स्वर्गजस्तै सुटिङ स्पटहरू

स्वर्गजस्तै सुटिङ स्पटहरू

निर्देशक र निर्माताले छान्ने हो सुटिङका लागि स्पटहरू। कथाकारले गरेको परिकल्पनाअनुसार छायांकनका लागि त्यहीँ पुग्नुपर्ने हुन्छ।


गोपीकृष्ण ढुंगाना/काठमाडौं, रत्नप्रसाद आचार्य /धरान, मनिका झा/ जनकपुरधाम, कृष्ण सारु मगर/हेटौंडा, केशवशरण लामिछाने /पोखरा, लक्ष्मण पोखरेल/केशरराज क्षेत्री / बुटवल, सुन्दरकुमार थकाली/मुस्ताङ, शिवराज भट्ट/  धनगढी :

जस्तो कथा उस्तै छायांकन स्थान
‘देवकोटा’ नामक चलचित्र बनाउँदा मुनामदनको सन्दर्भ देखाउन निर्देशक यादव खरेल गणेश हिमालको छेउ पुगेर सुटिङ गराए। कलाकारसमेत रहेका उनै खरेल ‘माइतीघर’को कृत्रिम सुटिङका लागि पनि भारतको बम्बई पुगेको सुनाउँछन्। जसमा उनको सानो भूमिका मात्र थियो। पहिले रामायण सुटिङ गर्ने मान्छेको सेट ल्याएर ठाउँ बनाएर श्रीस्वस्थ्यानी बनाएको पनि उनी सम्झन्छन्। ‘जतिबेला क्यामेराम्यान पनि थिएनन् त्यतिबेला अर्थात् चलचित्र सुटिङको सुरुआती दिनमा ‘हिजो आज भोलि’ र ‘परिवर्तन’ बनाउँदा राजाले महेन्द्र्रले बम्बईबाट ल्याएको सम्झना ताजै छ’, २०२६–२८ सालमा शाही नेपाल चलचित्र संस्थानको कार्यकारी अध्यक्ष खरेल अन्नपूर्णसँग भन्छन्, ‘भारतमा थुप्रैलाई विभिन्न विषयमा तालिम लिन पठाइएको थियो।’

खरेलका अनुसार, सुटिङका सबै काम नेपालमै गर्न बालाजुमा २५ रोपनी जमिन सरकारबाट लिएर ल्याब र स्टुडियो पनि बनाइयो जहाँ कृत्रिम विषयहरूको सुटिङ हुन्थे। अहिले डिजिटल सिस्टम आएपछि विकट पहाडी र हिमाली ठाउँहरूमै पुगेर प्राकृतिक ठाउँकै दृश्यहरू सिधै सुटिङ गर्न थालिएका छन्। यस अर्थमा पहिले खर्च धेरै लाग्थ्यो अहिले कम लाग्छ। प्रेमपिण्ड, चेलीबेटी, लोभीपापी, आँधिबेहरी, नासो, श्रीस्वस्थानी र आदिकवि भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटा गरी आठ चलचित्र निर्देशन गरेका उनी भन्छन्, ‘पटकथा लेख्दा पात्र के हो ? वातावरण घटना के हो ? गीत हो वा फाइट हो वा कथाले मागेअनुसार परिवेश र ठाउँ सबै उल्लेख हुन्छ। सोहीअनुसार सुटिङ गरिन्छ।’ सकेसम्म नेपालका विविध स्थानमा सुटिङ गरेर प्रचार हुनुपर्ने मान्यता उनको छ।

इन्डोर, आउटडोर के कति भन्ने स्क्रिप्टमा हुन्छ। सिन डिभिजन गरिन्छ। अनि सिन ब्रेक डाउन गरिन्छ।

सुदूरपश्चिम क्षेत्रमा भारतीय नायक अभिताभ वच्चनले सुटिङ गर्न आएको खरेल सम्झन्छन्। ‘हुम्लाजुम्लाका दृश्य पनि भारतीय चलचित्रमा परेका छन्, गेहेन्द्र धिमालले चाइनिजलाई सुटिङका लागि काठमाडौं ल्याए’, उनी थप्छन्, ‘भारतीय नायक गोविन्दाकी आमा नेपाली भएकाले पनि उनले नेपालमा सुटिङ गरे। नायिका माला सिन्हाका बुवा अल्बर्ट भारतीय हुन्। माला अभिनीत माइतीघर पोखरामा सुटिङ भएको छ।’

निर्देशक प्रकाश सायमी पनि माइतीघर चलचित्रमा जेलको दृश्य देखाउनु पर्दा सुटिङका लागि मुम्बई गएको सम्झन्छन्। ‘स्क्रिप्टमा लेखिएको विषयअनुसार दृश्य विभाजन गरिन्छ र सुटिङ हुन्छ’, उनी भन्छन्, ‘त्यसबेला आमा, परिवर्तन र हिजो आज भोलि तीन चलचित्रको सुटिङका लागि कलकत्ता पुग्यौं।’ पृथ्वी, सिमाना, अवतार, जमिनजस्ता चलचित्रका निर्देशक सायमी भन्छन्, ‘इन्डोर, आउटडोर के कति भन्ने स्क्रिप्टमा हुन्छ। सिन डिभिजन गरिन्छ। अनि सिन ब्रेक डाउन गरिन्छ।’ विश्व सन्दर्भमा सन् १९२० मा पहिलो पटक इटालियन निर्देशक  रोबर्ट रोजलिन स्टुडियोभित्र सुटिङ गर्ने परम्परा तोडेको पाइन्छ।

