु हुँदाखेरि उनलाई असह्य पीडा भयो। राज्यमा खडेरी परेकाले अनिकाल पैmलिएर हाहाकार मच्चियो। मानिसहरू अन्न र फलफूल काँचै खान बाध्य भए। राज्यमा बाँकी भएको धनसम्पत्ति चढाएर राजा र प्रजाहरूले बुद्धहरूको प्रार्थना गरे। करुणाका प्रतिमूर्ति अवलोकितेश्वरले यो सबै कुरा सुखावती भुवनमा अमिताभलाई ती जनताको दुःखप्रति करुणायुक्त दृष्टि पुर्याउन
अनुरोध गरे।
तत्कालै अमिताभ बुद्धको जिब्रोबाट एक रातो प्रकाश निस्कियो। त्यो किरण उल्काझैं खसेर तल धनकोष सरोवरको बीचमा पस्यो। जहाँबाट स्वतस्फूर्तरूपले एक कमलको फूल फुल्यो। त्योसँगै उनले आफ्नो हृदयबाट एकाक्षरी मन्त्र ‘ह्री’ प्रकट गरे। त्यो अक्षर एक स्वर्ण वज्रको आकृतिमा कमलको बीच भागमा प्रकट भयो। सबै बुद्धको सार समाहित भएको त्यो एक आठ वर्षको जत्रो बालक विराजमान भएको देखियो। उक्त बालकलाई डाकिनी (देवी) हरूले घेरिराखे।
यसरी अत्यन्तै करुणामयी बुद्धको हृदयबाट पद्मसम्भव गुरुको प्राणीहरूको कल्याणार्थ यस लोकमा पदार्पण भयो। यसैक्रममा शोकमा डुबेका राजा इन्द्रभूतिले समुद्रमा पुगेर त्यहाँबाट बहुमूल्य रत्नहरू र नागको मणि लिएर आउने अठोट गरे। अत्यन्तै जोखिमपूर्ण यात्रा गरी त्यहाँ पुगे। त्यहाँ नागहरूले विभिन्न बहुमूल्य रत्नहरू चढाएर राजाको स्वागत गरे। त्यहाँबाट उनले कल्पचिन्तामणि रत्न आदि बहुमूल्य कुराहरू प्राप्त गरे। यसलाई उनले आफ्नो कपडाभित्र लुकाएर एक प्रणिधान गरे। उनको देख्न नसक्ने भएको बायाँ आँखा तुरुन्तै खुल्यो।
नागहरूको दरबारबाट फर्किसकेपछि राजाले धनकोष सरोवर वरिपरि इन्द्रेणी लागिरहेको देखे। त्यहाँ एउटा बालकलाई कमलको फूलको आसनमा बसिरहेको देखे। बालकको शरीरबाट रश्मी आइरहेको थियो। यो सपना त होइन ? भन्ने लागेर बालकलाई प्रश्न सोधे– ‘तिमी को हौ ? कहाँबाट आएका हौ ?’
शरीर धान्न पद्मसम्भव मृतकहरूलाई चढाउन ल्याएका खानेकुरा समेत खान्थे। शरीर छोप्न लासहरूका कात्रो प्रयोग गर्थे। मसानमा धेरै वर्ष ध्यान गरेपछि पद्मसम्भव आकाशमा उडेर विभिन्न लोकधातुमा जान्थे। ती ठाउँहरूमा गएर गुह्य उपदेशहरूका लागि अनुरोध गर्थे।
बालकले जबाफ दिए, ‘मेरा माता पिता छैनन्। तर, म बुद्ध अमिताभ र बोधिसत्व अवलोकितेश्वरको उपज हुँ। बुद्धले भविष्यवाणी गरेअनुसार नै म सर्वसत्त्व हितार्थ र गुह्य मन्त्रको धर्म प्रकट गर्न आएको हुँ।’ यस्तो सुनेपछि राजकुमारलाई जस्तै गरी उत्तराधिकारी बनाई पद्मसम्भव (पेमाजुङ्ने) भन्ने नामकरण गरेर सिंहासनमा राखिदिए। पद्म (कमल) को फूलमा पैदा भएको हुनाले पद्मसम्भव नाम दिइएको थियो। त्यसपछि उड्डियान भूमिको समुद्रमा वाष्पीकरण भई आकाशमा बादल बन्यो र वर्षा भयो। फूलहरू फुल्न थाले र फलहरू पाक्न थाले (मुकेश लामा अनुदित पद्मसम्भवको जीवनी : सन् २००२ )।
