सप्तरीमा दुई कोरोना संक्रमितको मृत्यु
राजविराज : सप्तरीमा कोरोना भाइरस संक्रमणको तेश्रो लहरमा एक साताभित्र दुई जना संक्रमितको मृत्यु भएको छ। होम आइसोलेशनमा बसेका बिष्णुपुर गाउँपालिका–७ का ६० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पीसीआर परीक्षण गराएका उनको रिपोर्ट शुक्रबार पोजिटिभ आएको अस्पतालले जनाएको छ।
यसअघि सोमबार रूपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको मृत्यु भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी उनको सोही दिन गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो। कोभिड–१९ को तेस्रो लहर सुरु भएयता पुस २३ देखि शनिबारसम्म सप्तरीमा २ सय ९९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए। संक्रमित २ जनाको मृत्युपछि सक्रिय संक्रमितको सङ्ख्या १ सय ८८ रहेको छ। जसमा ३८ महिला र १५० पुरुष छन्।
संक्रमित सबैको अवस्था सामान्य रहेकोले सबैजना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। सबैभन्दा बढी राजविराज नगरपालिकाका १९ महिला र ८७ पुरुष गरी १०६ जना संक्रमित छन्।
राजविराजमा शनिबार २५ जनाको स्वाबको पीसीआर परीक्षण गरिएकोमा ३ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा राजविराज नगरपालिकाका ३ पुरुष, कञ्चनरूप नगरपालिकाका २ महिला र ४ पुरुष, डाक्नेश्वरी नगरपालिकाका १ पुरुष, अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका १ पुरुष तथा तिलाठी कोइलाडी गाउँपालिकाका १ महिला छन्।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरीमा कोरोनाको पहिलो लहरमा ०७७ चैत ३१ गतेसम्म १८३३ जना संक्रमित भएकोमा ४१ जनाको मृत्यु भएको थियो। यसैगरी ०७८ वैशाख १ देखि पुस १६ गतेसम्म २४५६ जना संक्रमित भएकोमा १२१ जनाको मृत्यु भएको थियो।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सप्तरीमा संक्रमितको संख्या तीव्र रूपमा बढेको छ। सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रण गर्न शुक्रबार मात्र १८ बुँदे आदेश जारी गरेको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पुस २७ गतेको वैठकले समेत स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्ने, गराउने भन्दै ११ बुँदै निर्णय गरेको छ। यसैगरी खुला सीमा नाकाका कारण सप्तरी जिल्ला उच्च जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले पुस ३० गते स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सूचना जारी गरेको छ।
संक्रमक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार जारी भएको सो आदेश जिल्लामा लागू भए पनि स्वास्थ्य सुरक्षामा सतर्कता अपनाइएको छैन।