सायमीका अनुसार, भारतमा बंगाली फिल्म निर्देशक सत्यजीत रेले जहाँको दृश्य छ त्यहीँ सुटिङ गर्ने परम्परा सुरु गरे। रेले सेट नबनाइकन फोहोरको फोहोरमै र भान्छाको भान्छा कोठामै सुटिङ गरेका थिए। यसपछि भारतमा सन् १९८० को दशकमा स्पटमै सुटिङ गर्ने अभियान चल्यो न्यु वेभ (नयाँ लहर) का रूपमा। नेपालमा प्रताप सुब्बाले ‘परालको आगो’मा र रवि बरालले ‘चमेली’ चलचित्रमा यो खालको नयाँ लहर चलाए। सायमीले दोलखाको चरीकोट २०५२ सालमा सिमाना सुटिङ गरे। भैंसेपाटीको रुखमुनि छ्यासीकोटको रुखमा धेरै सुटिङ हुन्छ। चोभार, हेटौंडा, इलाम र नवलपरासी पुगेर उनले आफ्ना चलचित्र सुटिङ गरे। ‘सुटिङ स्पट छान्न बजेटले साथ दिनुपर्‍यो। ठाउँ आहा ! भए पनि सुटिङका लागि बिजुली, पानी, यातायात पुग्ने, आवासको व्यवस्था हुनुपर्ने आदि छ छैन हेर्नुपर्छ’, निर्देशक सायमी भन्छन्। उनका अनुसार, अंग्रेजी फिल्म हलिउडबाट २०२१ सालमा काठमाडौं र पोखरामा ‘माउन्टेन इज योङ’ (हिमाल जवान छ) भनेर सुटिङ गरियो। सुटिङकै लागि अमेरिकाबाट विश्वप्रसिद्ध हिरो मार्लन ब्रान्डो जो महँगो नायक मानिन्थे उनै नेपाल आए।

निर्देशक र निर्मार्ताले छान्ने हो सुटिङका लागि स्पटहरू। कथाकारले गरेको परिकल्पनाअनुसार छायांकनका लागि त्यहीँ पुग्नुपर्ने हुन्छ। चलचित्र ‘झोला’का निर्देशक यादव भट्टराईले पाँचथरको कथा भए पनि झोला सुटिङ गर्न त्रिशूली नदीलाई तमोर नदी बनाए। सतीप्रथामा आधारित एक सय वर्षअघिको सन्दर्भ भएकाले झोलाका लागि धादिङको कात्तिकेचारस्थित धुँवाकोट, नुवाकोटको भर्‍याङभुरुङमा सुटिङ भयो जहाँ माटोले लिपेका, विकासका पूर्वाधार नपुगेका झिंगटी र ढुंगाका छाना भएका घर छन्। ‘भोर’ तराई मधेसको सन्दर्भमा धनुषाको जनकपुरस्थित जानकी मन्दिर रोजिएको भट्टराईको भनाइ छ। ‘जानकी मन्दिरलाई पुज्छौं तर जानकीहरूलाई दाइजोको नाममा हिंसा गरिरहेका छौं। मूर्ति ढोग्छौं पुज्छौं तर घरकी जानकीलाई किन पूजा गर्न सकिरहेका छैनौं र दुःखपीडा भोगिरहेका छौं ?’ सुटिङ स्पट कसरी छनोट गरिन्छन् भन्नेबारे जानकारी दिँदै उनी भन्छन्। ‘तामेकोटकी रानी’ चलचित्र बनाउन लागेका उनी स्याङ्जाको तामेकोट दरबार र त्यहाँको टुँडिखेलमा पहिलोपटक सुटिङ गर्न लागेको बताउँछन्। यस क्षेत्रका लागि खुसीको कुरो भनेकै सरकारले हरेक प्रदेशका एकएक स्थानलाई चलचित्र केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ।

प्रदेश १ मा तराईदेखि हिमालसम्म

प्रदेश नम्बर १ नेपाली चलचित्र छायांकनको रोजाइमा सधैं पर्ने गरेको छ। तराई, पहाड र हिमाल गरी तीनै क्षेत्र समेटिएकाले प्रदेश १ का रमणीय दृष्यहरू नेपाली चलचित्र छायांकनका दृष्टिले उत्कृष्ट रोजाईमा पर्ने गरेका हुन्। जसमध्ये इलाम जिल्ला पहिलो रोजाइमा पर्ने गरेको छ। कन्याम र यहाँको चियाबगान, इलाम बजार, श्रीअन्तु, हर्कटे, पशुपतीनगर आदि स्थानमा सुटिङ भएका छन्। सुनसरीको धरान बजार, घण्टाघर, धार्मिंक स्थलहरू, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र, इटहरीको तालतलैया, सप्तकोसी नदी र चारकोसे झाडी भएको जंगल रोजाईमा पर्ने गरेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान बताउँछन्। उनका अनुसार, धनकुटाको भेडेटार, नाम्जे, राजारानी ताल, हिले, पाख्रिबास र अरुण र तमोर नदी आकर्षक स्थान हुन्।