तत्पश्चात् जनताको मनबाट सबै नैराश्यता र भय हटेर गयो। पद्मसम्भव वयस्क हुँदा राजा बूढो भइसकेका थिए। राजाले पद्मसम्भवको विवाह सिंहलकी एउटी सुन्दर राजकुमारीसँग गरिदिए। त्यसपछि उड्डियानको राजा पद्मराज (पद्म ग्याल्पो) बनाइदिए। अति गोप्यरूपमा राजाले पद्मसम्भवलाई आफूसँग भएको चिन्तामणि रत्न उपहार दिए। उनले भने, ‘यसले तिम्रा इच्छाहरू पूरा गर्ने छन्।’
राजकुमारले त्यो चिन्तामणि रत्न फिर्ता दिँदै भनेका थिए, ‘मैले देख्ने सबै चीज मेरा चिन्तामणि रत्नहरू हुन्।’ राजालाई आफ्नो हात खोली अगाडि पैmलाउन आग्रह गरे र तत्क्षणमै उनले हातमा अर्को चिन्तामणि रत्न उत्पन्न गरिदिए। पद्मसम्भवसँग त्यति धेरै शक्ति भए पनि उनले सांंसारिक भोगविलास त्यागेर मोक्षको बाटोमा लाग्ने निर्णय गरे।
उनले भनेका थिए, ‘जीवन क्षणिक छ, संंसारको चर्या अनन्त छ र बिछोड अपरिहार्य छ। यो त लोकको रीत मात्र हो। त्यसैले म मोक्ष प्राप्ति गर्नेतर्फ आफ्नो मति स्थिर गर्छु। पद्मसम्भवको पूर्वजन्मको केही कुकर्मको फलका कारण उनलाई मन्त्रीका पत्नी र असुर पुत्रको हत्या गरेको ठहर गरे। धन सम्पत्ति केही नदिइकन निर्वासित पनि गरिदिए। त्यसपछि उनले स्वतन्त्रतापूर्वक एक योगीको जीवन अँगाले (न्याङराल न्यिमा होसेरको काथाङ् साङ्लिङ्मा : सन् १९८७)।
अभ्यासको क्रममा भारतका आठ प्रख्यात मसानहरूमा घुम्दै पद्मसम्भवले धैर्यका साथ अभ्यास गरे। त्यसपछि उनी बोधगयाको नजिकै रहेको शीतवन मसानमा गए। लासहरूलाई आसन बनाई त्यसमाथि बसेर अति गम्भीर समाधिमा प्रवेश गरे र पाँच वर्षसम्म ध्यान गरेर बसे। शान्त स्वभावका डाकिनीहरू उनीकहाँ आउँथे। धेरै अभिषेक तथा मौखिक उपदेशहरू दिएर जान्थे।
शरीर धान्न उनी मृतकहरूलाई चढाउन ल्याएका खानेकुरा समेत खान्थे। शरीर छोप्न लासहरूका कात्रो प्रयोग गर्थे। मसानमा धेरै वर्ष ध्यान गरेपछि पद्मसम्भव आकाशमा उडेर विभिन्न लोकधातुमा जान्थे। ती ठाउँहरूमा गएर गुह्य उपदेशहरूका लागि अनुरोध गर्थे। निरन्तर अभ्यासको कारण उनी विनाशकारी शक्तिहरूमाथि नियन्त्रण गर्न सक्ने ऋद्धिसिद्धि प्राप्त शक्तिशाली गुरु बने। त्यसपछि उनको नाम वज्रगुरु रहन गयो (उर्गेन लिङ्पाको पेमाकाथाङ : सन् १९८७)।
