वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु
वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज २ छपकैयास्थित वीरगन्ज मेट्रो सिटि हस्पिटलमा उपचाररत बाराको विश्रामपुर गाँउपालिका ४ बतराकी २० वर्षीया संक्रमित युवतीको शनिवार बिहान मृत्यु भएको हो।
माघ ५ गते कोरोना संक्रमण पुष्टि भएकी ती युवतीलाइ उपचारका लागि शुक्रबार राति वीरगन्ज मेट्रोसिटी हस्पिटलमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको शनिवबर बिहान पौने ४ बजे मृत्यु भएको वीरगन्ज मेट्रोसिटी हस्पिटलले जनाएको छ।
योसंगै कोरोना संक्रमणको तेश्रो लहरमा वीरगन्जमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ पुगेको छ। यसअघि अस्ति बिहीबार रातिपनि वीरगन्जकै नारायणी अस्पतालमा उपचाररत बाराको महागढीमाइ नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरुषको मृत्यु भएको थियो।
कोरोनाको तेश्रो लहर सुरु हुनु भन्दा पहिले यसअघि दोश्रो लहरको अन्तिममा गत असार २७ गते नारायणी अस्पतालमा उपचाररत पर्साको सखुवा प्रसौनी गाँउपालिका १ की ६० वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो।
अहिलेको तेश्रो लहरमा वीरगन्जमा दुई जना संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका कोभडि संयोजक डाक्टर उदयनारायण सिंहले बताए। वीरगन्जमा कारोनाको पहिलो लहरमा ८६ जनाको र दोश्रो लहरमा ३४१ जनाको मृत्यु भएको थियो। डाक्टर सिंहका अनुसार नारायणी अस्पतालमा हाल ६ जना संक्रमित उपचाररत रहेका छन्।