चलचित्र छायांकनका लागि आधुनिक डिजाईनमा निर्माण गरिएकाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि राम्रो मानिन्छ। पछिल्ला समय प्रतिष्ठान हाताभित्र नेपाली चलचित्र छायांकन भइरहेका छन्। तेह्रथुमको बसन्तपुर, म्याङलुङ बजार र गुराँसको राजधानीले चिनिने तीनजुरे क्षेत्र चलचित्र छायांकनका लागि उत्कृष्ट स्थान रहेको अध्यक्ष प्रधान बताउँछन्। यस्तै हिमाली जिल्लाहरू सोलुखुम्बु, ताप्लेजुङ र संखुवासभा पनि हिमाली दृष्यका कारण छायांकनका लागि छनोटमा पर्छन्। सोलुखुम्बुमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा, त्यसको आधारशिविर, संखुसभामा रहेको मकालु हिमाल र ताप्लेजुङको कञ्चनजंघा हिमालहरूले नेपाली चलचित्रका लागि सही गन्तव्य बनेका छन्।

प्रदेश नम्बर १ नेपाली चलचित्र छायांकनको रोजाइमा सधैं पर्ने गरेको छ। तराई, पहाड र हिमाल गरी तीनै क्षेत्र समेटिएकाले रमणीय दृष्यहरू छायांकनका दृष्टिले उत्कृष्ट लाग्छन्।

निर्माता, निर्देशक एवं नायिका रेखा थापा भन्छिन्, ‘नेपालमा चलचित्रको एउटा पनि स्टुडियो छैन तर प्रत्येक जिल्लाको सौन्दर्यताले नेपाली चलचित्र निर्माणमा स्टुडियोको भूमिका खेलेका छन्।’ छायांकनका लागि प्रदेश १ सबैको रोजाइमा पर्नुको कारण यातायातको सुविधा भएको उनको बुझाइ छ। उनका अनुसार, प्रदेश १ मा हिमाल, पहाड र तराईका दृष्य थोरै समय र खर्चमा खिच्न सकिन्छ। विभिन्न जातिका जीवन्त संस्कृति र मौलिक पक्षले पनि सुटिङ हब भएको उनको बुझाइ छ।

विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड लगायत सबै जिल्लाका अधिकांश क्षेत्रमा सुटिङ गरिएकाले हलले समेत नेपाली चलचित्रलाई माया गरिरहेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानको बुझाइ छ। प्रदेश १ धार्मिक सम्पदाका कारण पनि अब्बल मानिन्छ। धार्मिक पर्यटकीय स्थल खोटाङको हलेसी, दिक्तेलको कालिका मन्दिर, ताप्लेजुङको पाथिभरा मन्दिर, सुनसरीको चतराधाम, विष्णुपादुका, संखुवासभाको गुफापोखरी मन्दिर पनि चलचित्र छायांकनका लागि उत्कृष्ट मानिन्छन्। तेह्रथुमको ह्यात्रुङ झरना, धनकुटाको नमस्ते झरना, उदयपुरको रौता पोखरी, खोटाङको बराह पोखरी, भुलभुले ताल, टेम्के डाँडा, भोजपुरको साल्पा पोखरी, सुनसरीको बर्जु तालमा पनि चलचित्र र गीत छायांकन भएका छन्।

फिल्म स्टुडियोजस्तै प्रदेश २
म जनकपुरकी छोरी 
तिमी जनकपुरको छोरा !
यो प्रेम नगरमा छैन 
हामी जस्तो जोडा... !

२० वर्षपहिले जनकपुरमा छायांकन भएको श्रीकृष्ण श्रेष्ठ अभिनीत ‘सीता’ चलचित्रको यो गीत अहिलेसम्म नेपाली चलचित्रका दर्शकको मानसपटलमा ताजा छ। अशोक शर्माको निर्देशनमा बनेको सीताको सम्पूर्ण छायांकन जनकपुरको जानकी मन्दिर र नगर क्षेत्रको सेरोफेरोमै भएको थियो। प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौतिक विविधताले भरिपूर्ण प्रदेश २ मा चलचित्र निर्माणका लागि छायांकनस्थल पर्याप्त छन्। राम्रो व्यवस्थापन र दीर्घकालीन योजनाका साथ यदि यस प्रदेशका स्थानहरूलाई प्रवद्र्धन गर्ने हो भने सम्पूर्ण प्रदेश नै चलचित्र स्टुडियो बन्न सक्ने निर्देशकहरू बताउँछन्।