पद्मसम्भव बोधगयामा गएका थिए। उनले आफ्नो शरीरबाट धेरै निर्माणकार्य निकालेर बहुसंख्यक योगीहरूको समूह देखाए। त्यो दृश्य हेर्ने भीडका सबै आश्चर्यचकित भए। जब मानिसहरूले पद्मसम्भवलाई तपाईं को हुनुहुन्छ ? कुन गुरुको अनुयायी हुनुहुन्छ ? भनी सोधे। तब पद्मसम्भवले यस्तो जवाफ दिए, ‘मेरा गुरु छैनन्। म स्वयंं उत्पन्न बुद्ध हुँ।’ आउँदो पिँढीका लागि धार्मिक मार्गदर्शनको खाँचो पर्नेछ भन्ने अनुभव गरी उनले आफूलाई काय, वाक र चित्तका तीन योगहरूमा अभ्यस्त पारे। मनुष्य र अमानुष दुवै लोकका गुरुहरूसित अध्ययन गरिरहे। किनकि उनी धर्मलाई प्रभावकारी बनाउन चाहन्थे। पद्मावतीको देशमा पुगेर उनले भैषज्यविद्या पूर्णरूपले सिके। उनले रोग निदान र असंख्य उपचार विधिहरू पनि सिके (उर्गेन लिङ्पाको पेमाकाथाङ : सन् १९८७)।
रगल भूमिमा उनले सर्वमित्र नाम गरेको पुरुषबाट देवभाषा संस्कृत र अरू भाषाहरू गरी जम्मा ३ सय ६० भाषा र ६४ वटा लिपि सिके। त्यसपछि उनले शिल्पविद्या र मृक्तिका शास्त्र पूर्णरूपले सिके। सबै कलामा निपुण भए। यति मात्र नभएर उनी सम्पूर्ण ज्योतिषविद्या, दर्शनशास्त्र, तर्कशास्त्रजस्ता भौतिक विषयहरू र सबै अरू लोकधातुका संंयुक्त ज्ञानका बारेमा ज्ञाता भए।
डाकिनीहरूबाट पनि पद्मसम्भवले ज्ञान लिएको पाइन्छ। डाकिनीले विजय प्राप्त गर्न समर्थ बनाइदिइन्। उनी गुह्य मन्त्रका पनि स्वामी बने। त्यसपछि उनले दुष्करचर्या अभ्यास गरेर दिव्यदृष्टि, दिव्य श्रोत्र, दिव्य घ्राण, दिव्य जिव्हाका ऋद्धिहरू प्राप्त गरे। दुष्कर चर्या (कठोर तपस्या) ले नै उनलाई प्राणायाम (श्वासप्रश्वास नियन्त्रण)मा विकास गर्न मद्दत गर्यो। फलस्वरूप उनले चण्डाली अभ्यासमा निपुणता प्राप्त गरे।
त्यसपछि उनले डाकिनीहरूलाई महायान तथा वज्रयानका उपदेशहरू दिए। अत्यन्तै टाढाका धेरै ठाउँमा यात्रा गरिसकेपछि उनी भारतमा निमाहोसेर (सूर्य किरण) र नेपालमा लोडेन छोग्से (वररुचि) नामले चिनिन थाले। साहोर भूमिमा पुगेर त्यहाँकी राजकुमारी मन्दारवलाई धर्म उपदेश र मन्त्रयानको शिक्षा दिँदा मानिसले एउटा भिक्षु भएर स्त्रीसित विहार गर्दैछ भन्ने गलत अफवाहसमेत फैलाए।
यो कुरा राजालाई पनि सुनाइयो। राजा क्रुद्ध भएर छोरीलाई काँढैकाँढा भएको खाडलमा थुनियो। पद्मसम्भवलाई जिउँदै जलाउन लगाइयो। सबै प्राकृतिक शक्तिहरू आफ्नो पूर्ण नियन्त्रणमा पार्न सक्ने शक्ति विकास भएको हुँदा उनले आफ्नो चितालाई प्रज्वलित खाडल वरिपरि एक विशाल सरोवर परिणत गरिदिए।
सरोवरको बीचमा पत्रेलहर भएको कमलले आठ वर्षीय बालकलाई टेवा दिइराखेको थियो। बालकको पारदर्शी शरीर सामुद्रिक शंखहरूको वैजनी रंंगले चम्किरहेको थियो। आँखा मिच्दै राजाले माथि हेर्दा सम्पूर्ण आकाश नै इन्दे्रणी रंगको प्रकाशले भरिएको देखे। त्यसपछि राजाले गल्तीको प्रायश्चित गरे। त्यसपछि पद्मसम्भव र मन्दारवले एउटै गुफामा बसेर ध्यान गरे (न्याङराल न्यिमा होशेरको काथाङ् साङ्लिङ्मा : सन् १९८७)।