पुर्णेन्दु झाद्वारा निर्देशित नेपाली चलचित्र ‘संरक्षण’को अधिकांश छायांकन पनि जनकपुर नै हो। जनकपुरसँगै वीरगन्जको सुक्खा बन्दरगाह क्षेत्र र कथाको मागअनुसारका ग्रामीण क्षेत्रहरूमा छायांकन गर्दा यो चलचित्र निकै मनमोहक बनेको छ। ‘प्रदेश २ का आठै जिल्लामा छायांकनस्थलहरू गज्जब छन् तर संरक्षणका लागि अधिकांश जिल्ला छनोट गरें’, निर्देशक झा भन्छन्, ‘पहाड, तालतलैया, धार्मिकस्थल, वनजंगल सबैको फ्लेभर यस प्रदेशमा चलचित्र छायांकन गर्दा दिन सकिन्छ।’ चर्चित धार्मिक पर्यटकीय थलोहरू जनकपुरको जानकी मन्दिर, सिरहाको सल्हेस फूलवाडी, सप्तरीको कंकालिनी मन्दिर, सिम्रौनगढ, गढीमाई मन्दिर, सखडा भगवतीलगायत दर्जनौं मठमन्दिर यहाँ छन्। सर्लाहीको प्राकृतिक नाढीमन ताल, १ सय २१ बिघामा निर्माणाधीन मानवनिर्मित भरत ताल, बागमती नदी र विभिन्न तालतलैया निर्देशक निर्माताका लागि आकर्षणको केन्द्र बनेका छन्।

चुरे क्षेत्रमा हरियो वनको मनमोहक दृश्यहरू छायांकन गर्न पर्याप्त स्थान छन् भने कोसीटप्पु राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जले वनजंगलमा विविध दृश्य देखाउन सकिन्छ। चलचित्र निर्माण र छायांकनका लागि प्रदेश २ पर्याप्त सम्भावना भएको ठाउँ भएको अभिनेता रमेशरञ्जन झा बताउँछन्। ‘यहाँ खाडी मुलुकको फ्लेभरदेखि मरुभूमिजस्ता स्थानसम्म देखाउन सकिन्छ। प्रदेश २ मा दर्जनौं चलचित्र र टेलिचलचित्र सुटिङ गरिएको र ती अधिकांश लोकप्रिय भएको उनको दाबी छ। झा थप्छन्, ‘नेपाली मात्रै नभई मैथिली, भोजपुरी र हिन्दी 
भाषाका चलचित्र, टेलिशृंखला र म्युजिक भिडियोहरू यस प्रदेशमा छायांकन गरिएका छन्।

मधेसमा व्याप्त दाइजो प्रथामाथि केन्द्रित यादवकुमार भट्टराईद्वारा निर्देशित मैथिली भाषाको चलचित्र ‘भोर’ प्रदेश २ का जिल्लाहरूमा छायांकन गरिएको हो। स्थानीय कलाकारसमेतको अभिनय गरिएको भोरमा मधेसका गाउँहरू, त्यहाँको बसोबास र जीवनशैलीलाई निकै कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ। करिब आठ वर्षअघि निर्देशक मुरलीधरद्वारा निर्देशित यस क्षेत्रमा छायांकन गरिएको मैथिली भाषाको चलचित्र ‘सजनाक अँगनामे सोलह शृंगार’ले दर्शकको प्रशंसा पाएको थियो। अभिनेता बीएन पटेलद्धारा अभिनित चलचित्रहरू ‘गरिबक बेटी’, ‘सुहागिन’, ‘खुरलुच्ची’ र उनीद्वारा निर्देशित चलचित्र ‘वृद्धा पेन्सन’ को छायांकन यही भयो ।

चलचित्रको आधारभूमि बागमती 

लामो समय काठमाडौं उपत्यका र वरिपरिका स्थानले एकछत्र चलचित्र छायांकनमा दबदबा कायम गरिरहेका छन्। समय र खर्चको बचतसँगै सबैखाले दृश्य छायांकन गर्न सकिने भएकाले पनि उपत्यका आसपासका स्थान निर्देशकहरूको रोजाइमा परेको पाइन्छ। ‘प्रायः पुराना चलचित्रको कुन न कुनै भाग बागमती प्रदेशमै छायांकन भएका छन्, यस क्षेत्रलाई चलचित्र छायांकनको केन्द्र पनि भन्न सकिन्छ’, निर्माता नरेन्द्र महर्जन भन्छन्, ‘पहिला उपत्यका, त्यसपछि वरिपरिका जिल्ला र टाढा गए पोखरा र पूर्वका इलामलगायत केही जिल्ला मात्र चलचित्र छायांकन हुन्थ्यो।’ उपत्यका बाहिरका काभ्रे, चितवन, मकवानपुर, नुवाकोट आदिमा धेरै चलचित्र छायांकन भए।

चितवनमा मात्र हालसम्म करिब दुई सय चलचित्र छायांकन भएको स्थानीय रवि अधिकारी बताउँछन्। चितवनको सौराहा, देवघाट, पटिहानी, मेगौली, नारायणीको पुलमा धेरै चलचित्र छायांकन भएका छन्। यो मायाले लौन सतायो, सौभाग्य, कसम, किसान, नागरिक, मेरी मामु, नाइँ न भन्नू ४, हिम्मतलगायत चलचित्र चितवनमा छायांकन भएका हुन्। शिव रेग्मीले धेरै चलचित्र चितवनमै छायांकन गरेका थिए। उपत्यका बाहिर नजिक र सुगम भएकाले चितवन र त्यसपछि मकवानपुर चलचित्रकर्मी र निर्देशकहरूको रोजाइमा पर्छ। २७ वर्षअघि मकवानपुरमा ‘सिन्दूर’ चलचित्र छायांकन भएको कलाकार सुशान्त श्रेष्ठले सम्झना गरे। किस्मत, निरन्तर, डाँडाको वरपीपल, पलाँस, संरक्षण, हिरो रिटन्स, धुम फोर, सुश्री, चर्खा आदि ५० भन्दाबढी चलचित्र दामन, पालुङ, हेटौंडा, मार्खुलगायतका स्थानमा छायांकन भए।

सुटिङका सबै काम नेपालमै गर्न बालाजुमा २५ रोपनी जमिन सरकारबाट लिएर ल्याब र स्टुडियो पनि बनाइयो। जहाँ कृत्रिम विषयहरूका सुटिङ हुन्थे। अहिले डिजिटल सिस्टम आएपछि विकट पहाडी र हिमाली ठाउँहरूमै पुगेर प्राकृतिक ठाउँकै दृश्यहरू सिधै सुटिङ गर्न थालिएका छन्।

पर्यटकीयस्थल धुलिखेल, नगरकोटमा दर्जनौं चलचित्र छायांकन भएका छन्। नुवाकोट र रसुवामा ५० भन्दाबढी चलचित्र छायांकन भए। गोठालो, चुनौती, भिजिलान्ते, साइनो, सुनपानीलगायत चलचित्र नुवाकोट र रसुवामा छायांकन गरिएका हुन्। नुवाकोटको ककनी, पीपलटार, देवीघाट, त्रिशूली, शिवपुरी र रसुवा धुन्चे गोसाइँकुण्ड, लाङटाङ, स्याफ्रुबेसी, गतलाङ, गोल्जुङलगायत क्षेत्रमा चलचित्र छायांकन हुन्छन्। २०३७ सालदेखि नुवाकोटमा चलचित्र छायांकन भएको पाइन्छ। सिन्धुलीको बीपी राजमार्ग, सिन्धुलीगढी, सेल्फी डाँडा र लभ डाँडाका सुन्दर दृश्यहरू चलचित्रमा कैद भइरहेका छन्। सिन्धुलीमा अन्दाज, काँचुली, एक्सिडेन्ट, परालको आगो, भूमिका, गोर्खा पल्टन–२ गरी दर्जनभन्दा बढी चलचित्र छायांकन भए। दोलखाका पर्यटकीय गन्तव्यहरू कालिञ्चोक, खरिढुंगा, भीमेश्वर क्षेत्रमा चलचित्र छायांकन भएको छ। ‘२५ वसन्त’ भीमेश्वरमा, ‘नाइँ नभन्नु ल’ कालिञ्चोकमा र ‘वीरविक्रम’ जिरी क्षेत्रमा छायांकन भए।

सुटिङ स्पट पोखरा 
गाडी चल्दैनथ्यो। राजमार्ग बनेको थिएन। हिँडेर आउँदा १२ दिन लाग्थ्यो। यो काठमाडौंसँग पोखरा जोड्ने पृथ्वी राजमार्ग बन्नुअघिको सन्दर्भ हो। यो राजमार्ग २०२८ सालतिरमात्रै बन्यो र जोडियो सडक यातायातबाट काठमाडौंसँग पोखरा। त्यसबेलाका राजा महेन्द्र हिँडेर पोखरा र पश्चिम नेपालको भ्रमणमा निस्किए। उनलाई पोखरा औधी मन परेपछि भाइ हिमालयलाई पोखरामा होटल खोल्न लगाए। नेपालमा फिल्म सुटिङ गर्छु भन्दै आएका भारतीय चर्चित कलाकार देवानन्दलाई फिल्मको स्क्रिप्ट लेख्न पोखरा सुझाए। देवानन्द पोखराको त्यही होटल फिस्टेलमा बसेर तयार पारेको स्क्रिप्टमा बनेको फिल्म हो, ‘हरे राम हरे कृष्ण’। काठमाडौंतिर पनि सुटिङ भयो। चर्चित पनि बन्यो।

पोखरामा पहिलोपटक नेपाली चलचित्र सुटिङ चाहिँ बीएस थापाले गरे। तत्कालीन राजा महेन्द्रले नै फिल्म बनाउन शाही नेपाल चलचित्र संस्थान खोले। त्यसअघि नै निर्देशक थापाले पोखरालाई सुटिङ स्पट बनाएर ‘माइतीघर’ छायांकन गरे। माइतीघरमा अभिनयसमेत गरेका फिल्म निर्देशक यादव खरेल त्यतिबेला पृथ्वी राजमार्ग नभएकैले जहाजमा पोखरा आएको सम्झन्छन्। ‘हिमाल र तालको सहर’ भनेरै त्यतिबेला माइतीघरको सुटिङ पोखरामा भएको खरेल बताउँछन्। ‘माइतीघरको इन्डोर सुटिङ मुम्बई भयो, अनि पोखरा र अरू ठाउँबाट आउटडोर’, उनी थप्छन्।