त्यसपछि पद्मसम्भव जन्मभूमि उड्डियानमा फर्की धर्मपत्नी र अनुयायीका साथमा भिक्षा माग्दै हिँडे। त्यहाँका मन्त्रीहरूले उनलाई हत्याराको संज्ञा दिए र जलाउने काम गरे। त्यहाँ पनि त्यस्तै चमत्कार भयो। उड्डियानका राजाले पनि पश्चाताप गर्दै विनयी भएर उपदेशका लागि आग्रह गरे। पद्मसम्भवले भने, ‘त्रिलोक धातु एक कारागारसरह हो। तपार्ईं बुद्धिमान राजा भए पनि तपाईंसँग भौतिक सुख भए तापनि तपाईं भौतिक र कामोत्पन्न तृष्णाबाट उम्कन सक्नु हुन्न।’
धेरै वर्ष ध्यान गरेपछि पद्मसम्भव आकाशमा उडेर विभिन्न लोकधातुमा जान थाले। ती ठाउँमा गएर गुह्य उपदेशहरूका लागि अनुरोध गर्थे। निरन्तर अभ्यासको कारण उनी विनाशकारी शक्तिहरूमाथि नियन्त्रण गर्न सक्ने ऋद्धिसिद्धि प्राप्त शक्तिशाली गुरु बने।
पद्मसम्भव त्यहाँका जनतालाई बाह्य, भित्री र गुह्य मन्त्रको शिक्षा दिँदै उड्डियान भूमिमा १३ वर्षसम्म बसे। उनका कतिपय चेलाहरू पनि सिद्ध बने। सोहीक्रममा पद्मसम्भवले भारत र नेपालमा मन्त्रयानका उपदेशहरू दिँदै यात्रा गरे। उनले दक्षिण भारत, श्रीलंका, इन्डोनिसिया, बर्मा, मध्यएसिया, चीनका केही प्रान्त, रुस, अफगानिस्तान, पर्सिया, इजिप्ट र अरू विभिन्न भूमि पुगे। जहाँ उनले भयंकर पहाडका देवताहरू, असभ्य जंगली मांशाहारी प्रेत पिशाचहरू र महामारी पैmलाउने राक्षसहरूलाई दमन गरे।
प्राणीहरूमा सद्भाव, सद्ज्ञानप्रति आस्था र विश्वास जगाउने काम गरे। तत्पश्चात मान्छेको मनबाट नैराश्यता र अकुशल विचारहरू हटेर गए। उनी ऋद्धिसिद्धि प्राप्त महान् गुरु भएकाले विभिन्न चामात्कारिक घटनाहरू छन्। ती सबै नै रोचक र चामत्कारिक लाग्छन्। हामीजस्ता सामान्य मान्छेले सुन्दा त कतिलाई पत्याउनै गाह्रो हुन सक्छ। एकपल्ट नालन्दा विश्वविद्यालयमा ऋद्धिसिद्धि प्रदर्शन गर्ने क्रममा त्यहाँका विद्वान्हरूले तिर्थिकहरूसँग सामना गर्न पद्मसम्भव अर्थात् गुरु रिम्पोछेलाई प्रार्थना गरेर बोलाए। भोलिपल्ट पद्मसम्भव टुप्लुक्क त्यहाँ पुगे। अन्ततोगत्वा पद्मसम्भवले ती तिर्थिकहरूलाई तर्कमा र ऋद्धिसिद्धिमा हराइदिए (तारानाथ विरचित पद्मसम्भव जीवनी : सन् १९८७)।
पद्मसम्भवले नेपालको पूर्वी भागमा पर्ने हलेसी मरतिका गुफामा दीर्घायु साधना गरेका थिए। काठमाडौं आउँदा त्यसबेला यहाँ अनेक प्राकृतिक प्रकोप भूकम्प, आँधीबेहरी आदि घटनाले भूमिलाई अस्तव्यस्त परिराखेको थियो। यसले गर्दा पशुपालन र अन्नबाली दुवैलाई क्षति पुर्याइराखेको थियो।