माइतीघरले खनेको पोखरामा फिल्म सुटिङको गोरेटो आज हाइवे नै बनिसकेको छ। सयौं फिल्म सुटिङ भइसकेका छन्। निर्देशक दीपेन्द्र लामाले अर्काे फिल्म ‘२ नम्बर’का लागि भने पोखरा रोजे। जसमा पोखरा छेवैको गाउँ घाचोक छानिएको छ। धेरै फिल्मले पोखराको फेवाताल, माछापुच्छ«े हिमाललगायत पर्यटकीय ठाउँको प्रचार गरेका छन्। निर्देशक सुदर्शन थापाले थुप्रै फिल्मको सुटिङ पोखरामा गरेका छन्। प्रेम गीत, मेरो एउटा साथी छ, म यस्तो गीत गाउँछु, के यो माया हो ? लगायतको सुटिङ स्पट उनले पोखरालाई छाने। थापा थप्छन्, ‘पोखरा एउटै ठाउँमा विविधता छ।’  

देवानन्दले अरू फिल्म पनि सुटिङ गरे। केही वर्षअघि ‘इन्डियाज मस्ट वान्टेड’ पोखरामा सुटिङ भयो। त्यसभन्दा दशकअघि रजत मुखर्जीले ‘लभ इन नेपाल’ फिल्म पोखरामा सुटिङ गरेका थिए। त्यो फिल्ममा मिस नेपाल झरना बज्राचार्यले समेत अभिनय गरेकी थिइन्। जेकी श्राप र टिना मुनिम अभिनीत फिल्म ‘योद्धा’ पनि पोखरामै सुटिङ भएको थियो। ‘पोखरामा मौलिकता छ, गाउँघरमा पनि र सहरमा पनि’, लामा भन्छन्।

छायांकनको अर्को दुनियाँ लुम्बिनी

मंसिरमा चलचित्रकर्मी पाल्पाको बतासे पुगे। बतासे र श्रीनगर क्षेत्र फिल्म सुटिङको उर्वरभूमि नै हो। परदेशी चलचित्रको सिक्वेल बनाएका नारायण रायमाझीले सुटिङ स्पटमा बतासेलाई चयन गरेका हुन्। परदेशी–२ को सुटिङमा नीर शाह, वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी आदिले बतासेमा दिन बिताए। २०७२ मा बनेको परदेशीको धेरै हिस्सा पाल्पामै सुटिङ भएको थियो। हिमशृंंखला देखिने बतासे डाँडा सल्लेरी वनक्षेत्र हो। शिव श्रेष्ठ अभिनीत चलचित्र ‘कान्छी’मा पनि बतासेका दृश्य छन्। पाल्पामा पहिलो पटक सिन्धु फिल्म छायांंकन भएको थियो। ‘वनमा फुल्यो फूल’ गीत पाल्पामा सुटिङ गरिएको थियो। 
२०५९ तिर निर्माण भएको सन्तानको माया चलचित्रको धेरै हिस्सा बतासेआसपास छायांकन भयो। निर्देशक मनीष पन्थका अनुसार बतासे आसपासबाट देखिने गाउँ र त्यहाँको हरियाली

दृश्यले नै निर्देशकहरूलाई तान्छ। पाल्पाली संंगमनामक संंस्थाले पाल्पालाई चलचित्र छायांंकन हबका रूपमा निर्माण गर्नुपर्ने अभियान चलाएको छ। पाल्पामा बतासेबाहेक रानीमहल, पाल्पा दरबार संंग्रहालय, शीतलपाटी, भैरवस्थान, माडीफाँट क्षेत्रमा चलचित्र छायांकन हुने गरेका छन्। यहाँको मगर र नेवार संस्कृति चलचित्रका दृश्यमा पर्छन्। युद्ध पर्यटन, ग्रामीण बस्ती, डाँडापाखाका कथाहरूमा रोल्पाका गाउँ चलचित्रमा बोल्ने गर्छन्। यसले चलचित्रलाई जीवन्त बनाउँछ। रोल्पामा चलचित्र मञ्जिल, पुरानो पुस्ता, पानीफोटो, प्रेमनाथ, साइँलीजस्ता चलचित्र छायांंकन भए। थवाङ, लिवाङ र आसपासका क्षेत्र चलचित्रको दृश्यमा छन्। दाङ पनि चलचित्र छायांंकन हुने गतिलो गन्तव्य हो। यहाँको गोरक्ष रतननाथ मन्दिर, विश्वको सबैभन्दा अग्लो त्रिशूल रहेको क्षेत्र धारापानी, बाह्रकुने दह, जखेरा ताला, पन्धारा झरना, चमेरे गुफा, संस्कृत विश्वविद्यालयलगायतमा छायांंकन हुने गर्छ। थारू संंस्कृति दाङको दृश्यमा देखिन्छन्। 

बर्दिया राष्ट्रिय निकुञ्जमा आधा दर्जन चलचित्र निर्माण भए। जंगल, वन्यजन्तु, थारू संस्कृतिहरू चलचित्रमा देखिने गरेका छन्। कर्णाली पुलआसपासका दृश्यहरू बर्दियामा छन्। म यस्तो गीत गाउँछु, सम्झना बिर्सना, रातो टीका, पूरा भयो सपना मेरो, घिन्ताङलगायत चलचित्र बाँकेमा छायांकन भए। गुल्मीको रेसुंगा, गर्जुरा, रिडी क्षेत्रहरू सुटिङका लागि रोजाइमा पर्छन्। सुन्दर हिमाली दृश्य देखिने भएकाले रेसुंगा छनोटमा पर्छ। धार्मिक, सांस्कृतिक, परम्परा, रीतिरिवाज, सामाजिक र प्राकृतिक सौन्दर्यताले बेजोड भए पनि लुम्बिनी प्रदेशका दर्जनौं स्थान ओझेलमा परेको अखिल नेपाल चलचित्रकर्मी संघका सचिव केएल बुढाथोकी बताउँछन्। स्वर्गद्वारी, लुम्बिनी, रेसुंगा, रिडी, रानीमहल, नवलपरासीको स्तूपा, कपिलवस्तुको जगदीश्वर ताल र रूपन्देहीको गजडी ताल भर्जिन स्थल हुन्। महानायक राजेश हमाल, धीरेन शाक्य, वीरेन्द्र हमाल, पल शाह, आकाश श्रेष्ठ र अर्जुन श्रेष्ठ लुम्बिनी प्रदेशमा जन्मिएर राष्ट्रिय पहिचान बनाएका चलचित्र नायक हुन्।

सुटिङ हब बन्दै मुस्ताङ
पछिल्लो समय मुस्ताङ जिल्ला चलचित्र सुटिङका लागि हबको रूपमा विकास हुन थालेको छ। मुस्ताङको रमणीय भूगोल र मनमोहक प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी चलचित्र निर्माता÷निर्देशकहरूको ध्यान मुस्ताङतर्फ मोडिन थालेको हो। दुई दशक अघिसम्म हिमाली जिल्ला मुस्ताङको गन्तव्य अहिलेको जस्तो सहज थिएन। सडक सहज हुन थालेपछि दुई दर्जन नेपाली चलचित्र, दर्जनौं म्युजिक भिडियो र मुस्ताङ चिनाउने वृत्तचित्र छायांकन भए। केही विदेशी पर्यटकले पनि अंगे्रजी फिल्म र वृत्तचित्र छायांकन गरिसकेका छन्। कबड्डीको चार वटा शृंखला छायांकन भए, जसमध्ये तीनवटाको प्रदर्शन भइसकेका छन्।

मुस्ताङमा कान्छी, ब्याच नं. १६, जेरी, ड्रिम्स, सम्हालिन्छ कहिले मन, भकुन्डो, चचहुई, प्रेमगीत, रुद्र, हिम्मत–२, छिरिङ, आमा, खन्डो र चिनो आदि कोरोनाअघि छायांकन भए। भारतीय चलचित्र क्षेत्रका महानायक अमिताभ बच्चनको ‘खुदा गवाह’ मुस्ताङमा पनि छायांकन भएको थियो। यो प्रदर्शनपछि मुस्ताङमा भारतीय पर्यटकको संख्या वृद्धि भएको थियो। मुस्ताङमा थकाली कला संस्कृतिमा तयार पारिएको कबड्डी नामक चलचित्रले थासाङको नाउरिकोटलाई चिनाउन ठूलो भूमिका खेल्यो। थासाङ–२ का वडाध्यक्ष नरप्रसाद ज्वाहारचन थासाङ क्षेत्रको परिचय कबड्डीले गराएकोमा खुसी छन्। थासाङ–२ मा भुतर्छो ताल र सेकुङ ताल छन् जुन २ हजार ७ सय २५ मिटरको उचाइमा छन्। तालमा नीलगिरि हिमालको प्रतिबिम्ब देख्न सकिन्छ। थासाङ–५ को टिटी गाउँमा टिटी ताल छ जुन २५ सय मिटर उचाइमा छ। ताल हेर्न स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहन्छ। थासाङमा कवि भूपि शेरचनको गाउँ टुकुचे छ। जहाँ कबड्डीलगायत नेपाली चलचित्र छायांकन भइसकेको वडाध्यक्ष हिराचन बताउँछन्।

पछिल्लो समय मुस्ताङ जिल्ला चलचित्र सुटिङका लागि हबको रूपमा विकास हुन थालेको छ। मुस्ताङको रमणीय भूगोल र मनमोहक प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी चलचित्र निर्माता÷निर्देशकहरूको ध्यान मुस्ताङतर्फ मोडिन थालेको हो।