पद्मसम्भव फर्पिङको याङ्लेसो गुफामा ध्यान गर्दागर्दै उनले वज्रकिल (दोर्जे फुर्वा) को भयंकर क्रोधी रूप धारण गरे। प्रतिकूल शक्तिहरूलाई नेपालमा धर्मको रक्षा गर्न प्रतिबद्ध गराए। आध्यात्मिक चर्याबाट पद्मसम्भवले भ्रान्तिका आवरणयुक्त शक्तिहरूलाई शान्तिपूर्ण जीवनको प्रवाहमा परिवर्तन गरिदिए। सबै बुद्धहरूको एकता तथा करुणाको रूपमा प्रकट भए। त्यसैगरी नेपालको योल्मो (हेलम्बु), ऋषेश्वर (दामन), यारिनाग (तिमाल) र नुवाकोटको चाङखाला (कविलास) तथा छावाछासो (देवीघाट) आदि ठाउँमा ध्यान गरेका थिए (उर्गेन लिङ्पाको काथाङ् देङा : सन् १९८६)।
पद्मसम्भवको तिब्बत प्रवेश
तिब्बतका राजा स्रोङ्चेन गाम्पोले सातौं शताब्दीमै देशमा बुद्ध धर्म पैmलाउने उद्देश्यले नेपालकी राजकुमारी भृकुटी र उनका साथमा बौद्ध ग्रन्थहरू अनि बुद्ध मूर्ति मागे। यसले तत्कालीन समयमा नेपालमा बौद्ध धर्मको अभ्यास प्रचुर मात्रामा गरिन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ। यस्तै धार्मिक उद्देश्यकै लागि उनले चीनकी राजकुमारी कोङ्जोलाई पनि विवाह गरेका थिए।
नेपालबाट लगेका बौद्ध ग्रन्थहरू र बुद्ध मूर्तिहरू देखेर राजा स्रोङ्चेन गाम्पो छक्क परेका थिए। तत्पश्चात् उनले आफ्नो एक मन्त्री थोन्मी सम्भोट र अन्य केही तीक्ष्ण बुद्धि भएका युवालाई भारतमा संस्कृत सिक्न पठाए। उनीहरूको समूह तिब्बतमा फर्केपछि लिपि बनाएको पाइन्छ। त्यसपछि संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थहरूको तिब्बती भाषामा राज्यबाटै अनुवाद गर्न लगाएको पाइन्छ (मुकेश लामा अनुदित पद्मसम्भवको जीवनी : सन् २००२)।
आठौं शताब्दीमा आइपुग्दा तिब्बतको राजगद्दीमा राजा ठ्रिसोङ देउचेन आसीन भएको पाइन्छ। उनले पनि बुद्ध धर्मको पुनर्उत्थान गर्ने विचार गरी भारतीय विद्वान् शान्तरक्षितलाई बोलाउँछन्। यद्यपि तिब्बतमा बोन र धामी झाँक्री प्रथाले जरो गाडेकाले शान्त स्वभावका शान्तरक्षित तिनीहरूसँग सामना गर्न असमर्थ भएपछि पद्मसम्भवलाई बोलाउने सल्लाह दिन्छन्।
शान्तरक्षितको सल्लाहअनुसार पद्मसम्भवलाई तिब्बतमा बोलाइन्छ। जतिबेला पद्मसम्भव नेपालमै थिए। उनले धेरै नेपालीलाई उपदेश र ज्ञान दिए। पद्मसम्भवले तिब्बतमा खाँचो भएको कुरा सपनामा देखे। डाकिनीहरूले उनलाई रोक्न खोजेका थिए। तैपनि उनी जान तयार भए। तिब्बती दूतहरू निकै लामो बाटोसम्म लिन आए र सुनको धूलो चढाए। त्यो सुन पद्मसम्भवले नेपाल र तिब्बतको सिमानामा पुग्ने गरी हुत्याइदिए। त्यसले दूतहरूको मनमा आघात पुग्यो।
पद्मसम्भवले त्यो कुरा महसुस गरी उनीहरूको बाहुला थाप्न लगाए। माटो र गेगर राखिदिए र फेरि हेर्न लगाए। त्यहाँ सुन चाँदी र बहुमूल्य रत्नहरू देखियो। त्यसपछि दूतहरूमा अगाध श्रद्धा उत्पन्न भयो। उनी तिब्बत पुगेर त्यहाँका अमानुष शक्तिहरूलाई दमन गरी बौद्ध धर्मको उत्थान गर्ने बुद्ध शासन पैmलाए। सो क्रममा गोन्पा (गुम्बा) बनाउन लाग्दा अमानुष शक्तिहरूले राति—राति भत्काइदिन्थे। यसै क्रममा त्यहाँकी राक्षसनीलाई खेद्दै मुस्ताङको लोगेगारसम्म पुर्याए। त्यसको शरीरमाथि जग हाली लोगेकार गोन्पाको निर्माण गरेको पाइन्छ। जुन गोन्पा (गुम्बा) संसारकै पहिलो र पुरानो मानिन्छ। त्यसपछि फर्केर साम्ये गोन्पाको निर्माण गरिएको थियो (खेन्पो टासी तेन्जिन मुस्ताङको इतिहास : सन् २००१)।
साम्ये गोन्पाको उद्घाटनको क्रममा पद्मसम्भवले तत्कालीन राजा ठ्रिसोङ देउचेन, मन्त्री यार्लुङ वामी ठ्रिसेर र भिक्षु शान्तरक्षितलाई राखे। ‘हामी चार जना पहिले नेपालमा झ्याजीमा (कुखुरा पाल्ने महिला) का चार भाइ छोरा थियौं। हाम्रा पिता पनि अलग थिए। अर्थात् हाम्री आमा झ्याजीमाले चार फरक पुरुषबाट हामीलाई जन्माएकी थिइन्। नेपालको बौद्ध स्तूप बनाउन आमाले सुरु गरेकी थिइन्। सो सम्पन्न नहुँदै आमाको मृत्यु भएकाले उहाँलाई बाचा गरेअनुसारको कार्य पूरा गरेका थियौं’ भनेर उनले बौद्ध स्तूपको कथा भनेका थिए (पुण्यप्रसाद पराजुली अनुदित बौद्ध स्तूपको वृत्तान्त : २०७४ वि.सं.)।
पछि बाह्रौं शताब्दीमा साम्ये गोन्पाको हयगृवको मूर्तिमा राखेको तेर्मा (निधि) न्याङ्राल निमा होसेरले काथाङ साङ्लिङ्मा भन्ने ग्रन्थ पाए। यसमा गेपा, डिङ्पो र द्विपा अर्थात् विस्तृत, मध्यम र संक्षिप्त गरी तीन भाग छन्। जसमा पद्मसम्भवको जीवनी र उनले गरेका भविष्यवाणी छन्। चौधौं शताब्दीमा उर्गेन लिङ्पाले पनि पेमाकाथाङ भन्ने ग्रन्थ निधिको रूपमा प्राप्त गरे। पन्ध्रौं शताब्दीमा ङाग्छाङ शाक्या साङ्पोले अर्को निधि प्राप्त गरे। जसमा बौद्ध स्तूपको बारेमा लेखिएको थियो। सोही आधारमा तिब्बतीहरूले उक्त स्तूपको दर्शन गर्न आउँदा छोपिएको अवस्थामा पाएपछि उत्खनन गरेर पत्ता लगाएको र जीर्णोद्धार गरेको पाइन्छ।
त्यसपछि अहिलेसम्म पनि यस बौद्ध स्तूपको जीर्णोद्धार गर्न, यसको रंगरोगन गर्न, लुङ्ता राख्न र सुन चढाउन तिब्बती मूलका र हिमाली क्षेत्रका मानिस बढी अग्रसर देखिन्छन्। यस्तो हुनुको पछाडि पद्मसम्भवप्रतिको विश्वास र अगाध श्रद्धा नै हो।
तसर्थ हिमाली क्षेत्रको बौद्ध धर्ममा र हिमाली समाजमा पद्मसम्भवको ठूलो योगदान रहेको पाइन्छ। उनलाई दोस्रो बुद्धकै रूपमा हेर्ने गरिन्छ। हरेक शुक्लपक्षको दशमी तिथिमा गुरु रिन्पोछे वा पद्मसम्भवको प्रार्थना गरिन्छ। हिमाली समाजमा उनको व्यापक रूपमा पूजा अर्चना गर्ने गरिन्छ।