घरपझोङ गाउँपालिका पनि चलचित्र छायांकनका हिसाबले महत्त्वपूर्ण छ। घरपझोङका पर्यटकीय गन्तव्य ढुम्बाताल, कुछप तेरंगा गुम्बा, स्नोलियो पार्ट, यारुझो भ्यु टावर, घरपझोङ किल्ला, झोनाधाङ पार्क र स्याउको राधधानी मार्फा गाउँ छन्। शदीयौं पुरानो माटोलले निर्मित परम्परागत एकापसमा जोडिएका घरहरूको मौलिकताले चलचित्रकर्मी यहाँसम्म आउन बाध्य हुन्छन्। चलचित्र चिनो, प्रेमगीत, जेरी, छिरिङ र कान्छीलगायत चलचित्रको प्रदर्शनपछि ढुम्बातालको चर्चा चुलिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन्। चलचित्र छायांकनकै कारण मुस्ताङमा पर्यटकीय क्रेज बढेको उनको भनाइ छ। साँघुरा गल्ली, परम्परागत घर र सांस्कृतिक धरोहरले मार्फा जीवन्त छ।

मार्फाका गल्लीमा थुप्रै नेपाली चलचित्र छायांकन भएको स्थानीय दीपक लालचनको भनाइ छ। निर्माता निर्देशकको मुख्य प्वाइन्ट कागबेनी–मुक्तिनाथ सडकको माथि पहाडमा पर्छ। चारैतिरको भूगोल, कालीगण्डकी नदी र मुक्तिनाथ खोलाको दृश्यले कागबेनी डाँडो सुटिङलाई छनोट हुन्छन्। यस्तै मुक्ति क्षेत्रको झोङ, पुडाक, छेङ्गुर, रानीपौवा र कागबेनीलगायत छन्। पछिल्लो समय उपल्लो मुस्ताङमा पनि नेपाली चलचित्र छायांकन हुन थालेका छन्। जेरी र सम्हालिन्छ कहिले मनलगायत चलचित्र त्यहाँ छायांकन भए। उपल्लो मुस्ताङमा अध्यागमन विभागले विदेशी पर्यटकलाई पाँच सय डलर रोयल्टी लिने भएकाले विदेशी चलचित्र न्यून मात्र छायांकन भएका छन्। जहाँ ड्रोन क्यामेरा उडाउन पूर्वअनुमति लिनुपर्ने हुन्छ। भौगोलिक रूपमा विकट मानिएको उपल्लो मुस्ताङमा लोमान्थाङमा मुस्ताङी राजाको दरबार, पर्खालले घेरिएको लोमान्थाङ बजार, कोरलानाका आदि छन्।

ओझेलमा परेका सुदूरपश्चिमका स्थलहरू

सुदूरपश्चिममा प्राकृतिक सुन्दरता भएका स्थान धेरै छन्। चलचित्रको छायांकन भने त्यति भएको पाइँदैन। ठूलो पर्दाका चलचित्रमा राजधानी काठमाडौं आसपासका व्यक्तिको लगानी हुने र कलाकार पनि राजधानीकेन्द्रित हुने भएकाले भौगोलिक रूपमा टाढाको यस क्षेत्रमा निर्माता र निर्देशकको ध्यान पुग्न सकेको देखिँदैन। तर, सुदूरपश्चिमममा छायांकन गरिएका चलचित्र भने राम्रैसँग चलेका छन्।

नायक विराज भट्टले दुई वर्षअघि चलचित्र ‘साङ्लो’ बनाए। डोटीको जोरायल गाउँपालिकाका धेरै क्षेत्रमा साङ्लोको अधिकांश छायांकन भयो। यही क्षेत्रमा जन्मिएका भट्ट आफैं निर्माता रहेको यो क्षेत्र धार्मिक पर्यटकीय महत्त्वको क्षेत्र हो। यो क्षेत्रको महिमा महाभारतको कथामा छ। जोरायलमा छतीवन ताल छ। साङ्लोको चर्चित गीत ‘चरिले काफल टिप्यो, खानलाई हो कि खुवाउन’ भन्ने गीतको अघिकांश भाग छतीवन तालमा छायांकन गरिएको छ। भट्ट भन्छन्, ‘सुदूरपश्चिममा छायांकन स्थल धेरै छन् तर राजधानीकेन्द्रित चलचित्रको व्यापारमा लगानी धेरै हुने भएकाले सबै निर्माता यता आउन चाहदैनन्।’

नायिका एवं निर्देशक रेखा थापाको राम्रो चलेको चलचित्र ‘हिम्मतवाली’ पनि कञ्चनपुरको राना बस्तीमा छायांकन भएको थियो। पाँच वर्षअघि छायांकन भएको उक्त चलचित्र दर्शकले मन पराए। कञ्चनपुरकै लालझाडी वनमा छायांकन भएको उनको ‘खासै राम्रो नाच्न त जान्दिनँ म, यसो कम्मर मर्काउने मात्रै हो’ बोलको गीत एकदमै मन पराइयो। उनले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने राना बस्तीहरूमा एउटा पूरै गीत छायांकन गरिन्। गीतमा राना पोशाकलाई प्राथमिकता दिइएको छ। सुदूरपश्चिमको कञ्चनपुरको स्थानीय पार्कमा चलचित्र 
‘मोहनी लाग्ला है’को छायांकन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.